अफ्रिकाका १५ करोड मानिस ‘चरम गरिबी’मा : डब्लुएचओ
नैरोबी । अत्यधिक चिकित्सा खर्चले अफ्रिकाका १५ करोडभन्दा बढी मानिसलाई गरिबीमा धकेल्दै गुणस्तरीय र उत्पादनशील जीवनलाई वञ्चित गरेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ । बिहीबार विश्वव्यापी स्वास्थ्य कभरेज दिवसको अवसरमा सार्वजनिक गरेको ‘ट्र्याकिङ फाइनान्सियल प्रोटेक्शन’ प्रतिवेदनमा डब्ल्यूएचओले उक्त तथ्याङ्क उल्लेख गरेको छ । अफ्रिकाका लागि डब्ल्यूएचओ क्षेत्रीय निर्देशक मात्शिडिसो मोएतीले भने, ‘आवश्यक औषधि र अन्य स्वास्थ्य खर्च महाद्वीपका कमजोर नागरिकहरूको लागि आर्थिक कठिनाइ र खराब स्वास्थ्य अवस्था निम्त्याउन सक्छ । यस्ता भुक्तानीहरूले धेरै मानिसहरूलाई खाना, आवास र उपयोगिताहरू जस्ता अन्य आधारभूत आवश्यकताहरूमा कम खर्च गर्न बाध्य पार्छ, जसले उनीहरूको अवस्था बिग्रन सक्छ ।’ सन् २००० र सन् २०१९ बीचको अवधिमा आफ्नो घरायसी बजेटको १० प्रतिशतभन्दा बढी औषधि र अन्य स्वास्थ्य सेवामा खर्च गर्नेको सङ्ख्या वार्षिक २५ लाखले बढेको जनाइएको छ । प्रतिवेदनका अनुसार उच्च स्वास्थ्य खर्चमा विश्वभरका गरिबमध्ये आधा अफ्रिकामा बसोबास गर्छन् । अत्यधिक खर्चले अफ्रिकी नागरिकहरूलाई खाद्यान्न, कपडा र आश्रय जस्ता आधारभूत आवश्यकताहरूमा खर्च घटाउन बाध्य तुल्याउन सक्ने प्रतिवेदनले जनाएको छ । यसले धेरै अफ्रिकी देशहरूले अत्यधिक स्वास्थ्य खर्चको बोझलाई सम्बोधन गर्न बलियो नीति र विधायी ढाँचाहरू अपनाएका छन् । रासस
पीआईएले सात वर्षको निलम्बनपछि अमेरिका उडान सुचारु गर्ने
इस्लामावाद । पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) ले सात वर्षको निलम्बन पछि संयुक्त राज्य अमेरिकामा उडानहरू सुचारु गर्ने छ । यो देशको उड्डयन क्षेत्रको लागि महत्त्वपूर्ण विकास भएको एआरवाई न्यूजले जनाएको छ । अमेरिकी सङ्घीय उड्डयन प्रशासन (एफएए) बीच विचाराधीन वित्तीय दायित्वहरू समाधान गर्न समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ । पाकिस्तान नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक नादिर शफी दारका अनुसार एफएएलाई भुक्तान छिट्टै हुने अपेक्षा गरिएको छ । एफएए प्रतिनिधिमण्डललाई फेब्रुअरी वा मार्चमा पाकिस्तान भ्रमण गर्ने मार्ग प्रशस्त हुनेछ । एआरवाई न्यूजका अनुसार यसले पाकिस्तानलाई एफएएसँग ‘श्रेणी एक’ स्थितिमा पुनः वर्गीकृत गर्ने सम्भावना बढाउँछ, जसले अमेरिकाको लागि सीधा उडानहरू पुनः सुरु गर्न अनुमति दिन्छ । पीआईएको संयुक्त राज्यका उडानहरू सन् २०१७ मा निलम्बन गरिएको थियो । सरकारले तीनवटा विद्युत वितरण कम्पनीसहित पीआईएको निजीकरण वर्षको अन्त्यसम्ममा सम्पन्न गर्ने योजना रहेको बताए । प्रारम्भमा अक्टोबर १ सम्ममा टुङ्ग्याउने गरी निजीकरण प्रक्रिया चलिरहेको नागरिक उड्डयनले जनाएको छ । रासस
क्यानडामा चरम उत्कर्षमा पुग्यो बेरोजगारी, के देश मन्दीमा फँस्दैछ ?
काठमाडौं । क्यानाडामा नोभेम्बरमा बेरोजगारी दर ६.८ प्रतिशत पुगेको छ, यो सेप्टेम्बर २०२१ पछिको उच्चतम स्तर हो । पछिल्लो दुई वर्षमा देशमा बेरोजगारी दर १ दशमलव ८ प्रतिशतले बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यस अवधिमा युवा बेरोजगारी दर ४.६ प्रतिशत अंकले बढेर १३.९ प्रतिशत पुगेको छ । यसैबीच बैंक अफ क्यानडाले ब्याजदरमा ५० आधार अंकले कटौती गरेको छ । यो वर्ष बैंकले पाँच पटक ब्याजदर घटाएको हो । क्यानडाको अर्थतन्त्र विगत छ त्रैमासिकदेखि प्रतिव्यक्ति आधारमा घट्दै गएको छ । अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पले ठट्टाको शैलीमा हालै क्यानडालाई अमेरिकाको ५१ औं प्रान्त बनाउनु पर्ने ठट्टाको स्वरमा भनेका थिए । सत्य यो हो कि क्यानडाको आर्थिक अस्तित्व संयुक्त राज्य अमेरिकासँग गहिरो रूपमा जोडिएको छ । ट्रम्पले क्यानाडाली सामानहरूमा २५ प्रतिशत ट्यारिफ लगाउने कुरा गरेसँगै प्रधानमन्त्री जस्टिन ट्रुडो तत्कालै ट्रम्पलाई भेट्न फ्लोरिडा पुगेका थिए । संयुक्त राज्य क्यानडाको सबैभन्दा ठूलो व्यापार साझेदार र विदेशी लगानीको सबैभन्दा ठूलो स्रोत हो । सन् २०२२ मा दुई देशबीचको व्यापार ९६०.९ बिलियन डलर पुग्ने अनुमान गरिएको छ । क्यानडाको विश्वव्यापी व्यापारको ६३.४ प्रतिशत अमेरिकाले ओगटेको छ । क्यानडमा मन्दी ? क्यानडाले २०२२ मा अमेरिकालाई ५९८ बिलियन डलर निर्यात गरेको थियो, जुन यसको कुल निर्यातको ७५ प्रतिशत थियो । दुई देशबीचको सम्बन्ध व्यापारमा मात्र सीमित छैन । दुवै देशको अर्थतन्त्र धेरै हदसम्म एक अर्कामा निर्भर छ । अमेरिकाको ऊर्जा आयातको ५१ प्रतिशत क्यानाडाबाट आउँछ । क्यानडाका कम्पनीहरूले अमेरिकामा ६२० अर्ब डलर लगानी गरेका छन् भने अमेरिकी कम्पनीहरूले क्यानडामा ५५० अर्ब डलर लगानी गरेका छन् । २० लाखभन्दा बढी क्यानडाली रोजगारीहरू अमेरिकासँगको व्यापारमा निर्भर छन् । बैंक अफ क्यानडाका पूर्वगभर्नर स्टीफन पोलोजले देशको अर्थतन्त्र मन्दीमा रहेको बताएका छन् । तीव्र जनसंख्या वृद्धिका कारण अर्थतन्त्रका कमजोरी लुकेको उनको भनाइ छ । उनले हालैको एक कार्यक्रममा क्यानडामा मन्दी रहेको र यो मन्दी प्राविधिक नभएको बताएका थिए ।