श्रीलङ्काको अर्थतन्त्र ५.५ प्रतिशतले वृद्धि हुने

काठमाडौं । श्रीलङ्काको अर्थतन्त्र साढे ५ प्रतिशतले वृद्धि हुने भएको छ । सन् २०२४ को तेस्रो त्रैमासिकमा श्रीलङ्काको अर्थतन्त्र ५.५ प्रतिशतले वृद्धि हुने केन्द्रीय बैंकले प्रक्षेपण गरेको हो । केन्द्रीय बैंकका अनुसार कृषि गतिविधि ३ प्रतिशत, उद्योग १०.८ प्रतिशत र सेवा गतिविधि २.६ प्रतिशतले बढेको छ । अक्टोबर सन् २०२४ मा चिया उत्पादनमा गिरावट भएतापनि कुल उत्पादन जनवरी र अक्टोबर बीचमा थोरै वृद्धि भएको छ । रबर उत्पादनले अक्टोबरमा उल्लेखनीय वार्षिक वृद्धि हासिल गर्दै स्थिर सुधार देखाएको केन्द्रीय बैंकले जनाएको छ । सन् २०२४ को पहिलो १० महिनामा नरिवलको उत्पादन वर्षैपिच्छे घटेको केन्द्रीय बैंकले जनाएको छ । गत वर्ष डिसेम्बर २० सम्ममा अमेरिकी डलरको तुलनामा श्रीलङ्काली रपी १०.७ प्रतिशतले बढेको केन्द्रीय बैंकको भनाइ छ ।

टेस्लाको मार्केट क्याप १. ४ ट्रिलियन डलर, विश्वव्यापी अटो उद्योगको झण्डै आधा

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कको विद्युतीय सवारीसाधन (ईभी) निर्माण गर्ने कम्पनी टेस्लाको सेयरमा पछिल्लो समय उल्लेख्य वृद्धि भएको छ । यो वृद्धिसँगै यसको बजार मूल्य (मार्केट क्याप) १.४ ट्रिलियन डलर पुगेको छ, जुन विश्वव्यापी अटो उद्योगको कुल बजार आकारको झण्डै आधा हो । गत वर्ष विश्वव्यापी अटोमोटिभ उद्योगको आकार करिब ३.४ ट्रिलियन डलर थियो । आगामी १० वर्षमा ६.८ ट्रिलियन डलर पुग्ने अपेक्षा गरिएको छ । टेस्लामा मस्कको लगभग २३ प्रतिशत सेयर छ । यद्यपि, हालैका दिनहरूमा टेस्लाले चिनियाँ ईभी कम्पनीहरूबाट कडा प्रतिस्पर्धाको सामना गरिरहेको छ । अक्टोबरमा चिनियाँ कम्पनी बीवाईडीले टेस्लाभन्दा धेरै गाडी उत्पादन गर्‍यो । नोभेम्बरको तथ्याङ्कअनुसार नोभेम्बरमा विश्वमा बिक्री हुने कुल ईभीमा चीनको हिस्सा ७० प्रतिशत थियो । यति हुँदाहुँदै पनि बजार पुँजीको हिसाबले विश्वको कुनै पनि अटो कम्पनी टेस्लाको नजिक छैन । जापानको अग्रणी अटो कम्पनी टोयोटा यस सूचीमा २३१ अर्ब डलरको साथ दोस्रो स्थानमा छ । चिनियाँ कम्पनी बीवाईडी १०७ अर्ब डलरका साथ तेस्रो स्थानमा छ भने ९८ अर्ब डलरका साथ शाओमी चौथो स्थानमा छ । इटालीको अग्रणी अटो कम्पनी फेरारी ८१ अर्ब डलर पाँचौं, मर्सिडिज बेन्ज (६३ अर्ब) छैटौं, पोर्श (५८ अर्ब) सातौं, जनरल मोटर्स (५१ अर्ब) नवौं र फक्सवागन (४८ अर्ब) डलर) दशौं स्थानमा छ। भारतको महिन्द्रा एन्ड महिन्द्रा सूचीमा ११ नम्बरमा छ । यसको मार्केट क्याप ४४ अर्ब छ । देशको सबैभन्दा ठूलो अटो कम्पनी मारुति सुजुकी ४२ अर्ब डलरको बजार पुँजीका साथ यो सूचीमा १२ नम्बरमा छ । टाटा मोटर्स ३५ अर्ब डलरको मार्केट क्यापको साथ १७ नम्बरमा छ । फोर्ड (४१ अर्ब) १३ औं, स्टेलान्टिस (४१ अर्ब) १४ औं, होन्डा (४० अर्ब) १५ औं र हुन्डाई (३७ अर्ब) १६ औंमा छन् ।

खर्च गर्ने पैसा नहुँदा अमेरिकामा फेरि पनि शटडाउन हुँदै, ट्रम्पले ल्याएको बिल भएन पास

काठमाडौं । संयुक्त राज्य अमेरिका अहिले आर्थिक संकटबाट गुज्रिरहेको छ । सरकारसँग सरकारी कर्मचारीलाई तलब दिन पर्याप्त रकम छैन । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारका लागि कोष जुटाउन समर्थन गरेको विधेयक बिहीबार राति अमेरिकी संसदमा पास हुन सकेको छैन । यसबाट बच्न अमेरिकासँग २४ घण्टाभन्दा कम समय बाँकी छ । खासमा अमेरिकी संसदमा बिहीबार राति सरकारी शटडाउनबाट बच्न एक बिल ल्याइएको थियो । उक्त विधेयकलाई ट्रम्पको समर्थन थियो । विपक्षी डेमोक्र्याट सांसदहरूले यो विधेयकको विरोध गर्दै विपक्षमा मतदान गरे । फलस्वरूप यो विधेयक संसदमा पारित हुन सकेन । डेमोक्र्याटहरू ट्रम्पलाई उनको नयाँ कार्यकालको पहिलो वर्षमा कुनै पनि वार्ताको लाभ दिन चाहँदैनन् । सोही कारण उनीहरूले यो विधेयकको विरोध गरेका हुन् । ट्रम्प रिपब्लिकन पार्टीबाट विजयी भएका थिए । ट्रम्पका सांसदले पनि गरे विरोध यस विधेयकको विपक्षी डेमोक्र्याट सांसदहरूले मात्रै होइन, ट्रम्पका केही सांसदहरूले पनि विरोध गरेका थिए । यो विधेयक संसदमा १७४-२३५ को अन्तरले अस्वीकृत भएको थियो । ट्रम्पको रिपब्लिकन पार्टीका ३८ सांसदले पनि यो विधेयकको विरोध गरेका छन् । यो विधेयक पास गर्न किन महत्त्वपूर्ण ? खासमा अमेरिकालाई आफ्नो खर्च पूरा गर्न फण्ड चाहिन्छ । यो फण्ड ऋण लिएर पूरा गरिन्छ । यसका लागि अमेरिकी संसद् हाउस अफ रिप्रिजेन्टेटिभमा एउटा विधेयक ल्याइएको छ । हालको विधेयक ट्रम्पले ल्याएका थिए, जसलाई विपक्षीहरूले अस्वीकार गरे । यसको सीधा अर्थ यो हो कि अमेरिकाले खर्च गर्न पैसा पाउने छैन । यो पैसाबाट अमेरिकाले सरकारी कर्मचारीलाई तलब मात्रै दिँदैन, अन्य खर्च पनि गर्न पाउँछ । विधेयक पारित गर्न शुक्रबार रातिसम्मको समय यो विधेयक पारित गर्न शुक्रबार रातिसम्म मात्र समय छ । अर्थात् अमेरिकी सरकारसँग २४ घण्टा आफ्नो खर्च चलाउन पनि पैसा छैन । यदि यो पारित भएन भने अमेरिका ठूलो समस्यामा पर्नेछ । यसको अर्थतन्त्रमा ठूलो नोक्सानी हुनेछ । यसको सबैभन्दा ठूलो असर ट्रम्पमा नै पर्नेछ । के छ विधेयकमा ? ट्रम्पले जनवरी २० बाट अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हाल्दैछन् । यस्तो अवस्थामा सरकार चलाउन पैसा चाहिन्छ । यस विधेयकमा मार्चसम्म खर्चका लागि अमेरिकी सरकारलाई रकम दिनुपर्ने लेखिएको छ । यस विधेयकले प्रकोप राहतमा १०० बिलियन डलर पनि प्रस्ताव गरिएको छ । साथै ऋणको सीमा दुई वर्ष बढाउने लक्ष्य पनि राखिएको छ । असर के होला ? विधेयक पास भएन भने सम्पूर्ण संघीय सञ्चालन ठप्प हुन सक्छ । २० लाखभन्दा बढी सरकारी कर्मचारीले तलब पाउने छैनन् र उनीहरूलाई बिदामा पठाइनेछ । धेरै संस्थाहरू अस्थायी रूपमा बन्द हुनेछन् । यसले अमेरिकाको एयरपोर्टहरूमा ट्राफिक धेरै बढ्नेछ । यसैगरी, संघीय सरकारलाई खर्च कटौती गर्न र गैर-आवश्यक सरकारी कर्मचारीहरूलाई अवकाश दिन बाध्य पार्नेछ । यस्तो अवस्थामा  शान्ति सुरक्षा कायम गर्ने अत्यावश्यक निकायका कर्मचारीले मात्रै काम गर्छन् ।  यसभन्दा पहिला कहिले भएको थियो शटडाउन ? सन् १९९५-१९९६ मा तत्कालीन राष्ट्रपति बिल क्लिन्टनको समयमा २१ दिन शटडाउन भएको थियाे । २०१३ मा राष्ट्रपति बराक ओबामाको समयमा १६ दिनको शटडाउन भएको थियो । २०१८-२०१९ राष्ट्रपति डोनाल्ड ट्रम्पको समयमा ३५ दिन शटडाउन भएको थियो, जुन सबैभन्दा लामो शटडाउन हाे ।