अडानी ग्रिन इनर्जीमा फ्रान्सको टोटल इनर्जीले सवा ३७ अर्ब लगानी गर्ने

काठमाडौं । भारतको व्यावसायिक घराना तथा दोस्रो धनी व्यक्ति गौतम अडानीको कम्पनीमा अर्को विदेशी कम्पनी प्रवेश गरेको छ । यो फ्रान्सको कम्पनी टोटल इनर्जी हो। यो कम्पनीले अडानी ग्रुपको कम्पनी अडानी ग्रिन इनर्जीमा ४४ करोड ४० लाख अमेरिकी डलर (करिब ३७ अर्ब २७ करोड रुपैयाँ) लगानी गर्ने छ । तर, विदेशी कम्पनीले भारतीय कम्पनीमा लगानी गरेको यो पहिलो पटक भने होइन । यसअघि पनि अडानी समूह लगायत धेरै कम्पनीमा विदेशी कम्पनीले लगानी गरिसकेका छन् । अडानी ग्रिन इनर्जीले संयुक्त उद्यम गठन गर्न टोटल इनर्जीबाट ४४ करोड ४० लाख डलर थप लगानीका लागि सम्झौता अनुमोदन गरेको बताइएको छ । ‘संयुक्त उद्यम कम्पनीको पोर्टफोलियो १ हजार १ सय ५० मेगावाट हुनेछ, यसमा सञ्चालन र निर्माणाधीन सौर्य ऊर्जा सम्पत्तिहरू समावेश हुनेछन् । यसबाहेक व्यापारमा आधारित र विद्युत खरिद सम्झौतामा आधारित आयोजना पनि समेटिनेछन्,’ विज्ञप्तिमा उल्लेख छ । योसँगै अडानी ग्रिन इनर्जीमा टोटल इनर्जीको १९.७५ प्रतिशत हिस्सेदारी पुगेको छ । गत वर्ष सेप्टेम्बरमा अडानी ग्रिन र टोटल इनर्जीले १ हजार ५० मेगावाटको ग्रिन पोर्टफोलियोका लागि संयुक्त उद्यम गठन गर्न सहमत भएका थिए । टोटल इनर्जीले यो सम्झौतामा ३० करोड डलर लगानी गर्ने भनिएको थियो । नयाँ सम्झौता अन्तर्गत अडानी ग्रिन इनर्जी र टोटल इनर्जीले नयाँ संयुक्त उद्यम कम्पनीमा प्रत्येकको ५० प्रतिशत सेयर राख्नेछन् । एजेन्सी

यस वर्षको अगस्ट महिना अस्ट्रेलियाली इतिहासकै गर्मी

काठमाडौं । यस वर्षको अगस्ट महिना अस्ट्रेलियाले रेकर्डमा सबैभन्दा गर्मी अगस्ट रिपोर्ट गरिएको छ । मौसम विज्ञान ब्यूरो (बीओएम) द्वारा जारी आधिकारिक तथ्यांक अनुसार अगस्टमा राष्ट्रिय औसत तापक्रम सन् १९६१–१९९० लामो अवधिको महिनाको औसतभन्दा ३.०३ डिग्री सेल्सियस थियो । यसले अघिल्लो राष्ट्रिय तापक्रम अगस्टको २.५६ डिग्री सेल्सियसको रेकर्ड तोडेको छ । जुन सन् २००९ को लामो अवधिको औसतभन्दा माथि छ । राष्ट्रिय औसत तापक्रम २०२४ को जाडोको दीर्घकालीन औसतभन्दा १.४८ डिग्री सेल्सियस बढी रहेको तथ्यांकले देखाएको छ । २०२३ मा औसत तापक्रम १.५४ डिग्री सेल्सियसभन्दा बढी थियो ।

नर्वेमा विद्युतीय कारको हिस्सा ९४ प्रतिशत, विश्व कीर्तिमान

काठमाडौं । नर्वेमा विद्युतीय कारको बिक्रीले अगस्टमा बजारको ९४ प्रतिशत हिस्सा ओगटेको छ । यो नयाँ विश्व कीर्तिमान हो । युरोपका बाँकी भागहरूमा बिक्री स्थिर रहेको तथ्याङ्कले सोमबार देखाएको छ । नर्वेजियन रोड फेडरेशन (ओएफभी) का अनुसार टेस्ला मोडल वाईले बिक्रीको १८.८ प्रतिशत हिस्सा ओगटेको र केही हदसम्म हुन्डाईको कोना र निसानको लिफले पनि बजार लिएको छ । नर्वेलीहरूले अगस्टमा १० हजार ४८० नयाँ ईभीहरू किनेका छन् । युरोपमा अन्य ठाउँमा उच्च मूल्य र अपर्याप्त पूर्वाधारले ईभीको बिक्रीमा बाधा रहेको समयमा नर्वेले यो कीर्तिमान् बनाएको हो । ‘विद्युतीय कारको प्रयोगका शिलशिलामा हेर्दा विश्वको कुनै पनि देश नर्वेको नजिक छैन,’ ओएफपी निर्देशक ओभिन्ड सोलबर्ग थोरसेनले एक विज्ञप्तिमार्फत भने, ‘यदि यो प्रवृत्ति जारी रह्यो भने, हामी चाँडै सन् २०२५ सम्म शत प्रतिशत शून्य उत्सर्जन कारहरूको हाम्रो लक्ष्य हासिल गर्ने बाटोमा छौं ।’ युरोपेली अटोमोबाइल उत्पादक सङ्घका अनुसार, जुलाईमा ईयूमा नयाँ कार बिक्रीको विद्युतीय कारले १२.१ प्रतिशत, ३३.४ पेट्रोलबाट चल्ने कारले प्रतिशत, पूर्ण हाइब्रिड कारले ३२ प्रतिशत र डिजेल कारले १२.६ प्रतिशत हिस्सा ओगटेको थियो।