अमेरिकाले रुसी सम्पत्तिबाट भएको नाफाबाट युक्रेनलाई २० अर्ब डलर ऋण दिने

एजेन्सी । संयुक्त राज्य अमेरिकाले रुसी सम्पत्तिबाट प्राप्त आम्दानीबाट युक्रेनलाई २० अर्ब डलर ऋण वितरण गरेको छ । यो जी–७ को ५० अर्ब डलरको समर्थन प्याकेजको हिस्सा हो । यो रकम अक्टोबरमा जी–७ उन्नत अर्थतन्त्रहरूले अन्तिम रूप दिएको ५० अर्ब डलरको नयाँ ऋणको महत्त्वपूर्ण हिस्सा हो । यसको उद्देश्य मस्कोको जारी आक्रमण विरुद्ध लड्न सङ्घर्ष गरिरहेको बेला किएभलाई मद्दत गर्नु हो । जनवरीमा राष्ट्रपति जो बाइडेनले डोनाल्ड ट्रम्पलाई सत्ता हस्तान्तरण गर्नुअघि युक्रेनी पक्षमा अमेरिकी समर्थनको भविष्यबारे प्रश्नहरू उठ्दा यी कोषहरू अत्यन्त महत्त्वपूर्ण समयमा आएका छन् । आगामी राष्ट्रपतिले सन् २०२२ मा रुसको आक्रमणपछि युक्रेनलाई दिइएको आर्थिक सहयोगको स्तरमा प्रश्न उठाउँदै बिहीबार किएभलाई दिइने सहायता ‘सम्भवतः’ कम गर्ने बताए । ‘रुसको आफ्नै अचल सम्पत्तिबाट कमाएको अप्रत्याशित आयबाट भुक्तान गरिएका यी कोषहरूले युक्रेनलाई अनावश्यक आक्रमण विरुद्ध आफ्नो देशको रक्षा गर्दा सहयोगको महत्त्वपूर्ण प्रवाह प्रदान गर्नेछ’, अमेरिकी अर्थमन्त्री जेनेट येलेनले विज्ञप्तिमा भने, ‘जी–७ का ऋणहरूले युक्रेनलाई आपत्कालीन सेवा, अस्पताल र आफ्नो साहसी प्रतिरोधका अन्य आधारहरू सञ्चालन गर्न आवश्यक स्रोतहरू सुनिश्चित गर्न सहयोग गर्नेछन् ।’ युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले मङ्गलबार यसलाई ‘न्यायको शक्तिशाली कार्य’ भन्दै वितरणका लागि ‘गहिरो कृतज्ञ’ भएको बताए । ‘यो समर्थनले युक्रेनको रक्षालाई बलियो बनाउनेछ र हाम्रो सार्वभौमिकता र जनतालाई अनावश्यक आक्रमणबाट जोगाउन मद्दत गर्नेछ’, उनले छुट्टै विज्ञप्तिमा भनेका छन् । यो कदम अमेरिका र यसका सहयोगीहरूबीच कानून भङ्ग नगरी युक्रेनलाई सहयोग गर्न निष्क्रिय रुसी सम्पत्तिको उपयोग गर्ने सर्वोत्तम तरिकाबारे लामो वार्तापछि आएको हो । ‘युक्रेनमा क्रूर आक्रमण गरेको रुसले आफ्नो आक्रामकता अन्त्य नगरेसम्म र युक्रेनलाई क्षति पुर्याएसम्म हाम्रो क्षेत्राधिकारमा रूसी सार्वभौम सम्पत्ति स्थिर रहने जी–७ ले प्रतिबद्धता जनाएको छ’, ह्वाइट हाउसका प्रेस सचिव करिन जिन–पियरेले मङ्गलबार पत्रकारहरूलाई भने, ‘अमेरिका र जी–७ अब त्यस प्रतिबद्धतालाई वास्तविक बनाउँदैछन् ।’ युरोपेली सङ्घ (इयु) ले रुसको केन्द्रीय बैंकबाट करिब दुई खर्ब ३५ अर्ब डलर कोष फ्रिज गरेपछि विश्वव्यापी रूपमा मस्कोको अधिकांश अचल सम्पत्तिको घर बनेको छ । यसको करिब ९० प्रतिशत बेल्जियममा आधारित अन्तर्राष्ट्रिय निक्षेप संस्था युरोक्लियरको स्वामित्वमा छ । वासिङ्टनले विश्व बैंकलाई २० अर्ब डलर हस्तान्तरण गरेको अर्थ मन्त्रालयले बताएको छ । बैंकले मौजुदा कोषमार्फत युक्रेनलाई रकम उपलब्ध गराउनेछ । इयुले पहिले नै रुसी निष्क्रिय सम्पत्तिद्वारा समर्थित करिब १९ अर्ब डलरको ऋण प्रतिबद्धता व्यक्त गरेको छ भने बेलायत, क्यानाडा र जापानले पनि योगदान गर्ने बताएका छन् । युक्रेनलाई ५० अर्ब डलरको ऋण जी–७ देशहरूबाट २०२२ देखि प्राप्त अन्य सहयोगमाथि थपिएको छ । यसमा वासिङ्टनबाट करिब ६० अर्ब डलरको सैन्य सहायता र इयु तथा यसका सदस्य राज्यहरूबाट करिब एक खर्ब २० अर्ब युरो (करिब एक खर्ब २७ अर्ब डलर) को समर्थन समावेश छ ।

अर्बपति अडानी श्रीलंकामा बन्दरगाह बनाउने योजनाबाट पछि हटे, अमेरिकाको सहयोग नलिने

काठमाडौं । अमेरिकी अदालतमा घुसखोरीको आरोपको सामना गरेका गौतम अडानी बन्दरगाह परियोजनाबाट पछि हटेकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अडानी पोर्ट्सले श्रीलंकामा आफ्नो एउटा बन्दरगाह परियोजनामा ​​अमेरिकाको सहयोग नलिने बताएको हो । यस आयोजनाका लागि कम्पनीले आफ्नै स्रोत परिचालन गर्ने जनाएको छ । अडानी समूहको कम्पनी अडानी पोर्ट्स र स्पेसल इकोनोमिक जोन (एपीएसईजेठ) श्रीलंकामा कोलम्बो वेस्ट इन्टरनेसनल टर्मिनल (सीडब्ल्यूआईटी) परियोजनामा ​​काम गरिरहेको छ । यो आयोजनाका लागि कम्पनीले अमेरिकी कम्पनी युएस डेभलपमेन्ट फाइनान्स कर्पोरेशन (डीएफसी)सँग ५५३ मिलियन डलर ऋणका लागि वार्ता गरिरहेको थियो । तर, अब अडानी पोर्टले यो ऋण अनुरोध फिर्ता लिएको छ । गत वर्ष सम्झौता एपीएसईजेठ र डीएफसीबीच गत वर्ष नोभेम्बरमा ५५३ मिलियन ऋण सम्झौतामा हस्ताक्षर भएको थियो । एक डीएफसी प्रवक्ताले लेनदेन २०२३ मा स्वीकृत भएको तर कुनै कोष वितरण नभएको जानकारी दिए । अब कम्पनीले के गर्ला ? इकोनोमिक टाइम्सका अनुसार अडानी पोर्ट्सले मंगलबार राति आफ्नो स्टक एक्सचेन्ज फाइलिङमा यो जानकारी दिएको हो । कम्पनीले डीएफसीसँग रकमको लागि अनुरोध फिर्ता लिएको बताएको छ । अब यो आयोजनाका लागि आन्तरिक स्रोत परिचालन गर्ने कम्पनीले जनाएको छ । यसका लागि आन्तरिक स्रोत र पूँजी व्यवस्थापन रणनीति अवलम्बन गरिनेछ । कम्पनीका अनुसार श्रीलंकामा सीडब्ल्यूआईटी परियोजनाको काम तीव्र गतिमा भइरहेको छ । यहाँ नयाँ टर्मिनलको काम भइरहेको छ । आगामी वर्षको सुरुदेखि सञ्चालनमा आउने अपेक्षा गरिएको छ । सीडब्ल्यूआईटी ​​परियोजना के हो? यो परियोजना अडानी पोर्ट्स र श्रीलंकाली समूह जोन केल्स होल्डिङ्सले निर्माण गरिरहेको छ । यसका लागि अडानी पोर्ट्सले श्रीलंका पोर्ट्स अथोरिटी र जोन किल्स होल्डिङ्ससँग सम्झौता गरेको थियो । यो परियोजना सेप्टेम्बर २०२१ मा सुरु भएको हो । यसले कोलम्बो पोर्टको क्षमता विस्तार गर्ने लक्ष्य राखेको छ । सीडब्ल्यूआईटी ​​श्रीलंकाको सबैभन्दा ठूलो र गहिरो कन्टेनर टर्मिनल हुनेछ । यसको लम्बाइ एक हजार ४०० मिटर र गहिराई २० मिटर हुने बताइएको छ । कोलम्बो बन्दरगाह हिन्द महासागरको सबैभन्दा ठूलो र व्यस्त ट्रान्स-शिपमेन्ट पोर्ट हो । यसको क्षमतालाई ध्यानमा राख्दै यसको विस्तारको आवश्यकता महसुस भएको थियो । यस नयाँ टर्मिनलको वार्षिक कार्गो ह्यान्डलिङ क्षमता ३२ लाखभन्दा बढी हुने अपेक्षा गरिएको छ ।

चिनियाँ ह्याकर खोज्नेलाई एक करोड डलर पुरस्कार दिने अमेरिकाको घोषणा

काठमाडौं । संयुक्त राज्य अमेरिकाले मङ्गलबार कम्प्युटर फायरवाल ह्याक गरेको आरोपमा एक चिनियाँ व्यक्ति र उनका सह–षड्यन्त्रकारीको गिरफ्तारीका लागि सूचना दिनेलाई एक करोड डलर पुरस्कारको प्रस्ताव गरेको छ । विदेश मन्त्रालयका अनुसार ३० वर्षीय गुआन तियानफेङ चीनको सिचुआन प्रान्तमा बस्दै आएका छन् । गुआनलाई कम्प्युटर धोखाधडी गर्ने र तार धोखाधडी गर्ने षड्यन्त्रको आरोप लगाउँदै मङ्गलबार मुद्दा खोलिएको थियो । अर्थ मन्त्रालयले गुआनले सिचुआन साइलेन्स इन्फर्मेसन टेक्नोलोजी कम्पनी लिमिटेडका लागि काम गरेको कम्पनीमाथि प्रतिबन्ध लगाएको बताएको छ । अभियोगअनुसार गुआन र सिचुआन साइलेन्सका सह–षड्यन्त्रकारीहरूले कथित रूपमा बेलायतमा आधारित साइबर सुरक्षा कम्पनी सोफोस लिमिटेडद्वारा बेचिएको फायरवालमा रहेको कमजोरीको फाइदा उठाएका थिए । ‘प्रतिवादी र उनका सह–षड्यन्त्रकारीहरूले विश्वभरका दशौँ हजार नेटवर्क सुरक्षा उपकरणमा क्षति पुर्याउने गरी आक्रमण गरे, जसका कारण उनीहरू विश्वभरका प्रयोगकर्ताहरूको डाटा चोर्न सफल भए’, उप महान्यायाधिवक्ता लिसा मोनाकोले  विज्ञप्तिमा भने । सन् २०२० को अप्रिलमा विश्वभरका ८१ हजार फायरवाल उपकरणमा एकै समयमा आक्रमण गरिएको थियो, जसको उद्देश्य प्रयोगकर्ता नाम र पासवर्ड लगायत डाटा चोर्नु र रानसमवेयरद्वारा कम्प्युटरहरूलाई सङ्क्रमित गर्नु थियो । अमेरिकाका करिब २३ हजार फायरवाल उपकरण थिए, तीमध्ये ३६ वटा ‘महत्त्वपूर्ण पूर्वाधार कम्पनीका प्रणालीहरू’ सुरक्षित गरिरहेका थिए । ‘गुआन तियानफेङ र उनका सह–षड्यन्त्रकारीहरूले फेला पारेको र दोहन गरेको जिरो–डे कमजोरीले अमेरिकाका व्यावसायिक संस्थाहरूलाई असर पार्यो’, एफबीआई एजेन्ट हर्बर्ट स्टापलेटनले भने, ‘यदि सोफोसले द्रुत रूपमा कमजोरीको पहिचान र व्यापक प्रतिक्रिया तैनाथ नगरेको भए क्षति अझ गम्भीर हुन सक्थ्यो ।’ अभियोगअनुसार सिचुआन साइलेन्सले आफ्ना सेवाहरू र ह्याकिङबाट प्राप्त डाटालाई चिनियाँ व्यवसाय र सार्वजनिक सुरक्षा मन्त्रालय लगायत सरकारी संस्थाहरूलाई बेचेको थियो । सिचुआन साइलेन्समा दर्ता गरिएको फोन नम्बरमा कलको जवाफ दिने एक व्यक्तिले कम्पनीले ‘अन्तर्वार्ता स्वीकार नगरेको’ र प्रतिबन्धहरूमा टिप्पणी गर्न अस्वीकार गरेको बताए । आफ्नो परिचय नदिने ती व्यक्तिले गुआनसँग ‘सम्पर्क गर्न असम्भव छ’ भने ।