इरानको भविष्य मोज्तबा खामेनेईको हातमा, के उनले सत्ता चलाउन सक्लान् ?

काठमाडौं । इरानले आइतबार मोज्तबा खामेनेईलाई देशको नयाँ सर्वोच्च नेता घोषणा गरेको छ । एसोसिएटेड प्रेस र रोयटर्सले इरानी सरकारी मिडियालाई उद्धृत गर्दै यस्तो जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । मोज्तबा खामेनेई हालै युद्धको सुरुवाती चरणमा मारिएका अयातोल्लाह अली खामेनेईका छोरा हुन् । उनी यस पदका लागि प्रमुख दाबेदार मानिएका थिए । अली खामेनेईले सन् १९८९ देखि मृत्यु नहुन्जेलसम्म इरानमा शासन गरेका थिए । मोज्तबा खामेनेईको नियुक्तिसँगै इरानको इस्लामिक रिभोलुसनरी गार्ड (आईआरजीसी) र अन्य कठोरपन्थी समूहहरूमा उनको नियन्त्रण हुनेछ । एसोसिएटेड प्रेसका अनुसार रिभोलुसनरी गार्डले उनको समर्थनमा वक्तव्य जारी गरेको छ । इरान समर्थित लेबनानी लडाकु समूह हेजबोल्लाहले पनि टेलिग्राममा मोज्तबा खामेनेईको तस्बिर राखी ‘आशीर्वादित इस्लामिक क्रान्तिका नेता’भनेर उल्लेख गरेको छ । यस नियुक्तिले इरानको शासनमा कठोरपन्थी शक्तिहरूको नियन्त्रण कायम रहने संकेत दिएको छ । साथै यो कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति सीधा चुनौतीको रूपमा पनि हेरिएको छ । ट्रम्पले इरानको नयाँ नेताको चयनमा अमेरिकाको पनि भूमिका हुनुपर्ने बताउँदै आएका छन् । ट्रम्पले यसअघि मोज्तबा खामेनेईलाई ‘हल्का तौलका नेता’  भनेर टिप्पणी गरेका थिए । उनले तेहरानमा आफ्नो स्वीकृति बिना नयाँ नेता चयन भए त्यो लामो समय टिक्न नसक्ने चेतावनी पनि दिएका थिए । ‘उसले हामीबाट स्वीकृति लिनुपर्छ,’ ट्रम्पले एबीसी न्यूजसँग भनेका थिए, ‘यदि उसले हामीबाट स्वीकृति पाएन भने ऊ धेरै समय टिक्दैन ।’ यस विषयमा ह्वाइट हाउसले तत्काल कुनै प्रतिक्रिया दिएको छैन । उता अमेरिकासँगै इरानविरुद्ध आक्रमणको नेतृत्व गरिरहेको इजरायल रक्षा बल (आईडीएफ) ले आइतबार सम्भावित नयाँ उत्तराधिकारीहरूलाई समेत लक्षित गर्ने चेतावनी दिएको छ । फारसी भाषामा एक्समा पोस्ट गर्दै आईडीएफले उत्तराधिकारी चयन प्रक्रियामा सहभागी हुनेहरूलाई समेत निशाना बनाइने चेतावनी दिएको हो । मोज्तबा खामेनेईले इरानको नेतृत्व गर्न सक्छन् त ? मोज्तबा खामेनेईले इरानको नेतृत्व गर्न सक्लान् कि सक्दैनन् भन्ने विषयमा मिश्रित धारणा देखिन्छ । धेरै विश्लेषकका अनुसार उनी लामो समयदेखि आफ्नो पिता अलि खामेनेईका नजिक रहेर पर्दापछाडिबाट प्रभाव जमाउँदै आएका व्यक्ति हुन् । विशेष गरी इरानको शक्तिशाली सुरक्षा निकाय इस्लामिक रिभोलुसनरी गार्ड कप्र्ससँग उनको निकट सम्बन्ध रहेको मानिन्छ, जसका कारण सत्ता सञ्चालनमा उनलाई संस्थागत समर्थन मिल्न सक्ने पश्चिमी विश्लेषकहरूको तर्क छ । तर धेरै पश्चिमी मिडियाले उनको अनुभव र वैधतामाथि प्रश्न पनि उठाएका छन् । उनी सार्वजनिक राजनीतिमा कहिल्यै ठूलो सरकारी पदमा देखिएका छैनन् र प्रायः पर्दापछाडि रहने व्यक्तिका रूपमा चिनिन्छन् । त्यसैले केही विश्लेषकका अनुसार यदि उनले नेतृत्व सम्हाले भने सुरुका वर्षहरूमा धार्मिक प्रतिष्ठान र सुरक्षा निकायहरूको प्रभाव निकै बलियो रहने सम्भावना छ । अर्कोतर्फ उनको चयनलाई लिएर केही टिप्पणीकारहरूले आलोचना पनि गरेका छन् । इरानियन रिभोलुसनपछि इरानमा राजतन्त्र अन्त्य भएको थियो, तर अहिले बुबाबाट छोरामा सत्ता सर्ने सम्भावनालाई केहीले ‘राजवंशीय शैलीको राजनीति’ भनेर व्याख्या गरेका छन् । त्यसैले पश्चिमी मिडियाको समग्र धारणा अनुसार मोज्तबा खामेनेई शक्तिशाली नेटवर्क भएका व्यक्ति भए पनि उनको नेतृत्वको प्रभाव र स्थायित्व कस्तो हुन्छ भन्ने कुरा अझै अनिश्चित मानिएको छ । खाडी देशमा इरानको आक्रमण जारी इरानले क्षेत्रीय सहयोगी देशहरूमा आक्रमण जारी राख्दा खाडी क्षेत्रका मुलुकहरूले पूर्वाधारमा थप क्षति पुगेको बताएका छन् । संयुक्त अरब इमिरेट्स (यूएई)ले इरानबाट आएको मिसाइल र ड्रोन खतरासँग जुधिरहेको जनाएको छ । यूएईको रक्षा मन्त्रालयका अनुसार देशको हवाई सुरक्षा प्रणालीले बलिस्टिक मिसाइलहरू अवरोध गरिरहेको छ भने लडाकु विमानहरूले ड्रोनहरू नष्ट गरिरहेका छन् । शनिबार साँझ दुबई र अबुधाबीमा मिसाइल खतराको चेतावनी दिँदै साइरन बजाइएको थियो । दुबईको २३ मरिना भवनमा खसेको भग्नावशेषले एक पाकिस्तानी चालकको मृत्यु भएको दुबई मिडिया अफिसले जनाएको छ। युद्धको असरले तेल महँगियो मध्यपूर्वका प्रमुख ऊर्जा उत्पादक देशहरूले उत्पादन घटाएपछि अमेरिकी कच्चा तेलको मूल्य आइतबार साँझ प्रति ब्यारेल १०० डलरभन्दा माथि पुगेको छ । युद्धका कारण होर्मुज जलडमरूमध्य प्रभावकारी रूपमा बन्द जस्तै भएपछि तेल बजारमा ठूलो अवरोध आएको छ । विश्वको करिब २० प्रतिशत तेल आपूर्ति यही मार्गबाट हुने भएकाले खाडी देशहरूलाई तेल निर्यात गर्न कठिन भएको छ । बहराइनले आइतबार ड्रोन आक्रमणबाट पानी प्रशोधन (डिसेलिनेसन) प्लान्टमा क्षति पुगेको जनाएको छ । यद्यपि पानी आपूर्तिमा असर नपरेको बताइएको छ । उता इरानले भने अमेरिकाले आफ्नो केश्म टापुमा रहेको पानी प्रशोधन प्लान्टमा आक्रमण गरेको आरोप लगाएको छ । इरानी विदेशमन्त्री अब्बास अराघचीका अनुसार यसले ३० वटा गाउँको पानी आपूर्तिमा असर पारेको छ । तर अमेरिकी सेनाले उक्त आरोप अस्वीकार गरेको छ । फेब्रुअरी २८ मा युद्ध सुरु भएयता इरानमा १ हजार ८५० भन्दा बढी मानिसको मृत्यु भएको बताइएको छ । जसमध्य कम्तीमा १ हजार ३३० सर्वसाधारण रहेका छन् ।  यस युद्धका कारण १ लाखभन्दा बढी इरानी नागरिक विस्थापित भएका छन् । (विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको सहयोगमा तयार पारिएको सामग्री) थप सामग्रीहरू : मध्यपूर्वको रापमा विश्व अर्थतन्त्र : केन्द्रीय बैंकहरूको ‘अग्निपरीक्षा’ र मुद्रास्फीति बढाउने जोखिम इरान : शून्यमा सत्ता, संकटमा शासन खाडी संकट गहिरिँदै : बीमा कम्पनीहरू पछि हट्दा विश्व ऊर्जा बजार त्रसित इरान र इजरायल : मित्रतादेखि कट्टर दुश्मनीसम्म, यस्तो छ नालीबेली

मध्यपूर्व द्वन्द्वले तेल बजारमा हलचल, भारतको अर्थतन्त्र जोखिममा !

काठमाडौं । इरान–इजरायलबीचको युद्ध रोकिने संकेत अहिले देखिएको छैन । यस युद्धमा अमेरिका पनि इजरायलको पक्षमा उभिएको छ । साथै यो युद्धको प्रभाव खाडी मुलुकहरूमा पनि फैलिन थालेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो युद्ध लामो समयसम्म चल्न सक्ने बताएका छन् । त्यसकारण क्रूड आयल अर्थात् कच्चा तेलको मूल्यमा तीव्र वृद्धि हुन सक्ने अनुमान गरिएको छ । यसको प्रभाव भारतको अर्थतन्त्रमा पनि देखिन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । इरान–इजरायल द्वन्द्वको आज नवौं दिन पुगेको छ । संघर्ष सुरु हुनुअघि कच्चा तेलको मूल्य करिब ६२ डलर प्रति ब्यारेल थियो । तर एक साताभित्रै क्रूड आयलको मूल्यमा तीव्र उछाल आएको छ । शुक्रबार तेलको मूल्य ९० डलर प्रति ब्यारेलभन्दा माथि पुगेको थियो । अमेरिकी कच्चा तेल वेस्ट टेक्सास इन्टरमेडियट (डब्ल्यूटीआई) को मूल्य ९०.९० डलरमा स्थिर भएको छ, जुन एक साताअघि भन्दा करिब ३६ प्रतिशत बढी हो । त्यस्तै, अन्तर्राष्ट्रिय मापदण्ड ब्रेन्ट क्रूडको मूल्य पनि एक सातामा २७ प्रतिशतले बढेर ९२.६९ डलर प्रति ब्यारेल पुगेको छ । होर्मुज जलडमरूमध्य मुख्य मार्ग खाडी मुलुकहरूबाट आउने अधिकांश तेल स्ट्रेट अफ होर्मुज हुँदै विश्व बजारमा पुग्छ ।  यो मार्ग इरानको सीमाक्षेत्र नजिकै पर्छ । युद्धको अवस्था हेर्दै इरानले यस मार्गमा विभिन्न प्रतिबन्धहरू लगाएको बताइएको छ । विश्वव्यापी तेल ढुवानीको करिब २०–२५ प्रतिशत यही मार्गबाट हुने गर्छ । भारतले आयात गर्ने कच्चा तेलको करिब आधा भाग पनि यही बाटो हुँदै आउँछ । यहाँ तनाव बढ्दा आपूर्ति अवरुद्ध हुने जोखिम मात्र होइन, जहाज बीमा र ढुवानी खर्च पनि बढेको छ, जसलाई ‘वार प्रिमियम’ भनिन्छ । मध्यपूर्वमा बढ्दो तनावका कारण पर्शियन गल्फ हुँदै जाने जहाजहरूको बीमा प्रिमियममा तीव्र वृद्धि देखिएको छ । युद्ध जोखिम बढेकाले शिपिङ कम्पनी र कार्गो मालिकहरूको लागत निकै बढ्न सक्छ । हालको संघर्षका कारण पहिले लागू गरिएको ‘वार रिस्क प्रिमियम’ पर्याप्त मानिएको छैन । भविष्यमा बीमा कभरेज उपलब्ध हुन सक्छ, तर त्यसका लागि जहाज मालिक र कार्गो कम्पनीहरूले धेरै महँगो प्रिमियम तिर्नुपर्ने अवस्था आउन सक्छ । यो कुरा पोलिसीबजार फर बिजनेसका मरीन इन्स्योरेन्स प्रमुख बालासुन्दरम आरले बताएका हुन् । भारतमा कस्तो प्रभाव पर्न सक्छ ? भारतले आफ्नो आवश्यकताको करिब ५० प्रतिशत कच्चा तेल मध्यपूर्वबाट आयात गर्छ । भारतीय रिफाइनरीहरू मुख्य रूपमा मध्यपूर्वी कच्चा तेल प्रशोधन गर्न मिल्ने गरी डिजाइन गरिएका छन् । भारतसँग करिब २५–३० दिनका लागि मात्र रणनीतिक पेट्रोलियम भण्डार छ, जुन आपतकालीन अवस्थाका लागि राखिएको हो । हालै कच्चा तेलको मूल्य प्रति ब्यारेल १०–१५ डलरसम्म बढेको देखिएको छ । यसको प्रभाव आगामी दिनमा भारतको आर्थिक वृद्धिदरमा देखिन सक्छ । विश्व बजारमा कच्चा तेलको मूल्य प्रत्येक १० डलरले बढ्दा भारतको जीडीपी वृद्धिदर करिब ०.५ प्रतिशतले घट्न सक्ने अनुमान गरिएको छ । यस्तो अवस्थामा देशमा महँगी बढ्ने सम्भावना पनि रहन्छ । तेलको मूल्य १५० डलरसम्म पुग्न सक्छ ? हालै अगेन क्यापिटलका पार्टनर जोन किलडुफले तेलको मूल्य १०० डलर प्रति ब्यारेलसम्म पुग्न सक्ने बताएका थिए । त्यस्तै, फाइनान्सियल  टाइम्सलाई दिएको अन्तर्वार्तामा कतारका ऊर्जामन्त्रीले खाडी क्षेत्रका ऊर्जा उत्पादकहरूले केही हप्ताभित्रै निर्यात रोक्न सक्ने सम्भावना रहेको बताएका छन् । यदि यस्तो भयो भने तेलको मूल्य १५० डलर प्रति ब्यारेलसम्म पुग्न सक्छ । यस्तो अवस्थामा भारतमा महँगी अत्यधिक बढ्न सक्छ र अर्थतन्त्रमा गम्भीर असर पर्न सक्छ । मध्यपूर्वको रापमा विश्व अर्थतन्त्र : केन्द्रीय बैंकहरूको ‘अग्निपरीक्षा’ र मुद्रास्फीति बढाउने जोखिम इरान : शून्यमा सत्ता, संकटमा शासन खाडी संकट गहिरिँदै : बीमा कम्पनीहरू पछि हट्दा विश्व ऊर्जा बजार त्रसित इरान र इजरायल : मित्रतादेखि कट्टर दुश्मनीसम्म, यस्तो छ नालीबेली

डोनाल्ड ट्रम्पले भने- आज इरानमाथि अत्यधिक प्रहार गरिनेछ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानमाथि ‘धेरै कडा’ आक्रमण गरिने चेतावनी दिएका छन् । उनले आवश्यक परे नयाँ लक्ष्यहरूमा आक्रमण गर्न सकिने सङ्केत पनि दिए ।  ट्रम्पले सामाजिक सञ्जालमार्फत भने, ‘आज इरानमाथि अत्यधिक प्रहार गरिनेछ ।’ उनले इरानको ‘खराब व्यवहार’का कारण केही क्षेत्र र समूहहरूलाई पूर्ण विनाश र निश्चय मृत्युको खतरा भइरहेको बताए । यसअघि इरानी राष्ट्रपति मसूद पेझेस्कियनले .कहिल्यै इजरायल र अमेरिकाको सामु आत्मसमर्पण नगर्ने बताएका थिए । अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानविरुद्ध अभियान सुरु गरेका थिए र त्यसयता इरानले इजरायल र गल्फका अमेरिकी क्षेत्रहरूलाई क्षेप्यास्त्र तथा ड्रोनमार्फत प्रहार गर्दै आएको छ । ट्रम्पले भने, ‘इरान अब मध्यपूर्वको धम्की दिने शक्ति होइन । उहाँहरू मध्यपूर्वको हार्ने पक्ष हुन् ।’