३९ वर्षमा पनि मेसीकै जादु, विश्वकपमा फेरि इतिहास रच्ने अवसर
काठमाडौं । सन् २०२२ को विश्वकप फाइनल नै लियोनेल मेसीको अन्तिम विश्वकप खेल हुने अपेक्षा गरिएको थियो । स्वयं मेस्सीले पनि उक्त कुरा बताएका थिए । क्रोएसियामाथि अर्जेन्टिनाले ३–० को सेमिफाइनल जित निकालेपछि डिसेम्बर २०२२ मा उनले भनेका थिए, ‘विश्वकप यात्राको अन्त्य फाइनलमा गर्न पाउँदा म निकै खुसी छु । अन्तिम खेल नै फाइनल खेल्न पाउनु विशेष कुरा हो ।’ तर, चार वर्षपछि पनि दृश्य फेरिएको छैन । मेसी अझै पनि अर्जेन्टिनाको खेलको केन्द्रबिन्दु बनेका छन् । ३९ वर्ष पुगेका मेसीले आइतबार राति पुरुष विश्वकपको फाइनल खेल्ने सबैभन्दा बढी उमेरका फिल्ड खेलाडीको कीर्तिमान बनाउनेछन् । फाइनलका दिन उनी ३९ वर्ष २५ दिनका हुनेछन् । उनीभन्दा बढी उमेरमा विश्वकप फाइनल खेल्ने खेलाडी इटालीका गोलरक्षक डिनो जोफ मात्र हुन्, जसले सन् १९८२ मा ४० वर्ष १३३ दिनको उमेरमा फाइनल खेलेका थिए । २०२६ को विश्वकपमा देखाएको प्रदर्शनलाई हेर्दा मेसी विश्वकप फाइनलमा गोल गर्ने सबैभन्दा बढी उमेरका खेलाडी बन्ने सम्भावना पनि उत्तिकै बलियो छ । यो कीर्तिमान हाल स्विडेनका निल्स लिडहोमको नाममा छ, जसले सन् १९५८ को फाइनलमा ३५ वर्ष २६४ दिनको उमेरमा गोल गरेका थिए । यो फाइनल मेसीको विश्वकपमा ३४औं खेल हुनेछ । यससँगै उनले आफ्नो निकटतम प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डोलाई सात खेलले पछि पार्नेछन् । आफ्नो पुस्ताका सर्वश्रेष्ठ फुटबलर को भन्ने बहसमा मेसी र रोनाल्डोबीच लामो समय तुलना हुँदै आएको छ । तर यो विश्वकपमा मेसीले त्यो दूरी अझ फराकिलो बनाएका छन् । रोनाल्डो फेरि एकपटक विश्वकप निराशासँग बाहिरिँदा मेसी भने उमेर बढ्दै जाँदा अझ प्रभावशाली बन्दै गएका छन् । फेरि एकपटक मेसीको काँधमा अर्जेन्टिना २०२२ जस्तै यसपटक पनि मेसीले लगभग एक्लै अर्जेन्टिनालाई फाइनलसम्म डोर्याएका छन् । अर्जेन्टिनाले यस विश्वकपमा गरेका १९ गोलमध्ये १२ गोलमा मेस्सीको प्रत्यक्ष योगदान छ । उनको नाममा ८ गोल र ४ असिस्ट छ । अन्तिम ३२ को खेलमा केप भर्डेविरुद्ध डिने बोर्जेसबाट भएको आत्मघाती गोलको सुरुआती क्रस पनि मेसीकै थियो । २०२२ मा फाइनल पुग्ने क्रममा अर्जेन्टिनाका १२ गोलमध्ये ८ गोलमा उनको योगदान थियो । त्यसपछि फ्रान्सविरुद्धको फाइनलमा उनले थप दुई गोल गरेका थिए । यस विश्वकपमा मेसी एकमात्र त्यस्ता खेलाडी हुन्, जो आफ्नो टोलीका कम्तीमा आधा प्रहारमा प्रत्यक्ष संलग्न छन् । चाहे अवसर सिर्जना गर्ने होस् वा आफै प्रहार गर्ने, अर्जेन्टिनाका ५२.७ प्रतिशत प्रहारमा उनको भूमिका छ । यो अनुपात २०२२ को ५३ प्रतिशतसँग लगभग समान छ । उनले यस विश्वकपमा ५९ वटा शट इन्भाल्भमेन्ट (३४ प्रहार र २५ अवसर सिर्जना) गरेका छन्, जुन अर्जेन्टिनाका अन्य कुनै पनि खेलाडीभन्दा ४१ ले बढी हो । दोस्रो स्थानमा रहेका एलेक्सिस म्याक एलिस्टरको संख्या १८ मात्र छ । माराडोनापछि मेसीमाथि धेरै निर्भरता सन् १९८६ मा डिएगो माराडोनापछि कुनै पनि टोली आफ्नो एक खेलाडीमा अर्जेन्टिनाले जति निर्भर भएको देखिएको थिएन । सन् २००६ को विश्वकपबाहेक जहाँ मेस्सीले सम्भावित ५१० मिनेटमध्ये १२१ मिनेट मात्र खेलेका थिए, त्यसयता प्रत्येक विश्वकपमा अर्जेन्टिनाका कम्तीमा ४२ प्रतिशत प्रहारमा उनको प्रत्यक्ष सहभागिता रहेको छ। सन् १९६६ यता विश्वकपमा केवल सात खेलाडीले ३० भन्दा बढी प्रहारमा संलग्न हुँदै आफ्नो टोलीका कम्तीमा आधा प्रहारमा भूमिका खेलेका छन् । तीमध्ये दुई प्रदर्शन मेसीकै हुन्—२०२२ र २०२६ मा, अर्को प्रदर्शन माराडोनाले १९८६ मा गरेका थिए । अवसर सिर्जनामा पनि उत्तिकै माहिर मेसी अहिले विश्वकप इतिहासकै दोस्रो सर्वाधिक गोलकर्ता बनेका छन् । उनले आफ्नो गोल संख्या २१ गोल पुर्याएका छन् । फ्रान्सका केलियन एम्बाप्पेले २२ पुर्याइसकेका छन् । भविष्यमा एम्बाप्पेले यो संख्या पार गर्न सक्ने सम्भावना भए पनि मेस्सीले छाडेको समग्र विरासतको बराबरी गर्न कठिन हुनेछ । सन् २०२६ मा मेस्सीले १२ गोलमा प्रत्यक्ष योगदान दिएका छन् । सन् १९७० मा पश्चिम जर्मनीका गर्ड मुलरले गरेको १३ योगदानपछि यो सबैभन्दा उच्च संख्या हो । यसबाहेक उनले विश्वकपमा १२ असिस्ट पुर्याउँदै सन् १९६६ यताकै सर्वाधिक असिस्ट गर्ने खेलाडीको कीर्तिमान पनि बनाएका छन् । उनले डिएगो माराडोनाको ८ असिस्टको कीर्तिमानलाई उछिनेका हुन् । २०२२ पछि पूर्ण रूपमा बदलिएको मेसी २०१४ मा विश्वकपको सर्वोत्कृष्ट खेलाडी घोषित भए पनि उनका पहिलो चार विश्वकपमा गोल र असिस्टको कुल संख्या अपेक्षाअनुसार थिएन । तर २०२२ पछि त्यो तस्वीर पूर्ण रूपमा बदलिएको छ । पछिल्ला दुई विश्वकपमा उनले १४ खेलमा २२ गोल योगदान (१५ गोल, ७ असिस्ट) दिएका छन्, जुन अन्य कुनै पनि खेलाडीभन्दा बढी हो । यसको विपरीत, २००६ देखि २०१८ सम्मका पाँच विश्वकपमा उनले १९ खेलबाट ११ गोल योगदान (६ गोल, ५ असिस्ट) मात्र दिएका थिए । नकआउट चरणमा अझ खतरनाक कतार २०२२ अघि मेस्सीले विश्वकपको नकआउट चरणमा एक गोल पनि गरेका थिएनन्, यद्यपि उनले आठ नकआउट खेल खेलिसकेका थिए । तर २०२२ र २०२६ का आठ नकआउट खेलमा उनले ७ गोल गरेका छन् भने ६ असिस्ट दिएका छन् । इङ्ल्यान्डविरुद्धको सेमिफाइनलमा उनले दुई असिस्ट दिए । पहिलो असिस्ट छोटो कर्नरबाट सुरु भएको चलाखीपूर्ण आक्रमणमा इन्जो फर्नान्डेजलाई अवसर सिर्जना गरेर दिएका थिए । दोस्रोमा उनले आफ्नो कमजोर मानिने दायाँ खुट्टाबाट लौटारो मार्टिनेजको टाउकामा सटिक क्रस मिलाइदिए । त्यो खेलमा मेसीले खुला खेलबाट ६ क्रस गरेका थिए, जुन विश्वकपमा उनको व्यक्तिगत उच्च संख्या हो । अद्भूत गेममाइन्ड पछिल्ला तीन खेलमा दोस्रो हाफदेखि मेसीले मैदानको बीचबाट दायाँ विङतर्फ सर्ने रणनीति अपनाएका छन् । यो प्रशिक्षक लियोनेल स्कालोनीको योजनाको हिस्सा हुन सक्छ, तर त्यसमा मेसीको असाधारण खेलबुद्धिले पनि ठूलो भूमिका खेलेको देखिन्छ । उनको विशेषता भनेकै विपक्षीको निगरानीबीच पनि खाली स्थानमा पुगेर खेललाई नियन्त्रण गर्नु हो । पछिल्ला तीन खेलमा उनले पहिलो हाफमा ८८ पटक मात्र बल छोएका छन् भने दोस्रो हाफमा (स्विट्जरल्यान्डविरुद्ध अतिरिक्त समयसहित) २०० पटक बल छोएका छन् । अर्थात् पहिलो हाफमा प्रति ९० मिनेट ५९ टच, दोस्रो हाफमा १०९ टच । ‘जोन १४’ अझै पनि मेसीकै क्षेत्र पेनाल्टी क्षेत्रबाहिरको मध्य भाग, जसलाई ‘जोन १४’ भनिन्छ, अझै पनि मेसीको सबैभन्दा खतरनाक क्षेत्र बनेको छ । यस विश्वकपमा उनका खुला खेलका १९ प्रतिशत टच यही क्षेत्रमा भएका छन्, जुन विश्वकपमा उनको करियरकै उच्च अनुपात हो । उनका ३४ प्रहारमध्ये १६ वटा (४७ प्रतिशत) पनि यही क्षेत्रबाट आएका छन् । मेसीको यही शैलीका कारण अर्जेन्टिनाले पनि आक्रमण क्षेत्रका ३३.१ प्रतिशत टच मैदानको मध्य भागमा गरेका छन्, जुन प्रतियोगिताकै उच्च हो । अन्तर्राष्ट्रिय सफलताको नयाँ युग सात पटकका बालोन डी’ओर विजेता मेसीले क्लब फुटबलमा सबै सम्भावित सफलता हासिल गरे पनि सन् २०२१ अघि अन्तर्राष्ट्रिय उपाधि जित्न सकेका थिएनन् । तर २०२१ को कोपा अमेरिका जितेपछि सबै बदलियो । त्यसपछि अर्जेन्टिनाले २०२२ को विश्वकप र २०२४ को कोपा अमेरिका पनि जित्यो, जहाँ दुवै सफलतामा मेसीको भूमिका निर्णायक रह्यो । यदि अर्जेन्टिनाले आइतबारको फाइनल जितेमा सन् २०२१ मा मेस्सीले बार्सिलोनाबाट विदा भएयता टोलीले खेलेका लगातार चार ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता जित्नेछ । स्पेनविरुद्धको खेल अन्तिम अध्याय ? विश्वकप करिअरको अन्तिम खेल स्पेनविरुद्ध खेल्नु पनि मेसीका लागि विशेष हुनेछ । जीवनको अधिकांश समय उनले स्पेनमै बिताए र बार्सिलोनाका लागि १७ सिजनमा ७७८ खेल खेल्दै ६७२ गोल गरेर क्लब इतिहासकै सर्वाधिक गोलकर्ता बने । फाइनल जिते पनि उनले ब्राजिलका पेलेको तीन विश्वकप उपाधिको कीर्तिमान बराबरी गर्न सक्ने छैनन् । तर उनी दुई विश्वकप जित्ने सीमित महान् खेलाडीहरूको सूचीमा भने समावेश हुनेछन् । अझै पनि संसारकै सबैभन्दा प्रभावशाली खेलाडी धेरैले ३९ वर्षीय मेसीको प्रभाव समाप्त भइसकेको ठानेका थिए । मेजर लिग सकर (एमएलएस) मा खेलिरहेका कारण पनि उनीमाथि शंका गरिएको थियो । तर उनीहरू सबै गलत साबित भए । मेसी ३९ वर्षको उमेरमा पनि आफ्नो उत्कर्षकालजत्तिकै प्रभावशाली छन्, केवल शैली फरक भएको छ । सर्वकालीन महान् फुटबलर भएको प्रमाणित गर्न उनले यस विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्नु आवश्यक थिएन ।तर उनले त्यो पनि गरेर देखाएका छन् । (अप्टा एनालाइसिसबाट अनुदित तथा सम्पादित) अन्य सान्दर्भिक सामग्रीहरू : इङ्ल्यान्ड र अर्जेन्टिनाले एक-अर्कालाई किन घृणा गर्छन् ? यस्तो छ ६४ वर्षदेखिको तिक्तता केन र बेलिङ्घमकै भरमा इङ्ल्यान्डले विश्वकप जित्न सक्ला ? पहिलो सेमिफाइनल : उपाधिको दाबेदार फ्रान्स र स्पेनबीच निर्णायक खेल कसले जित्ला विश्वकप ? यस्तो छ अप्टा सुपरकम्प्युटरको भविष्यवाणी इङ्ग्ल्यान्डको नायक बेलिङ्घम सेमिफाइनल समीकरण पूरा, फुटबलका चार महाशक्ति उपाधि दौडमा यी हुन् इङ्ल्यान्डले नर्वेलाई हराउन गर्नुपर्ने ६ मुख्य काम हालान्डको नाममै उन्माद ‘विश्वकप पहिले नै तय थियो ?’ अर्जेन्टिनालाई लिएर फैलिएका षड्यन्त्रका दाबीहरू विश्वकपमा अनुभवको दबदबा, इतिहासकै सबैभन्दा बढी उमेरका खेलाडी मैदानमा विश्वकपको उपाधि होड थप रोमाञ्चक क्रिस्टियानो रोनाल्डो : इतिहास रचे, तर विश्वकप ट्रफी चुम्न सकेनन् हालान्ड : दि नर्वेजियन हिरो चम्किँदै भिनिसियस जुनियर गोल्डेन बुटका दाबेदार विश्वकै भरपर्दा स्ट्राइकर ह्यारी केन डीआर कङ्गोको ऐतिहासिक यात्रामा इंग्ल्यान्डको चुनौती यी हुन् विश्वकप जित्ने प्रमुख दाबेदार टोली [अप्टा विश्लेषण] विश्वकपमा गोलको वर्षा, नकआउटअघि नै तोडियो सर्वाधिक कीर्तिमान मेसी दि ग्रेट : जसले इतिहासका पानाहरू पुनः लेख
५ सयभन्दा बढी रोहिङ्ग्या समुद्रमा बेपत्ता
काठमाडौं । म्यानमारको रखाइन राज्यबाट जुन २९ मा दुईवटा डुंगामार्फत करिब ५३० जना रोहिङ्ग्या शरणार्थी समुद्री यात्रामा निस्किएका थिए । त्यसयता उनीहरूको कुनै अत्तोपत्तो छैन । यो संख्या एउटा ठूलो यात्रुवाहक विमानमा सवार यात्रुहरूको संख्यासँग लगभग बराबर हो । उनीहरू चढेको दुवै डुंगा समुद्रमा डुबेको हुन सक्ने बलियो आशंका गरिएको छ । यस क्षेत्रमा मनसुन सुरु भइसकेको छ र समुद्रमा ठूलो छाल उठिरहेको छ । रोहिङ्ग्या शरणार्थी चढेका डुंगा प्रायः पुराना माछा मार्ने डुंगा हुने गर्छन्, जुन समुद्री यात्राका लागि उपयुक्त हुँदैनन् र तिनका इन्जिन पनि भरपर्दा हुँदैनन् । त्यसैले यात्रुहरूमध्ये निकै कम मानिस मात्रै बाँच्न सफल भएका हुन सक्ने वा सम्भवतः कोही पनि जीवित नरहेको हुन सक्ने आशंका गरिएको छ । यात्रुहरूमध्ये करिब आधा महिला र बालबालिका रहेको अनुमान छ । तर वास्तविकता के हो भन्ने कुरा सायद कहिल्यै थाहा नहुन पनि सक्छ । विद्रोही नियन्त्रणको क्षेत्रबाट निस्किएका थिए रोहिङ्ग्या रखाइन राज्य लामो समयदेखि द्वन्द्वको चपेटामा छ । विद्रोही संगठन अराकान आर्मीले म्यानमार सेनालाई राज्यका अधिकांश क्षेत्रबाट विस्थापित गरिसकेको छ । उसले राज्यको राजधानी सिट्वेमा रहेको सेनाको अन्तिम ठूलो चौकीलाई पनि घेराबन्दी गरेको छ । अहिले सिट्वेमा हवाई वा समुद्री मार्गबाट मात्र पुग्न सकिन्छ । सेनाले अधिकांश दूरसञ्चार सेवा समेत बन्द गरिदिएको छ । रोहिङ्ग्याको अवस्थाबारे काम गर्ने संस्था अराकान प्रोजेक्टकी प्रमुख क्रिस लेभा ती दुई डुंगालाई के भयो भन्ने पत्ता लगाउने प्रयासमा छिन् । तर प्रत्यक्ष सम्पर्क टुटेकाले यो काम निकै कठिन बनेको छ । ती डुंगा सिट्वे नजिकैको सिन टेट माव गाउँबाट छुटेका थिए, जुन अहिले अराकान आर्मीको नियन्त्रणमा छ । उपलब्ध विभिन्न स्रोतका आधारमा दुवै डुंगा जुन २९ मै छुटेको विश्वास गरिएको छ । एउटा बिहान र अर्को दिउँसो प्रस्थान गरेको बताइएको छ । डुंगाहरू म्यानमारको दक्षिणी तटीय क्षेत्रमा पुग्ने योजनामा थिए । त्यहाँबाट यात्रुहरूलाई सडकमार्फत जंगलभित्रका अस्थायी ट्रान्जिट शिविर हुँदै थाइल्यान्ड पार गराएर अन्ततः मलेसियाको सीमा पुर्याउने योजना थियो । सामान्यतया यात्रुका परिवारले एक सातादेखि १० दिनभित्र उनीहरूको खबर पाउने गर्छन् । तर झन्डै तीन साता बितिसक्दा पनि कुनै सूचना प्राप्त भएको छैन । यसबीच बंगलादेशका अधिकारीहरूले समुद्रबाट बगेर आएको एक महिलाको शव फेला पारेका छन् । इरावदी डेल्टा र मोन राज्यको तटीय क्षेत्रमा माछा मार्ने माझीहरूले नौ दिनपछि थप केही शव भेटाएका छन् । क्रिस लेभाका अनुसार यी सबै संकेतले दुवै डुंगा समुद्रमा डुबेको देखाउँछन् । एउटा डुंगा प्रस्थान गरेको केही घण्टामै दुर्घटनामा परेको हुन सक्छ भने अर्को धेरै दिन दक्षिण–पूर्वतर्फ यात्रा गरेपछि डुबेको हुन सक्ने अनुमान छ। बंगलादेशका शिविरदेखि मलेसियासम्म दक्षिणी बंगलादेशका भीडभाडयुक्त शरणार्थी शिविरमा अहिले १० लाखभन्दा बढी रोहिङ्ग्या बसिरहेका छन् । त्यहाँ अन्तर्राष्ट्रिय सहायता निरन्तर घटिरहेको छ, रोजगारीका अवसर अत्यन्त न्यून छन् र संगठित अपराधी समूह सक्रिय छन् । शरणार्थीलाई शिविरबाहिर जान पनि अनुमति छैन । रखाइन राज्यमै अझै करिब ६ लाख रोहिङ्ग्या बसोबास गर्छन् । तीमध्ये करिब एकचौथाइ अत्यन्त दयनीय आन्तरिक विस्थापित (आईडीपी) शिविरमा छन् भने बाँकी द्वन्द्वरत पक्षबीच फसेका बस्तीमा बसिरहेका छन् । म्यानमारको सैनिक सरकारले रोहिङ्ग्यालाई जबर्जस्ती सेनामा भर्ती गराउने प्रयास गरिरहेको आरोप छ । अर्कोतर्फ रखाइन समुदायको समर्थन पाएको अराकान आर्मीले पनि रोहिङ्ग्याप्रति विश्वास नगर्ने र उनीहरूमाथि गम्भीर मानवअधिकार उल्लङ्घन गरेको आरोप खेप्दै आएको छ । यही कारण धेरै रोहिङ्ग्याले विदेश पुग्नु नै आफ्नो एकमात्र आशा ठानेका छन् । मलेसियामा पहिलेदेखि नै करिब दुई लाख रोहिङ्ग्या बसोबास गर्दै आएका छन् । त्यसैले यो उनीहरूका लागि सबैभन्दा आकर्षक गन्तव्य बनेको छ । यसले मानव तस्करका लागि ठूलो कमाइको अवसर सिर्जना गरेको छ । उनीहरूको सञ्जाल अहिले बंगलादेश, म्यानमार, थाइल्यान्ड, मलेसिया र इन्डोनेसियासम्म फैलिएको छ । तस्करहरूले सकेसम्म धेरै मानिसलाई डुंगामा कोचेर सुरक्षाकर्मीको नजरबाट बचाउँदै मलेसिया पुर्याउने प्रयास गर्छन् । साथै प्रत्येक यात्रुको परिवारबाट करिब ३ हजार अमेरिकी डलर असुल्ने व्यवस्था मिलाइन्छ । परिवारले रकम तिर्न नसके यात्रुलाई बन्धक बनाइन्छ, कुटपिट गरिन्छ र कहिलेकाहीँ यातनाका भिडियो बनाएर परिवारलाई रकम तिर्न दबाब दिइन्छ । तस्करीको मार्ग फेरियो, क्रूरता भने उस्तै सन् २०१५ मा थाइल्यान्ड सरकारले मानव तस्करी नियन्त्रण अभियान थालेपछि तस्करहरूले प्रयोग गर्ने स्थलमार्ग बन्द गरियो। म्याङ्ग्रोभ वन र रबर बगानभित्र रहेका अस्थायी बन्दी शिविरहरू पनि हटाइए । त्यहाँ सामूहिक चिहान फेला परेपछि सरकारमाथि कारबाहीको दबाब बढेको थियो । त्यसपछि धेरै डुंगाले मार्ग परिवर्तन गर्दै इन्डोनेसियाको आचेह प्रान्ततर्फ जान थाले । सुरुमा त्यहाँका माछा मार्ने समुदायले रोहिङ्ग्यालाई स्वागत गरे पनि अहिले त्यो समर्थन घटेको छ । इन्डोनेसियामा रोहिङ्ग्याविरुद्ध सामाजिक सञ्जालमार्फत विरोध अभियानसमेत चलाइएका छन् । समुद्रकै भरमा रोहिङ्ग्याको पलायन मलेसियासम्म सिधै समुद्री मार्गबाट पुग्नु अहिले पनि निकै कठिन छ । मलेसियाली नौसेनाले उनीहरूलाई रोक्ने र खुला समुद्रतर्फ फर्काउने क्षमता राख्छ भने स्थानीय माछा मार्ने समुदायले पनि सहयोग गर्दैन । यसैले तस्करहरूले फेरि थाइल्यान्डलाई मुख्य ट्रान्जिट मार्ग बनाएका छन् । ठूला डुंगा वा जहाजले रखाइनको तट वा बंगलादेशको टेकनाफ क्षेत्रबाट रोहिङ्ग्यालाई उठाउँछन् । त्यसपछि स्याटेलाइट फोन प्रयोग गरेर थाइल्यान्ड र इन्डोनेसियामा रहेका आफ्ना सञ्जालसँग सम्पर्क गर्छन् र स्थानीय माझीलाई पैसा दिएर यात्रुलाई दक्षिणी थाइल्यान्ड वा पूर्वी सुमात्राको तटसम्म पुर्याउँछन् । पूरै रकम तिरेपछि उनीहरूलाई गोप्य रूपमा मलेसिया पुर्याइन्छ । कतिपयलाई भने म्यानमारको दक्षिणी तटमा झारेर स्थलमार्ग हुँदै थाइल्यान्ड र त्यसपछि मलेसियासम्म लगिन्छ । तर रखाइनबाट म्यानमारका अन्य भाग जोड्ने स्थलमार्ग बन्द भएकाले उनीहरूको यात्रा सधैं जोखिमपूर्ण समुद्री यात्राबाटै सुरु हुन्छ । क्रिस लेभाका अनुसार गत वर्षको सेप्टेम्बरयता कम्तीमा १० हजार रोहिङ्ग्या म्यानमार र बंगलादेशबाट डुंगामार्फत पलायन गरिसकेका छन् । अघिल्ला वर्षको तुलनामा यो संख्या निकै धेरै हो । यसको मुख्य कारण रखाइन र बंगलादेश दुवै स्थानमा रोहिङ्ग्याको जीवन अत्यन्त कठिन बन्दै जानु हो । संयुक्त राष्ट्रसंघले रोहिङ्ग्याका लागि सुरक्षित पलायन मार्ग उपलब्ध गराउन आग्रह गरेको छ । तर यस क्षेत्रमा कुनै पनि देश उनीहरूलाई स्थायी रूपमा बसोबास गराउन इच्छुक देखिएको छैन। अहिलेसम्म कुनै सरकारले पनि उनीहरूको यात्रा सुरक्षित बनाउन ठोस कदम चालेको छैन । (बीबीसीबाट अनुदित तथा सम्पादित) हर्मुजमा अड्कियो अमेरिका-इरान सम्झौता, युद्धको जोखिममा वृद्धि
स्टार्मरको उत्तराधिकारी बर्नहमसामु बेलायत सुधारको कठिन कार्यभार
काठमाडौं । एन्डी बर्नहम सोमबार बेलायतको प्रधानमन्त्रीका रूपमा ‘टेन डाउनिङ स्ट्रिट’ प्रवेश गर्दैछन् । उत्साहाका बीच प्रधानमन्त्री पद सम्हाल्न लागेका बर्नहमसामु भने अर्थतन्त्र सुधारदेखि सार्वजनिक सेवा व्यवस्थापन र अन्तरराष्ट्रिय सम्बन्ध सन्तुलनसम्मका चुनौती रहेका छन् । गत महिना भएको विशेष निर्वाचनमार्फत संसदमा फर्किएका बर्नहमले यसअघि उत्तर–पश्चिम इङ्ल्यान्डको ग्रेटर म्यानचेस्टर क्षेत्रको नेतृत्व गर्दै अधिकांश समय बिताएका थिए । अब उनले करिब सात करोड जनसङ्ख्या भएको मुलुकको सरकार सञ्चालन गर्नुपर्नेछ । बर्नहमको कार्यकाल छोटो वा चुनौतीपूर्ण हुन सक्ने अनुमान गरिएको छ, किनकि उनले आफ्ना पूर्ववर्ती किअर स्टार्मरले सामना गर्नुपरेका जीवनयापन लागतको सङ्कट, दबाबमा रहेका सार्वजनिक सेवा र कमजोर आर्थिक वृद्धिलगायतका समस्या समाधान गर्नुपर्नेछ । प्रधानमन्त्रीका रूपमा बर्नहमले सुस्त अर्थतन्त्रलाई गति दिने, सार्वजनिक सेवा सुधार गर्ने र जनताको जीवनस्तर उकास्ने प्रतिबद्धता जनाएका छन् । लेबर पार्टीको नेता चयन भएपछि शुक्रबार उनले बेलायतको राजनीतिमा परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै जीवनयापन सहज बनाउने र सबै क्षेत्रको विकास गर्ने लक्ष्य रहेको बताएका थिए । यद्यपि, इरान युद्धका कारण विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता र बढ्दो मुद्रास्फीतिका कारण बेलायतको आर्थिक वृद्धिमा दबाब परेको छ । बर्नहमले सरकारी अधिकार स्थानीय तहमा हस्तान्तरण गर्ने, स्थानीय सरकारलाई थप स्रोत उपलब्ध गराउने र यातायात, आवास तथा पूर्वाधार क्षेत्रमा सार्वजनिक–निजी लगानी बढाउने योजना अघि सारेका छन् । उनले अघि सारेको ‘म्यानचेस्टरिज्म’ अवधारणाअन्तर्गत निजी र सार्वजनिक क्षेत्रको सहकार्यबाट क्षेत्रीय विकास गर्ने लक्ष्य राखिएको छ । तर यसलाई पूर्ण रूपमा कार्यान्वयन गर्न समय लाग्ने विश्लेषकको भनाइ छ । सार्वजनिक वित्तको सीमितताका कारण बर्नहमसँग सरकारी खर्च विस्तार गर्ने अवसर भने सीमित रहनेछ । उनले आवश्यक परेमा धनी वर्गबाट थप योगदान लिन सकिने सङ्केत दिएका छन् । विदेश नीतिमा अनुभव सीमित भए पनि बर्नहमले नेटोप्रतिको प्रतिबद्धता र बेलायतको आणविक प्रतिरक्षा क्षमता कायम राख्ने बताएका छन् । उनले बेलायत युक्रेनको बलियो समर्थक र अमेरिकाको निकट सहयोगी रहने स्पष्ट पारेका छन् । तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सम्बन्ध व्यवस्थापन उनका लागि चुनौतीपूर्ण हुन सक्ने बताइएको छ । ट्रम्पले यसअघि स्टार्मरको प्रशंसा गरे पनि इरान युद्धमा बेलायतको भूमिकालाई लिएर उनीहरूबीच मतभेद देखिएको थियो । बर्नहमले विगतमा ट्रम्पको आलोचना गर्नुभएको भए पनि आवश्यक विषयमा असहमति राख्दै सम्मानजनक सम्बन्ध कायम गर्ने बताएका छन् । नेटो सदस्य राष्ट्रलाई रक्षा खर्च बढाउन दबाब दिँदै आएका ट्रम्पका कारण बेलायतमाथि पनि थप रक्षा खर्चको दबाब बढ्न सक्ने देखिएको छ । गाजा युद्धबारे बर्नहमको धारणा पनि संवेदनशील विषय बन्न सक्नेछ । उनले सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणको निन्दा गरेका छन् भने गाजामा जारी युद्धका विषयमा बेलायत सरकारले युद्धविरामको आह्वान गर्न ढिलाइ गरेको आलोचना गरेका थिए । उनले गाजामा हिंसा र अवैध बस्ती निर्माणमा सङ्लग्न इजरायली पक्षमाथि थप प्रतिबन्ध लगाउने सम्भावनाबारे पनि चर्चा गरेका थिए । यो विषय लेबर पार्टीका लागि संवेदनशील मानिन्छ, किनकि पार्टीले एकातिर यहूदी समुदायसँगको सम्बन्ध कायम राख्नुपर्ने छ भने अर्कोतर्फ ठूलो मुस्लिम समुदायको समर्थन पनि आवश्यक छ । बेलायतमा आप्रवासन पनि बर्नहमका लागि प्रमुख चुनौती बन्नेछ । पछिल्ला निर्वाचनमा आप्रवासन विरोधी धारणा बलियो बन्दै गएको छ । विशेषगरी अङ्ग्रेजी च्यानल पार गरेर आउने आप्रवासीको विषयले राजनीतिक बहसलाई प्रभावित गरेको छ । बर्नहमले लेबर पार्टीको वर्तमान नीतिलाई निरन्तरता दिँदै आप्रवासन नियन्त्रण गर्ने, अवैध प्रवेश घटाउने र सुरक्षित तथा कानुनी मार्गलाई प्राथमिकता दिने बताएका छन् । उनले बेलायतमा शुद्ध आप्रवासन घटाउने र अनियमित रूपमा हुने प्रवेश नियन्त्रण गर्ने नीतिलाई समर्थन गरेका छन्। यसरी, बर्नहमले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दै गर्दा घरेलु आर्थिक समस्या, सार्वजनिक सेवा सुधार, अन्तरराष्ट्रिय सम्बन्ध र आप्रवासन व्यवस्थापनजस्ता जटिल विषयमा तत्काल निर्णय लिनुपर्ने अवस्था रहेको छ ।