इतिहासकै ठूलो तलब योजना पारित, मस्कले टेस्लाबाट ‘१ ट्रिलियन डलर’ तलब प्याकेज पाउने

काठमाडौं । टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले बिहीबार कम्पनीको इतिहासकै सबैभन्दा ठूलो तलब प्याकेजको स्वीकृति प्राप्त गरेका छन् । सेयरधनीहरूले टेस्लालाई बिजुली सवारीसाधन (ईभी) निर्माता मात्र नभई कृत्रिम बौद्धिकता (एआई) र रोबोटिक्सको विशाल कम्पनीमा रूपान्तरण गर्ने योजनालाई समर्थन जनाएका हुन् । यो प्रस्ताव ७५ प्रतिशतभन्दा बढी समर्थनसहित पारित भयो । त्यसपछि मस्क टेक्सासको अष्टिनस्थित टेस्लाको कारखानामा आयोजित वार्षिक साधारण सभामा नाच्ने रोबोटहरूको साथ स्टेजमा पुगे । पहिल्यै नै विश्वका सबैभन्दा धनी व्यक्ति बनेका मस्कले आगामी दशकमा अधिकतम एक ट्रिलियन डलरसम्मको सेयर प्राप्त गर्न सक्छन्, यद्यपि आवश्यक भुक्तानीहरू पछि गर्दा यसको वास्तविक मूल्य झरेर करिब ८७८ अर्ब डलरसम्म पुग्नेछ । यो मतदान टेस्लाको भविष्यका लागि अत्यन्तै महत्त्वपूर्ण मानिएको छ, किनभने कम्पनीको मूल्याङ्कन मस्कको दृष्टिकोणमा आधारित छ— स्वचालित सवारीसाधन विकास, अमेरिकाभर रोबोट्याक्सी नेटवर्क विस्तार र मानव–जस्तै रोबोट बिक्री गर्ने योजनामा । यद्यपि उनको दक्षिणपन्थी राजनीतिक वक्तृत्वले यस वर्ष टेस्लाको ब्रान्ड छविमा असर पारेको छ । कम्पनीको सञ्चालक समितिले चेतावनी दिएको थियो कि यदि मस्कले यो तलब प्याकेज नपाए भने उनी टेस्ला छोड्न सक्छन् । केही लगानीकर्ताले यो अत्यधिक महँगो र अनावश्यक भनेका थिए, तर धेरैले यसलाई मस्कलाई टेस्लामा राख्ने उपायका रूपमा देखे र प्याकेजमा तोकिएका लक्ष्य पूरा भएमा सेयरधनीहरूलाई पनि प्रतिफल मिल्ने विश्वास गरे । मस्कले उत्साहित सेयरधनीहरूलाई भने, ‘हामी अहिले टेस्लाको भविष्यको नयाँ अध्यायमा मात्र होइन, नयाँ पुस्तककै सुरुवात गर्न लागेका छौं ।’ उनी स्टेजमा पुगेपछि उनले धेरै वाचा गरे—एप्रिलदेखि दुई सिट भएको स्टियरिङविहीन ‘साइबरक्याब’  नामक रोबोट्याक्सी उत्पादन सुरु गर्ने, नयाँ पुस्ताको रोडस्टर इलेक्ट्रिक स्पोट्र्स कार सार्वजनिक गर्ने, र एआई चिप निर्माणका लागि ‘विशाल चिप फ्याक्ट्री’ आवश्यक पर्ने भन्दै इन्टेलसँग सहकार्य गर्ने सम्भावना पनि व्यक्त गरे । सेयरधनीहरूले टेस्लाको सञ्चालक समितिमा रहेका तीन जना सदस्यलाई पुनःनिर्वाचन पनि गरे, सबै सदस्यका लागि वार्षिक निर्वाचनको समर्थन गरे र अदालतमा अड्किएको मस्कको अघिल्लो तलब प्याकेजको सट्टा नयाँ योजना स्वीकृत गरे । सेयरधनीहरूले मस्कको एआई कम्पनी एक्सएआईमा टेस्लाको लगानीको समर्थन पनि गरे, यद्यपि धेरैले मतदान नगरी तटस्थ रहन रोजे । यसले ठूला लगानीकर्ताहरूको संकोच झल्काउँछ कि सञ्चालक समितिले अझ बलियो अनुगमन बिना यस्तो सम्बन्ध अनुमोदन गर्नु उचित नठानेको हो ।  रणनीतिक सल्लाहकार कम्पनी लङ्गेकर स्क्वायरकी पार्टनर जेसिका म्याकडुगलका अनुसार धेरै लगानीकर्ताहरू ‘सञ्चालक समितिबाट स्पष्ट आश्वासन चाहन्छन् कि दुबै व्यवसायबीच अत्यधिक मिश्रण नहोस् भन्ने ग्यारेन्टी सुनिश्चित गरिएको छ ।’ मस्कले करिब १५ प्रतिशत सेयर आफैको स्वामित्वमा राखेकाले मतदानमा भाग लिन पाएका थिए, जसका कारण उनको जित अपेक्षित थियो । यद्यपि मस्कको प्रभाव हटाएर हेर्दा समर्थनको बहुमत सामान्य कम्पनीमा सीईओको तलब पुनरावलोकन गर्न पर्याप्त सानो थियो ।  केही ठूला लगानीकर्ताहरू— जस्तै नर्वेको सार्वभौम कोष र प्रोक्सी सल्लाहकार कम्पनीहरू ग्लास लुइस र इन्स्टिट्युसनल सेयरहोल्डर सर्भिसेजले यो योजना विरोध गरेका थिए । यो मतदानले लगानीकर्ताहरूको त्यो चिन्ता हटाएको छ कि मस्कले आफ्नो ध्यान स्पेसएक्स र एक्सएआई जस्ता अन्य कम्पनीतर्फ मोड्नेछन् । सञ्चालक समिति र मस्कका समर्थक लगानीकर्ताहरूले भने यो रेकर्ड तोड्ने तलब प्याकेजले दीर्घकालमा सेयरधनीहरूलाई लाभ र्पुयाउने बताएका छन् किनभने मस्कले तलब पाउनका लागि टेस्लाले धेरै लक्ष्य हासिल गर्नैपर्छ । ‘यदि यी सेयरका ट्रान्चहरू पूरा भए भने टेस्लाको आम्दानी वृद्धिमा बलियो सुधार आउनेछ,’ जाक्स इन्भेस्टमेन्ट म्यानेजमेन्टका वरिष्ठ पोर्टफोलियो प्रबन्धक ब्रायन मुलबरीले भने । ‘यो वृद्धिले सेयर पतनका चिन्ताहरू कम गर्नेछ त वा यो केवल एलनलाई एआईको भविष्य नियन्त्रण गर्न पर्याप्त प्रभाव दिने इच्छा पूरा गर्ने माध्यम हो ? त्यो त पछि मात्र थाहा हुनेछ,’ उनले थपे । आगामी दशकमा मस्कका लागि तोकिएका लक्ष्यहरूमा टेस्लाबाट २ करोड सवारीसाधन उत्पादन, १० लाख रोबोट्याक्सी सञ्चालनमा ल्याउने, १० लाख रोबोट बिक्री गर्ने र ४०० अर्ब डलरसम्मको कोर नाफा कमाउने योजना समावेश छन् । तर यी सबैका लागि टेस्लाको बजार मूल्य पनि बढ्नुपर्नेछ— हालको १.५ ट्रिलियन डलरबाट सुरु गर्दै पहिलो चरणमा २ ट्रिलियन र अन्ततः ८.५ ट्रिलियन डलरसम्म । हरेक चरण (सञ्चालन लक्ष्य र मूल्याङ्कन माइलस्टोन) पूरा हुँदा मस्कलाई कम्पनीको १ प्रतिशत सेयर प्राप्त हुनेछ । त्यसैले सबै लक्ष्य हासिल नभए पनि उनले अरबौँ डलरको सेयर पाउन सक्छन् । यदि सबै लक्ष्य पूरा भए भने मस्कलाई कम्पनीको १२ प्रतिशत सेयर—अर्थात् करिब १ ट्रिलियन डलर बराब मिल्नेछ । तर त्यसको शुद्ध मूल्य करिब ८७८ अर्ब डलर हुनेछ, किनभने प्याकेजको गणना सेप्टेम्बरको सुरुवातमा सञ्चालक समितिले प्रस्ताव पारित गरेको दिनको सेयर मूल्यबाट गणना गरिएको हो । मस्कले चाहँदा त्यो रकम नगदमा तिर्न सक्छन् वा सो मूल्यको हिसाबले कम सेयर लिन सक्छन् । यो प्याकेजको मूल्य सधैं परिवर्तनशील रहनेछ किनभने सेयर मूल्यमा हुने उतारचढावसँगै यसको गणना बदलिरहन्छ । मस्कका अनुसार उनले यो प्याकेजमा रुचि तलबका कारण नभई टेस्लामा आफ्नो मताधिकार बढाउने उद्देश्यले देखाएका हुन् ।

७५०० करोड सम्पत्ति जफतपछि अनिल अम्बानीका चार कम्पनीमाथि ठगी र दुरुपयोगको छानबिन

काठमाडौं । भारतीय व्यवसायी अनिल अम्बानीका समस्या झन् बढ्दै गएका छन् । अब अनुसन्धानको दायरामा उनको रिलायन्स समूह पनि परेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारतको कर्पोरेट मामिला मन्त्रालय (एमसीए) ले आफ्नो अनुसन्धान निकाय सिरियस फ्रड इन्भेस्टिगेसन अफिस (एसएफआईओ) लाई अनिल धीरुभाई अम्बानी ग्रुप (एडीएजी) अन्तर्गतका केही कम्पनीहरूको छानबिन गर्न आदेश दिएको छ । यो छानबिन कर्पोरेट सुशासनका नियममा अनियमितता र आर्थिक स्रोतको दुरुपयोग सम्बन्धी आरोपका कारण सुरु गरिएको हो । स्रोतहरूका अनुसार मन्त्रालयले यो आदेश यसै हप्तामा जारी गरेको हो । एसएफआइओले कम्तीमा रिलायन्स इन्फ्रास्ट्रक्चर, रिलायन्स कम्युनिकेसन्स, रिलायन्स कमर्शियल फाइनान्स लिमिटेड र सीएलई प्राइभेट लिमिटेडको छानबिन गर्नेछ । मन्त्रालयले यो कदम त्यसपछि उठायो जब वित्तीय संस्थान र अडिटरहरूले एडीएजी समूहका वित्तीय विवरणहरूमा धेरै अनियमितता देखाएका थिए । बैंकहरूले रिलायन्स क्यापिटल र आरकमको ऋण असफल भएपछि गरेका फरेन्सिक अडिटमा पनि त्यस्तै चिन्ताजनक तथ्यहरू फेला परेका थिए । सरकारी अधिकारीका अनुसार यी कम्पनीहरूको छानबिन पहिले नै सीबीआई र ईडी (प्रवर्तन निर्देशनालय) ले गरिसकेका छन् । यसपालिको एसएफआईओ छानबिन भने मुख्य रूपमा कर्पोरेट सुशासनका मुद्दाहरूमा केन्द्रित हुनेछ । अनुसन्धानमा यो समेत हेरिनेछ कि बैंक, अडिटर वा रेटिङ एजेन्सीहरूले जानाजानी कुनै जानकारी लुकाएका थिए कि थिएनन् । साथै यदि आर्थिक हेरफेर भएको छ र त्यो शेल कम्पनीहरू (कागजमा मात्र रहेका फर्जी कम्पनीहरू) मार्फत गरिएको हो भने त्यसको पनि अनुसन्धान हुनेछ । यदि छानबिनमा कुनै शेल वा धोखा गर्ने कम्पनी फेला परेमा एमसीए वा रजिस्ट्रार अफ कम्पनीजले त्यस्ता कम्पनीहरू बन्द गर्न, तिनीहरूविरुद्ध मुद्दा चलाउन वा तिनीहरूका निर्देशकहरूलाई अयोग्य ठहर गर्न सक्नेछ । ईडीको पछिल्लो कारबाहीपछि रिलायन्स इन्फ्रास्ट्रक्चरले जारी गरेको विज्ञप्तिमा भनिएको थियो कि यो घटनाले कम्पनीको सञ्चालन, सेयरधारक, कर्मचारी वा अन्य सरोकारवालामा कुनै प्रभाव पार्नेछैन । कम्पनीका अनुसार अनिल अम्बानी तीन वर्षभन्दा बढी समयदेखि आरइन्फ्राको बोर्डमा छैनन् । गत हप्तामात्रै ईडीले एडीएजी समूहसँग सम्बन्धित ७ हजार ५०० करोड भारतीय रुपैयाँभन्दा बढी मूल्यका सम्पत्तिहरू जफत गरेको थियो । यो कारबाही सार्वजनिक रकमको दुरुपयोगसम्बन्धी जारी अनुसन्धानको हिस्सा हो । जफत सम्पत्तिमा मुम्बईको पाली हिलमा रहेको आवासीय भवन, नयाँ दिल्लीको रिलायन्स सेन्टर र मुम्बईस्थित धीरुभाई अम्बानी नलेज सिटीमा रहेका करिब १३२ एकड जग्गा समावेश छन् जसको मूल्य झण्डै ४ हजार ४६२.८१ करोड भारु पर्ने बताइएको छ ।

ममदानीले सुरुदेखि गलत बाटो रोजेको ट्रम्पको दावी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नवनिर्वाचित न्यूयोर्क सिटीका मेयर जोहरान ममदानीको विजयोत्तर भाषणलाई ‘धेरै रिसाएको’ बताएका छन् । ट्रम्पको भनाइअनुसार ममदानी सुरुदेखि नै गलत दिशातर्फ अघि बढिरहेका छन् र यदि उनले वाशिंगटनप्रति सम्मान देखाएनन् भने सफल हुने सम्भावना न्यून छ । फक्सन्युजसँग कुरा गर्दै ट्रम्पले भने, ‘मलाई लाग्छ उनको भाषण निकै आक्रोशपूर्ण थियो, विशेषगरी मेरो विरुद्ध।’ ‘उनीहरूले मेरो साथ राम्रो व्यवहार गर्नुपर्छ किनभने धेरै कुरा स्वीकृत गर्ने अधिकार मेरो हातमा छ । उनी एक खराब सुरुवाततर्फ जाँदैछन्,’ उनले थपे । न्यूयोर्कको मेयर चुनाव जितेपछि जोहरान ममदानीले ट्रम्पतर्फ इङ्गित गर्दै भनेका थिए, ‘जसले उनलाई सफल बनाउन सक्छ, त्यहीले उनलाई हराउन पनि सक्छ ।’ जोहरान ममदानी पहिलो पटक मुस्लिम मूलको उम्मेदवारका रूपमा न्यूयोर्क सिटीको मेयरमा निर्वाचित भएका हुन् । जुन अमेरिकी राजनीतिक परिदृश्यमा एक नवीन घटना हो किनभने इतिहासमा सधैं प्रबुद्ध श्वेतहरूले प्रमुख सहरी पदमा विजय पाउँथे।  ममदानीले आफ्नो अभियानमा सामाजिक समानता, सार्वजनिक सुरक्षा सुधार, र स्थानीय समुदायसँग संवाद बढाउने विषयलाई प्राथमिकता दिएका छन् । ट्रम्पले बारम्बार ममदानीको सम्भावित मेयर पदलाई चुनौतीपूर्ण ठहराएका थिए र कोषीय समर्थनमा कठिनाइ आउन सक्ने चेतावनी दिएका थिए ।  ममदानीको जीतले न्यूयोर्कको बहुसांस्कृतिक राजनीति र अमेरिकी राजनीतिक परिदृश्यमा नयाँ बहसको सुरुवात गरेको छ ।