कंगाेमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको संख्या ९९९ पुग्यो
काठमाडौं । कंगोमा फैलिएको इबोला प्रकोपबाट मृत्यु हुनेको संख्या करिब एक हजार पुगेको छ । बुधबार सार्वजनिक गरिएको आधिकारिक तथ्यांकअनुसार यस प्रकोपमा हालसम्म कम्तीमा ९९९ जनाको मृत्यु भएको छ । कंगोको स्वास्थ्य मन्त्रालयका अनुसार सोमबारसम्म देशमा दुई हजार ४७३ जना संक्रमित भएका छन् भने ७३७ जना बिरामी आइसोलेसन र अस्पतालमा उपचाररत छन् । गत मे १५ मा घोषणा गरिएको यो इबोला प्रकोप हालसम्मकै तीव्र गतिमा फैलिएकोमध्ये एक भएको अधिकारीले बताएका छन् । यसपटक फैलिएको ‘बुन्डिबुग्यो’ भाइरसविरुद्ध हालसम्म स्वीकृत खोप वा उपचार विधि उपलब्ध छैन । स्वास्थ्य अधिकारीका अनुसार यस प्रकोपले विगतका ठूला इबोला प्रकोपको तुलनामा छोटो समयमै ठूलो मानवीय क्षति पु¥याएको छ । सन् २०१३/२०१६ मा पश्चिम अफ्रिकामा फैलिएको इबोला प्रकोपमा ११ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो, तर मृत्यु संख्या एक हजार पुग्न करिब आठ महिना लागेको थियो । इबोला अत्यधिक संक्रामक रोग हो, जुन संक्रमित व्यक्तिको रगत, शारीरिक तरल पदार्थलगायतको सम्पर्कबाट सर्न सक्छ । यो रोग गम्भीर प्रकृतिको हुने र धेरै अवस्थामा ज्यान जोखिममा पार्ने स्वास्थ्य विज्ञले बताएका छन् । अधिकारीले नयाँ संक्रमितमध्ये करिब ८० प्रतिशतमा संक्रमणको स्रोत अझै पहिचान हुन नसकेको बताएका छन् । यसले संक्रमण नियन्त्रण र निगरानीकार्य थप चुनौतीपूर्ण बनेको उनीहरूको भनाइ छ । प्रकोपको केन्द्रविन्दु रहेको इतुरी प्रान्तसहित प्रभावित अन्य क्षेत्रमा स्वास्थ्य टोलीले नियन्त्रण तथा उपचार प्रयास तीव्र बनाएका छन् । तर, स्वास्थ्य केन्द्र र प्रतिकार्य टोलीमाथि भएका आक्रमण तथा केही स्वास्थ्यकर्मीको आन्दोलनका कारण अभियान प्रभावित भएको छ । अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्र (अफ्रिका सीडीसी) का महानिर्देशक डा. जीन कासेयाले घानामा आयोजित स्वास्थ्य सम्मेलनमा प्रकोप नियन्त्रणका लागि तत्काल थप प्रयास आवश्यक रहेको बताए ।
जब एकैपटक चार समान चम्ल्याहा छोरी जन्मिए...
काठमाडौं । अस्ट्रेलियामा प्राकृतिक रूपमा भएको अत्यन्त दुर्लभ गर्भधारणबाट एउटै निषेचित अण्डा चार भागमा विभाजित भई समान चम्ल्याहा (चार) छोरी जन्मिएका छन् । चिकित्सकहरूका अनुसार यस्तो गर्भधारण करिब एक करोड ५० लाखमध्ये एकमा मात्र हुने सम्भावना रहने भएकाले यसलाई अत्यन्त असाधारण घटना मानिएको छ । क्विन्सल्यान्डस्थित रोयल ब्रिस्बेन एन्ड वुमेन्स अस्पतालमा ३४ वर्षीया जेनिटर साउ नामोनाले गत १४ जुलाईमा सिजेरियन शल्यक्रियामार्फत चार छोरीलाई जन्म दिएकी हुन् । यसअघि नै चार सन्तानकी आमा रहेकी नामोना र उनका पति जोर्थमले थप सन्तान जन्माउने योजना नबनाएका बेला चौगुना गर्भ रहेको जानकारी पाएपछि परिवार नै आश्चर्यमा परेको अस्पतालले जनाएको छ । नामोनाको उपचारमा संलग्न मातृ–भ्रूण विशेषज्ञ डा. एलेक्सा बेन्डलका अनुसार चारै शिशु एउटै निषेचित अण्डाबाट विकसित भएका हुन् । गर्भाधानपछि अण्डा चार भागमा विभाजित हुँदा समान चम्ल्याहा शिशुको जन्म भएको उनले बताए । उनका अनुसार यस्तो घटना विश्वमै अत्यन्त दुर्लभ मानिन्छ र अस्ट्रेलियामा यसअघि यस्तै प्रकृतिको जन्म भएको जानकारी उनीहरूसँग छैन । चिकित्सकीय तथ्याङ्कअनुसार प्राकृतिक रूपमा चम्ल्याहा गर्भधारण हुने सम्भावना करिब सात लाखमध्ये एक मात्र हुन्छ । तर एउटै निषेचित अण्डाबाट समान चम्ल्याहा (चार) शिशु जन्मिने सम्भावना अझ निकै कम रहने भएकाले यस घटनाले चिकित्सकहरूको समेत ध्यान आकर्षित गरेको छ । अधिकांश चम्ल्याहा गर्भधारण भने सहायक प्रजनन प्रविधिको प्रयोगपछि हुने गरेका छन् । चारै भ्रूणले एउटै प्लेसेन्टा साझा गरेका कारण नामोनाको गर्भावस्था उच्च जोखिमयुक्त थियो । यस्ता अवस्थामा समयपूर्व प्रसूति, गर्भपतन, जन्मजात समस्या तथा अन्य जटिलता देखिने जोखिम उच्च हुने भएकाले गर्भावस्थाको १०औँ सातादेखि नै विशेषज्ञ चिकित्सकहरूको टोलीले उनको नियमित निगरानी गरेको थियो । २५औँ सातामा उनलाई अस्पतालमै भर्ना गरी निरन्तर उपचार तथा निगरानी गरिएको थियो । डा. बेन्डलले २८ हप्ता चार दिनको गर्भावस्थामै चार स्वस्थ शिशुको जन्म हुनु निकै उत्साहजनक उपलब्धि भएको बताए । शल्यक्रियाका क्रममा आमामा सामान्य रक्तस्राव भए पनि अवस्था नियन्त्रणमै रहेको र अहिले उनको स्वास्थ्य राम्रो रहेको उनले जानकारी दिए । हाल चारै नवजात शिशुको सघन उपचार कक्ष (एनआइसीयू) मा उपचार भइरहेको छ । उनीहरूको नाम एमिली, ह्यारिएट, क्याथरिन र एलेक्सा राखिएको छ । तीमध्ये एक शिशुको नाम आफ्नो सम्मानमा राखिएको जानकारी दिँदै डा. बेन्डलले यसलाई सुन्दर सम्मानका रूपमा लिएको बताए । उनले चिकित्सकीय रूपमा यो घटना अत्यन्त अध्ययनयोग्य भए पनि आफूका लागि सबैभन्दा ठूलो खुसी स्वस्थ आमासहित चार स्वस्थ शिशुलाई सुरक्षित रूपमा संसारमा ल्याउन सफल हुनु रहेको उल्लेख गरे । रासस
हिटलरको जन्मघर अब प्रहरी कार्यालय
काठमाडौं । नाजी नेता एडोल्फ हिटलरको जन्मस्थललाई चरम दक्षिणपन्थी समर्थकहरूको तीर्थस्थल बन्न नदिन अस्ट्रियाले उक्त भवनलाई औपचारिक रूपमा प्रहरी कार्यालयमा रूपान्तरण गरेको छ । लामो विवाद र कानूनी प्रक्रियापछि बुधबार नयाँ प्रहरी कार्यालय सञ्चालनमा ल्याइएको हो । अस्ट्रियाली अधिकारीहरूका अनुसार हिटलरको जन्मघरलाई प्रहरी कार्यालय बनाउने निर्णयले उक्त स्थानलाई नाजी विचारधाराको प्रतीकका रूपमा प्रयोग हुनबाट रोक्नेछ । साथै, यसले वर्षौंदेखि चलिरहेको ‘यस भवनको भविष्य के हुने ?’ भन्ने विवादको पनि अन्त्य हुने अपेक्षा गरिएको छ । ब्राउनाउ आम इन सहरको केन्द्रमा रहेको १७औँ शताब्दीको उक्त भवनको करिब दुई करोड युरो लागतमा पुनःनिर्माण गरिएको हो । निर्धारित समयभन्दा तीन वर्ष ढिलो सम्पन्न भएको पुनर्निर्माणपछि भवनको स्वरूप पूर्ण रूपमा परिवर्तन गरिएको छ । जर्मन सीमानजिक रहेको उक्त घरमा एडोल्फ हिटलरको सन् १८८९ अप्रिल २० मा जन्म भएको थियो । पहिले पहेँलो रङको रहेको भवनलाई सेतो रङले रङ्ग्याइएको छ भने प्रवेशद्वारमा प्रहरी कार्यालयको चिह्न राखिएको छ । भवनबाहिर रहेको स्मारक शिलालेखमा ‘शान्ति, स्वतन्त्रता र लोकतन्त्रका लागि, फेरि कहिल्यै फासीवाद होइन’ भन्ने सन्देश अझै कायम राखिएको छ । सन् १९३८ मा नाजी जर्मनीले अस्ट्रियालाई गाभेपछि करिब ६५ हजार अस्ट्रियाली यहुदी मारिएका थिए भने थप एक लाख ३० हजारभन्दा बढीलाई देशनिकाला गरिएको थियो । यद्यपि, होलोकास्टप्रतिको आफ्नो ऐतिहासिक जिम्मेवारी पूर्ण रूपमा स्वीकार नगरेको भन्दै अस्ट्रिया समय–समयमा आलोचित हुँदै आएको छ । यो भवन सन् १९१२ देखि एउटै परिवारको स्वामित्वमा थियो । सन् १९७२ देखि भने अस्ट्रियाली सरकारले भाडामा लिएर अपाङ्गता भएका व्यक्तिहरूको सेवा केन्द्रका रूपमा प्रयोग गर्दै आएको थियो । अन्तिम निजी मालिक गेर्लिन्डे पोमरले भवनको पुनःउपयोगका विभिन्न प्रस्तावको विरोध गर्दै आएका थिए । अस्ट्रियाली संसद्ले सन् २०१६ मा विशेष कानूनमार्फत भवन अधिग्रहण गर्ने निर्णय गरेपछि सर्वोच्च अदालतले करिब आठ लाख १० हजार युरोमा उक्त सम्पत्ति खरिद गर्ने सरकारी निर्णयलाई अनुमोदन गरेको थियो । भवन भत्काउने, सङ्ग्रहालय बनाउने वा अन्य प्रयोजनमा प्रयोग गर्ने विकल्पमाथि लामो छलफल भए पनि इतिहासविद्हरूले भवन ध्वस्त पार्न नहुने धारणा राखेका थिए । अन्ततः विशेषज्ञ आयोगको सिफारिसमा यसलाई प्रहरी कार्यालय बनाउने निर्णय गरिएको हो । सरकारले स्थायी प्रहरी उपस्थितिले नाजी विचारधाराप्रति कुनै सहिष्णुता नरहेको स्पष्ट सन्देश दिने र भवनलाई राजनीतिक रूपमा तटस्थ बनाउने विश्वास व्यक्त गरेको छ । तर यातना शिविरबाट बाँचेकाहरूको संस्था मौथाउसेन कमिटी अस्ट्रियाका प्रवक्ता रोबर्ट इटरले भने भवनको स्वरूप परिवर्तन गर्दैमा नव–नाजी समर्थकहरूको तीर्थयात्रा रोकिने विश्वास गर्न नसकिने बताए । उनले इतिहासकै कुख्यात नरसंहारकर्तामध्ये एकको जन्मस्थल भएकाले त्यसको ऐतिहासिक पहिचान मेटाउन सम्भव नरहेको धारणा व्यक्त गरे । रासस