अनिल अम्बानीको ७५ अर्ब बराबरको सम्पत्ति जफत

काठमाडौं । भारतको शीर्ष वित्तीय अपराध अनुसन्धान निकाय, प्रवर्तन निदेशालय (इडी) ले प्रतिष्ठित उद्योगपति अनिल अम्बानीसँग सम्बन्धित विभिन्न कम्पनीहरूबाट ८४ करोड ६० लाख अमेरिकी डलरभन्दा बढी (करिब ७५ अर्ब भारतीय रुपैयाँ) बराबरको सम्पत्ति जफत गरेको जनाएको छ । यो कारबाही बैंक धोखाधडी र मनी लन्ड्रिङसम्बन्धी अनुसन्धानको एक महत्त्वपूर्ण अंशका रूपमा गरिएको हो ।      एसियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीका कान्छा भाइ अनिल अम्बानी विगत दुई दशकयता आफ्नो व्यवसायिक साम्राज्यमा आएको गिरावटका कारण निरन्तर विवादमा परिरहेका छन् । एक समय ऊर्जादेखि दूरसञ्चार र रक्षा उद्योगसम्म फैलिएको विशाल व्यापारिक साम्राज्यका स्वामी रहेका उनी अहिले विभिन्न आर्थिक अनियमिततासम्बन्धी अनुसन्धानको केन्द्रमा परेका छन् ।      इडीले सोमबार साँझ जारी गरेको विज्ञप्तिमा कार्यालय परिसर, आवासीय एकाइहरू र करिब १३२ एकड (५३ हेक्टर) जग्गासहितको सम्पत्ति फ्रिज गरिएको जानकारी दिएको छ । निकायले भनेको छ, 'रिलायन्स अनिल अम्बानी समूहका विभिन्न कम्पनीहरूले सार्वजनिक कोषको धोखाधडीपूर्ण हेरफेर गरेका छन् र संस्थाले ती गैरकानूनी आम्दानीलाई सही दावीकर्ताहरूलाई पुनःस्थापित गर्न प्रतिबद्ध रहेको स्पष्ट गरेको छ ।'      इडीको यो अनुसन्धान भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई) ले गत अगस्टमा दायर गरेको आपराधिक मुद्दाको आधारमा प्रारम्भ भएको हो । सो मुद्दा देशकै सबैभन्दा ठूलो बैंक, स्टेट बैंक अफ इन्डिया (एसबिआई) ले दर्ता गरेको ठगी उजुरीबाट उत्पन्न भएको बताइन्छ । उजुरीमा रिलायन्स कम्युनिकेसनले बैंक कोषको दुरुपयोग गरी करिब २९ अर्ब २९ करोड रुपैयाँको नोक्सानी पुर्‍याएको आरोप लगाइएको थियो ।      यसबीच, अनिल अम्बानी नियन्त्रित कम्पनी रिलायन्स इन्फ्रास्ट्रक्चरले सोमबार विज्ञप्ति जारी गर्दै इडीको निर्णयले आफ्नो नियमित व्यापारिक सञ्चालनमा ‘कुनै असर नपार्ने’ जनाएको छ । कम्पनीका प्रवक्ताले अम्बानीका तर्फबाट भने, 'उहाँले सबै आरोपहरूलाई दृढतापूर्वक अस्वीकार गर्नुभएको छ र कानूनी रूपमा आफ्नो बचाउ गर्नुहुनेछ ।'      अम्बानी सन् २०१८ मा विपक्षी नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदी र उनीमाथि फ्रान्सबाट राफेल लडाकू विमान खरिद सम्झौतासम्बन्धी कथित अनियमितताको आरोप लगाएको समयमा पनि सार्वजनिक चर्चामा आएका थिए । तथापि, ती आरोपहरू दुवै पक्षले अस्वीकार गरेका थिए ।      भारतको सर्वोच्च अदालतले सो मुद्दामाथि अनुसन्धानको मागलाई सन् २०१८ डिसेम्बरमा खारेज गरेको थियो र त्यसपछि यो विवाद औपचारिक रूपमा बन्द भएको मानिएको थियो ।      हाल इडीको ताजा कारबाहीले पुनः एकपटक अनिल अम्बानीलाई भारतीय वित्तीय क्षेत्र र कानूनी निकायहरूको गम्भीर ध्यानको केन्द्रमा ल्याएको छ । रासस

टेस्लाको ढोका डिजाइन घातक ? ५ जनाको जलेर मृत्यु भएको एक वर्षपछि अनुसन्धान सुरु

काठमाडौं । टेस्लाविरुद्ध विस्कन्सिन राज्यमा भएको एक भीषण दुर्घटनापछि मुद्दा दर्ता गरिएको छ । उक्त दुर्घटनामा परी मोडल एस कारसँगै पाँचै यात्रुको जलेर मृत्यु भएको थियो ।  आरोप अनुसार कारको ढोका खोल्न नसक्नाले उनीहरू सवारीभित्रै फँसेका थिए । क्रान्डन, विस्कन्सिनका ५४ वर्षीय जेफ्री बाउर र ५५ वर्षीय मिशेल बाउर सवार मोडल एस नोभेम्बर १, २०२४ मा म्याडिसन नजिकको उपनगरीय क्षेत्र भेरोनामा सडकबाट बाहिर गई रूखमा ठोक्किएको थियो । उनीहरूको मृत्यु अर्को दिन भयो। शुक्रबार बाउर दम्पतीका चार सन्तानले दायर गरेको उजुरी अनुसार कारमा जडान गरिएको लिथियम–आयन ब्याट्री प्याकका कारण इलेक्ट्रोनिक ढोका प्रणाली निष्क्रिय भई उनीहरू भित्रै फँसेका थिए । सन्तानहरूले आरोप लगाएका छन् कि टेस्लालाई यस खतराको जानकारी पहिलेका आगलागी घटनाबाट नै थियो, तर कम्पनीले ‘थाहा पाइसकेका र सम्भव सुरक्षात्मक उपायहरूबाट जानाजानी विचलन’ गरेको थियो । एलन मस्क नेतृत्वको अष्टिन, टेक्सासस्थित टेस्लाले सोमबारसम्म सो मुद्दाबारे कुनै प्रतिक्रिया दिएको छैन । उक्त कम्पनीमाथि अघिल्लो नोभेम्बरमा स्यान फ्रान्सिस्को नजिक साइबरट्रक दुर्घटनामा ज्यान गुमाएका दुई कलेज विद्यार्थीका परिवारहरूले पनि यस्तै कारणले मुद्दा दायर गरेका थिए । उनीहरू पनि ढोका ह्यान्डल डिजाइनका कारण जलिरहेको कारभित्र यात्रु फँसेका थिए भन्ने दाबी गर्छन् । अमेरिकी यातायात सुरक्षा निकायले टेस्लाको ढोका डिजाइनको छानबिन गर्दै गत सेप्टेम्बरमा राष्ट्रिय राजमार्ग यातायात सुरक्षा प्रशासन (एनएचटीएसए) ले केही टेस्ला मोडेलका ढोकामा सम्भावित त्रुटिको छानबिन सुरु गरेको थियो, किनकि रिपोर्टहरूमा ढोका ह्यान्डलले काम नगर्ने समस्या उल्लेख गरिएको थियो । बाउर दम्पतीका सन्तानका अनुसार टेस्ला मोडल एसको पछाडिका सिटमा बसेका यात्रुहरू- जस्तै मिशेल बाउर विशेष जोखिममा पर्थे । कारमा ढोका खोल्ने प्रणाली पूर्ण रूपमा विद्युतीय भएकाले दुर्घटनापछि जब गाडीमा विद्युत् आपूर्ति बन्द हुन्थ्यो, यात्रुहरू ढोका खोल्न असमर्थ हुने गर्थे ।  त्यस्तो अवस्थामा बाहिर निस्कनका लागि कार्पेट उठाएर मुनि लुकाइएको ‘धातुको ट्याब’  वा आपतकालीन ढोका खोल्ने ह्यान्डल खोज्नुपर्थ्यो । तर यो ट्याब सानो, लुकाइएको र सामान्य यात्रुका लागि सहज रूपमा नदेखिने भएकाले आपतकालीन अवस्थामा त्यसलाई फेला पार्नु अत्यन्तै कठिन हुने उनीहरूको भनाइ छ । यही कारणले दुर्घटनापछि यात्रुहरू गाडीभित्रै फँसेर मृत्यु हुन पुगेको आरोप परिवारले लगाएको छ । एक नजिकैका घरधनीले ९११ मा फोन गरी कारभित्रबाट कराउने आवाज सुनेको बयान दिएका छन् । उजुरीमा भनिएको छ, ‘टेस्लाको डिजाइन छनोटले यस्तो जोखिम सिर्जना ग‍र्यो — दुर्घटनाबाट बचेका यात्रुहरू आगलागी भएको सवारीभित्रै फँस्ने ।’ अन्य प्रतिवादीहरूमा सवारी चालकको सम्पत्ति पनि समावेश छ, जसलाई बाउर सन्तानहरूले लापरवाहीपूर्वक ड्राइभिङ गरेको आरोप लगाएका छन् । यो मुद्दा विस्कन्सिन राज्यको डेन काउन्टी अदालतमा दायर गरिएको हो। एआईमा दौड, पैसा भने अनलाइन विज्ञापनमा बर्सिदैँ ! बफेटको कम्पनीमा पैसाको वर्षा, ५४.४ लाख करोड रुपैयाँभन्दा बढी नगद जम्मा ! सामसङ र एनभीडीयाको सहकार्यमा विश्वकै पहिलो एआई मेगाफ्याक्ट्री निर्माण हुने  

बङ्गलादेशमा ८० वर्षीया पूर्वप्रधानमन्त्री जिया ३ ठाउँबाट चुनाव लड्ने

काठमाडौं । बङ्गलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाले आगामी फेब्रुअरीमा हुने निर्वाचनका लागि उम्मेदवारी दिने बताएकी छिन् । दशकौँदेखि देशको अशान्त शक्ति सङ्घर्षमा एक प्रभावशाली व्यक्तित्व रहँदै आएकी ८० वर्षीया जियालाई उनको बङ्गलादेश नेसनलिस्ट पार्टीमा निर्वाचनको नेतृत्व गर्ने अग्रपङ्क्तिको नेताका रूपमा हेरिएको छ।  उनको सहभागिताको घोषणा बिएनपीका वरिष्ठ नेता मिर्जा फखरुल इस्लाम आलमगिरले गरेका हुन् भने उनले देशका ३ निर्वाचन क्षेत्रमा चुनाव लड्ने बताइएको छ।  सन् २०२४ को अगस्टमा भएको जनविद्रोहबाट सत्ताच्युत भएकी उनी लामो समयदेखिकी प्रमुख प्रतिद्वन्द्वी शेख हसिनाको नेतृत्वमा वर्षौँ जेल सजाय भोगेकी सम्झौताहीन नेतृको स्वास्थ्य निकै कमजोर रहेको छ ।  ३ पटक बङ्गलादेशको नेतृत्व गरेकी जियालाई हसिनाको सरकारले सन् २०१८ मा भ्रष्टाचारको आरोपमा जेल चलान गरेको थियो । हसिनालाई सत्ताबाट हटाइएको केही समयपछि नै उनी गत वर्ष रिहा भएकी थिइन् ।  उनका छोरा ५९ वर्षीय तारिक रहमान (तारिक जिया) पनि सन् २००८ देखि बेलायतमा रहँदै आएका छन् । हसिनाको पतनपछि रहमानलाई उनी विरुद्धको सबैभन्दा गम्भीर आरोपबाट मुक्त गरिएको छ। हसिनाको र्‍यालीमा सन् २००४ मा भएको ग्रिनेड आक्रमणको आरोपमा उनलाई उनको अनुपस्थितिमा आजीवन कारावासको सजाय सुनाइएको थियो । दशकौँदेखि बङ्गलादेशको राजनीति जिया र हसिनाबीचको कटु प्रतिद्वन्द्विताले परिभाषित गर्दै आएको छ, जसलाई ’ब्याटल अफ द बेगम्स’ भनिन्छ ।   सन् १९७५ मा हसिनाका पिता, स्वतन्त्रता नेता शेख मुजिबुर रहमान र उहाँको परिवारका अधिकांश सदस्यको ‘कू’ मा भएको हत्यापछि यो प्रतिद्वन्द्विता देखिन थालेको हो ।  मुजिबुर रहमानको हत्याको तीन महिनापछि जियाका श्रीमान् तत्कालीन उपसेना प्रमुख जियाउर रहमानले सत्ता आफ्नो नियन्त्रणमा लिएका थिए । उनी सन् १९७७ मा राष्ट्रपति बनेका थिए । उनलाई पनि सन् १९८१ मा हत्या गरिएको थियो । त्यसबेला २ सन्तानकी आमा रहेकी ३५ वर्षीया जियाले बीएनपीको नेतृत्व विरासतमा पाएकी थिइन् । सुरुमा सिकारु राजनीतिक नेताका रूपमा नेतृत्वमा आएकी जिया पछि हसिनाको एक शक्तिशाली प्रतिद्वन्द्वी साबित बनेकी थिइन् । उनले सैनिक तानाशाह हुसेन मुहम्मद इर्सादको बिरूद्ध आन्दोलनको नेतृत्व गर्दै सन् १९९० मा हसिनासँग मिलेर इर्सादलाई अपदस्थ गरेकी थिइन् । त्यसपछि, अर्को डेढ दशकसम्म दुई महिलाहरू पालैपालो सत्तामा रहेका थिए ।