इरानमाथि फेरि आक्रमणको संकेत ? ट्रम्पसँग नेतन्याहूको गोप्य छलफल
काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ह्वाइट हाउसमा भेटवार्ता गरेका छन् । फेब्रुअरीमा इरानविरुद्ध युद्ध सुरु भएयता नेतन्याहू र ट्रम्पबीच आमनेसामने भएको यो पहिलो भेट हो । इजरायली टेलिभिजन च्यानल १२ का अनुसार नेतन्याहूले बन्द कोठामा भएको बैठकका क्रममा ट्रम्पसँग इरानसम्बन्धी नयाँ गुप्तचर जानकारी सेयर गरेका थिए । च्यानल १२ को रिपोर्टअनुसार नेतन्याहूको विश्वास छ कि इजरायलले इरानविरुद्ध फेरि सैन्य कारबाही गर्नुपर्ने अवस्था आउन सक्छ । एक अधिकारीलाई उद्धृत गर्दै रिपोर्टमा भनिएको छ, ‘नेतन्याहूको धारणा छ कि इरानमाथि पुनः आक्रमण गर्नुको विकल्प छैन ।’ यसपटक यसअघि आक्रमण नगरिएका स्थानहरू, इरानले पुनः निर्माण गरेका सैन्य संरचनाहरू तथा सरकारको स्थायित्वमा असर पार्न सक्ने रणनीतिक लक्ष्यहरूलाई निशाना बनाउन सक्ने रिपोर्टमा उल्लेख छ । ती अधिकारीका अनुसार इजरायलले वासिङ्टनलाई आफ्नो सुरक्षा मूल्याङ्कन मात्र प्रस्तुत गरेको हो । इरानविरुद्ध सैन्य अभियान सञ्चालन गर्न अमेरिकामाथि कुनै सक्रिय दबाब भने नदिएको उनको भनाइ छ । इजरायली अधिकारीले च्यानल १२ सँग भने, ‘हामी अहिले अत्यन्त महत्त्वपूर्ण चरणमा छौं । राष्ट्रपति ट्रम्पले अब के गर्ने भन्ने विषयमा छिट्टै निर्णय लिनुहुनेछ । हामी उहाँमाथि दबाब दिइरहेका छैनौं, तर यथार्थबाट पनि मुख फर्काइरहेका छैनौं । नेतन्याहूले इजरायलको धारणा स्पष्ट रूपमा राख्नुभएको छ ।’ दुवै नेताबीचको छलफलमा इरानसँगको युद्ध प्रमुख विषय बनेको थियो । अमेरिका र इजरायलले संयुक्त रूपमा इरानविरुद्ध युद्ध सुरु गरे पनि त्यसलाई कसरी अगाडि बढाउने भन्ने विषयमा पछिल्लो समय दुवै देशबीच मतभेद देखिएको छ । ह्वाइट हाउसका एक अधिकारीका अनुसार ट्रम्प र नेतन्याहूबीच इजरायल–हिज्बुल्लाह युद्ध, अमेरिका र इजरायलले लेबनानसँग गरेको रूपरेखा सम्झौता, तथा अब्राहम सम्झौतालाई थप विस्तार गर्ने विषयमा पनि छलफल हुने योजना थियो। यसै महिनाको सुरुआतमा युद्धविराम भंग भएपछि अमेरिका र इरानबीच पुनः तनाव बढेको छ । तर पछिल्लो चरणको सैन्य भिडन्तमा इजरायल भने प्रत्यक्ष रूपमा सहभागी भएको छैन । सम्बन्ध सुधार्ने प्रयास यद्यपि दुवै देशका नेताहरू पुनः आपसी समन्वय मजबुत बनाउने प्रयासमा देखिएका छन् । मंगलबार ट्रम्पसँगको भेटपछि नेतन्याहूले यसलाई अहिलेसम्मकै उत्कृष्ट भेटमध्ये एक भएको बताएका छन् । उता ह्वाइट हाउसले पनि वार्तालाई सार्थक र सकारात्मक भएको जनाएको छ । बैठकमा पत्रकारलाई प्रवेश दिइएको थिएन र त्यसपछि कुनै संयुक्त पत्रकार सम्मेलन पनि आयोजना गरिएन । जनवरी २०२५ मा ट्रम्प पुनः राष्ट्रपति बनेपछि नेतन्याहूसँग भएको यो उनीहरूको आठौं भेट हो । यो भेट यस्तो समयमा भइरहेको छ, जब दुवै नेताले आफ्ना–आफ्ना देशमा बढ्दो राजनीतिक दबाबको सामना गरिरहेका छन् । प्रधानमन्त्री बेन्जामिन नेतन्याहू फेरि चुनाव लड्ने तयारीमा छन् र राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बिग्रँदै गएको सम्बन्धका कारण उनी थप दबाबमा परेका छन् । उता ट्रम्पमाथि नोभेम्बरमा हुने मध्यावधि निर्वाचनअघि अर्थतन्त्रमा अस्थिरता ल्याएको र महँगी बढाएको युद्ध अन्त्य गर्नुपर्ने दबाब बढिरहेको छ । मंगलबार ट्रम्पले इजरायली नेताहरूले पिकएक्स माउन्टेनमा भइरहेको इरानी गतिविधिसम्बन्धी गुप्तचर सूचनामाथि छलफल गर्ने तयारी गरिरहेको भन्ने समाचारप्रति असन्तुष्टि व्यक्त गरेका थिए । पिकएक्स माउन्टेनलाई सम्भावित आणविक स्थलका रूपमा हेरिन्छ, जहाँ आक्रमण गर्ने चेतावनी ट्रम्पले पटक–पटक दिँदै आएका छन् । ट्रम्पले फक्स एन्ड फ्रेन्ड्ससँगको अन्तर्वार्तामा भने, ‘पिकएक्समा के भइरहेको छ भन्ने मलाई पूर्ण रूपमा थाहा छ ।’ सोमबार पत्रकारहरूले इरानको विषयमा आफू र नेतन्याहू एउटै धारणा राख्छन् कि राख्दैनन् भनेर सोध्दा ट्रम्पले भनेका थिए, ‘हाम्रा विचारमा केही फरक छ ।’ उता नेतन्याहूले ट्रम्पसँगको भेटमा इरानबारे उनको धारणा के छ र आगामी रणनीति कस्तो हुनेछ भन्ने बुझ्न चाहेको बताएका छन् ।
जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी
काठमाडौं । दक्षिण पश्चिमी जापानमा मङ्गलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गए पछि, जापान मौसम विज्ञान विभागले सुनामीको चेतावनी जारी गरेको छ । जापानको क्युशु टापुमा आएको कम्पन जापानको आफ्नै 'शिन्डो स्केल” मा मापन गरिएको विभागले जनाएको छ । सुनामी एक मिटर सम्म मापन गर्न सकिने तथा साँझ ५ः०० बजे सम्म आइ पुग्न सक्ने जनाइएको छ । जापानी मिडीया एन एच के ले निर्धारित स्तरसम्मका छालहरू पहिले नै रेकर्ड भइसकेका हुन सक्ने बताएको छ । यस अघि जुन –२५ मा उत्तरी जापानमा ७।२ म्याग्निच्युडको भूकम्प आउदा कुनै पनि व्यक्तिको मृत्यु नभएको वा ठूलो क्षति नभएको उल्लेख गरिएको छ । प्रशान्त 'रिंग अफ फायर' को पश्चिमी किनारमा चार प्रमुख टेक्टोनिक प्लेटहरूको शीर्षमा बसेको जापान विश्वको सबै भन्दा भूकम्पीय रूपमा सक्रिय देशहरू मध्ये एक रहेको जनाइएको छ । लगभग १२ करोड ५० लाख मिलियन मानिसहरूको घर रहेको उक्त द्वीपसमूहले सामान्य तया हरेक वर्ष सयौं भूकम्पीय झट्काहरू आउने र विश्वमा जाने भूकम्पको लगभग १८ प्रतिशत भुकम्प यस क्षेत्रमा जाने गरेको बताइएको छ । यद्यपि भूकम्पले पार्ने क्षति तिनीहरूको स्थान र पृथ्वीको सतह मुनि गहिराई अनुसार फरक हुने जनाइएको छ । यो भूकम्पले सय अघि सन् २०११ मा गएको ९.० म्याग्निच्युडको भूकम्पको सम्झना दिलाएको जनाइएको छ , जसले सुनामी निम्त्याउदा लगभग १८ हजार ५०० मानिसहरूको ज्यान गएको जनाइएको छ । यस वर्षको अप्रिल –२० मा देशको उत्तरमा ७.७ रेक्टर स्केलको भूकम्प आएको थियो, जसमा कम्तीमा १० जना घाइते भएका थिए भने टोकियोमा ठूला भवनहरू हल्लाएका थिए । जसको कारण अधिकारीहरूले ८.० म्याग्निच्युडको भूकम्पको बढ्दो जोखिमको बारेमा विशेष सुझावसहितको चेतावनी जारी गरेको जनाइएको छ । रासस
क्यान्सर विवाद टुंग्याउन जेएन्डजेको साढे ७ खर्ब बढी क्षतिपूर्ति प्रस्ताव, यस्तो छ विवाद
काठमाडौं । प्रसिद्ध औषधि कम्पनी जोन्सन एन्ड जोन्सनले आफ्नो बेबी पाउडर तथा टाल्कयुक्त (टाल्कम) उत्पादन का कारण डिम्बाशय (ओभरी) क्यान्सर भएको आरोप लगाउँदै दायर गरिएका हजारौं मुद्दा टुंग्याउन ५.५ अर्ब अमेरिकी डलर (७ खर्ब, ६८ अर्ब २६ करोड रुपैयाँ) सम्म क्षतिपूर्ति दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव विगत धेरै वर्षदेखि चलिरहेको ठूलो कानुनी विवाद अन्त्य गर्ने प्रयासका रूपमा आएको हो । उक्त विवादका कारण न्यु जर्सीस्थित यस स्वास्थ्य सेवा कम्पनीमाथि निरन्तर कानुनी र आर्थिक दबाब पर्दै आएको छ । यद्यपि, जोन्सन एन्ड जोन्सनले सुरुदेखि नै यी आरोप अस्वीकार गर्दै आएको छ । कम्पनीले आफ्ना टाल्कयुक्त उत्पादनले क्यान्सर नहुने दाबी गरेको छ । साथै कम्पनीले आफ्नो लोकप्रिय बेबी पाउडरको सूत्र पनि परिवर्तन गरिसकेको जनाएको छ । कम्पनीका मुकदमा व्यवस्थापन (लिटिगेसन) सम्बन्धी उपाध्यक्ष एरिक हासले सोमबार यी आरोपलाई ‘निराधार’ भएको बताएका छन् । उनले कम्पनी केवल यो लामो समयदेखिको कानुनी विवादलाई स्थायी रूपमा अन्त्य गर्ने उद्देश्यले सम्झौता गर्न तयार भएको स्पष्ट पारे । जोनसन एन्ड जोन्सनले आगामी वर्षभित्र ३ अर्ब अमेरिकी डलरसम्म भुक्तानी गर्ने जनाएको छ । त्यसपछि सन् २०२८ अघि थप कुनै भुक्तानी गर्नुपर्ने छैन । के हो विवाद ? जोन्सन एन्ड जोन्सनविरुद्ध धेरै वर्षदेखि हजारौं महिलाले कम्पनीको टाल्कयुक्त बेबी पाउडर तथा अन्य उत्पादनको प्रयोगका कारण डिम्बाशयमा क्यान्सर भएको दाबी गर्दै मुद्दा दायर गरेका छन् । केही मुद्दामा अदालतले पीडितको पक्षमा फैसला गर्दै कम्पनीलाई ठूलो क्षतिपूर्ति तिर्न आदेश दिएको छ भने धेरै मुद्दा अझै कानुनी प्रक्रियामै छन् । कम्पनीले भने आफ्ना उत्पादन सुरक्षित रहेको र टाल्कयुक्त उत्पादनले क्यान्सर गराउने आरोपलाई निरन्तर अस्वीकार गर्दै आएको छ । यसबीच कम्पनीले सन् २०२३ देखि विश्वव्यापी रूपमा टाल्कयुक्त बेबी पाउडरको बिक्री बन्द गरी कर्नस्टार्च (मकैको स्टार्च) आधारित उत्पादनलाई प्रतिस्थापन गरेको थियो । अहिले प्रस्ताव गरिएको ५.५ अर्ब अमेरिकी डलरको सम्झौता वर्षौंदेखिको यही कानुनी विवाद अन्त्य गर्ने प्रयासका रूपमा हेरिएको छ ।