इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा
काठमाडौं । इरान युद्धका कारण विश्व आपूर्ति शृङ्खलामा परेको असर अब जापानका दैनिक उपभोग्य वस्तुहरूमा समेत देखिन थालेको छ । रङ्गीन मसी उत्पादनमा प्रयोग हुने कच्चा पदार्थको अभाव भएपछि जापानका केही लोकप्रिय स्न्याक कम्पनीहरूले आफ्ना प्याकेटहरू रङ्गीनबाट श्याम–श्वेतमा रूपान्तरण गर्न थालेका छन् । जापानको चर्चित खाद्य कम्पनी क्याल्बीले आलुको चिप्स र अन्नजन्य स्न्याकहरूको प्याकेजिङमा प्रयोग हुने मसीको आपूर्ति प्रभावित भएपछि केही उत्पादनको डिजाइन अस्थायी रूपमा परिवर्तन गर्न लागेको जनाएको छ । कम्पनीका अनुसार उत्पादनको गुणस्तर र स्वादमा कुनै परिवर्तन नहुने भए पनि प्याकेटको बाहिरी रूप भने पहिलेभन्दा निकै साधारण देखिनेछ । टोकियोस्थित कम्पनीले यस साता जारी गरेको विज्ञप्तिमा ‘उत्पादनको स्थिर आपूर्ति कायम राख्न’ यस्तो कदम चालिएको उल्लेख गरेको छ । कम्पनीका १४ प्रकारका उत्पादनमा मे २५ देखि नयाँ प्याकेजिङ लागू हुनेछ, जसमा प्रयोग हुने मसीका रङ दुईवटामा मात्र सीमित गरिनेछ । क्याल्बीका लोकप्रिय स्न्याकहरू जापानभरका सुविधा स्टोरमा व्यापक रूपमा बिक्री हुने गर्छन् । कम्पनीका उत्पादन अमेरिका, चीन र अस्ट्रेलियासमेत निर्यात हुँदै आएका छन् । सन् १९४९ मा स्थापना भएको क्याल्बीमा पाँच हजारभन्दा बढी कर्मचारी कार्यरत छन् । कम्पनीले अहिलेको भू–राजनीतिक परिस्थितिका कारण आपूर्ति व्यवस्थापनमा लचिलोपन अपनाउन बाध्य भएको जनाएको छ । यो परिवर्तन कति समयसम्म जारी रहने भन्नेबारे कम्पनीले स्पष्ट जानकारी दिएको छैन । इरानमा जारी युद्धका कारण हर्मुज जलघाँटी प्रभावकारी रूपमा अवरुद्ध भएपछि विश्व बजारमा तेल तथा तेलजन्य कच्चा पदार्थको आपूर्तिमा दबाब बढेको छ । त्यसको प्रत्यक्ष असर प्लास्टिक, रसायन र मसी उद्योगमा परेको बताइएको छ । जापान लगभग पूर्ण रूपमा आयातित तेलमा निर्भर देश भएकाले यस्तो सङ्कटले उत्पादन उद्योगमा थप चुनौती सिर्जना गरेको छ । विशेषगरी ‘नाफ्था’ नामक तेलजन्य पदार्थ प्लास्टिक र मसी उत्पादनमा अत्यावश्यक मानिन्छ । आपूर्ति अवरोध र मूल्यवृद्धिका कारण उद्योगहरूले उत्पादन लागत घटाउन वैकल्पिक उपाय अपनाउन थालेका छन् । जापानी सरकारले राष्ट्रिय तेल भण्डार पर्याप्त रहेको भन्दै बजारमा देखिएको चिन्ता कम गर्ने प्रयास गरिरहेको भए पनि उपभोक्ताले अब प्रत्यक्ष रूपमा परिवर्तन महसुस गर्न थालेका छन् । क्याल्बीको लोकप्रिय ‘उसु शिओ’ अर्थात् हल्का नुनिलो चिप्स पहिले चम्किलो सुन्तला रङको प्याकेटमा बिक्री हुने गर्थ्यो, जसमा आलुको कार्टुन पात्र र पहेँला चिप्सको तस्वीर राखिएको हुन्थ्यो । तर नयाँ संस्करणमा भने रङ्गीन डिजाइन हटाएर केवल श्याम–श्वेत अक्षर प्रयोग गरिएको छ । त्यसैगरी कम्पनीको चर्चित झिँगेमाछा (प्राउन) चिप्स ‘काप्पा एबिसेन’ को प्याकेजिङमा पनि समान परिवर्तन लागू गरिने भएको छ । मार्च महिनामा मात्रै कम्पनीले दीर्घकालीन विकास रणनीति सार्वजनिक गरेको थियो । तर पछिल्लो भू–राजनीतिक तनावले उत्पादन र आपूर्ति व्यवस्थापनलाई नयाँ चुनौती दिएको कम्पनीले जनाएको छ । क्याल्बीले आफ्नो विज्ञप्तिमा ‘भू–राजनीतिक जोखिमसहित सञ्चालन वातावरणमा आउने परिवर्तनप्रति कम्पनीले छिटो र लचिलो प्रतिक्रिया दिनेछ’ भन्दै सुरक्षित र उच्च गुणस्तरका उत्पादनको निरन्तर आपूर्तिप्रति प्रतिबद्ध रहेको उल्लेख गरेको छ । रासस
‘गुप्त एजेन्ट’ बनेको खुलासापछि क्यालिफोर्नियाकी मेयरको राजीनामा
काठमाडौं । अमेरिकाको दक्षिणी क्यालिफोर्नियाको एक सहरकी मेयर आइलीन वाङले सोमबार राजीनामा दिएकी छन् । अमेरिकी न्याय विभाग (डीओजे) ले उनलाई चीनका लागि अवैध विदेशी एजेन्टको रूपमा काम गरेको आरोप लगाएको केही समयमै उनले राजीनामा दिएकी हुन् । ५८ वर्षीया वाङले उक्त फौजदारी अभियोग स्वीकार गर्ने सहमति जनाएकी छन् र उनलाई १० वर्षसम्म जेल सजाय हुन सक्ने बताइएको छ । अमेरिकी सहायक महान्यायाधिवक्ता बिल एस्सायलीले भने, ‘हाम्रो देशभित्र गोप्य रूपमा विदेशी सरकारका लागि काम गर्ने व्यक्तिहरूले हाम्रो लोकतन्त्रलाई कमजोर बनाउँछन् । चीनले हाम्रो संस्थालाई भ्रष्ट बनाउने प्रयासविरुद्ध मातृभूमिको रक्षा गर्ने हाम्रो अभियानमा यो सहमति अर्को सफलता हो ।’ न्याय विभागका अनुसार वाङ र चिनो हिल्स निवासी ६५ वर्षीय याओनिङ ‘माइक’ सनले जनवादी गणतन्त्र चीन (पीआरसी) सँग मिलेर चीनको हित प्रवर्द्धन गर्ने प्रचार सामग्री सञ्चालन गर्थे । उनीहरूले चलाएको ‘यूएस न्युज सेन्टर’ नामक वेबसाइट स्थानीय चिनियाँ(अमेरिकी समुदायका लागि समाचार स्रोत भएको दाबी गर्थ्यो । नोभेम्बर २०२२ मा सिटी काउन्सिलमा निर्वाचित वाङले अभियोग स्वीकारसम्बन्धी सम्झौता सार्वजनिक भएको केही घण्टामै मेयर पद खाली गर्ने घोषणा गरेकी थिइन् । लस एन्जलस काउन्टीअन्तर्गत करिब ५४ हजार जनसंख्या रहेको आर्केडियाका अधिकारीहरूले संघीय अधिकारीहरूले उल्लेख गरेका गतिविधि वाङ निर्वाचित हुनुअघि भएका बताएका छन् । आर्केडियाका सिटी म्यानेजर डोमिनिक लाजारेट्टोले नगरको वेबसाइटमार्फत जारी गरेको सन्देशमा भने, ‘विदेशी सरकारले स्थानीय निर्वाचित अधिकारीमाथि प्रभाव जमाउने प्रयास गरेको आरोप अत्यन्त चिन्ताजनक छ । हामी यसलाई गम्भीरतापूर्वक लिन्छौं ।’ ‘यो अनुसन्धान व्यक्तिगत गतिविधिसँग सम्बन्धित छ र आरोपहरू डिसेम्बर २०२२ मा वाङले पदभार ग्रहण गरेपछि बन्द भएका गतिविधिसँग सम्बन्धित हुन् । आन्तरिक समीक्षा पछि हामी पुष्टि गर्न सक्छौं कि नगरको वित्त, कर्मचारी वा निर्णय प्रक्रियामा कुनै असर परेको छैन,’ उनले थपे । लाजारेट्टोका अनुसार आगामी बैठकमा बाँकी काउन्सिल सदस्यहरूमध्येबाट नयाँ मेयर र उपमेयर चयन गरिनेछ । राष्ट्रिय सुरक्षासम्बन्धी सहायक महान्यायाधिवक्ता जोन ए. आइजनबर्गले भने, ‘अमेरिकामा सार्वजनिक पदमा निर्वाचित व्यक्तिहरूले आफूले प्रतिनिधित्व गर्ने अमेरिकी जनताका लागि मात्र काम गर्नुपर्छ । पीआरसी सरकारी अधिकारीहरूको निर्देशन लिने र कार्यान्वयन गर्ने व्यक्ति अहिले सार्वजनिक विश्वासको पदमा हुनु अत्यन्त चिन्ताजनक विषय हो ।’ न्याय विभागले उल्लेख गरेको एक घटनाअनुसार जुन २०२१ मा पीआरसीका एक अधिकारीले इन्क्रिप्टेड वीच्याट समूहमा वाङ र अन्य व्यक्तिहरूलाई पूर्वतयार समाचार सामग्री पठाएका थिए । तीमध्ये एउटा लेख लस एन्जल्स टाइम्समा प्रकाशित थियो, जसमा ‘शिनजियाङमा नरसंहार भएको छैन, कपास उत्पादनसहित कुनै पनि उत्पादन गतिविधिमा जबर्जस्ती श्रम छैन’ भन्ने चीनको धारणा प्रस्तुत गरिएको थियो । केही मिनेटमै वाङले उक्त सामग्री ‘यूएस न्युज सेन्टर’ वेबसाइटमा पोस्ट गरिन् र लिंक पीआरसी अधिकारीलाई पठाइन् । समूहका अन्य सदस्यहरूले पनि त्यस्तै गरे । त्यसपछि ती अधिकारीले ‘यति छिटो, सबैलाई धन्यवादझ् भन्दै प्रतिक्रिया दिएका थिए । न्याय विभागका अनुसार वाङले नोभेम्बर २०२१ मा चीनका राष्ट्रपति सी जिनपिङसम्म प्रत्यक्ष पहुँच भएका पीआरसी गुप्तचर समूहका उच्च सदस्य जोन चेनसँग पनि सम्पर्क गरेकी थिइन् । वाङले आफ्नो वेबसाइटको ‘समाचार’ लेख पोस्ट गर्न आग्रह गर्दै ‘यो विदेश मन्त्रालयले पठाउन चाहेको सामग्री हो’ भनेर लेखेकी थिइन् । क्यालिफोर्नियाको चिनो निवासी चेनले नोभेम्बर २०२४ मा चीनको अवैध एजेन्टको रूपमा काम गरेको तथा सार्वजनिक अधिकारीलाई घुस दिन षड्यन्त्र गरेको अभियोग स्वीकार गरेका थिए । उनलाई संघीय जेलमा २० महिनाको सजाय सुनाइएको थियो । सनलाई डिसेम्बर २०२४ मा पक्राउ गरिएको थियो । उनले पनि विदेशी राष्ट्रको अवैध एजेन्टको रूपमा काम गरेको अभियोग स्वीकार गरेका थिए । उनलाई फेब्रुअरीमा चार वर्षको संघीय जेल सजाय सुनाइएको थियो ।
लेबनानमा इजरायली आक्रमणमा परी ६ जनाको मृत्यु
काठमाडौं । युद्धविराम सम्झौताको बाबजुद दक्षिणी लेबनानमा भएको इजरायली आक्रमणमा छ जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएको सरकारी मिडियाले जनाएको छ । लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले सोमबार राति भएको इजरायली आक्रमणले राजधानी बेरुतबाट ९५ किलोमिटर टाढाको सहर कफर डोनिनको एउटा घरमा प्रहार गरेको रिपोर्ट गरेको छ । घाइतेहरूलाई उपचारको लागि तटीय सहर टायरको अस्पतालमा लगिएको एनएनएले जनाएको छ । इजरायल र लेबनानबीच अप्रिल –१७ मा युद्धविराम भएको भए पनि इजरायलले दक्षिण लेबनानमा आफ्नो आक्रमणलाई तीव्र बनाएको जनाइएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार लेबनान गत मार्च –२ मा मध्यपूर्व युद्धमा तानिए पछि दुइ हजार ८०० भन्दा बढी मानिस मारिएका छन् । लेबनानी नेताहरूले हाल बेरुतका लागि अमेरिकी राजदूतलाई इजरायललाई युद्धविरामको समयमा आक्रमण रोक्न दबाब दिन आग्रह गरेका छन् भने इजरायलले पनि गोली हानाहान भएको रिपोर्ट गरेको छ । इजरायली सेनाले सप्ताहन्तको समयमा लेबनानसँगको सीमा नजिकैको लडाइँमा आफ्नो एक जना सैनिक मारिएको उल्लेख गर्दै युद्ध सुरु भए देखि १८ जना सैनिक र एक जना नागरिकको मृत्यु भएको बताएको छ । यसै बीच मंगलबार एनएनएले अन्य दक्षिणी लेबनानी सहरहरूमा पनि नजिकै इजरायली आक्रमण भएको रिपोर्ट गरेको छ भने इजरायली सेनाले पूर्वी लेबनानको बेका उपत्यकाको सोहमोर सहर खाली गर्न आदेश दिएको छ ।