इरानमाथि फेरि आक्रमणको संकेत ? ट्रम्पसँग नेतन्याहूको गोप्य छलफल

ट्रम्प पुनः राष्ट्रपति बनेपछि नेतन्याहूसँग भएको यो उनीहरूको आठौं भेट हो ।

फाइल तस्बिर ।

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ह्वाइट हाउसमा भेटवार्ता गरेका छन् । 

फेब्रुअरीमा इरानविरुद्ध युद्ध सुरु भएयता नेतन्याहू र ट्रम्पबीच आमनेसामने भएको यो पहिलो भेट हो ।

इजरायली टेलिभिजन च्यानल १२ का अनुसार नेतन्याहूले बन्द कोठामा भएको बैठकका क्रममा ट्रम्पसँग इरानसम्बन्धी नयाँ गुप्तचर जानकारी सेयर गरेका थिए ।

च्यानल १२ को रिपोर्टअनुसार नेतन्याहूको विश्वास छ कि इजरायलले इरानविरुद्ध फेरि सैन्य कारबाही गर्नुपर्ने अवस्था आउन सक्छ । एक अधिकारीलाई उद्धृत गर्दै रिपोर्टमा भनिएको छ, ‘नेतन्याहूको धारणा छ कि इरानमाथि पुनः आक्रमण गर्नुको विकल्प छैन ।’

यसपटक यसअघि आक्रमण नगरिएका स्थानहरू, इरानले पुनः निर्माण गरेका सैन्य संरचनाहरू तथा सरकारको स्थायित्वमा असर पार्न सक्ने रणनीतिक लक्ष्यहरूलाई निशाना बनाउन सक्ने रिपोर्टमा उल्लेख छ ।

ती अधिकारीका अनुसार इजरायलले वासिङ्टनलाई आफ्नो सुरक्षा मूल्याङ्कन मात्र प्रस्तुत गरेको हो । इरानविरुद्ध सैन्य अभियान सञ्चालन गर्न अमेरिकामाथि कुनै सक्रिय दबाब भने नदिएको उनको भनाइ छ ।

इजरायली अधिकारीले च्यानल १२ सँग भने, ‘हामी अहिले अत्यन्त महत्त्वपूर्ण चरणमा छौं । राष्ट्रपति ट्रम्पले अब के गर्ने भन्ने विषयमा छिट्टै निर्णय लिनुहुनेछ । हामी उहाँमाथि दबाब दिइरहेका छैनौं, तर यथार्थबाट पनि मुख फर्काइरहेका छैनौं । नेतन्याहूले इजरायलको धारणा स्पष्ट रूपमा राख्नुभएको छ ।’

दुवै नेताबीचको छलफलमा इरानसँगको युद्ध प्रमुख विषय बनेको थियो । अमेरिका र इजरायलले संयुक्त रूपमा इरानविरुद्ध युद्ध सुरु गरे पनि त्यसलाई कसरी अगाडि बढाउने भन्ने विषयमा पछिल्लो समय दुवै देशबीच मतभेद देखिएको छ ।

ह्वाइट हाउसका एक अधिकारीका अनुसार ट्रम्प र नेतन्याहूबीच इजरायल–हिज्बुल्लाह युद्ध, अमेरिका र इजरायलले लेबनानसँग गरेको रूपरेखा सम्झौता, तथा अब्राहम सम्झौतालाई थप विस्तार गर्ने विषयमा पनि छलफल हुने योजना थियो।

यसै महिनाको सुरुआतमा युद्धविराम भंग भएपछि अमेरिका र इरानबीच पुनः तनाव बढेको छ । तर पछिल्लो चरणको सैन्य भिडन्तमा इजरायल भने प्रत्यक्ष रूपमा सहभागी भएको छैन ।

सम्बन्ध सुधार्ने प्रयास

यद्यपि दुवै देशका नेताहरू पुनः आपसी समन्वय मजबुत बनाउने प्रयासमा देखिएका छन् । मंगलबार ट्रम्पसँगको भेटपछि नेतन्याहूले यसलाई अहिलेसम्मकै उत्कृष्ट भेटमध्ये एक भएको बताएका छन् ।

उता ह्वाइट हाउसले पनि वार्तालाई सार्थक र सकारात्मक भएको जनाएको छ । बैठकमा पत्रकारलाई प्रवेश दिइएको थिएन र त्यसपछि कुनै संयुक्त पत्रकार सम्मेलन पनि आयोजना गरिएन ।

जनवरी २०२५ मा ट्रम्प पुनः राष्ट्रपति बनेपछि नेतन्याहूसँग भएको यो उनीहरूको आठौं भेट हो ।

यो भेट यस्तो समयमा भइरहेको छ, जब दुवै नेताले आफ्ना–आफ्ना देशमा बढ्दो राजनीतिक दबाबको सामना गरिरहेका छन् । प्रधानमन्त्री बेन्जामिन नेतन्याहू फेरि चुनाव लड्ने तयारीमा छन् र राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बिग्रँदै गएको सम्बन्धका कारण उनी थप दबाबमा परेका छन् ।

उता ट्रम्पमाथि नोभेम्बरमा हुने मध्यावधि निर्वाचनअघि अर्थतन्त्रमा अस्थिरता ल्याएको र महँगी बढाएको युद्ध अन्त्य गर्नुपर्ने दबाब बढिरहेको छ ।

मंगलबार ट्रम्पले इजरायली नेताहरूले पिकएक्स माउन्टेनमा भइरहेको इरानी गतिविधिसम्बन्धी गुप्तचर सूचनामाथि छलफल गर्ने तयारी गरिरहेको भन्ने समाचारप्रति असन्तुष्टि व्यक्त गरेका थिए ।

पिकएक्स माउन्टेनलाई सम्भावित आणविक स्थलका रूपमा हेरिन्छ, जहाँ आक्रमण गर्ने चेतावनी ट्रम्पले पटक–पटक दिँदै आएका छन् । ट्रम्पले फक्स एन्ड फ्रेन्ड्ससँगको अन्तर्वार्तामा भने, ‘पिकएक्समा के भइरहेको छ भन्ने मलाई पूर्ण रूपमा थाहा छ ।’

सोमबार पत्रकारहरूले इरानको विषयमा आफू र नेतन्याहू एउटै धारणा राख्छन् कि राख्दैनन् भनेर सोध्दा ट्रम्पले भनेका थिए, ‘हाम्रा विचारमा केही फरक छ ।’

उता नेतन्याहूले ट्रम्पसँगको भेटमा इरानबारे उनको धारणा के छ र आगामी रणनीति कस्तो हुनेछ भन्ने बुझ्न चाहेको बताएका छन् ।

Share News