वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आवश्यक परे इरानको सम्पूर्ण तेल कब्जा गर्न वा पूरै देशलाई नियन्त्रणमा लिन सक्ने दाबी गर्दै इरानविरुद्ध पुनः सैन्य कारबाही हुन सक्ने संकेत गरेका छन् ।
शुक्रबार फ्लोरिडामा आयोजित र्यालीमा सहभागी हुन ह्वाइट हाउसबाट निस्कने क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरान अहिले कमजोर अवस्थामा रहेको बताएका हुन् ।
'इरानले अहिले खासै केही गर्न सक्ने अवस्थामा छैन । हामीले चाह्यौँ भने त्यहाँको सबै तेल कब्जा गर्न सक्छौँ,' उनले भने, 'हामी पूरै देश नै कब्जा गर्न सक्छौँ ।'
संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत माइक वाल्ट्जले इरानसँगको द्वन्द्व अझै एक वर्षसम्म लम्बिन सक्ने बताएको विषयमा सोधिएको प्रश्नको जवाफ दिँदै ट्रम्पले द्वन्द्व छिट्टै अन्त्य गर्न सकिने दाबी गरे ।
'हामी यसलाई निकै छिटो अन्त्य गर्न सक्छौँ । प्रश्न यो हो—के हामी यसलाई पूर्ण रूपमा टुङ्ग्याउन चाहन्छौँ वा आफैँ कमजोर हुँदै जान दिने हो ?' उनले भने ।
पछि फ्लोरिडामा आयोजित र्यालीलाई सम्बोधन गर्दै ट्रम्पले इरानविरुद्ध अर्को सैन्य कारबाही सञ्चालन गर्न सकिने संकेत गरे । 'हामी अर्को एउटा सानो ‘एपिक फ्युरी’ सञ्चालन गर्न सक्छौँ,' उनले भने ।
‘एपिक फ्युरी’ अमेरिकाले फेब्रुअरी २८ मा इजरायलसँग समन्वय गर्दै इरानविरुद्ध सञ्चालन गरेको सैन्य कारबाहीसँग सम्बन्धित नाम हो ।
अमेरिका र इजरायलले अमेरिकी मध्यावधि निर्वाचनपछि इरानमाथि पुनः आक्रमण गर्ने योजनाबारे छलफल गरिरहेको भन्ने समाचार सार्वजनिक भइरहेका बेला ट्रम्पको पछिल्लो अभिव्यक्ति आएको हो ।
यद्यपि, इरानविरुद्ध अर्को सैन्य कारबाही सञ्चालन गर्ने विषयमा ट्रम्पले अन्तिम स्वीकृति दिने वा नदिने भन्ने अझै स्पष्ट भइसकेको छैन । अमेरिकी सञ्चारमाध्यमहरूले पनि यसबारे अनिश्चितता रहेको जनाएका छन् ।
ट्रम्पको पछिल्लो अभिव्यक्तिले अमेरिका र इरानबीचको तनाव थप चर्किन सक्ने संकेत गरेको छ ।