आधुनिक कतारका निर्माता शेख हमदको निधन

काठमाडौं । कतारका पूर्व अमिर शेख हमद बिन खलिफा अल थानीको निधन भएको छ । कतार सरकारले आइतबार बिहान ७४ वर्षको उमेरमा उनको निधन भएको पुष्टि गरेको हो । सन् १९९५ देखि २०१३ सम्म कतारको नेतृत्व गरेका शेख हमदलाई आधुनिक कतारका प्रमुख शिल्पीमध्ये एक मानिन्छ ।  उनको शासनकालमा प्राकृतिक ग्यासबाट प्राप्त आम्दानीलाई प्रभावकारी रूपमा परिचालन गर्दै कतारले तीव्र आर्थिक विकास हासिल गरेको थियो र विश्वकै धनी राष्ट्रहरूमध्ये एकका रूपमा आफ्नो पहिचान स्थापित गरेको थियो। उनकै नेतृत्वमा सन् १९९६ मा अल जजिरा अन्तर्राष्ट्रिय समाचार सञ्जाल स्थापना गरिएको थियो, जसले मध्यपूर्वको सञ्चार क्षेत्रमा नयाँ आयाम थपेको मानिन्छ । शिक्षा, स्वास्थ्य, पूर्वाधार र राजधानी दोहाको आधुनिकीकरणमा पनि उनको महत्त्वपूर्ण योगदान रहेको बताइन्छ । सन् १९९५ मा उनले रक्तपातविहीन सत्ता परिवर्तनमार्फत आफ्ना पिता शेख खलिफा बिन हमद अल थानीबाट शासनको बागडोर सम्हालेका थिए । त्यसपछि कतारले ऊर्जा, कूटनीति र अन्तर्राष्ट्रिय लगानीका क्षेत्रमा उल्लेखनीय प्रभाव विस्तार गरेको थियो । उनकै शासनकालमा कतारले सन् २०२२ को फिफा विश्वकप आयोजना गर्ने अधिकार प्राप्त गरेको थियो, जसले देशको अन्तर्राष्ट्रिय छवि थप सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको मानिन्छ । सन् २०१३ मा उनले स्वेच्छाले सत्ता आफ्ना छोरा तथा वर्तमान अमिर शेख तमिम बिन हमद अल थानीलाई हस्तान्तरण गरेका थिए । खाडी क्षेत्रका राजतन्त्रमा स्वेच्छिक रूपमा सत्ता हस्तान्तरण गर्ने दुर्लभ उदाहरणमध्ये यो एक मानिन्छ । करिब ३० लाख जनसङ्ख्या रहेको कतार खाडी क्षेत्रको सानो राष्ट्रमध्ये एक हो । यहाँको अर्थतन्त्र मुख्य रूपमा प्राकृतिक ग्यास र तेल क्षेत्रमा आधारित छ भने जनसङ्ख्याको ठूलो हिस्सा विदेशी कामदारले ओगटेका छन् ।   कतार सन् १९७१ सम्म बेलायतको संरक्षित राज्यका रूपमा रहेको थियो । १९औं शताब्दीको मध्यदेखि नै अल थानी परिवारले यहाँको शासन गर्दै आएको छ ।

एआईबाट सिर्जित सङ्गीत पहिचान गर्न नयाँ लेबलिङ प्रणाली सार्वजनिक

काठमाडौं । विश्वका प्रमुख सङ्गीत उद्योगसम्बद्ध संस्थाहरूले कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगबाट सिर्जना गरिएका सङ्गीत सामग्रीको पहिचान गर्न नयाँ स्वेच्छिक लेबलिङ प्रणाली सार्वजनिक गरेका छन् । यसको उद्देश्य एआईबाट उत्पादित सामग्रीबारे श्रोतालाई स्पष्ट जानकारी उपलब्ध गराउनु हो । फोनोग्राफिक उद्योगको अन्तर्राष्ट्रिय महासङ्घ (आईएफपीआई) र रेकर्डिङ इन्डस्ट्री एसोसिएसन अफ अमेरिका (आरआईएए) ले ग्रामी अवार्ड आयोजकसहित अन्य संस्थाहरूसँग मिलेर शुक्रबार उक्त प्रणाली सार्वजनिक गरेका हुन् । संस्थाहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा श्रोताहरूले सङ्गीत सिर्जनामा एआई कसरी र कति प्रयोग भएको छ भन्ने जानकारी चाहेको उल्लेख गर्दै नयाँ लेबलले पारदर्शिता कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । नयाँ प्रणालीअन्तर्गत दुई प्रकारका लेबल प्रयोग गरिनेछन् । पहिलो ‘एआईद्वारा सिर्जना गरिएका’लेबल त्यस्ता सामग्रीमा प्रयोग हुनेछ, जहाँ गीत वा रेकर्डिङका अधिकांश वा सम्पूर्ण सिर्जनात्मक पक्ष कृत्रिम बुद्धिमत्ताबाट तयार गरिएको हुन्छ । यसमा एआईबाट पूर्ण रूपमा सिर्जित गीत, एआईद्वारा तयार गरिएका मुख्य स्वर वा प्रमुख वाद्य ट्र्याकसमेत समावेश हुनेछन् । दोस्रो ‘एआई–सहायता प्राप्त’लेबल भने मुख्य रूपमा मानव सिर्जनामा आधारित भए पनि केही सिर्जनात्मक अंशमा एआईको सहयोग लिइएको सङ्गीतमा प्रयोग गरिनेछ । यस प्रकारका सामग्रीमा मुख्य स्वर र प्रमुख वाद्य प्रस्तुतीकरण भने मानव कलाकारले नै गरेको हुनुपर्ने व्यवस्था गरिएको छ । यो स्वेच्छिक लेबलिङ प्रणाली सङ्गीत स्ट्रिमिङ सेवासहित विश्वव्यापी रूपमा लागू गर्ने लक्ष्य राखिएको छ । सङ्गीत स्ट्रिमिङ सेवा डिजरले एआईबाट सिर्जित सामग्रीलाई स्वचालित रूपमा चिह्न लगाउने व्यवस्था गरिसकेको छ । कम्पनीका अनुसार हाल नयाँ अपलोड हुने सामग्रीमध्ये करिब आधा एआईबाट सिर्जित छन् । जुन महिनामा डिजरले ९९ दशमलव आठ प्रतिशत शुद्धतासहित एआई सङ्गीत पहिचान गर्ने प्रणालीसमेत सार्वजनिक गरेको थियो । यसै वर्षको सुरुमा एप्पल म्युजिकका एक अधिकारीले नयाँ अपलोड हुने सामग्रीमध्ये एक तिहाइभन्दा बढी पूर्ण रूपमा एआईबाट सिर्जित हुने बताएका थिए । एप्पल म्युजिक, अमेजन म्युजिक र स्पोटिफाइजस्ता स्ट्रिमिङ सेवाहरूको प्रतिनिधित्व गर्ने ‘डिजिटल मिडिया एसोसिएसन’(डिमा)ले पनि नयाँ लेबलिङ प्रणालीको स्वागत गर्दै प्रयोगकर्तालाई थप पारदर्शी जानकारी उपलब्ध गराउन एआईसम्बन्धी मेटाडाटा अझ सुदृढ बनाइने जनाएको छ । स्पोटिफाइले गत अप्रिलमा कलाकारको आधिकारिक सामग्री पहिचान गर्न ‘स्पोटिफाइद्वारा प्रमाणित’ लेबल सुरु गरेको थियो भने एआईद्वारा हुने प्रतिरूपण (इम्पर्सोनेसन) रोक्न नयाँ उपायहरू पनि लागू गरेको जनाएको छ । रासस

रुसमा दुई रोबोटले गरे विवाह, एआईको नयाँ प्रदर्शन

काठमाडौं । रुसको राजधानी मस्कोमा दुईवटा ह्युमनोइड (मानव स्वरूपका) रोबोटबीच एक विशेष समारोहका बीच विवाह दर्ता सम्पन्न भएको छ । प्रविधिको विकास र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को बढ्दो प्रभावलाई प्रदर्शन गर्ने उद्देश्यले आयोजित यस अनौठो कार्यक्रममा दुई रोबोटले एक–अर्काप्रति प्रेम र प्रतिबद्धता व्यक्त गरेका हुन् । आधिकारिक विवाह दर्ता कार्यालयको झल्को दिने गरी आयोजना गरिएको उक्त समारोहमा रोबोटहरूले मानव वैवाहिक परम्पराझैं संवाद गरेका थिए । कार्यक्रमका क्रममा दुवै रोबोटले एक–अर्कालाई जीवनसाथीका रूपमा स्वीकार गर्ने घोषणा गरेपछि उपस्थित पाहुनाहरूले उनीहरूको ‘मिलन’लाई ताली बजाएर स्वागत गरेका थिए । यस प्रकारको समारोहले भविष्यमा मानव र मेसिनबीचको अन्तरक्रिया तथा रोबोटिक्सको सामाजिक भूमिकाबारे नयाँ बहस छेडिदिएको छ । प्रविधि क्षेत्रका विज्ञहरूका अनुसार यो कार्यक्रम केवल एक प्रदर्शनी मात्र नभई रोबोटले मानव संवेदना र व्यवहारलाई कुन हदसम्म आत्मसात् गर्न सक्छन् भन्ने प्रयोग पनि हो । यद्यपि यो विवाह कानुनी रूपमा मानव विवाहसरह मान्यता प्राप्त नभए पनि यसलाई प्रविधि र मनोरञ्जनको क्षेत्रमा एउटा महत्त्वपूर्ण उपलब्धि मानिएको छ । रुसमा यसअघि पनि प्रविधिसम्बन्धी विभिन्न प्रयोगहरू हुँदै आएका छन्, तर ह्युमनोइड रोबोटबीचको यो औपचारिक विवाह समारोहले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको ध्यान खिच्न सफल भएको छ ।