नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठले लिए शपथ

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठले पद तथा गोपनियताको शपथ लिएका छन् । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले अध्यक्ष श्रेष्ठलाई सोमबार पद तथा गोपनियताको शपथ गराएका हुन् । उक्त कार्यक्रममा प्राधिकरणका अध्यक्ष सिलवालले नेपालभर लघुबीमाको पहुँचलाई विशेष गरी दुर्गम र पिछडिएका क्षेत्रमा अगाडि बढाउनमा जोड दिन कम्पनीका पदाधिकारीहरुलाई निर्देशन दिए । शपथग्रहण कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल तथा नेपाल माइक्रो इन्स्योरेन्सका प्रमुख कार्यकारीहरुको उपस्थित थियो ।

एनटीसीको सञ्चालकमा कोमलबहादुर खत्री नियुक्त

काठमाडौं । नेपाल टेलिकम (एनटीसी) को सञ्चालकमा कोमलबहादुर खत्री नियुक्त भएका छन् । गत चैत ३ गतेको सचिवस्तर निर्णय अनुसार उनी सञ्चालक समितिको सदस्यमा नियुक्त भएका हुन् । उनले गत चैत १५ गते पद तथा गोपनीयताको शपथ पनि लिइसकेका छन् । खत्री कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रतिनिधिको रुपमा एनटीसीको सञ्चालक समितिको सदस्य भएका हुन् । यसअघि उक्त पदमा कोशलचन्द्र सुवेदी थिए ।

स्नातक छोरी बुहारीलाई सूर्योदय नगरपालिकाले रोजगारी दिने

इलाम । सूर्योदय नगरपालिका–१, बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक पढाएको नगरपालिकाले रोजगारी पनि दिन्छ भन्ने लागेको थिएन । ‘कक्षा १२ पास भएपछि कसरी ब्याचलर पढ्ने भन्ने चिन्ता थियोे । नगरपालिकाले पढायो’, शाहले भनिन्, ‘जागिरको खोजीमा थिएँ, पालिकाले नै शिक्षकको जागिर दिएको छ । आजदेखि पढाउन थालेँ ।’ बिहीबारदेखि महेन्द्रोदय विद्यालयमा अध्यापन सुरु गरेको उनले सुनाइन् । शाह मात्र होइन नगरपालिकाको शतप्रतिशत छात्रवृत्तिमा स्नातक उत्तीर्ण गरेकाले बिहीबारदेखि रोजगारी पाएका छन् । ‘नगरको इच्छा,छोरीबुहारीलाई शिक्षा’ नाराका साथ कर्फोक क्याम्पसमा निःशुल्क स्नातक पढाइ सुरु भएको पाँच वर्ष भएको छ । ‘हालसम्म १५३ छोरीबुहारीले स्नातक तहको अध्ययन गरिसकेका छन् भने तीमध्ये २३ जनाले उत्तीर्ण गरेका छन्’, नगरप्रमुख रणबहादुर राईले भने, ‘उत्तीर्ण भएकालाई नगरपालिकामा रोजगारी दिन निवेदन माग गरेकोमध्ये १५ जनाको आवेदन प्राप्त भयो । उहाँहरुलाई बिहीबारदेखि एक सय दिनको रोजगारीका लागि यहाँका विभिन्न विद्यालय र अन्य कार्यालयमा खटाइएको छ ।’ विद्यार्थीले पढेको विषय र उनीहरूको योग्यताअनुसार नगरपालिकाले रोजगारी दिएको हो । दुई जनालाई वडा कार्यालय, एक जनालाई नगरको शिक्षा, युवा तथा खेलकुद शाखा, एक जनालाई प्रसूति तथा बाल क्लिनिक र बाँकी सबैलाई विभिन्न विद्यालयमा खटाइएको छ । उनीहरूले खटाइएका ठाउँमा सय दिन काम गर्नेछन् । नगरप्रमुख राईले छात्रवृत्तिमा स्नातक उत्तीर्ण महिलालाई प्रोत्साहन गर्न छोटो समयका लागि भए पनि रोजगारी दिइएको बताए । ‘बुहारीलाई पनि पढाउनुपर्छ भन्ने सोच विकास गर्न नगरपालिकाले यो कार्यक्रम ल्याएको हो’, प्रमुख राईले भने, ‘छात्रवृत्तिमा अध्ययन गरेका छोरीबुहारीलाई थप प्रोत्साहन गर्न र उनीहरूका माध्यमबाट अरू छोरीबुहारीलाई पनि पढाइमा हौसला थप्न रोजगारीको कार्यक्रम ल्याइएको छ ।’ राईले रोजगारीको अवसर छोटो समयका लागि भए पनि उनीहरूलाई थप सिकाइ र क्षमता प्रस्फुटनमा सहयोग गर्न सहयोगी बन्ने बताए । ‘स्नातक गरेका छोरीबुहारीलाई रोजगारीका कार्यक्रमले थप मद्दत पुग्नेछ,’ उनले भने, ‘उनीहरूको दक्षता र क्षमताबाट नगरपालिकाले पनि सहयोग पाउने छ ।’ नगरपालिकामा बसोवास गर्ने परिवारका छोरी र यहाँ विवाह भएर आएका बुहारीलाई नगरपालिकाले छात्रवृत्तिमा स्नातक अध्ययन गराइरहेको नगर प्रमुख राईले बताए । ‘कानुनी रूपमा उमेर पुगे पनि २०–२२ वर्षका छोरीहरु विवाह होइन पढाइप्रति नै ध्यान दिनुपर्छ । उनीहरुलाई पढाइप्रति नै आकर्षित गर्नुपर्छ भनेर यो कार्यक्रम कार्यक्रम कार्यान्वयन गरिएको हो,’ उनले भने । नगरका शिक्षा शाखा प्रमुख योगनिधि भट्टराईले शिक्षा, मानविकी, व्यवस्थापन, कम्प्युटरलगायत विद्यार्थीको जुन विधामा योग्यता छ, त्यसैमा रोजगारी दिइएको बताए । ‘कलेजमा पढेको विषयसँग सम्बन्धित मात्र होइन, जोसँग जे क्षमता छ, त्यसैअनुसार काम विभाजन गरेका छौं,’ उनले भने । यस वर्ष यहाँ छात्रवृत्तिमा अध्ययन गर्ने छोरीबुहारीको सङ्ख्या दुई सय पुगेको करफोक क्याम्पस प्रमुख गोपाल कट्टेलले बताए । नगरपालिकाबाट छात्रवृत्ति पाएका छोरीबुहरी करफोक क्याम्पसमा विविध विषयमा अध्ययन गरिरहेका छन् । क्याम्पस प्रमुख कट्टेलले नगरपालिकाको छात्रवृत्ति कार्यक्रमका माध्यमबाट ग्रामीण भेगका छोरीबुहारीले क्याम्पस पढ्न पाएका बताए । ‘आर्थिक अवस्था सबल नभएका गाउँका छोरीबुहारीलाई छात्रवृत्ति कार्यक्रमले क्याम्पससम्म ल्याएको छ’, उनले भने, ‘छात्रवृत्तिमा अध्ययन गर्न पाउने र थप सय दिनको रोजगारी पनि हुने भएपछि छात्राहरूलाई प्रोत्साहन मिलेको छ ।’ करफोक क्याम्पसमा छात्रवृत्ति पाएका विद्यार्थीले बिबिए, बिबिएच र बिएड अध्ययन गरिरहेका छन् । स्नातक तह उत्तीर्ण गरेकामध्ये धेरैजसो स्नात्तकोत्तर अध्ययन गर्न जिल्ला बाहिर रहेकाले १५ जनाले मात्र सय दिनको रोजगारी लिएका नगरपालिकाको शिक्षा शाखा प्रमुख भट्टराईले बताए । शिक्षा क्षेत्रमा नगरपालिकाले गरेको लगानी परिणाममुखी भएको विद्यार्थीले बताएका छन् । गोर्खेकी सुजता बजगाईंलाई २०७४ सालमा कक्षा १२ उत्तीर्ण गरेपछि कसरी स्नातक गर्ने भन्ने चिन्ता थियो तर उनलाई नगरपालिकाले पढायो । गाउँकै हिमालय माध्यमिक विद्यालयबाट १२ कक्षा उत्तीर्ण गरेकी सुजता ‘नगरको इच्छा छोरीबुहारीलाई शिक्षा’ कार्यक्रमअन्तर्गत पालिकाको शतप्रतिशत छात्रवृत्तिमा नै स्नातक उत्तीर्ण भइन् । हाल उनी स्नात्तकोत्तर अध्ययन गरिरहेकी छन् । ‘परिवारको सामान्य आर्थिक अवस्थाका कारण उच्च शिक्षा अध्ययनमा धेरैलाई समस्या छ’, सुजताका बुबा प्रेमले भने, ‘हाम्रो नगरपालिकाले छोरीबुहारीलाई स्नातक तहमा पढाइरहेको छ, पैसाको अभावमा पढाइ छोड्नुपर्ने, पढाइ छोडेकै कारण कम उमेरमा विवाह गर्नुपर्नेलगायत समस्याबाट मुक्त हुन पालिकाको यो काम उदाहरणीय मात्र होइन प्रशंसनीय छ ।’ रासस