राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा नेपाल बैंकका अधिकारी

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा नेपाल बैंकका प्रकाशकुमार अधिकारी नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिमा नेपाल बैंकको प्रतिनिधित्व हुने व्यवस्था भए बमोजिम उनी अर्को व्यवस्था नभएसम्मका लागि सञ्चालक सदस्य रहने भएका हुन् । सञ्चालक अधिकारीले पद तथा गोपनियताको सपथ ग्रहण गरि पद बहाली समेत गरेका छन् । उनले बैशाख ११ गते नै कम्पनीको सञ्चालक समितिका अध्यक्षबाट सपथ लिएका हुन् ।

प्रभु बैंकका सञ्चालक रामेश्वर सापकोटाको राजीनामा स्वीकृत

काठमाडौं । प्रभु बैंकका सञ्चालक रामेश्वर सापकोटाको राजीनामा स्वीकृत भएको छ । बैंकको बैशाख १३ गते बसेको सञ्चालक समितिको बैठकले सापकोटाको राजीनामा स्वीकृत गरेको हो । सापकोटा बैंकको संस्थापक सेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आईरहेका थिए ।

डेभलपमेण्ट बैंकर्स संघको सीईओमा डंगोल नियुक्त

काठमाडौं । डेभलपमेण्ट बैंकर्स संघ नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा मन्जिला डंगोल नियुक्त भएकी छन् । व्यवस्थापनमा स्नातकोत्तर डंगोलले तत्कालिन सनराईज बैंक, तत्कालिन मेगा बैंक तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको व्यवस्थापकीय तहमा रहेर करिब १५ वर्ष कार्य गरेको अनुभव रहेको छ । अनुसन्धान तथा बिकास, जोखिम व्यवस्थापन, कर्जा जोखिम विश्लेषण, तथ्यांक विश्लेषण, साना तथा मझौंला कर्जा व्यवस्थापन, कृषि कर्जा व्यवस्थापन आदिमा विशेष दख्खल राख्ने डंगोलले डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको उद्देश्य हासिल गर्नका लागि प्रमुख भूमिका खेल्ने विश्वास एशोसिएसनले लिएको छ । आफ्नो सचिवालयलाई थप स्रोतमूलक बनाउनेक्रममा प्रमुख कार्यकारी अधिकृत पदको दरवन्दी सिर्जना गरेको एशोसिएसनले अन्य आवश्यक कर्मचारी पनि भर्ना गर्दै जाने लक्ष्य लिएको बताएकाे छ ।