डिस मिडियाको सीईओमा बैंकर मानन्धर नियुक्त, आजैदेखि सम्हाले कार्यभार
काठमाडौं । डिस मिडिया नेटवर्कको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा तारा मानन्धर नियुक्त भएका छन् । बैंकिङ क्षेत्रको विशेष अनुभव भएका मानन्धरले फरक क्षेत्रको व्यवस्थापन गर्ने जिम्मा पाएका हुन् । नवनियुक्त सीईओ मानन्धरले आजै अर्थात बैशाख ३ गतेदेखि नै उक्त मिडियाको कार्यभार सम्हालेका छन् । मानन्धरले विभिन्न वाणिज्य बैंक तथा विकास बैंकहरुमा माथिल्लो तहमा रहेर काम गरेका छन् । हालै मात्रै मानन्धरले करिब तीन वर्ष दुबईको मस्रेक बैंकमा नेपालको नायब प्रतिनिधिको रुपमा काम गरेका छन् । बैंकर मानन्धरसँग बैंकिङ क्षेत्रको करिब २४ वर्षको अनुभव छ । साविकको नेपाल बंगलादेश बैंकबाट करिअर सुरु गरेका उनले त्यसपछि एनसीसी, स्ट्यान्डर्ड चार्टर्ड, बिजनेस युनिभर्सल, प्रभु, मुक्तिनाथ विकास बैंक, कैलाश विकास बैंकहुँदै प्राइम कमर्शियल बैंकमा विभिन्न माथिल्लो तहमा रहेर काम गरेका छन् ।
अर्घाखाँची सिमेन्टले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल
काठमाडौं । अर्घाखाँची सिमेन्ट लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन गर्नका लागि एनएमबि क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धी सम्झौतापत्र आईतबार एनएमबि क्यापिटल लिमिटेडको रजिस्टर्ड कार्यालयमा सम्पन्न भएको क्यापिटलले जनाएको छ । कम्पनीले साधारण सेयर निष्काशन गर्ने सम्बन्धी कार्यको लागि एनएमबि क्यापिटल लिमिटेडलाई धित्तोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गर्ने सम्बन्धी सम्झौता–पत्रमा अर्घाखाँची सिमेन्ट लिमिटेडका तर्फबाट चिफ फाइनान्सिएल अफिसर राजु पौडेल तथा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । नियामक निकायबाट तोकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरु पूरा गरी यथासम्भव छिटो निष्काशनको प्रक्रिया अगाडी बढाईने चिफ फाइनान्सिएल अफिसर राजु पौडेलले बताएका छन् ।
सिद्धार्थ प्रिमियरको विज्ञ सञ्चालकमा हसना शर्मा नियुक्त
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको स्वतन्त्र (विज्ञ) सञ्चालकमा हसना शर्मा नियुक्त भएकी छिन् । चैत ३० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले शर्मालाई रिक्त रहेको उक्त पदमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त सञ्चालक शर्माले आगामी चार वर्षसम्म उक्त पद सम्हाल्ने छिन् ।