कत्था उत्पादक संघको अध्यक्षमा घिमिरे निर्वाचित

काठमाडौं । कत्था उत्पादकहरुको छाता संगठन नेपाल कत्था उत्पादक संघको तेस्रो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनले संघको अध्यक्षमा शिव प्रसाद घिमिरेलाई निर्विरोध निर्वाचित गरेको छ । यस्तै, संघको उपाध्यक्षमा विजय कुमार गुप्ता, महासचिवमा कुमार रोक्का क्षेत्री, कोषाध्यक्षमा ओम प्रकाश अग्रवाल र सदस्यहरुमा क्रमशः केशव कुमार कार्की, विनोद कुमार अग्रवाल, दिलिप कुमार अग्रवाल, मोहित कुमार जैन र प्रशान्त अग्रवाल निर्वाचित भएका छन् । देशभर छरिएर रहेका कत्था उत्पादकहरुको छाता संस्थाको रुपमा २०७८ मा स्थापित यस संघमा ११ ठूला उद्योगहरु आबद्ध रहेका छन् । वस्तु निकासीमा महत्वपूर्ण भूमीका निर्वाह गर्दै आएको कत्था उद्योगले हजारौलाई रोजगारी प्रदान गरिरहेको छ । गत आर्थिक वर्षको तथ्यांक अनुसार नेपालबाट २ अर्ब १२ करोडको कत्था निर्यात गरेको छ भने कूल निकासी व्यापारमा यस क्षेत्रको १.४ प्रतिशत योगदान रहेको छ । स्वदेशी कत्था उद्योगहरुले भारत, बंगलादेश, पाकिस्तान लगाएतका छिमेकी मुलुकहरुमा उत्पादन निर्यात गर्दै आइरहेका छन् । शतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग भएकोले यसको सम्बर्द्धन र प्रवर्द्धनमा राज्यको अहम भूमीका रहने संघका नवनिर्वाचित अध्यक्ष घिमिरेले बताए ।

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको अध्यक्ष बने गोल्ड मेडलिष्ट राजा

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा राजा अर्याल नियुक्त भएका छन् । लघुवित्त संस्थाको सञ्चालक समितिको भदौ १२ गते बसेको बैठकले अध्यक्षमा अर्याललाई नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव विजय शर्माले जानकारी दिए । लघुवित्तको संस्थापक सेयरधनी ग्लोबल आइएमई बैंकको प्रतिनिधित्व गर्दै अर्याल संचालक सदस्य बनेका हुन् । यसअघि बैंकको प्रतिनिधित्व गर्दै सुरेन्द्र राज रेग्मी संचालक थिए । रेग्मी बैंकको सीईओ बनेपछि बाँकी अवधिका लागि अर्याललाई सञ्चालक बनाएर पठाएको हो । हाल ग्लोबल आईएमई बैंकको सहायक महाप्रबन्धक (एजीएम) को रूपमा काम गरिरहका छन् । अर्यालसँग प्रमुख वित्तीय अधिकृत, प्रमुख रिकभरी अधिकारी, प्रमुख अनुपालन अधिकारी, प्रदेश प्रमुख, प्रमुख अनुपालन अधिकारी जस्ता महत्वपूर्ण रणनीतिक पदहरूमा २० वर्षको बैंकिङ अनुभव छ । अर्याल विगत १७ वर्षदेखि ग्लोबल आइएमई बैंकमा कार्यरत छन् । उनले पोखरा विश्वविद्यालयबाट एमबीए गरेका हुन् । उनी स्वर्ण पदक (गोल्ड मेडलिष्ट) पनि हुन् ।

मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त, बरिष्ठ तीन सचिव असन्तुष्ट

काठमाडौं । नेपाल सरकारले मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गृह सचिव रहेका अर्याललाई भदौ १६ गतेदेखि लागू हुने गरी मुख्यसचिवमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधि तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । मुख्यसचिव लीलादेवी गड्तौला ५८ वर्षको उमेर हदका कारण शुक्रबारबाट अवकाश हुने भएपछि सरकारले हाल गृह मन्त्रालयका सचिव अर्याललाई मुख्यसचिव बनाउने निर्णय गरेको हो । वरियतामा चौथो स्थानमा रहेतापनि अर्याललाई मुख्यसचिव बनाइएको छ । सचिवमा अर्यालभन्दा वरिष्ठ राष्ट्रिय योजना आयोगका तोयनारायण ज्ञवाली, सार्वजनिक खरिद अनुगमन कार्यालयका रामकृष्ण सुवेदी र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका दिनेश भट्टराई थिए । अर्याल नायबसुब्बाबाट विसं २०४६ सालमा निजामती सेवामा प्रवेश गरेका थिए । अर्यालले आगामी डेढ वर्ष निजामति प्रशासनको नेतृत्व गर्नेछन् ।