स्वदेशमै रोजगारी चाहन्छन् भारतमा मजदुरी गर्ने नेपाली
राँझा । कामको खोजीमा भारतका विभिन्न सहर पुगेका नेपाली स्वदेशमै रोजगारीको पर्खाइमा रहेका छन् । छ महिनाअघि कामको खोजीमा भारतको सिमला पुगेका सुर्खेत सिम्ता गाउँपालिका–५ का महेन्द्र खत्री दसैँ र तिहार मनाउन बिहीबार घर फर्किएका छन् । नेपालगञ्जस्थित जमुनाह नाका हुँदै घर फर्किएका खत्रीले नेपालमा कुनै रोजगारी नपाएपछि दसैँ र तिहारको खर्च जोहो गर्न भारत जानुपर्ने बाध्यता रहेको बताए । ‘नेपालमा काम पाइँदैन, चाडबाड मनाउनका लागि कमाउन भारत जानुपर्छ, त्यहाँ पनि सजिलो छैन’, खत्रीले भने, ‘सिमलामा पनि भनेजस्तो काम पाइँदैन तलब थोरै हुन्छ, अलिअलि लत्ताकपडा र दसैँ खर्च लिएर फर्किएको छु, आफ्नै देशमा काम पाए यहीँ पसिना बगाउने हो ।’ स्याउको बगैँचामा काम गरेर फर्किएको उनले बताए । नेपालमा रोजगारी नपाएपछि घरपरिवारको खुसीका लागि काम खोज्दै भारतको सिमला पुगेको उनको भनाइ छ । आफ्नो देशमा रोजगारी नपाउनु, पाइहाले पनि न्यून पारिश्रमिकमा काम गर्नुपर्ने, औषधिमुलोसमेत राम्रो नपाइने भएपछि लुम्बिनी र कर्णाली प्रदेशबाट महेन्द्र जस्तै हजारौँ नेपाली रोजगारीका लागि भारत जान बाध्य छन् । रोजगारीका लागि भारतका विभिन्न सहरमा पुगेका नेपाली दसैँ खर्च जोहो गरेर पर्व मनाउन यतिबेला घर फर्किने गरेका छन् । दसैँ मनाउन घर फर्कने नेपालीको सीमानाका जमुनाहमा लर्को लाग्ने गरेको छ । सल्यानको वनगाड कुपिण्डे नगरपालिकाका रमेश परियारले वर्षभरि परदेशमा काम गरेर दिन बितेपनि दसैँमा भने सधैँ घर फर्किने गरेको बताए । धेरै पैसा कमाउन नसके पनि जसोतसो खर्च जोहो गरेको उनको भनाइ छ । उनीसँगै भारतको सिमलामा मजदुरी काम गर्ने जाजरकोट र सल्यानका मात्रै २५ घरपरिवार दसैँ मनाउन बिहीबार घर फर्किएका छन् । पश्चिम नेपालको सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुम, रोल्पा, प्यूठानलगायत जिल्लाबाट भारतमा रोजगारीका लागि पुग्ने गरेका छन् । रोजगारीका लागि भारतको विभिन्न सहरमा पुगेका नेपाली दसैँ नजकिएसँगै घर फर्किनेक्रम सुरु भएको छ । पछिल्लो १० दिनमा नेपालगञ्जस्थित जमुनाह नाका हुँदै ३० हजार नेपाली घर फर्किएको इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख प्रहरी निरीक्षक उपेन्द्रबहादुर बुढाथोकीले बताए । भारतका विभिन्न सहरमा रोजगारी गरेर घर फर्कने नेपालीको नेपालगञ्जस्थित जमुनाह नाकामा प्रत्येक दिन बिहान लर्को लाग्ने गरेको छ । दैनिक करिब तीन हजार बढी भारतमा काम गर्ने नेपाली जमुनाह नाका हुँदै दसैँ मनाउन घर फर्किने गरेको उनको भनाइ छ । ‘अहिले भारत जानेभन्दा आउनेको भीडभाड बढी छ, सोह्रश्राद्ध सुरु भएयता भारतमा काम गर्ने नेपाली घर फर्किनेक्रम ह्वात्तै बढेको छ’, बुढाथोकीले भने, ‘बिहान ७ बजेदेखि ११ बजेसम्म जुमनाह नाकामा घर फर्किने नेपालीको भीड हुने गरेको छ ।’ दसैँ मनाउन भारतबाट आउने नेपालीको सहजताका लागि जमुनाह नाकामा जिल्ला ट्राफिक प्रहरीसँगको समन्वयमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । रिक्सा, इ–रिक्सा, बस, मिनीबस र होटेल व्यवसायीबाट स्वदेश फर्किने नेपालीलाई ठगिन नदिन नेपाल प्रहरीले सचेतना अभियान पनि चलाएको इलाका प्रहरी कार्यालय जमुनाह नाका इञ्चार्ज बुढाथोकीले बताए । रासस
माउन्टेन इनर्जी नेपालका सीईओ श्रेष्ठले दिए राजीनामा
काठमाडौं । माउन्टेन इनर्जी नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दामोदर श्रेष्ठले राजीनामा दिएका छन् । असोज ११ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनकाे राजीनामा स्वीकृत गरेको छ । मंसिर १ गतेबाट लागु हुने गरी श्रेष्ठको राजीनामा स्वीकृत गरिएको कम्पनीका सचिव समबहादुर भट्टले जानकारी दिए ।
गरिमा विकास बैंकको डीसीईओ बने रेग्मी, बैंकिङ क्षेत्रमा १३ वर्षको अनुभव
काठमाडौं । गरिमा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा अनिल रेग्मी नियुक्त भएका छन् । भदौ ३१ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत अनिल रेग्मीलाई डीसीईओमा नियुक्त गर्ने निणर्य गरेको हो । विकास बैंकको सञ्चालक समितिले गरिमा विकास बैंकमा विगत २ वर्षदेखि सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत चार्टड एकाउन्टेन्ट रेग्मीलाई असोज १ गतेदेखि लागू हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरको हो । नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत रेग्मी २०८० चैत्र १५ गतेदेखि विकास बैंकको कम्पनी सचिवको जिम्मेवारी समेत सम्हाल्दै आएका छन् । नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीसँग तत्कालिन जनता बैंक लिमिटेड र तत्कालिन सेन्चुरी कमर्शियल बैंक लिमिटेडमा ११ वर्ष सहित बैंकिङ क्षेत्रको व्यवस्थापन तहका रही करिब १३ वर्ष कार्य गरको अनुभव रहेको छ । बैंकिङ क्षेत्रमा प्रवेश गर्नुपूर्व लेखापरीक्षण तथा कन्सल्टेन्सी पेशामा आवद्ध रहेका रेग्मीसँग बैंकिङ लगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुको लेखापरीक्षण कार्य गरको अनुभव समेत रहेको छ ।