प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
काठमाडौं । प्रभु बैंकमा रिक्त रहेको सञ्चालक समितिमा दुई सञ्चालक नियुक्त भएका छन् । बैंकको वैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको दुई सञ्चालक पदमा नयाँ नियुक्ति गरेको हो । बैंकले संस्थापक सेयरधनीको समूहबाट रिक्त रहेको सञ्चालक पदमा काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ४ बिशालनगर बस्ने किशोर जंग कार्की (प्रतिनिधि क्लाउड मण्डप प्रा.लि.) लाई नियुक्त गरेको छ । सर्वसाधारण समूहबाट रिक्त रहेको सञ्चालक पदमा ललितपुर महानगरपालिका-१५ खुमलटार बस्ने भावना बलायरलाई नियुक्त गरेको छ। बैंकले एक सूचना जारी गर्दै सो निर्णय गरेको जानकारी दिएको हो ।
एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा अर्जुन खानिया
काठमाडौं । एनआईसी एशिया बैंकका सहायक महाप्रबन्धक अर्जुन राज खनियालाई सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएका छन् । सन् २००४ देखि बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका खनियाले बैंकका विभिन्न शाखा, विभाग एवम् इकोसिस्टममा काम गरी २० वर्ष भन्दा लामो अनुभव सँगालेका छन् । नेपाल बैंकमा आन्तरीक लेखापरीक्षकको रूपमा नायब प्रबन्धक बनेका खनिया सन् २०१० मा तत्कालिन बैंक अफ एशिया नेपालमा शाखा प्रमुखको रुपमा प्रवेश गरेका थिए । त्यसपछि बैंकका विभिन्न विभाग तथा इकोसिस्टमहरूमा प्रमुखको रुपमा नेत्तृत्वदायी भुमीकामा रही व्यवसायिक रणनीति निर्माण एवम् कार्यान्वयनमा योगदान पुर्याउँदै आएका छन् । हाल उनले बैंकको स्ट्राटिजी पर्फमेन्स म्यानेजमेन्ट इकोसिस्टम÷एक्सपेरियन्स एसुरेन्स इकोसिस्टम प्रमुख, प्रमुख सूचना अधिकारी, प्रमुख गुनासो सुन्ने अधिकारीको जिम्मेवारी सम्हाल्दै आएका छन् । बैंकको विभिन्न विभाग तथा इकोसिस्टममा नेतृत्वदायी भूमिका निर्वाह गर्दै बैंकको ट्रान्सफोर्मसनल जोर्नीमा योगदान पुर्याएका छन् ।
राष्ट्रिय बीमा कम्पनीको सीईओमा डा.शिवहरि श्रेष्ठ नियुक्त
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा डा. शिवहरि श्रेष्ठ नियुक्त भएका छन् । बैशाख १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उनलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीको सीईओ पदपूर्ति उपसमितिले सीइओको लागि ४ जनाको नाम सर्टलिस्ट गरेको थियो । जसमा डा. शिवहरी श्रेष्ठ, नारायण कुमार भट्टराई, सुरेन्द्र थापा र सुवास कोईराला थिए । तीमध्ये श्रेष्ठ कम्पनीको सीईओमा छानिएका हुन् । उनलाई कम्पनीको नियमावलीको नियम ३३(५) र नियम ३५ बमोजिम सीईओ पदमा नियुक्त गरिएको कम्पनी सचिव डा. सृजना पन्तले जानकारी दिइन् । डा. श्रेष्ठ तत्कालीन बीमा संस्थानका पूर्व सीईओ हुन् ।