एनडीपीसीको अध्यक्षमा झबिन्द्रलाल उपाध्याय नियुक्त
काठमाडौं । नेपाल डिजिटल पेमेन्ट्स कम्पनी (एनडीपीसी) को अध्यक्षमा झबिन्द्र लाल उपाध्याय नियुक्त भएका छन् । फागुन २४ गते बसेको ६३औं बोर्ड बैठकले उपाध्यायलाई एनडीपीसीको अध्यक्षमा नियुक्त गरेको हो । नवनियुक्त अध्यक्षले गत फागुन ३० गते नै पद तथा गोपनियताको शपथ ग्रहण गरिसकेका छन् । उनले नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टबाट शपथ ग्रहण गरेका हुन् । शपथ लिँदै अध्यक्ष उपाध्यायले वित्तीय समावेशीकरण र आर्थिक सशक्तिकरणमा नेपाल डिजिटल पेमेन्ट्स कम्पनीको पहलहरूले आफू उत्साहित भएको बताए । ‘नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड सिमलेस एकीकरण, उच्च स्तरको सुरक्षा, र यूएसएसडी (अफलाइन) मोड जस्ता सुविधाहरूद्वारा सुविधाजनक, सुरक्षित र पहुँचयोग्य भुक्तानी प्रणाली सुनिश्चित गर्दै मानिसहरूले रकम पठाउने र प्राप्त गर्ने तरिकामा क्रान्ति ल्याउने लक्ष्य राखेको छ। हाम्रो समर्पित टोली र रणनीतिक साझेदारहरूसँग मिलेर हामी सबै नेपाली नागरिकहरूका लागि सहज र सुरक्षित भुक्तानी इकोसिस्टम सिर्जना गरि नयाँ प्रविधिको प्रयोगद्वारा वित्तीय समावेशीकरण र आर्थिक विकासलाई अभिवृद्धि गर्न निरन्तर प्रयास गर्नेछौं ।’ उनले भने । नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले नेपाल डिजिटल पेमेन्ट्स कम्पनीद्वारा शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्न यस वालेट सेवाको उद्देश्य रहेको छ ।
नेरुडे मिर्मिरे लघुवित्तको सीईओमा भोजराज बस्याल नियुक्त
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा भोजराज बस्याल नियुक्त भएका छन् । चैत २ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले बस्याललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । यससँगै नवनियुक्त सीईओ बस्यालले गत फागुन ३० गतेदेखि नै लागू हुने गरी आफ्नो कार्यभार सम्हालेका छन् । साविक नेरुडे लघुवित्त वित्तीय संस्था र साविक मिर्मिरे लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिई नेरुडे मिर्मिरे लघुुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार गरेका हुन् । दुई कम्पनी एक भई गत फागुन ३० गतेदेखि एकीकृत कारोबार सुरु गरेका हुन् । यससँगै संस्थाको केन्द्रिय कार्यालय काभे्रपलान्चोकको बनेपा ८ मा रहेको छ ।
नेपाली कामदार लैजान कोरियाले थप्यो ३ क्षेत्र, कुन-कुनमा जान पाइन्छ ?
काठमाडौं । दक्षिण कोरियाले थप तीन वटा क्षेत्रमा नेपाली कामदार लैजाने भएको छ । सन् २०२३ सम्म कृषि तथा पशुपालन, उत्पादनमूलक र शीप बिल्डिङ्ग क्षेत्रबाट मात्र कामदार लैजाने कोरियाले सन् २०२४ देखि वन, सेवा र रुट इन्डस्ट्री क्षेत्रमा पनि नेपाली कामदार लैजाने भएको हो । इपीएस शाखाले बुधबार सूचना जारी गर्दै कोरिया सरकारले थप ३ क्षेत्रमा नेपाली कामदार लैजाने बताएको हो । ‘एक पटक कोरियन भाषा परीक्षा उत्तीर्ण भएका कामदारहरू दुई वर्षसम्म कामदारको सूचीमा बस्न पाउने छन् । कोरियाको साना तथा मझौला उद्योगलाई आवश्यक पर्ने कामदारको उचाइ, तौल, लिङ्ग, उमेर, कामदारको अवस्था कोरियामा पहिलो पटक जाने कामदार र कोरिया काम गरेर फर्केका कामदार र देश जस्ता विवरण खुलाई कोरिया सरकारको सरकारी निकाय एचआरडी सर्भिस अफ कोरियाले कामदार माग गरेको छ,’ सूचनामा उल्लेख छ । यस्तै, कोरियन भाषा परीक्षा उत्तिर्ण गरी रोस्टरमा रहेका कामदारहरूको विवरण फाइल कम्पनीसमक्ष ईपीएस कोरिया शाखाबाट नपठाएको र कोरिया लैजाने कोटासमेत कटौती भएको भन्ने तथ्यहीन र आधारहीन समाचार फैलाइएकोप्रति वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाको ध्यानार्कष भएको पनि सूचनामा छ ।