चार वटा सरकारी कार्यालयमा ८३ जनालाई जागिर खुल्यो, प्लस टु देखि स्नातकोत्तर उतिर्णलाई अवसर
काठमाडौं, ३० असोज । बिभिन्न ४ वटा सरकारी कार्यालयहरुले ८३ जनाका लागि जागिर खुलाएका छन् । नेपाल बायु सेवा निगम, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, घरेलु तथा साना उद्योग विकास समिति र निक्षेप तथा कर्जा सुरक्षण कोषले ८३ जनाका लागि दरखास्त आव्हान गरेका हुन् । प्लस टु उतिर्णदेखि स्नातकोत्तर उतिर्णले आवेदन दिन सक्नेछन् । नेपाल बायु सेवा निगमले खुल्ला तथा आरक्षण कोटामा ५३ जनाका लागि आवेदन मागेको छ । खुल्ला तथा आरक्षण कोटामा १५ जना प्रशासन समुहका अधिकृत, ६ जना लेखा समुहका अधिकृत, १२ जना बरिष्ठ सहायक, २ जना लेखा सहायक, १७ जना र देखा सहायकमा १ जनाका लागि जागिर खुलाएको हो । त्यस्तै, निक्षेप तथा कर्जा सुरक्षण कोषले १३ जनाका लागि जागिर खुलाएको छ । प्लस टु उतिर्णदेखि स्नातकोत्तर उतिर्णहरुले खुल्ला तथा आरक्षित कोटामा आवेदन दिन सक्नेछन् । यसले कम्प्युटर अपरेटर समेत मागेको छ । घरेलु तथा साना उद्योग विकास समितिले निर्देशक देखि लेखपालका लागि १० जनाको आवेदन मागेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले पनि चार जना अधिकृतसहित ८ जना कर्मचारी मागेको छ । खुला तथा समावेशी दुबै समुहले आवेदन दिन सक्नेछन् ।
जिम्बा शेर्पा यूआईएएको व्यवस्थापन सदस्य नियुक्त, विभिन्न देशमा हुने कार्यक्रम व्यवस्थापनको जिम्मेवारी
काठमाडौं ३०, असोज । नेपाल पर्वतारोहण संघ (एनएमए)का पूर्व अध्यक्ष जिम्मा जाङ्बु शेर्पा अन्तर्राष्ट्रिय अल्पाइन क्लवको व्यवस्थापन सदस्य नियुक्त भएका छन् । इटलीमा भइरहेको युआईएएको इन्टरनेशनल क्लाइम्विङ एण्ड माउन्टेनियरिङ फेडेरेशनको एक कार्यकालका लागि व्यवस्थापन सदस्य नियुक्त भएको शेर्पाले जानकारी दिए । ‘इटलीमा हिजो सकिएको एक सम्मेलनमार्फत मलाई व्यवस्थापन समिति सदस्यमा नियुक्त गरेको रहेछ, मैले पनि एनएमएमार्फत नै थाहा पाए,’ शेर्पाले भने । युआईएएले आगामी एक वर्षमा गर्ने विभिन्न कार्यक्रम र गतिविधिको व्यवस्थानपको जिम्मेवारी व्यवस्थापन सदस्यलाई हुने पनि शेर्पाले जानकारी दिए । उनका अनुसार सम्मेलनमा एनएमएकका अध्यक्ष तथा मानार्थ सदस्य आङछिरिङ शेर्पा सोही सम्मेलनमा सहभागि भएका छन् । यो समितिमा गत वर्ष एक कोरियाली नागरिक थिए भने यो वर्ष नेपालले सदस्यता पाउनुले नेपालको पर्वतीय क्षेत्रको पर्यटन प्रवद्र्धनमा थप सहयोग पुग्ने विश्वास शेर्पाको छ ।
शिक्षकबाट अवकासपछिको तलब फिर्ता, तीन वर्षमा पाँच सय शिक्षकबाट सात करोड असुल
काठमाडौं २९, असोज । विद्यालय शिक्षक किताबखानाले अनिवार्य अवकाश पाउने उमेर पुगेर पनि लगातार काम गर्ने शिक्षकबाट बढी अवधिमा लिएको तलब फिर्ता गराउन थालेको छ । पछिल्लो तीन वर्षमा करिब पाँच सय शिक्षकबाट सात करोड रुपैयाँ जति असुल गरिसकेको छ । एउटै शिक्षकबाट १४ लाखभन्दा बढी रकम उठाएको छ । शिक्षकले ६० वर्ष उमेर पुगेपछि अनिवार्य अवकाश पाउँछन् । तर बढी समय काम गर्नेको संख्या ठूलै छ । आर्थिक वर्ष ०७२/७३ मा १ सय ३३ जनाले ६० वर्ष उमेर काटेपछि पनि काम गरेको पाइएपछि किताबखानाले तलब फिर्ता गराएको छ । किताबखानाका महानिर्देशक शेरबहादुर ढुंगानाका अनुसार गत आर्थिक वर्षमा एक सय ३३ जनाबाट दुई करोड २० लाख १६ हजार रुपैयाँ असुल गरिएको छ । कान्तिपुर दैनिकबाट ।