इटालीको स्टिल प्लान्टका पाँच हजार कामदारको रोजगारी धरापमा

            रोम । इटालीका प्रधानमन्त्री जियोसेप कोन्टेका अनुसार मित्तल समूहको नयाँ प्रस्तावका कारण इटालीको कम्पनीबाट पाँच हजार कर्मचारीको भविष्य अन्यौलमा पर्ने भएको छ । स्टिल उत्पादक आर्सेलोर–मित्तल कम्पनीले इटालीको आर्थिक रुपमा सङ्घर्षरत फर्म इल्भालाई खरिद गर्ने यसअघिको सम्झौता कार्यान्वयन नगर्ने भएको हाे । विश्वकै सर्वाधिक ठूलो स्टिल उत्पादक आर्सेलोर–मित्तल कम्पनीले इटालीको इल्भा प्लान्ट खरिद नगर्ने निर्णय गरेको छ, र यसको जानकारी इटाली सरकारलाई गराएको छ । मित्तल समूहले इल्भाको सर्वाधिक प्रदूषण फैल्याउने टारान्टो स्टिल प्लान्ट बन्द गर्न अनुरोध गरेको थियो, तर इटाली सरकारले स्थानीयको रोजगारी गुम्ने भन्दै उक्त प्लान्ट बन्द नगर्न मित्तल समूहलाई पत्र लेखेको छ । इटालीका प्रधानमन्त्रीको भनाई सार्वजनिक भएसँगै हजारौंको रोजगारी धरापमा परेको छ । तर प्रधानमन्त्री जियोसेपले आर्सेलोर–मित्तल समूहसँगको वार्तापछि भने, “मित्तल समूहले लगानी बमोजिम नाफा गर्न नसकिने भएकाले पाँच हजार रोजगारी कटौती गर्ने प्रस्ताव अघि सारेको छ । तर यो हाम्रा लागि स्वीकार्य छैन ।” प्रधानमन्त्री जियोसेपले आर्सेलोर–मित्तल समूह पुनः वार्तामा आउने र सम्झौता हुने विश्वास व्यक्त गरेका छन् । दुबै पक्षलाई स्वीकार्य प्रस्तावले मात्र समस्याको समाधान निकाल्नेछ, प्रधानमन्त्रीले भने । आर्सेलोर–मित्तलले गत वर्ष नोभेम्बरदेखि नै यो प्लान्ट खरिद गर्ने उद्देश्यले काम थालेको थियो । कम्पनीले यस कम्पनीको पुनरुत्थानका लागि करिब २ अर्ब ७० करोड डलर लगानी गर्ने योजना बनाएको छ, र सन् २०२४ सम्ममा प्रदूषण नियन्त्रणका लागि एक अर्ब २० करोड डलर खर्च गर्ने योजना छ । इटालीको दक्षिणमा रहेको टारान्टो स्टिल प्लान्ट विगतदेखि नै विवादको घेरामा तानिएको छ किनभने विज्ञहरुको भनाईमा यस प्लान्टको वरिपरिका करिब ७ हजार ५०० मानिसको प्लान्टबाट निस्कने घातक प्रदूषणका कारण मृत्यु भएको छ । युरोपकै ठूलो मानिएको यस प्लान्टमा आठ हजारभन्दा बढी कामदार कार्यरत छन् । टारान्टो दक्षिण इटालीको सर्वाधिक गरिबी र बेरोजगारी दर उच्च रहेको ठाउँ हो । इटालीका प्रधानमन्त्री कोन्टेले यसै विषयमा कुराकानी गर्न बिहीबार मजदुर युनियनसँग भेटघाट गर्ने बताएका छन् । रासस

‘खल्ती’ र ‘लर्ड बुद्ध’बीच विद्यार्थीहरुलाई इन्टर्नशिप र रोजगारी प्रदान गर्ने सम्झौता

काठमाडौं । ‘खल्ती डिजिटल वालेट’ र ‘लर्ड बुद्ध एजुकेशन फाउन्डेशन’ले ई-बिजनेस र आईटी पढेका विद्यार्थीहरुलाई इन्टर्नशिप र रोजगारीको अवसर प्रदानगर्ने सम्बन्धि एक रणनीतिक साझेदारीको घोषणा गरेका छन् । खल्तीका तर्फबाट प्रबन्ध निर्देशक मनीष मोदी र लर्ड बुद्ध एजुकेशन फाउन्डेशनका तर्फबाट अध्यक्ष पंकज जलानले काठमाडौंमा आयोजित एक विशेष समारोहबीच सम्झौतामा हस्ताक्षर गरे । सम्झौताअनुसार लर्ड बुद्ध एजुकेशन फाउन्डेशनमा अन्तिम वर्षमाअध्ययनरत तथा कलेजबाट उत्तीर्ण विद्यार्थीहरूले खल्तीमा इन्टर्नशिपका लागि आवेदनदिन सक्नेछन् । छोटो अवधिको इन्टर्र्निशप पूरा गरिसकेपछि उनीहरुलाई ‘खल्ती’मा पूर्णकालीन रोजगारी प्रदान गरिनेछ । मुख्यतः खल्तीले विद्यार्थीहरुको कक्षाको पढाईमा बाधा नपुग्ने गरी इन्टर्नशिपका लागि अनुकुल समय प्रदान गर्नेछ । साथै, कलेजसँग परामर्श गरेर परीक्षा तथा महत्वपूर्ण शैक्षिक प्रोजेक्टहरुको समयमा बिदाको पनि व्यवस्था गर्नेछ । त्यस्तै, मास्टर डिग्री पढ्न चाहने खल्तीमा कार्यरत कर्मचारीहरुलाई लर्ड बुद्ध एजुकेशन फाउन्डेशनले विशेष छात्रवृत्ति प्रदान गर्ने भएको जनाएको छ । ‘खल्ती’ र ‘लर्ड बुद्ध एजुकेशन फाउन्डेशन’बीचको यस प्रकारको सहकार्यले नेपालमा उद्योग र शैक्षिक संस्थाहरुबीच हुनुपर्ने पार्टनरशिपको उदाहरण स्थापित गर्ने र अन्य संस्थाहरुलाई पनि यस प्रकारको सहकार्य गर्न प्रोत्साहन प्रदान गर्ने अपेक्षा गरिएको छ ।

कञ्चन डेभलपमेन्ट बैंकको सीईओमा पुनः बिरुराम जैशी नियुक्त

काठमाडौं । कञ्चन डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा बिरुराम जैशी पुनः नियुक्त भएका छन् । कात्तिक ७ गते बसेको संस्थाकाे सञ्चालक समितिको बैठकले जैशीलाई आगामी ४ वर्षेका लागि सीईओमा नियुक्त गरेको हो । साथै, उनले कम्पनी सचिवको कार्यभार समेत सम्हाल्दै आएका छन् ।