सिभिल क्यापिटलको सीईओमा झनकराज ढुङ्गेल, क्यापिटल मार्केटमा मात्रै ८ वर्षको अनुभव
काठमाडौं । सिभिल क्यापिटल मार्केटको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा झनक राज ढुङ्गेल नियुक्त भएका छन् । सीईओ पदमा नियुक्त भएसँगै ढुङ्गेलले सिभिल क्यापिटलको व्यवस्थापनको नयाँ नेतृत्वले संस्थाको कार्यशैलीमा सुधार गर्दै ग्राहकवर्गलाइ नवीनतम सेवा तथा सुविधाहरु प्रदान गर्ने प्रतिवद्धता गरेका छन् । नवनियुक्त सीईओ ढुङ्गेल विगत २५ वर्षदेखि नेपालको बैंकिङ्ग तथा वित्तीय क्षेत्रमा सकृय रहेका छन् । साथै, उनले विगतका ८ वर्ष विभिन्न क्यापिटल मार्केट क्षेत्रमा सीईओको जिम्मेवारी निभाई सकेका छन् ।
नेपाली उद्योगमा लगानी बढ्दै, २५ खर्ब ५१अर्ब लगानीका चार लाख उद्योग दर्ता
काठमाडाैं । पछिल्लो समय नेपाली उद्योगहरुमा लगानी बढ्दै गएको छ । लगानीकर्तालाई सहजीकरण, उद्योग लगानीमैंत्री वातावरण, व्यवस्थापन तथा संरचना निर्माणले उद्योगमा लगानी बढ्दै गएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको उद्योग विभागका अनुसार हालसम्म नेपाली उद्योगमा २५ खर्ब ५१अर्ब लगानी भएको छ । ठुला, मझौला, लघु घरेलु तथा साना र लगानी बोर्डमा दर्ता भएका गरी ४ लाख एक हजार ६ सय ६६ उद्योग दर्ता भएका छन् । चालु आवको पहिलो चौमासमा १३ हजार एक सय १६ उद्योगहरू थपिएका छन् । उद्योग विभागले पाँचौ उद्योग दिवसका अवसरमा सोमबार प्रस्तुत गरेको तथ्याकंका अनुसार पछिल्लो समय उद्योगमा लगानी बढ्दै गएको देखिएकाे हाे । यस्तै चालु आर्थिक वर्ष २०७६/०७७ को प्रथम चौमासिकमा ८२ अर्ब ५७ करोड रुपैयाँ विदेशी लगानी स्विकृति गरिएको विभागले जनाएको छ । चालु आवको यो अवधिमा वैदेशिक लगानीका एक सय चार उद्योगमा ८५ अर्ब ५७ करोड लगानी प्रतिवद्धता भएको छ । गत आवको चालु आवसम्म उर्जामूलक, उत्पादनमूलक, कृषि वन तथा पैदावरमा आधारित, निर्माण, पर्यटन, सेवामूलक, खनिज र सूचना प्रशासन तथा सञ्चार प्रवधिमा आधारित गरी कुल ४ हजार ८ सय २२ उद्योगहरु विदेशी लगानीमा स्विकृत भएका छन् । विभागले यो अवधिसम्म धेरै प्रगति तथा सुधारका काम गरेको बताएको छ । विभागले हालसम्म संरचनागत सुधार, प्रकृयागत सुधार, नीतिगत सुधारहरु गरेको बताएको छ । विभागले पाँचौं उद्योग दिवसका अवसरमा प्रस्तुत गरेको प्रतिवेदनका अनुसार राजनैतिक स्थिरता र सरकारको स्थायित्व, लगानीमैन्त्री ऐन, ऊर्जाकाे पर्याप्तता, औद्योगिक पूर्वाधारमा प्राथमिकताका साथ सरकारको लगानी बृद्धि यस क्षेत्रका सवल पक्ष भएको बताएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघकी उपाध्यक्ष शोभा गुरूङले उत्पादनमूलक उद्योग धेरै भएपनि सरकारले त्यसलाई कसरी विकास गरिन्छ भनी अध्यन गर्न नसकेको बताइन् । उनले सरकारले दिने सेवा सुविधामा पनि ढिलासुस्ती भएका कारण काममा सुस्तता आउने गरेको बताइन । उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले बैंकको उच्च ब्याजदरको कारण उद्योगमा समस्या आएको बताए । उनले निजी क्षेत्रलाई प्रोत्साहन गरेर अगाडी बढे सरकारले लिएको सुखी नेपाली सम्वृद्ध नोपल नारा पुरा हुने बताए । स्वदेशमा उत्पादन भएका सामग्रीलाई सरकारले प्रोत्साहन दिनु पर्ने उनको भनाइ छ ।
मेरियटको व्यवस्थापनमा फूलबारी रिसोर्ट नयाँ वर्षदेखि सञ्चालमा आउँदै
काठमाडौं । दक्षिण एशियाकै अब्बल होटलको रुपमा लिइएको फूलबारी रिसोर्ट अन्तर्राष्ट्रिय ख्यातीप्राप्त ब्राण्ड मेरियटको व्यवस्थापनमा नयाँ वर्षदेखि पुनः सञ्चालनमा आउँदैछ । ९० को दशकमा स्थापना भएको उक्त रिसोर्ट २ वर्षयता बन्द छ । आगामी नयाँ वर्ष अर्थात २०७७ वैशाख १ गतेदेखि होटल सञ्चालन गर्न नेपाल बैंकसँग फूलबारीले सम्झौता गरेको छ । नेपालीको गहनाको रुपमा ५० को दशकमा पोखरामा स्थापना गरिएको उक्त रिसोर्टमा नेपाल बैंकको ७० प्रतिशत ऋण लगानी र सञ्चालक पियुष अमात्यको ३० प्रतिशत लगानी रहेको थियो । नयाँ वर्ष वैशाख १ गतेदेखि सञ्चालनमा ल्याउने तयारीका साथ रिसार्ट सञ्चालन गर्न लागिएको सञ्चालक अमात्यले विकासन्युजलाई बताए । उक्त रिसोर्ट नयाँ व्यवस्थापन सहित आउन लागेको हो । हस्पिटालिटी क्षेत्रमा संसारमै अब्बल म्यानेजमेन्ट मानिएको अमेरिकन कम्पनी मेरियट इन्टरनेशनलले रिसोर्ट व्यवस्थापनको जिम्मा लिएको छ । मेरियट इन्टरनेशनल अमेरिकन चेन ब्राण्ड कम्पनी हो । यस अन्तर्गत संसारभर ७ हजार होटलहरू संचालनमा छन् । होटल सञ्चालनको जिम्मा मेरियटले लिएको कर्मचारीको सम्पूर्ण व्यवस्थापन पनि उसैले गर्ने सञ्चालक अमात्यले बताए । ‘होटल पुनःसञ्चालन गर्न लागेका छौं,’ उनले भने ‘मेरियट इन्टरनेशनल र होटलबीच ३० वर्षको सम्झौता भएको हो ।’ कर्मचारी ट्रेड युनियन, एक दशक लामो द्वन्द्व तथा इन्डियन एयरलाइन्स अपहरण परेपछि नेपालमा पर्यटन गतिविधि घट्न थाल्यो । रिसोर्टले लक्ष्य अनुरुपको आम्दानी गर्न सकेन र विस्तारै संकटतिर धकेलिदै गयो । २०५०/५१ मा फूलबारी रिसोर्टले नेपाल बैंकबाट करिब १ अर्ब ३० करोड कर्जा लिएको थियो । अहिले पेनाल ब्याज बाहेक रिसोर्टको साँवा ब्याज गरी ३ अर्ब ४६ करोड पुगेको छ । २ अर्ब १६ करोड ब्याज सहित सो कर्जा साढे ३ अर्ब पुगेको हो । हालै साधारण ब्याजलाई मूल साँवामै जोडेर कर्जाको एकमुष्ट संरचना गरिएको हो । नेपाल बैंक र फूलबारी रिसोर्टबीच गत कार्तिक १ मा भएकोे सम्झौताअनुसार रिसोर्ट सञ्चलानार्थ लिएको ऋणलाई दुई चरणमा विभाजन गरिएको छ । पहिलो चरण १० वर्षको हुनेछ भने दोस्रो चरण ८ गरी जम्मा १३ वर्षमा ऋणीले नेपाल बैंकको कर्जा चुक्ता गरिसक्नु पर्नेछ । पहिलो चरणको १० वर्षमा १ अर्ब ३० करोड ८९ लाख कर्जा होटल सञ्चालकले बैंकलाई बुझाइ सक्नुपर्नेछ भने पहिलो चरण शुरु भएको ६ वर्षमा दोस्रो चरण शुरु हुनेछ । ऋणीले दोस्रो चरणको यो अवधिमा २ अर्ब १५ करोड ४२ लाख ऋण भुक्तान गर्नुपर्ने हुन्छ । वैशाख १ सम्म रिसोर्ट सञ्चालन गर्ने शर्तमा नेपाल बैंकबाट लिएको ऋण पुनसंरचना गरिएको हो । होटल राम्रोसँग सञ्चालन भए बैंकले पेनाल ब्याज नलिने अर्थात त्यति बेलानै निर्णय गर्ने गरी सम्झौता भएको नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णवहादुर अधिकारीले बताए । होटल सञ्चालन गर्नको लागि अमात्यले आफ्नो निजी सम्पत्ति बेचेर ४० करोड रुपैयाँ नेपाल बैंकमा जम्मा गर्दैछन् । सोही रकममध्ये ३० करोड होटल सञ्चालनमा खर्च हुनेछ भने १० करोड साँवा ब्याज भुक्तानमा हुने सीईओ अधिकारीले बताए । ‘वान अफ दि ग्रेटेस्ट होटल इन द वल्ड’ भन्ने अवधारणा साथ दरबार निकट मानिएका पियुष अमात्यले ४ सय रोपनी जमिनमा उक्त होटल स्थापना गरेका हुन् । पर्यटन वर्ष १९९८ लाई लक्षित गरी स्थापना भएको उक्त रिसोर्टलाई नेपालको मात्र नभइ दक्षिण एशियाकै ठूलो र स्थापित रिसोर्टको रुपमा लिइन्थ्यो ।