घरेलु तथा साना उद्योगको प्रबर्द्धनमा सरकारको प्राथमिकता- उद्योगमन्त्री भट्ट
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आर्थिक विकासका आधार लघु, घरेलु तथा साना उद्योगहरुको प्रबर्द्धन र विकासमा सरकारको प्राथमिकता दृढ भएर लाग्ने बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ र विभिन्न वस्तुगत संघहरुको संयुक्त प्रतिनिधि मण्डलसँग मन्त्रालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री भट्टले भने– ‘लघु, घरेलु तथा साना उद्योगहरुसँग सिँगो राष्ट्रको राष्ट्रिय हित जोडिएको छ । यो क्षेत्रलाई अगाडि बढाउने कुरामा म दृढ छु ।’ उद्योग मन्त्रालयसँग लघु, घरेलु तथा साना उद्योगहरुको प्रत्यक्ष सम्बन्ध रहेको भन्दै उनले भने – ‘तपाईहरुको सफलतासँगै मेरो सफलता पनि जोडिएको छ, मेरो सफलतासँग तपाइहरुको सफलता पनि जोडिएको छ ।’ समस्याका साथै समाधानका उपाय पनि ल्याउन व्यवसायीलाई आग्रह गर्दै उनले भने –‘साना उद्योगहरु कसरी बाँचेका छन् । समग्रमा साना व्यवसायीका समस्या के के छन पहिचान गरेर वैज्ञानिक र वस्तुवादी भएर ल्याउनुस । अनि छलफल गरौं निकास ननिस्कने कुरै छैन ।’ महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले उद्योगको सवालमा पुस्ता हस्तान्तरण हुन नसक्नु, प्रविधि हस्तान्तरण हुन नसक्नु, वित्तीय पहुँचको समस्या र बजारीकरणजस्ता समस्या लघु घरेलु तथा साना उद्योगले झेलिरहेकोतर्फ ध्यानाकर्षण गराए । अघिल्लो पुस्ताले गरिरहेको काम पछिल्लो पुस्ताले गरिरहेको छैन । यो नेपालको लागि ठूलो चुनौतीको विषय बनेको बताउँदै भने- यसका पछाडि दुई तीनवटा कारण छन् । हामीले जसरी उद्योग चलाइरहेका छौं ती उद्योगहरु व्यवस्थित छैनन् । उद्योग ग्राममा नचलाइएकोले छरपस्ट भईरहेको हुँदा अहिले पालिका र स्थानीय जनताको निशानाको शिकार बनिरहेका छन् । त्यसैगरी प्रदेश सरकारका पनि आँखामा पर्न सकिरहेका छैनन् । यस्ता उद्योगहरुलाई व्यवस्थित गर्न संसारभर उद्योगग्राम प्रचलित छ । साना व्यवसायीहरुको उद्योगग्राम चाहियो भन्ने माग बमोजिम उद्योगग्राम अहिलेको सरकारले पहिलो क्याबिनेटबाटै पालिकामा एउटा उद्योगग्राम बनाउने भनेर गरेको छ यसलाई आत्मसात गरेर अगाडि जानुपर्छ भन्ने व्यवसायीको आग्रह रहेको अध्यक्ष गिरीले बताए ।
एलआईसी नेपालको संचालक समितिमा मुकेशकुमार गुप्ता
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन(एलआईसी) (नेपाल)को संचालक समितिमा मुकेशकुमार गुप्ता नियुक्त भएका छन् । शुक्रबार सम्पन्न इन्स्योरेन्सको संचालक समितिको बैठकले गुप्तालाई कम्पनीको संचालक समिति पदमा नियुक्त गरेको हो । यसअघि प्रमोटर शेयरधनी एलआईसी अफ इन्डियाबाट प्रतिनिधित्व गर्ने वेणु गोपालले उक्त पद सम्हालेका थिए । उनले राजीनामा दिएसँगै उनको रिक्त स्थान तथा बाँकी कार्यकालसम्मको अवधिका लागि गुप्तालाई नियुक्त गरेकाे हाे । नवनियुक्त संचालक गुप्ता भारतीय जीवन बीमा निगम(एलआईसी अफ इन्डिया) मा विगत ३५ वर्षदेखि कार्यरत छन् । उनले हाल निगमको प्रबन्ध निर्देशकको जिम्मेवारी समेत समालेका छन् ।
घरेलु लघुवित्तले सञ्चालन गर्याे रौतहटको चन्द्रपुरमा क्षमता अभिवृद्धि तालिम
काठमाडौं । घरेलु लघुवित्त वित्तीय संस्थाले रौतहटको चन्द्रपुरमा “ फिल्ड सहायक स्तरीय क्षमता अभिवृद्धि तालिम” सम्पन्न गरेको छ । यस तालिम कार्यक्रममा घरेलु लघुवित्तका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद अधिकारी, विभागीय प्रमुखहरु सोनाम शेर्पा, प्रदिप घिमिरे र अन्जना प्याकुरेलको सहभागिता रहेको थियो । यस संस्थाले स्थापनाको छोटो समयमा नै ११ जिल्लाहरुमा १३ शाखा कार्यालयहरु मार्फत २०७६ कात्र्तिक मसान्तसम्ममा ४ हजार भन्दा बढि घरपरिवारहरुमा सेवा विस्तार गर्दै १८ करोड भन्दा बढी लगानी गरेको छ । तालिमका सहभागीहरुलाई स्वागत गर्दै तालिम सञ्चालनको उद्देश्य लघुवित्त कार्यक्रमको वर्तमान अवस्था, जोखिम व्यवस्थापन तथा कर्मचारी उत्प्रेरणाको बारेमा संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद अधिकारीले प्रकाश पारेका थिए । यस कार्यक्रममा लघुवित्त कार्यक्रम, कर्जा तथा जोखिम सम्बन्धि आवश्यक जानकारीहरुको बारेमा विभागिय प्रमुख सोनाम शेर्पा, जनशक्ति व्यवस्थापन तथा कार्य सञ्चालन सम्बन्धि आवश्यक जानकारीहरुको बारेमा विभागिय प्रमुख प्रदिप घिमिरे, लेखा तथा योजना सम्बन्धि आवश्यक जानकारीहरुको बारेमा विभागिय प्रमुख श्री अन्जना प्याकुरेलले सहजीकरण गरेका थिए । यस क्रममा लघुवित्त कार्यक्रमको मुटु भनेको फिल्ड रहेको तथा फिल्ड को व्यवस्थापक फिल्ड कर्मचारीहरु हुने भएकोले सबैले जिम्मेवार तथा गम्भिर भएर कार्यक्रमको विकास विस्तार तथा गुणस्तर कायम गर्दै आफ्नो व्यक्तिगत तथा शाखाको निर्धारित लक्ष्य हासिल गर्ने प्रतिबद्दता समेत व्यक्त गरिएको थियो ।