मिर्मिरे र नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडबीच अन्तिम समझदारीमा हस्ताक्षर
काभ्रेपलाञ्चोक । बनेपामा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड र बिराटनगरमा केन्द्रिय कार्यालय रहेको नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड बीचएक आपसमा गाभ्ने र गाभिने सम्बन्धमा अन्तिम समझदारी पत्र हस्ताक्षर कार्यक्रम सम्पन्न भएको वित्तीय संस्था सम्बद्द स्रोतले जनाएको छ । दुवै संस्थाका मर्जर र एक्विजिसन समिति संयोजकद्वय मणि कुमार अर्ज्याल र सन्तोष फुयाल सहित संस्थाका संचालक एवं व्यवस्थापनका कर्मचारीहरुको उपस्थितिमा सम्पन्न उक्त हस्ताक्षर कार्यक्रमको शभाध्यक्षता मिर्मिरे लघुवित्तका संचालक समिति अध्यक्ष टेक बहादुर बोहराले गरेका थिए भने कार्यक्रमको संचालन उद्घोषण नेरुडे (मिर्मिरे सयुक्त मर्जर समितिका सदस्य सचिव एवम् मिर्मिरे लघुवित्तका सहायक कार्यकारी प्रमुख बिर्ख बहादुर बोहराले गरेका थिए । मर्जरपश्चात् वित्तीय संस्थाको नाम नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमेटेड रहने र स्वाप रेसियो १:१रहने सम्झौतामा उल्लेख गरिएको छ । एकीकृत कारोबार पश्चात वित्तीय संस्थाको चुक्ता पुंजी १ अर्ब ३८ करोड, शाखा संजाल संख्या २५०, सेवाग्राही संख्या ३ लाख निक्षेप ६ अर्ब २५ करोड कर्जा लगानी १९ अर्ब कर्मचारी संख्या १३०० पुग्ने मिर्मिरे लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत पुस्कर राज जोशीले जानकारी गराए । स्वागत मन्तब्य दिदै जोशीले वित्तीय संस्थाहरुको मर्जर कार्यले राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक टेवा पुग्ने बिस्वास लिएको बताएका थिए । मर्जर पश्चात जोशी स्वेच्छिक अवकासमा जाने र हाल नेरुडे लघुवित्तका बहालवाला प्रमुख कार्यकारी अधिकृत भोजराज बस्याल ले निरन्तरता पाउने अन्तिम सम्झौतामा उल्लेख छ । मिर्मिरेको तर्फ बाट मर्जर र एक्विजिसन समितिका संयोजक सन्तोष फुयालले स्वागत मन्तव्यका क्रममा लघुवित्त क्षेत्रमा यो मर्जर बिग मर्जर को रुपमा रहन सक्ने बताउँदै यस अघि नै मिर्मिरे लघुवित्त मर्जर सम्बन्धमा अनुभवी भैसकेकोले भविष्यमा अन्य लघुवित्तहरु समेतलाई समेटेर अघि बढ्न सकिने बताए । नेरुडे लघुवित्तका तर्फबाट वित्तीय संस्थाका अध्यक्ष डा. भेषप्रसाद धमलाले मन्तव्यका क्रममा तत्कालिन पुर्वान्चल कैजेठो लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित भएको स्मरण गर्दै वित्तीय संस्थाले त्यस क्षेत्रमा गरिबी न्यूनीकरणर निवारणको दिशामा उल्लेखनीय कार्य गरेको बताएका थिए । नेरुडे लघुवित्तका तर्फबाट मर्जर र एक्विजिसन समिति संयोजक मणि कुमार अर्ज्यालले लघुवित्त वित्तीय संस्थाहरु प्रति हाल बजारमा उत्पन्न समस्या न्यूनीकरण गर्न मर्जर कार्यले थप टेवा पुग्ने बताए। नियमनकारी निकायको मार्गदर्शनलाई पछ्याउदै एक सबल लघुवित्तको स्थापनाका लागि मर्जर र एक्विजिसन कार्यमा आफुहरु लागेको र मिर्मिरे लघुवित्तसंग यस अघि मर्जर भएका स्वेडा लघुवित्त, नागबेली लघुवित्त र बुद्दज्योती लघुवित्त सबैको साझा योगदानले नेरुडे लघुवित् संग मर्जरमा जाने हैसियत प्राप्त भएको बताउदै आफुलाई मर्जर कार्य सम्पन्न गर्न लघुवित्त क्षेत्रका अग्रज व्यक्तित्वहरुबाट प्राप्त प्रेरणा र बिश्वासको लागि कृतज्ञ रहेको, यी दुई वित्तीय संस्थाको मर्जर कार्यले नेपालको लघुवित्त क्षेत्रमा सकारात्मक तरङ्ग संचारण हुने बिश्वास लिएको बताउँदै उक्त कार्यक्रमका सभाध्यक्ष एवं मिर्मिरे लघुवित्तका संचालक समिति अध्यक्ष टेक बहादुर बोहराले कार्यक्रम समापनको घोषणा गरेका थिए ।
ग्लोबल आइएमई बैंकका ग्राहक दराजबाट १ रुपैयाँमा सामसुङ मोबाइल जित्न सक्ने
काठमाडाैं । ग्लोबल आइएमई बैंकले दराजबाट १ रुपैयाँमा सामसुङ ग्यालेक्सी एम ४ मोबाइल फोन जित्ने योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत बैंकका ग्राहकहरुले भिजा डेबिट/क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइन भुक्तानी गरी मात्र १ रुपैँया खर्च गरेर सामसुङ ग्यालेक्सी एम ४ मोबाइल फोन जित्न सक्नेछन् । बैंकले दराज नेपालसँग सहकार्य गरी सार्वजनिक गरेको यो योजना चैत्र ५ देखि ११ गते सम्म ७ दिनका लागि मान्य रहने जनाएकाे छ । यस योजनाको अन्त्यमा, बैंकको डेबिट/क्रेडिट कार्डद्वारा दराजमा अनलाइनमार्फत १ रुपैयाँ भुक्तानी गर्ने र मोबाइल फोन खरिद गर्न चाहने कुल सहभागीहरूमध्ये १ जना भाग्यशाली विजेता छनोट गरिनेछ । छनोट भएका एक भाग्यशाली विजेताले १ रुपैयाँमै सामसुङ ग्यालेक्सी एम ४ मोबाइल फोन पाउनेछन् ।
ब्रोकरले शाखा विस्तार गर्दा प्रतिशाखा डेढ करोड दरले चुक्ता पुँजी कायम गर्नुपर्ने
काठमाडौं । नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्नेसम्बन्धी निर्देशिका, २०७९’ जारी गरेको छ । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कम्पनीको शाखा खोल्ने प्रक्रियालाई छिटो, छरितो र सहज बनाउन निर्देशिका जारी गरेको बोर्डले जनाएको छ । बिहीबारदेखि कार्यान्वयनमा आएको उक्त निर्देशिकाले ब्रोकर व्यवसायमा हुने वित्तीय जोखिमको न्यूनीकरण गर्ने बोर्डले अपेक्षा गरेको छ । अब ब्रोकर कम्पनीले शाखा विस्तार गर्दा प्रतिशाखा एक करोड ५० लाखका दरले चुक्ता पुँजी कायम गर्नुपर्ने छ भने मुख्य कार्यालय रहेको जिल्लामा शाखा कार्यालय खोल्ने स्वीकृती नदिने निर्देशिकामा उल्लेख छ । त्यस्तै, काठमाडौँ उपत्यका बाहिर कम्तीमा तीन शाखा खोलेपछि मात्र उपत्यकामा खोल्न पाइने व्यवस्था गरिएको छ । ब्रोकर कम्पनीले एक पटकमा एउटा मात्र शाखा खोल्नका लागि बोर्डमा निवेदन दिनुपर्नेछ । शाखा कार्यालय खोल्न अनुमति पाएको तीन महिनाभित्र कार्यालय सञ्चालनमा ल्याइसक्नुपर्नेछ । सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रचलित कानुनबमोजिम सजाय पाएका ब्रोकर कम्पनीले भने त्यस्तो सजाय पाएको एक वर्षसम्म शाखा बिस्तार गर्न पाउने छैनन । त्यस्तै, शाखा खोल्न स्वीकृति पाए पनि कार्यालय नखोली स्वीकृति रद्द भएमा रद्द भएको मितिले एक वर्षसम्म अर्को शाखा खोल्न नपाउने व्यवस्था गरिएको छ । धितोपत्रको प्राथमिक बजार देशका सबै जिल्लामा पुगिसकेकाले दोस्रो बजारको पहुँचलाई विस्तार गर्न आवश्यक देखिएकाले उक्त निर्देशिका लागू गरिएको बोर्डले जनाएको छ । हाल धितोपत्र बोर्डबाट ५० कम्पनीले ब्रोकरका रुपमा लाइसेन्स लिएका छन् । रासस ।