११ दिनपछि कारोबार भएको खानी खोला हाइड्रोको सेयर मूल्यमा सर्किट, प्रतिकित्ता कति ?
काठमाडौं । खानी खोला हाइड्रोपावरको सेयर कारोबार आज (जेठ ३१ गते)देखि खुला भएको छ । गत जेठ २० गतेदेखि रोक्का भएको कम्पनीको सेयर कारोबार नेप्सेले आजदेखि फुकुवा गरिदिएको हो । नेप्सेले जेठ २० गते बिहीबार एक सूचना जारी गर्दै कम्पनीले वित्तीय विवरण नबुझाएको भन्दै कम्पनीको सेयर कारोबार रोक्का गरिदिएको थियो । यससँगै कम्पनीले उक्त विवरणहरु नेप्सेको वेवसाइटमा अपलोड गरेकाे र आगामी दिनमा समयमै विवरणहरू पेश गर्न सचेत गराउँदै नेप्सेले आजदेखि कम्पनीको सेयर कारोबार फुकुवा गरिदिएको हो । कारोबार फुकुवा भएसँगै कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २७५ रुपैयाँ पुगेको छ । जुन पछिल्लो कारोबारको तुलनामा २५ रुपैयाँले बढी हो । कम्पनीको पछिल्लो कारोबार प्रतिकित्ता २५० रुपैयाँमा भएको थियो । यो समाचार तयार पार्दासम्म संस्थाको सेयर खरिदकर्ताको चाप देखिएको छ भने बिक्रीकर्ता कोही पनि देखिएका छैनन् । सम्बन्धित समाचार अन्ततः नेप्सेले रोकिदियो खानीखोला हाइड्रोको सेयर कारोबार
किस्ता तिर्ने समय थप्न माग गर्दै लघुवित्त संघले भन्यो- महिला लाभान्वित हुने मौद्रिक नीति ल्याईयोस्
काठमाडौं । लघुवित्त सङ्घ नेपालले किस्ता तिर्ने समयअवधी थप गर्न र कर्जा पुनर्तालिकीकरण गर्न सरकारसँग माग गरेको छ । अर्थ मन्त्रालयका सचिव शिशिर ढुङ्गानालाई भेटेर सङ्घको टोलीले कोरोना प्रभावितहरूका लागि सहुलियत दरमा पुनर्कर्जा उपलब्ध गराउन पनि आग्रह गरेका हुन् । सङ्घका अध्यक्ष जगत पोखरेलको नेतृत्वमा गएको टोलीले लघुवित्त वित्तिय संस्थाहरूलाई दिएको राहतले ग्रामीण क्षेत्रका न्यून आएका भएका महिला लाभान्वित हुने भएकाले उनीहरूलाई सम्झेर राहतमा उदारता देखाउन आग्रह गरेको थियो । सङ्घको टोलीले बुझाएको ज्ञापनपत्रमा कोरोनाभाइरसको महामारीबाट अति प्रभावित ऋणी ग्राहकको ब्याज अनुदान दिनुपर्ने, वचतकर्ता समूह सदस्यहरूको व्याज आयमा कर छुट गर्नुपर्ने, सरकारले उपलव्ध गराउने राहत प्याकेज लघुवित्त प्रदायक सस्थामार्फत उपलब्ध गराउनु उपयुक्त हुनेलगायत सुझाव उल्लेख गरिएको छ । राष्ट्र बैंकले नयाँ आर्थिक वर्षका लागि ल्याउन लागेको मौद्रिक नीतिमार्फत आफ्ना मागहरू सम्बोधन गराउन अर्थ सचिव ढुङ्गानालाई ज्ञापनपत्र बुझाइएको सङ्घकी उपाध्यक्ष भगवती चौधरीले जानकारी दिए । टोलीसँगै गएका लघुवित्त विज्ञ तथा नेपाल सरकारका पूर्व सचिव डा मानवबहादुर विश्वकर्माले वित्तिय सेवामा पहुँच बढाउन विपन्न क्षेत्र कर्जाको परिचालन लघुवित्त संस्थाहरूबाट मात्र प्रवाह गर्ने ब्यवस्था गराउन सुझाव दिएका थिए । सङ्घले गैह्र बैकिङ्ग वित्तीय सस्थाबाट ऋण लिन सकिने व्यवस्था गर्नुपर्ने, एउटा लघुवित्त संस्थाले सङ्कलन गरेको वित्तीय श्रोत अर्को लघुवित्त संस्थामा छोटो अवधिको लागि लगानी गर्न पाउनु पर्ने, समूह सदस्य तथा व्यक्तिलाई प्रदान गरिने कर्जाको सीमा बढाउनुपर्ने माग पनि राखेको छ । गाभिन तथा प्राप्तिलाई अनिवार्य नगरी उपयुक्त मिल्दा संस्थाहरू मिल्न प्रोत्साहन गर्न अर्थ सचिव ढुङ्गानाको ध्यानाकर्षण गराइएको उन्नती सहकार्य लघुवित्तकी अध्यक्ष डा अनिता शाहले जानकारी दिए । लघुवित्त संस्थामा मात्र संस्थागत सामाजिक उत्तरदायीत्व कोष र ग्राहक संरक्षण कोष गरी उस्तै दुई कोषको व्यवस्था भएकोले ग्राहक संरक्षण कोषको मात्र व्यवस्था हुन उपयुक्त हुने उनको सुझाव थियो । लघुवित्त संस्थाको कार्य प्रकृति नै अन्य बैंक नपुगेका तथा अति विपन्नलाई सामाजिक मध्यस्ततासहित सेवा पुर्याउने रहेकोले यसमा लाग्ने संस्थागत कर अरुलाई लाग्ने आधा र समुह सदस्यको वचतको व्याज आयमा कर नलाग्ने व्यवस्था हुनुपर्ने माग पनि सङ्घले राखेको सङ्घका प्रमुख कार्यकारी अधिकृत रविन पोखरेलले जानकारी दिए । सङ्घको माग र सुझावहरू उपयोगी र रचनात्मक रहेको भन्दै अर्थसचिव ढुङ्गानाले सकेसम्म धेरै सुझावलाई समेट्न प्रयास गर्ने आश्वासन दिएका थिए । रासस
नेत्रहीनले सेयर काराेबार कसरी गर्ने ? यस्ता छन् समस्या
काठमाडौं । दोश्रो बजारमा सेयर कारोबार गर्ने नेत्रहीन लगानीकर्तामध्ये एक लगानीकर्ता हुन् कृष्ण आचार्य । उनी जन्मदेखि नै नेत्रहीन हुन् । उनले सेयर बजारमा प्रवेश गरेको करिब एक वर्ष हुन लागेको छ । यो अवधिमा सेयर कारोबार गर्दा विभिन्न समस्याहरु भाेग्नुपरेकाे उनी बताउँछन् । नेत्रहीनहरुले नदेख्ने भएको हुनाले उनीहरुले चलाउने कम्प्युटरमा बोल्ने अर्थात स्क्रिन रिडर सफ्टवेयर राखिएको हुन्छ । त्यसपछि मात्र उनीहरुले अन्यले जस्तै गरि सजिलै कम्युटर चलाउन सक्ने उनी बताउँछन् । टीएमएस कसरी लगइन गर्छन् ? सेयर काराेबार गर्नकाे लागि पहिले टीएमएस लगइन गर्नु पर्ने हुन्छ । नेत्रहीन लगानीकर्ताहरू स्क्रीन रिडरको सहायताले टीएमएसको वेवसाइटमा जान्छन् । लगइन गर्छन् । त्यहाँ नेपाल स्टक एक्स्चेञ्ज भनेर देखाइएको हुन्छ । जहाँ क्लाइन्ट कोड/युजरनेम भनेपछि उनीहरुले त्यसमा क्लाइन्ट कोड हाल्छन् । त्यसैगरी पासवर्ड पनि राख्छन् । र, क्याप्चा पछि हाल्नुपर्छ, जुन सफ्टवेयरले बोलिदिन्छ । जसमा हाल समस्या नभएको उनीहरु बताउँछन् । सेयर कारोबार गर्दा समस्या नेत्रहीन लगानीकर्ता आचार्यका अनुसार अन्य लगानीकर्ता भन्दा नेत्रहीन लगानीकर्ताले सेयर कारोबार गर्दा विभिन्न समस्याहरु भोग्नुपरेको छ । कोल्याटरल लोड गर्न, कनेक्ट आईपीएसबाट रकम लोड गर्न, बाईसेल र अर्डरलाई इडिट गर्न लगायतका समस्याहरु नेत्रहिनहरुले भोगिरहेका छन् । जुन अन्यलाई सामान्य लागेपनि नेत्रहीनहरुलाई भने ठूलै समस्या देखिएकाे छ । कोल्याटरल लोड गर्न सेयर कारोबार गर्दा फण्ड म्यानेजमेन्टबाट कोल्याटरल लोड गरिन्छ । जहाँ क्याप्चा रिड गरेर हाल्नु पर्ने हुन्छ । तर कोलाटरल लोड गर्ने समयमा भने स्क्रीन रिडरले क्याप्चा नपढ्ने उनीहरुको गुनासो रहेको छ । रकम लोड गर्न कनेक्ट आईपीएसबाट रकम लोड गर्दाको सम्बन्धमा पनि समस्या रहेको उनीहरु बताउँछन् । रकम लोड गरिसकेपछि सब्मीट र कन्फर्म सब्मीट भन्ने आउँछ र सब्मीट गरिसकेपछि कनेक्ट आईपीएसको वेवसाइट खुल्छ र लगइन इन्फरमेसन माग्छ । जहाँ टाइप द क्यारेक्टर इन इमेज भन्ने आउँछ जुन स्क्रीन रिडरले पढ्न नसक्ने उनीहरु बताउँछन् । कनेक्ट आईपीएसबाट पैसा लोड गर्न नसकिएको अवस्था समाधान गर्न यसको क्याप्चालाई व्यवस्थापन गरिदिन नेत्रहीन लगानीकर्ता कृष्ण आर्चाय आग्रह गरेका छन् । बाईसेल गर्न उनका अनुसार टीएमएसबाट बाईसेल गर्न पनि मिलिरहेको छैन । अन्यलाई समस्या नभएपछि नेत्रहीनहरुलाई समस्या देखिएको छ । जुन स्क्रीन रिडरले नपढेको उनी बताउँछन् । नेत्रहीनहरुलाई वेव एसेसिबिलिटी गाइडलाइनको अभावले गर्दा लगइन गर्दा, प्लेस अडर गरिसकेपछि बाई गर्ने हो या सेल गर्न नसकिएको अवस्था रहेको आर्चाय बताउँछन् । जुन स्क्रीन रिडरसँग तालमेल नमिलेर क्लिकएबल बटनमा क्लिक नभएको उनी बताउँछन् । यस्तो अवस्थामा मार्केट डेप्थबाट किनबेच गर्ने गरिएको उनको भनाई छ । तर अडर म्यानेजमेन्टबाट बाईसेल गर्न समस्या भएको छ । अर्डरलाई इडिट गर्न समस्या साथै, अर्डर हिष्ट्रीमा गएर अर्डरलाई इडिट गर्न नमिलेको लगानीकर्ता आर्चाय बताउँछन् । अन्ततः यस्ता समस्यालाई मनन् गरी सम्बोधन भइदिए आर्चाय लगायत सम्पूर्ण नेत्रहीन लगानीकर्ताहरुले सजिलै सेयर काराेबार गर्ने पाउने उनकाे विश्वास छ । त्यसैले यी समस्या यथासिघ्र छिटाे समाधान हुने पर्ने उनकाे माग छ । (नेत्रहीन संघको सहयोगमा नाफिजले आयोजना गरेको कार्यक्रममा नेत्रहीन लगानीकर्ता आचार्यले राखेका विचारको सम्पादित अंश)