नेपालका चार संस्था असोसियो अवार्डबाट सम्मानित

काठमाडौं । नेपालका चार संस्था असोसियो २०२४ डीएक्स अवार्डबाट सम्मानित भएका छन् । एसियन-ओसियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसनको आयोजनामा जापानको टोकियोमा नोभेम्बर ६ देखि ८ सम्म भएको ‘असोसियो डिजिटल शिखर सम्मेलन २०२४’ मा यी संस्थाहरूलाई अवार्ड प्रदान गरिएको हो । यसअन्तर्गत इरासफ्ट सोलुसन प्रालिले आउटस्ट्यान्डिङ टेक अर्गनाइजेसन अवार्ड, इन्फोडेभलपर्स प्रालिले डिजिटल गभरमेन्ट अवार्ड, डाइनामिक टेक्नोसफ्ट प्रालिले एडटेक अवार्ड र नेपाल इन्टरनेट फाउन्डेसनले इमर्जिङ डिजिटल सोलुसन्स एन्ड इकोसिस्टम अवार्ड प्राप्त गरेको कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)का महासचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । असोसियो एसियाका २४ राष्ट्रहरूको सूचना प्रविधि संस्थाहरूको अन्तर्राष्ट्रिय महासंघ हो । नेपालतर्फबाट क्यान महासंघ असोसियोको सदस्यका रूपमा रहेको छ । असोसियोले प्रत्येक वर्ष शिखर सम्मेलन आयोजना गर्दै आफ्ना सदस्य मुलुकका उत्कृष्ट सेवा प्रदायकहरूलाई पुरस्कृत गर्दै आएको छ । यस वर्षको अवार्डका लागि २०० भन्दा बढी प्रतिस्पर्धी संस्थाहरू विभिन्न विधामा मनोनित भएका थिए । नेपालबाट अवार्ड प्राप्त गरेका चारै संस्थालाई क्यान महासंघले सिफारिस गरेको थियो । क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले असोसियोको यस प्रतिष्ठित प्लेटफर्मले नेपाली सूचना प्रविधि कम्पनीहरू र उत्पादहरूलाई विश्व मानचित्रमा मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘क्यान महासंघको उद्धेश्य नै नेपालको सञ्चार तथा सूचना प्रविधि क्षेत्रको विकास तथा प्रवद्र्धन गर्नु हो । असोसियोको एक सदस्य संगठनका रूपमा नेपालका उत्कृष्ट कम्पनी र उत्पादनलाई विश्व मञ्चमा प्रस्तुत गर्न पाउनु हाम्रा लागि गौरवको विषय हो,’ महासचिव अधिकारीले भने ।

घरमै बनाउन सकिने स्वस्थकर मिठाई

काठमाडौं । तिहारलाई सेलरोटी र मिठाईको पर्व पनि भनिन्छ । यो बेला अघिपछिको भन्दा मिठाई बढी खाने गरिन्छ । सेलरोटी, फिनीलगायतका थरिथरिका खानेकुरा घरमै बनाइन्छ भने मिठाई भने अधिकांशले बजारमा किनेर खाने गर्छन् । दीपावलीको अवसरमा धेरै मिठाईहरू खाइन्छ र बाँडिन्छ, तर यो चाडमा खाइने मिठाईहरू धेरै अस्वस्थ हुन्छन् भन्ने कुरामा तपाईं सचेत हुनुपर्छ। र यसकारण पेट बिग्रने खतरा पनि धेरै बढ्छ । तर केही मिठाईहरू घरमै स्वस्थकर तरिकाले बनाउन सकिन्छ, घरमै बनाइएकाले स्वादिलो मात्र होइन, स्वस्थकर पनि हुन्छ । आउनूहोस् आज हामी तपाईलाई केही स्वस्थ मिठाईहरूको बारेमा बताउन जाँदैछौं, जुन तपाईंले घरमा बनाउन सक्नुहुन्छ र यी मिठाईहरूले तपाईंको स्वास्थ्यलाई हानी गर्दैनन् । नरिवलको लड्डु दीपावलीको अवसरमा बाहिरबाट आउने अस्वस्थ्यकर मिठाईको सट्टा घरमै बनाइएको स्वादिष्ट र स्वस्थकर मिठाईहरू खुवाउन चाहनुहुन्छ भने नरिवलको लड्डू तपाईंको लागि धेरै राम्रो विकल्प हुन सक्छ । पहिला नरिवललाई ग्राइन्डरको सहयोगले पिसेर धुलो बनाउनूहाेस् । त्यसपछि धुलाेमा दूध, घ्यू र चिनी हालेर प्यानमा राम्राेसँग पकाउनूहाेस्  र कडा भएपछि लड्डू बनाउन सकिन्छ । बेसन बर्फी यदि तपाईं मिठाईको स्वस्थ विकल्प खोज्दै हुनुहुन्छ भने चनाको बर्फी तपाईंको लागि धेरै राम्रो विकल्प हुन सक्छ । चनाको बर्फीलाई शुद्ध घ्यू र कम चिनीकाे मद्दतले बनाइन्छ भने यो धेरै स्वस्थ विकल्प हुन सक्छ । दीपावलीको अवसरमा बाहिरबाट महँगो मिठाई ल्याउनुको सट्टा घरमै यी स्वादिष्ट परिकार बनाउन सक्नुहुन्छ । सुजी बर्फी स्वस्थ र स्वादिष्ट मिठाई विकल्पमा सुजीकाे बर्फी पनि समावेश छ र तपाईं यसलाई उपभोग गर्न सक्नुहुन्छ । सूजी बर्फी बनाउन पनि एकदमै सजिलो छ । यदि यसलाई शुद्ध घ्यू र कम मिठाईले बनाउनुभयो भने यसको स्वाद झनै बढ्छ र यो स्वास्थ्यको लागि पनि राम्रो विकल्प बन्न सक्छ । लाैकाको बर्फी तपाईंलाई लौकाको तरकारी मन नपर्ला होला तर तपाईं लौकाबाट बनेको बर्फी एकदमै मन पराउनुहुनेछ । याे स्वास्थ्यको लागि पनि निकै फाइदाजनक हुनेछ ।  दूधको खुवा, उमालेको लौका, अलिकति शुद्ध घ्यू र कम चिनीले बनाइएको लौकीको बर्फी स्वस्थकर मात्र होइन, स्वादिलो पनि हुन्छ ।

स्वीस फ्रयाङ्कको मूल्य १५४.७४ रुपैयाँ, यस्तो अन्य देशको मुद्राको भाउ

काठमाडौं । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.२३ रुपैयाँ र बिक्रीदर १३४.८३ रुपैयाँ तोकेको छ । युरोपियन यूरोको एकको खरिदर १४४.९३ रुपैयाँ र बिक्रीदर १४५.५८ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७४.२५ रुपैयाँ र बिक्रीदर १७५.०३ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५४.७४ रुपैयाँ र बिक्रीदर १५५.४३ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८८.१२ रुपैयाँ र बिक्रीदर ८८.५१ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९६.६६ रुपैयाँ र बिक्रीदर ९७.०९ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०१.३२ रुपैयाँ र बिक्रीदर १०१.७७ रुपैयाँ, जापानी येन १० को खरिददर ८.७५ रुपैयाँ र बिक्रीदर ८.७९ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.८१ रुपैयाँ र बिक्रीदर १८.८९ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७४ रुपैयाँ र बिक्रीदर ३५.९० रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.८२ रुपैयाँ र बिक्रीदर ३६.९८ रुपैयाँ, थाई भाट एकको खरिददर ३.९८ रुपैयाँ र बिक्रीदर ३.९९ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.५५ रुपैयाँ र बिक्रीदर ३६.७१ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.७९ रुपैयाँ र बिक्रीदर ३०.८३ रुपैयाँ तोकेको छ । यस्तै साउथ कोरियन वन एक सयको खरिदद ९.६८ रुपैयाँ र बिक्रीदर ९.७२ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.५९ रुपैयाँ र बिक्रीदर १२.६४ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.४३ रुपैयाँ र बिक्रीदर १९.५२ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.२८ रुपैयाँ र बिक्रीदर १७.३५ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४३७.६० रुपैयाँ र बिक्रीदर ४३९.५६ रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५६.०० रुपैयाँ र बिक्रीदर ३५७.५९ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।