जीवन विकास लघुवित्तको आईपीओ खुल्यो, भर्ने की नभर्ने ? यस्तो छ सीईओको सुझाव
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) आज असार ११ गतेदेखि बिक्री खुला भएको छ । संस्थाले कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका १९ लाख ७७ हजार ३०० कित्ता साधारण सेयर बिक्री खुला गरेको हो । जसमध्ये जारी पूँजीको ५ प्रतिशत अर्थात ३० हजार ४२० कित्ता सेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ९८ हजार ८६५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । र, बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिने छ । यससँगै इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । उनीहरुले असार ११ गतेदेखि १५ गतेसम्म मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् । यदि, सो अवधिसम्म माग अनुसारको आवेदन नपरेमा असार २५ गतेसम्म सेयर बिक्री खुला गरिने संस्थाले जानकारी गराएको छ । जीवन विकासको आईपीओमा लगानी गर्न लगानीकर्तालाई कुनै दुविधा हुँदैनः सीईओ मण्डल उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । सेयर निष्कान गर्नको लागि इक्रा नेपालले लघुवित्तलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बि माइनस’ रेटिङ्ग प्रदान गरेको छ । जसले संस्थामा मध्यम क्रेडिट जोखिमका साथै समयमा वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको जनाउँछ । उक्त रेटिङ्गको अवधि जारी मितिबाट एक वर्ष अर्थात २०७८ फागुन १६ गतेसम्म हुने छ । त्यस्तै, आर्थिक वर्ष २०७६/७७ मा संस्थाको प्रतिसेयर आम्दानी १०४.९७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ३०५.२७ रुपैयाँ रहेको छ । लगानीकर्तालाई सीईओकाे आग्रह ‘लगानीकर्तामा के आग्रह गर्न चाहान्छु भने, संस्थाको रियल फिगर बुझ्नुहोस्, त्यसपछि मात्रै संस्थाको सेयरमा आकर्षित हुनुहोस्, कुनै पनि क्षेत्रमा लगानी गर्दा बुझेर लगानी गर्नु, संस्थाको वित्तीय अवस्थासँगै अन्य विवरणहरु, फिल्डमा भएका कार्यक्रम, सेवाको गुणस्तर लगायतका विभिन्न विषय बुझ्न जरुरी हुन्छ, लघुवित्तले लगानी गरेको पोर्टफोलियो करिब ९० प्रतिशत त फिल्डमा हुन्छ, त्यसैले, त्यसको क्वालिटी के कस्तो छ ? सबै बुझ्न आवश्यक छ’, सीईओ सञ्जयकुमार मण्डलले बताए । ‘जीवन विकास लघुवित्तको हकमा यी सबै क्षेत्रमा राम्रै छ । जुन अहिलेका लगानीकर्ता बुझ्नु भएकै छ र लगानी गर्न उत्साहित नै हुनुहुन्छ । मलाई लाग्छ यो आईपीओमा राम्रै आवेदन पर्छ । सबैलाई संस्थाको अवस्था बुझेर ढुक्क भएर लगानी गर्न आग्रह गर्छु । अब पर्ने नपर्ने सिष्टमको कुरा हो’, उनले विकासन्युजसँग भने । ‘जीवन विकासमा लगानी गर्ने लगानीकर्ताले लगानी गरेको पहिलो वर्षदेखि नै प्रतिफल पाउने सूनिश्चिता छ, विगतदेखि नाफामा गइरहेको संस्था भएकाले पनि त्यसमा कुनै समस्या छैन, रिटर्न दिन सक्ने क्षमतामा नै छौं, विगतका वर्षमा निरन्तर नाफा कमाएको संस्थाले पछिल्लो त्रैमासमा ५६ करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएका छौं, म यत्ति भन्न चाहान्छु, रिटर्नमा अन्य लघुवित्त सरह नै जानेछौं, तर यति उति दिन्छौं भनेर अहिलै भन्न मिल्दैन, किनभने प्रतिफलको विषयमा निर्णय गर्ने सञ्चालक समितिले हो’, प्रतिफलबारे थप प्रष्ट पार्दै उनले भने ।
एनएमबी लघुवित्तले शुरु गर्यो ऋण अटोमेसन प्रणाली, अब कागज बिनै ऋण पाइने
काठमाडौं । एनएमबी लघुवित्त वित्तीय संस्थाले एस्.बी. सोलुसन्स् प्रा.लिसँग सहकार्य गरेर क्रेडिट-एक्स नामक ऋण अटोमेसन प्रणालीलाई लाइभ गरेको छ । इन्टर्नल ऋण वर्कफ्लो, जोखिम मूल्याकंन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्नको लागि संस्थाले उक्त प्रणाली शुरु गरेको हो । जसमा एनएमबी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत आनन्द पान्डे र एसबी सोलुसन्सका अध्यक्ष विपुल ढकालले आ-आफ्नो संस्थाको तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका हुन् । क्रेडिट-एक्स (ऋण अटोमेसन प्रणाली) को थालनीसँगै, लघुवित्त संस्थाले पूर्ण रूपमा कागज निर्भर ऋण कार्यप्रवाह गर्न सक्षम हुनेछन् । यसले प्रणाली भित्र जोखिम प्यारामिटरको अनुगमन गरेर ऋण लिएका ग्राहकसँग सम्बन्धित जोखिम न्यूनीकरण गर्नलाई पनि सहयोग पुर्याउनेछ । यो नयाँ तरिकाले लघुवित्त संस्थालाई द्रुत गतिमा ऋण प्रक्रिया पूरा गर्न मद्दत गर्दछ । प्रणालीले जमानत र गैर जमानत बेस लोन पनि प्रोसेस गर्ने गर्दछ । ऋण स्वचालन प्रणाली अन्तर्राष्ट्रिय मापदण्ड अन्तर्गत रहेको रेटिंगको दृष्टिकोणमा निर्माण गरिएको छ । यो स्वायत्त सिस्टम, प्रणालीले संचालित ग्राहकको उद्देश्य मूल्याकनका साथसाथै विषयगत प्यारामिटरको मानकीकरणको रुपमा पनि रहेको छ । यस नयाँ प्रणाली कार्यान्वयन भएसाथै, लघुवित्त संस्थाहरूका उपभोक्ताहरूले प्रशोधन र ऋण स्वीकृति प्रक्रियाको टर्न अराउन्ड समयमा ५० प्रतिशतभन्दा बढी कटौतीको अनुमानित लाभ लिन पाउनेछन् । एसबी सोलुसन्स्ले बैंक तथा बित्तिय संस्थाहरुमा कर्जा पक्रियालाई अटोमेसन तथा डिजिटाइजेसन गर्न क्रेडिट-एक्स नामक सफ्टवेयर जडान तथा इम्पिलीमेन्टेसन गर्दै आईरहेको छ । साथै एसबी सोलुसन्सले डिजिहब सँगको सहकार्यमा पेमेन्ट अटोमेसन, एपीआई सर्भिसेस अटोमेसन तथा डिजिटाइजेसनको कामहरु पनि गर्दै आइरहेको छ ।
‘एनआईसी एशिया सेलेक्ट-३०’ फण्डको बिक्री खुला, नेप्सेको ग्रोथभन्दा बढी रिटर्न पाइने
काठमाडौं । एनआईसी एशिया क्यापिटलले एक अर्ब रुपैयाँ बराबरको अर्को म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गरेकाे छ । क्यापिटलले आज (असार १० गते) देखि एनआईसी एशिया सेलेक्ट-३० (इण्डेक्स फण्ड) नामक म्युचुअल फण्डको निष्काशन तथा बिक्री खुला गरेकाे हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरको १० करोड इकाई बिक्रीमा ल्याएकाे हाे । जसमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत वा एक करोड ५० लाख इकाई कोष प्रवर्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री खुला गरेकाे छ । बन्दमुखी प्रकृतिको योजना रहेको उक्त फण्डको अवधि ७ वर्षको रहेको छ । उक्त फण्डमा इच्छुकले न्यूनतम १०० देखि एक करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ । उनीहरुले छिटोमा असार १४ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि, उक्त अवधिमा माग अनुसारको बिक्री नभएमा आगामी असार २४ गतेसम्म आवेदन खुला गरिने क्यापिटलले जनाएको छ । यस योजनाको अधिकांश रकम दोश्रो बजारमा सूचिकृत कम्पनीहरु मध्ये उत्कृष्ट ३० वटा कम्पनीमा मात्र लगानी गरिने छ । समग्र नेप्सेको ग्रोथ भन्दा यस योजनाको न्याभको ग्रोथ बढी हुने हुँदा योजनाको इकाईधनीहरुलाई नेप्सेको ग्रोथ भन्दा बढी रिटर्न दिने क्यापिटलका चिफ अपरेटिङ्ग अफिसर तथा चिफ इन्भेष्टमेन्ट अफिसर मनिष घिमिरेले बताएका छन् । थप सामाग्री ‘एनआईसी एशिया सेलेक्ट-३०’ फण्डले नेप्सेको ग्रोथ भन्दा बढी रिटर्न दिन्छः मनिष घिमिरे