नेक्सजेन म्यानेजमेन्ट अब पब्लिक कम्पनीमा जाने
काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स अब पब्लिक कम्पनीमा जाने भएको छ । कम्पनीको सोमबार सम्पन्न वार्षिक साधारणसभाले लिमिटेडमा जाने निर्णय गरेको हो । यसका साथै साधारणसभाले नेक्सजेनको अधिकृत पूँजी एक अर्ब, तत्काल जारी पूँजी ५० करोड पुर्याउने निर्णय गरेको छ । साधारण सभामा प्रबन्ध सञ्चालक रमेशकुमार भट्टराईले बैंक वित्तीय संस्थाको निष्क्रिय कर्जा र गैरबैंकिंङ सम्पत्ति तीव्र गतिमा वृद्धि भइरहेको बताए । उनले सोको न्यूनीकरणको लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना बारेमा विगतको मौद्रिक नीति र हालै सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आइसकेको जानकारी गराए । सम्पति व्यवस्थापनको मूख्य कार्य गर्ने गरी स्थापना भएको नेक्सजेन म्यानेजमेन्टले पनि सोही अनुरूप पूँजी वृद्धि गर्नु पर्ने तथा बैक वित्तीय संस्था, बीमा कम्पनी र अन्य संस्थालाई समावेश गरी कार्य गर्न पब्लिक लिमिटेड कम्पनी बनाउनु पर्ने आवश्यकता औल्याउँदै सो निर्णय गरेको जनाएको छ । नेक्सजेन म्यानेजमेन्टले विगत एक वर्षदेखि बैंक तथा वित्तीय संस्थाको समस्याग्रस्त ऋणीहरूको कर्पोरेट एडभाइजरको रूपमा काम गर्दै आइरहेको छ । यसले निष्क्रिय कर्जा नियमित गर्न, पुनः संचालन गर्न तथा बिक्रीको लागि पनि सहजीकरण गर्ने गरेको छ । यो कम्पनी पूर्व बैंकहरू समेतको लगानीमा खुलेको संस्था हो । कम्पनीका सञ्चालक तथा कार्यवाहक अध्यक्ष अजयकुमार मिश्रको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको थियो।
यस्तो छ शुक्रबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्रको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ १२ पैसा र बिक्रीदर १३६ रुपैयाँ ७२ पैसा कायम भएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ९७ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६५ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८१ रुपैयाँ २५ पैसा र बिक्रीदर १८२ रुपैयाँ ०५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६४ रुपैयाँ ८६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५९ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८९ पैसा र बिक्रीदर ८७ रुपैयाँ २८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ २१ पैसा र बिक्रीदर ९८ रुपैयाँ ६४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ७९ पैसा र बिक्रीदर १०४ रुपैयाँ २५ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, केन्द्रीय बैंकले जापानी येन १० को खरिददर नौ रुपैयाँ ५६ पैसा र बिक्रीदर नौ रुपैयाँ ६० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८ रुपैयाँ ७६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ २९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५१ पैसा तोकेको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०७ पैसा र बिक्रीदर चार रुपैयाँ ०९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३७ रुपैयाँ २२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ १३ पैसा र बिक्रीदर ३१ रुपैयाँ २६ पैसा निर्धारण भएको छ । यसैगरी, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ४९ पैसा र बिक्रीदर नौ रुपैयाँ ५३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ १९ पैसा र बिक्रीदर १४ रुपैयाँ २५ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ७६ पैसा र बिक्रीदर २० रुपैयाँ ८५ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १७ रुपैयाँ ६२ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रुपैयाँ ०५ पैसा र बिक्रीदर ४४६ रुपैयाँ ०१ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ १२ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ७२ पैसा, ओमनी रियाल एकको खरिददर ३५३ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ०९ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने खुलाबजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
शाखा प्रबन्धकलाई सक्षम बनाउँदै मेरोमाइक्रोफाइनान्स, २ दिने गोष्ठी सम्पन्न
काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शाखा प्रबन्धकहरूको नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले पोखरामा दुई दिने बृहत गोष्ठी सम्पन्न गरेको छ । गोष्ठीको उद्घाटन कार्यक्रममा संस्थाका सञ्चालक समिति अध्यक्ष कल्याण बिक्रम पाण्डेले वर्तमान चुनौतीपूर्ण आर्थिक परिवेशमा मन, वचन र कर्मद्वारा संस्थागत योगदान पुर्याउन कर्मचारीहरूलाई प्रेरित गरे । प्रमुख कार्यकारी अधिकृत रामहरी दाहालले प्रतिकूल आर्थिक परिस्थितिलाई आत्मसात गर्दै बजारमा प्रतिस्पर्धी रूपमा प्रस्तुत हुन शाखा प्रमुखहरू सक्षम बन्नुपर्ने आवश्यकता औँल्याए । गोष्ठीमा पूर्व बैंकर तथा मोटिभेटर अनिल केसरी शाह, लघुवित्त विज्ञ नुमनाथ पौडेल, तथा अन्तर्राष्ट्रिय मोटिभेशनल स्पीकर सौनक भट्टले प्रशिक्षण र सहजीकरण गरेका थिए । देशभरका १४९ शाखा, १९ अनुगमन कार्यालय, ७ प्रदेश कार्यालय र केन्द्रीय कार्यालयका विभिन्न विभाग प्रमुखसहित करिब २०० जनाको सहभागिता रहेको कार्यक्रममा कर्मचारीहरूको कार्यदक्षता र नेतृत्व विकासमा जोड दिइएको थियो ।