बचतकर्ताको १ अर्ब रुपैयाँ जोखिममा, २ सय बढीले दिए उजुरी

काठमाडौं । बुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बचत रकम फिर्ता नगरेको भन्दै कारबाहीको लागि लुम्बिनी प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालयमा उजुरी परेको छ । सहकारीले १ अर्ब रुपैयाँ बढी बचतकर्ताको निक्षेप जोखिममा पारेको भन्दै रकम फिर्ताको माग राख्दै मंगलबार सहकारी दर्ता अधिकारीको कार्यालय राप्ती उपत्यका देउखुरीमा उजुरी परेको हो । बुटवल उपमहानगरपालिका–९ मा मुख्य कार्यालय स्थापना गरेर सञ्चालन भएको सहकारी संस्थामा बचत गरेका २ सय बढी बचतकर्ताले लिखित उजुरी दिएका हुन् । एक वर्षदेखि बचत रकम फिर्ताको माग राख्दा पनि सहकारी संस्थाले फिर्ता नगरेपछि बाध्य भएर कानुनी उपचारमा जानुपरेको बचतकर्ता देवीलाल भट्टराईले बताए । उनले एक वर्षदेखि बचत फिर्ता नपाएपछि उजुरी गर्नुपरेको बताउनुभयो । मुद्दति, मासिक, दैनिक र खुला बचतमार्फत सहकारीले रकम असुल गरेको देखिन्छ । सहकारी संस्थाका सञ्चालक र पदाधिकारीलाई नियमानुसार कारबाहीको माग गरिएको छ । सहकारी दर्ता अधिकारी कार्यालयका रजिष्ट्रार भीमप्रसाद तिवारीले सहकारीको रकम हिनामिना गर्ने सहकारी संस्थालाई नियमानुसार कारबाही हुने बताए । उनले बचतकर्ताको उजुरी आएको र थप अध्ययन गरेर कारबाहीको प्रक्रिया अघि बढाउने बताए । लुम्बिनी प्रदेशमा यस्ता २४÷२५ वटा खराब सहकारीलाई कारबाही गर्न उजुरी परेका छन् । एक जना बचतकर्ताको साढे ३ करोड रुपैयाँ यही सहकारी संस्थाले ठगी गरेकोसमेत उजुरी परेको छ ।

बागमती प्रदेशले कुनै पनि सहकारी दर्ता नगर्ने

काभ्रे । बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जनले बागमती प्रदेशभित्र अब कुनै पनि प्रकारका नयाँ सहकारी दर्ता नहुने बताएका छन् । उनले जिल्ला सहकारी सङ्घ लिमिटेड (डिस्कोफ) काभ्रेपलाञ्चोकको ४२औँ वार्षिक साधारणसभालाई मंगलबार बनेपामा सम्बोधन गर्दै मन्त्रालयमार्फत प्रदेशभित्रका जिल्लास्थित सरोकारवादला निकायलाई कुनै पनि प्रकारका नयाँ सहकारी दर्ता नगर्न आदेशसमेत दिइसकेको बताए । ‘सहकारीका विषयमा विभिन्न टीकाटिप्पणी र विभिन्न सहकारी समस्याग्रस्त भएकोबारे मन्त्रलायमा निवेदन आइरहेका छन्, परिस्थिति सवल नभएसम्म नयाँ सहकारी दर्ता नगर्न आदेश दिएका छौँ, नयाँ दर्ता भएका पनि छैनन्’, मन्त्री महर्जनले भने । उनले समस्याग्रस्त सहकारीले नियम, कानुन मिचेर कारोबार गरी नागरिकलाई झन्झट, दुःख दिएको पाइए कारबाही गर्ने चेतावनीसेमत दिए । उनले भने, ‘सही बाटोमा हिँडेका सहकारीलाई संरक्षण पनि गर्छौं, गलत गरेको पाइए कडा कारबाही गर्छौं, कसैलाई छुट दिँदैनौँ ।’ मन्त्री महर्जनले सहकारी धराशायी भए नागरिकको बचत पनि धराशायी हुने भएकाले सहकारी र बचतकर्ताबीचको विश्वास पुर्नर्जीवित गर्नुपर्ने आवश्यकता औँल्याए । ‘स्थानीयस्तरमा आर्थिक अप्ठेरो पर्दा गर्जो टारेको र घरेलु उद्योग गर्नसमेत सहकारीले सहयोग गरेकाले पनि सरकारले सहकारी आन्दोलन बिर्सनुहुँदैन’, उनले भने । उनले प्रदशेस्तरमा सहकारीको अनुगमन गर्ने छुट्टै समिति निर्माण गरिने उल्लेख गर्दै समस्याग्रस्त सहकारी घोषणाको तयारी भइरहेको बताए । कार्यक्रममा राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मिनराज कँडेल, जिल्ला समस्वय समिति काभ्रेपलाञ्चोकको प्रमुख दीपक गौतम, बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यलगायतले शुभकामना व्यक्त गरेका थिए । सो अवसरमा नगरको सहकारीको अनुगमन गरी देखिएका समस्यामा समन्वय गरेकोमा बनेवा नगरपालिकालाई सम्मान गरिएको थियो । डिस्कोफका जिल्लाध्यक्ष दिलीप शर्माले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । रासस

यी मिटरव्याजीको जालोमा फसेर डुब्यो देउराली सहकारी, प्रशासनको आदेश अटेर

ललितपुर । ललितपुरका मिटरव्याजीहरुले जिल्ला प्रशासन कार्यलय र ललितपुर जिल्ला प्रहरी परिसरको आदेशलाई समेत अटेर गरि विभिन्न राजनीतिक दलको आडमा कानुनलाई समेत धज्जी उडाएका छन् । ललितपुर जिल्लालाई आधार ईलाका बनाई विगत केही वर्षदेखि मिटरव्याजी धन्दा समेत चलाउँदै आइरहेका ललितपुरका विभिन्न व्यक्तिलाई जिल्ला प्रशासन कार्यलय ललितपुरमा अनुचित लेनदेन (मिटर व्याज) विरुद्ध उजुरी परेपछि जिल्ला प्रशासन कार्यलय ललितपुरका साथै जिल्ला प्रहरी कार्यालय जाउलाखेलले बारम्बार ताकेता गर्दा पनि उपस्थित नभएपछि मिटरव्याज आयोग कडा एक्सनमा जान लागेको स्रोतको दाबी छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरव्याज विरुद्ध शुन्य सहनशिलता अपनाउन ठाडो आदेश दिईरहेको बेला स्वयं गृहमन्त्रीको आदेशलाई नै ठाडो चुनौती दिनेगरी ललितपुरका केही मिटरव्याजीहरुले कानुनको धज्जी उडाएकाले उनीहरुलाई अब कडा कारबाही गरिने गृह  मन्त्रालय स्रोतले बताएको छ । नेपाल सरकार गृह मन्त्रालयको प्रत्येक्ष निगरानीमा मिटरव्याजीहरुलाई कडा कारबाही अगाडि बढाईरहेको बेला ललितपुरका केहि मिटरव्याजीले प्रशासनको आदेशलाई समेत नटेरेका हुन् । यी हुन् ललितपुर जिल्ला प्रशासनको आदेशलाई धज्जी उडाउने ललितपुरका मिटरव्याजीहरु : रवि महर्जन : ललितपुर जिल्लामा निर्माण सामाग्रीहरु रोडा, बालुवा र गिटीको व्यापार गर्दै आउनुका साथै ललितपुरको सातदोबाटोमा केन्द्रीय कार्यालय रहेको देउराली सहकारीको नगद ४० करोड झ्वाम्म पारी सम्पर्कमा नरहेका मिटरव्याजी हुन् । सिताराम राउत : सिताराम राउतले देउराली सहकारीको ४० करोड झ्वाम पारी लापता भएका छन् भने राउतलाई गुडविलका बचतकर्ता र देउरालीका अध्यक्ष चौलागाईंले खोजिरहेको उनीहरुले बताएका छन् । यसैगरी देउराली सहकारीलाई टाटपल्टाउन सिताराम राउत, मुकेश अग्रबाल, कमला खत्री, हितेश केसी, आसिस प्रधान, जनप्रिय सहकारीका अध्यक्ष अविनाश कार्की लगायतका मिटरव्याजीहरुको महत्त्वपूर्ण भूमिका रहेको देउरालीका अध्यक्ष चौलागाईंले आरोप लगाए । रुबिन महर्जन : रुबिन महर्जनले देउराली सहकारीमा केही रकम बचत गरेबापत चक्रवत्ति मिटरव्याजले १५ करोड नगद रुपयाँ लगेकोमा गत असार १२ गते देउराली सहकारीका अध्यक्ष रबिन्द्र चौलागाईंले जिल्ला प्रशासन कार्यालय ललितपुरमा अनुचित लेनदेन (मिटर व्याज) को मुद्दा दर्ता गराएपछि प्रशासनको बोलावटलाई समेत अटेर गरी अहिले सम्पर्क बाहिर रहेको बताइएको छ । देवेन्द्र आचार्य : न्युरोडको देविवास सहकारी र कीर्तिपुरको ज्वाला देवी सहकारी, न्युरोडको टिपटप समोसा पसलको शैलेन्द्र शर्मा, हार्नेस मुन मेनपावरको वासु श्रेष्ठ, हार्डवेयर व्यवसायी विक्रम बाँनियाको समुहले विगत लामो समयदेखि राज्यलाई नै चुनौती दिनेगरी समाजका कमजोर वर्गको जग्गा जमिन र धन सम्पत्तिमा गिद्दे नजर लगाई अनुचित लेनदेन (मिटर व्याज)को सुई घुमाई अकुत सम्पत्ति जोडन सफल भएका आचार्यले देउराली सहकारीबाट नगद ५० करोड रुपैया लगि हाल सम्पर्क बाहिर रहेको चौलागाइको आरोप छ । आचार्यले देउराली सहकारीबाट लगेको ऋण तिर्नुको सट्टा उल्टै सहकारीका सञ्चालकहरुलाई धम्क्याउँदै हिड्ने गरेका चौलागाइले बताए । यसैगरी गृहमन्त्रालय अनुचित लेनदेन (मिटरव्याज) विरुद्ध कडा रुपमा उत्रिएको अवस्थामा सरकारलाइ नै चुनौती दिँदै विसाल नारायण भारी, सञ्जय अधिकारी, मोहन घिमिरेको समुहले काठमाडौंको न्युरोडलाई आधारईलाका बनाई खुलमखुल्ला मिटरव्याजी धन्दा चलाँउदै आइरहेको पाइरहेको छ । मिटरव्याजी विशाल नारायण भारी र उनका श्रीमती भावना भारीको समुहले न्युरोडमा रहेको नेपाली सेनाको भवन भाडामा लिई जयन्ती कन्स्ट्रक्सनका मालिक खगेन्द्र पुन मगर, गुडविल सहकारीका दिवाकर श्रेष्ठ र देउराली सहकारीका अध्यक्ष रबिन्द्र चौलागाईं रोडमा ल्याउने कुचेष्टा गरेको चौलागाईंले बताएका छन् । यतिमात्र नभएर विशाल नारायण भारीका समुहले ललितपुर जिल्ला प्रशासनले छलफलका लागि बोलाउँदा समेत अटेर गरि सम्पर्क बाहिर रहेको बताईन्छ ।