स्ट्यान्डर्ड चार्टर्ड बैंकले पायो लगातार छैटौं पटक ‘ट्रिपल ए’ रेटिङ
काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले लगातार छैटौं पटक ‘ट्रिपल ए’ रेटिङ प्राप्त गरेको छ । आइसीआरए नेपालले बैंकको दीर्घकालीन वित्तीय दायित्व पूरा गर्ने क्षमतालाई अत्यन्त सुरक्षित ठहर गर्दै यस वर्ष पनि ‘ट्रिपल ए’ रेटिङ प्रदान गरेको हो । ‘ट्रिपल ए’ रेटिङ प्राप्त गर्नुलाई सबैभन्दा कम क्रेडिट जोखिम भएका अत्यधिक विश्वसनीय वित्तीय संस्थाको सूचक मानिन्छ । आइसीआरए नेपालले दिएको मूल्याङ्कन विवरणमा बैंकको पूँजी सुदृढता, परिसम्पत्ति गुणस्तर, जोखिम व्यवस्थापन अभ्यास र बजार प्रतिस्पर्धात्मकतालाई उच्च प्रशंसा गरिएको छ । २०८२ सालको मध्य अप्रिलसम्म बैंकको पूँजी जोखिम भारित सम्पत्तिको अनुपात १७.४४ प्रतिशत र टियर-१ पूँजी १५.१५ प्रतिशत रहेको छ, जुन नियामक निकाय नेपाल राष्ट्र बैंकद्वारा तोकिएको ११ प्रतिशत र ८.५ प्रतिशतको न्यूनतम सीमाभन्दा धेरै उच्च हो । बैंकको कुल खराब कर्जा अनुपात १.४४ प्रतिशत मात्र रहेको छ । बैंकको कडाइका साथ पालना गरिने कर्जा प्रवाह मापदण्ड, सशक्त जोखिम व्यवस्थापन प्रणाली र प्रतिस्पर्धी कर्जा दर प्रस्ताव गर्ने क्षमताले बैंकको सम्पत्ति गुणस्तर सुदृढ राख्न मद्दत पुर्यारएको आइसीआरएले जनाएको छ । बैंकको १९८७ देखि निरन्तर सञ्चालन हुँदै आएको लामो अनुभव, करिब ७० प्रतिशत स्वामित्व रहेको अन्तर्राष्ट्रिय स्ट्यान्डर्ड चार्टर्ड समूहको मातृसहयोग, र उच्च अनुपातमा कम लागतको निक्षेप संकलन गर्न सक्ने क्षमताका कारण पनि बैंकले उद्योगमै सबैभन्दा कम कोष लागत कायम राख्न सफल भएको उल्लेख छ। बैंकको सीईओ तथा हेड अफ कभरेज गोरख राणाले भने, 'हामीले छैटौं पटक ‘ट्रिपल ए’ रेटिङ प्राप्त गर्नु भनेको हाम्रो स्थायित्व, उत्कृष्ट सेवा र सरोकारवालाप्रति समर्पणको स्पष्ट प्रमाण हो ।'
सिटिजन्स बैंक र लोमस डिजिटलबीच छुट सम्बन्धी समझदारी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र उत्तरढोका, काठमाडौंस्थित लोमस डिजिटलबीच विशेष छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । यस सम्झौतापछि सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले हुइरपुल प्रोडक्ट्स र किचेन एड प्रोडक्ट्स खरिदमा आकर्षक छुट प्राप्त गर्नेछन् । बैंकले यो सहकार्य डिजिटल कारोबार प्रवर्द्धन गर्ने उद्देश्यले गरेको हो । यसमार्फत ग्राहकहरू नगद कारोबारबाट डिजिटल भुक्तानीतर्फ आकर्षित हुने विश्वास बैंकले व्यक्त गरेको छ । सिटिजन्स बैंकले डिजिटल बैंकिङ प्रयोग विस्तार गर्न समय–समयमा ग्राहक लक्षित छुट तथा सेवा सुविधाहरू सञ्चालन गर्दै आएको छ । छुट र अफरसम्बन्धी विस्तृत विवरण सिटिजन्स बैंकको वेबसाइटमा हेर्न सकिनेछ ।
गोर्खाज फाइनान्सको ३०औं वार्षिक साधारणसभा सम्पन्न, दीर्घसेवामा कर्मचारी सम्मान
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको ३०औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन, वित्तीय विवरण र लेखापरीक्षकको प्रतिवेदन पारित गरेको छ । साथै आर्थिक वर्ष २०८१/८२ को अन्तिम लेखापरीक्षणका लागि एनबीएसएम एसोसियट्सलाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय गरिएको जानकारी प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र इवाहाङले दिएका छन् । सभामा विभिन्न मितिमा रिक्त भई सञ्चालक समितिबाट नियुक्त गरिएका सञ्चालकहरूको नियुक्ति अनुमोदनसमेत गरिएको थियो । कार्यक्रमको अवसरमा संस्थामा २० वर्षभन्दा बढी सेवा गरेका कर्मचारीहरूलाई सम्मान गरिएको छ भने ३० वर्षभन्दा बढी सेवा गरी अनिवार्य अवकाशमा गएका कर्मचारी मुकुन्द श्रेष्ठको बिदाई समेत गरियो ।