म्युचुअल फण्डलाई आईपीओः चार स्कीम मालामाल, अन्यलाई औषत
काठमाडौं । दोस्रो बजारमा सेयरको मूल्य बढेसँगै म्युचुअल फण्डले प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बाट मनग्ये आम्दानी गर्न थालेका छन् । आईपीओ जारी गर्ने कम्पनीहरुले सार्वजनिक बिक्री गर्ने आईपीओको ५ प्रतिशत म्युचुअल फण्डलाई अनिवार्य रुपमा दिनुपर्ने र नेपाल स्टक एक्सचेन्जमा सुचिकृत हुने वित्तिकै आईपीको मूल्य ४ सयभन्दा माथि पुग्ने गरेका कारण म्युचुअल फण्ड मालामाल हुन थालेका हुन् । दोश्रो बजारमा लगानी गरी कमाइरहेका म्युचुअल फण्डहरुले प्राथमिक बजार अर्थात आईपीओमा पनि लगानी गर्न पाउने व्यवस्था रहेको छ । जुनसुकै कम्पनीले आईपीओ निष्काशन गर्दा म्युचुअल फण्डलाई अनिवार्य रुपमा कूल निष्काशनको ५ प्रतिशत सेयर छुट्याउनु पर्ने व्यवस्था छ । अहिले १३ वटा फण्ड व्यवस्थापक (म्युचुअल फण्ड) संचालनमा छन् । यी फण्डले बन्दमुखी र खुलामुखी गरी कूल २७ वटा स्किम (योजना) हरु सञ्चालनमा ल्याएका छन् । यीमध्ये पनि ४ वटा फण्ड व्यवस्थापकले सञ्चालनमा ल्याएका विभिन्न ४ वटा स्कीमलाई आईपीओबाट बढी फाइदा भएको छ । अन्य क्यापिटलको तुलनामा हालसम्ममा ग्लोबल आईएमई क्यापिटल, कुमारी क्यापिटल, प्रभु क्यापिटल र आरबिबि मर्चेन्ट बैंकिङ्गले सञ्चालनमा ल्याएका स्कीमहरु आईपीओबाटै मालामाल भइरहेका देखिन्छ । किनभने यी संस्थाहरुले हालसम्ममा जम्मा एउटा मात्रै योजनाहरु सञ्चालनमा ल्याएका छन् भने अन्यले दुई वा दुईभन्दा बढी योजनाहरु सार्वजनिक गरी सञ्चालनमा लाईसकेका छन् । म्युचुअल फण्ड निर्देशिका अनुसार म्युचुअल फण्डलाई छुट्याईएको कूल सेयर संख्या योजना व्यवस्थापक (अर्थात मर्चेन्ट बैंकिङ्ग) ले सञ्चालनमा ल्याएका योजनाहरुमा बराबर भाग गरिने व्यवस्था छ । यसरी भाग गर्दा बढी योजनाहरु सञ्चालनमा ल्याउनेभन्दा कम ल्याउने मर्चेन्टहरुलाई बढी फाइदा हुने देखिन्छ । कसरी ? जस्तो कि हालै सेयर निष्काशन गरी बाँडफाँट सम्पन्न गरेको युनियन लाइफ इन्स्योरेन्सलाई हेरौं । इन्स्योरेन्सले गत असार २४ गतेदेखि ६४ लाख ५० हजार कित्ता आईपीओ जारी गरेको थियो । जसको ५ प्रतिशत म्युचुअल फण्डले पाए । युनियन लाइफले जारी गरेको आईपीओको ५ प्रतिशत म्युचुअल फण्डले पाउँदा ३ लाख २२ हजार ५ सय कित्ता आईपीओ पाए । उक्त सेयर सबै (हाल १३ वटा) मर्चेन्टहरु बैंकरहरुलाई भाग लगाउँदा प्रत्येकको भागमा २४ हजार ८०७ कित्ता आईपीओ पर्न आउँछ । आफ्नो भागमा परेको आईपीओ पनि फण्ड व्यवस्थापकले (साइज वा समानुपातिक रुपमा बराबर भाग लगाएर) बाँड्ने गरेका छन् । यसो गर्दा बढी योजना सञ्चालनमा ल्याउनेलाई भन्दा कम स्कीम हुनेहरुलाई बढी फाइदा भएको देखिएको छ । कम्पनीहरुले आईपीओ जारी गर्दा पाइने ५ प्रतिशत सेयर योजना संचालकहरुले बराबर रुपमा लिने गरेको मर्चेन्ट बैंकिङ् एशोसिएशनका अध्यक्ष मेखबहादुर थापाले बताए । तर आईपीओ खरिद गर्नको लागि योजना व्यवस्थापकले आवेदन भने दिनुपर्ने उनले बताए । ‘निवेदन दिएको हकमा सबै फण्डले बराबर संख्यामा आईपीओ पाउने व्यवस्था छ, कुनै फण्डले एकभन्दा बढी स्कीम संचालन गरेका छन् भने स्कीमको आकार अनुसार र कसैकसैले आफ्ना स्कीमहरुलाई पनि समानुपातिक रुपमा बाँडफाँट गर्ने गरिएको छ,’ एनआईबिएल एस क्यापिटलका सीईओ समेत रहेका अध्यक्ष थापाले भने । गत असार ३१ गते नै बाँडफाँट भएको युनियन लाइफको सेयर हालसम्म नेप्सेमा सूचीकृत भएको छैन । नेप्सेमा सूचीकृत भएसँगै नेप्सेले तोकिदिएको न्युनतम र अधिकतम मूल्यको रेञ्जमा रहेर कम्पनीको पहिलो सेयर कारोबार हुनेछ । मानौं, यूनियन लाइफको पहिलो कारोबारको लागि नेप्सेले प्रतिकित्ता न्युनतम १३७ रुपैयाँदेखि अधिकतम ४११ रुपैयाँ तोकिदियो । यससँगै नेप्सेमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता न्युनतम १३७ रुपैयाँदेखि अधिकतम ४११ रुपैयाँको बीचमा हुने छ । यसअघिको अन्य कम्पनी तथा इन्स्योरेन्सको ट्रेण्ड हेर्दा अधिकांशको सेयर दोश्रो बजारमा पहिलो कारोबार भएको दिन नै सर्किट लेभलमा कारोबार भएको थियो । त्यस्तै, यूनियन लाइफको पनि पहिलो दिनमै सर्किट लेभल अर्थात अधिकतम ४११ रुपैयाँसम्ममा सेयर कारोबार भयो भने एउटा मात्रै स्कीम संचालन गर्ने फण्डको आम्दानी धेरै हुनेछ । जस्तो कि योजना व्यवस्थापक कुमारी क्यापिटल (एउटा मात्र योजना भएको मर्चेन्ट बैंकिङ्ग) रहेको कुमारी इक्विटी फण्डसँग युनियन लाइफको २४ हजार ८०७ कित्ता सेयर भागमा परेको छ । यदि, युनियन लाइफको सेयर मूल्य पहिलो दिन नै प्रतिकित्ता ४११ रुपैयाँ कायम भयो भने कुमारी इक्विटी फण्डले गरेको लगानीको बढेर पहिलो दिनमै १ करोड १ लाख ९५ हजार ६७७ रुपैयाँ पुग्नेछ । २४ लाख ८० हजार ७०० रुपैयाँ मात्रै लगानी गरेको फण्डले पहिलो दिनमै ७७ लाख १४ हजार ९७७ रुपैयाँ नाफा गर्न सफल हुनेछ । अहिलेसम्म एउटा मात्रै स्कीम संचालन गर्नेहरुमा कुमारी क्यापिटलको कुमारी इक्विटी फण्ड, ग्लोबल आईएमई क्यापिटलको ग्लोबल आईएमई समुन्नत स्कीम १, प्रभु क्यापिटलको प्रभु सेलेक्ट फण्ड र आरबिबि मर्चेन्ट बैंकिङ्गले सञ्चालनमा ल्याएको आरबिबि म्युचुअल फण्ड रहेका छन् । यी सबै स्कीमले युनियन लाइफको आईपीओबाट सेयर सुचिकृत भएकै दिन नै ७७ लाख रुपैयाँभन्दा बढी कमाउने सम्भावना छ । तर, योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटल, जसको दुई वा दुईभन्दा बढी योजना सञ्चालनमा छन् । त्यसमध्ये एनआइसी एशिया ब्यालेन्स फण्डसँग इन्स्योरेन्सको जम्मा ६ हजार २०१.७५ कित्ता (२४ हजार ८०७ कित्ता सेयर ४ योजनालाई बराबर भाग गर्दा ६२०१.७५ कित्ता) सेयर छ । जसको मूल्य पहिलो दिनमा बढेर २५ लाख ४८ हजार ९१९ रुपैयाँ पुग्नेछ । ६ लाख २० हजार १७५ रुपैयाँ लगानी गरेको उक्त फण्डले १९ लाख २८ हजार ७४४ रुपैयाँ मात्रै नाफा गर्नेछ । जुन कुमारी इक्विटी फण्डको तुलनामा ५७ लाख ८६ हजार २३२ रुपैयाँले कम हो । हाल नेपाली बजारमा कूल १३ वटा मर्चेन्ट बैंकहरु सञ्चालनमा रहेका छन् । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले इजाजत दिएसँगै उनीहरुले बैंक तथा वित्तीय संस्थाहरुको सहायक कम्पनीको रुपमा काम गर्दै आएका छन् । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा सञ्चालनमा आएका यी संस्थाले हाल पुँजी बजारमा विभिन्न ४ कार्यहरु गर्दै आएका छन् । कुनै पनि कम्पनीको सेयर निष्काशन तथा बाँडफाँड, सेयर रजिष्ट्रार, अन्डरराइटिङ्ग र लगानी व्यवस्थापन लगायतका कामहरु मर्चेन्ट बैंकहरुले गरिरहेका छन् । यससँगै मर्चेन्ट बैंकरहरुले पुँजी बजारमा लगानी गर्ने उद्देश्यले आफ्नो योजनाको रुपमा विभिन्न फण्डहरु सञ्चालनमा ल्याएका छन् । र, त्यस्ता फण्डहरुले बजारबाट कमाएका नाफाको आधारमा इकाईधनीलाई प्रतिफल वितरण गर्दै आएका छन् । यद्यपि, म्युचुअल फण्डलाई आईपीओ दिँदा म्युचुअल फण्डको इकाईमा लगानी गर्ने इकाईधनीलाई फाइदा हुने बुझिन्छ । त्यस्तै, हाल सञ्चालनमा आएका जति पनि फण्डहरु छन्, ती सबै दोश्रो बजारमा लगानी गर्ने ज्ञान, अनुभव तथा समय कम भएकाहरुलाई यस्ता म्युचुअल फण्डहरु बढी उपयुक्त देखिन्छन् ।
नेपाल हाइड्रोको १५ प्रतिशत बोनस सूचीकृत
काठमाडौं । नेपाल हाइड्रो डेभलपर्सको १५ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । हाइड्रोको आज(साउन १२ गते) मात्रै सो मात्रा अर्थात ३ लाख ९० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो । यससँगै, उक्त सेयर सम्बन्धित सेयरधनीको खातामा हस्तान्तरण हुने छ । र, लगानीकर्ताले दोश्रो बजारमा किनबेच गर्न पाउने छन् ।
प्रोग्रेसिभ फाइनान्सले सञ्चालनमा ल्यायो ऋण अटोमेसन प्रणाली
काठमाडौं । प्रोग्रेसिभ फाइनान्सले एसबी सल्युसन प्रा.लि (भगिनी संस्था: डिजिहब प्रा.लि) सँग सहकार्य गरेर क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणालीलाई लाइभ गरेको छ । जसमा प्रोग्रेसिभ फाइनान्सका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाई र एसबी सल्युसनका प्रमुख कार्यकारी अधिकृत सन्जोग मिश्रले आ-आफ्नो संस्थाको तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका हुन् । यो प्रणाली सञ्चालनमा आएसँगै संस्थाको इन्टर्नल ऋण वर्कफ्लो, जोखिम मूल्याकंन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्ने गर्दछ । क्रेडिट-एक्स (ऋण अटोमेसन प्रणाली) को थालनी सँगै, बैंकहरूले पूर्ण रूपमा कागज निर्भर ऋण कार्यप्रवाह गर्न सक्षम हुनेछन् । यसले प्रणाली भित्र जोखिम प्यारामिटरहरूको अनुगमन गरेर ऋण लिएका ग्राहकहरूसँग सम्बन्धित जोखिम न्यूनीकरण गर्नलाई पनि सहयोग पुर्याउनेछ । यो नयाँ तरिकले बैंकलाई द्रुत गतिमा ऋण प्रक्रिया पूरा गर्न मद्दत गर्दछ । प्रणालीले जमानत र गैर जमानत बेस लोन पनि प्रोसेस गर्ने गर्दछ । ऋण स्वचालन प्रणाली अन्तर्राष्ट्रिय मापदण्ड अन्तर्गत रहेको रेटिगको दृष्टिकोणमा निर्माण गरिएको छ । यो स्वायत्त सिस्टम, प्रणालीले संचालित ग्राहकको उद्देश्य मूल्याकनका साथसाथै विषयगत प्यारामिटरहरूको मानकीकरणको रुपमा पनि रहेको छ । यस नयाँ प्रणाली कार्यान्वयन भएसाथै, बैंक र अन्तका उपभोक्ताहरूले प्रशोधन र स्वीकृति प्रक्रियाको टर्न अराउन्ड समयमा ५० प्रतिशतभन्दा बढी कटौतीको अनुमानित लाभ लिन पाउनेछन् । प्रोग्रेसिभ फाइनान्स, राष्ट्र बैंकबाट “ग” वर्गको इजाजत प्राप्त संस्था हो । यस संस्थाले एक मजबुत र भरपर्दो बैंकको रूपमा स्थापित गर्ने प्रतिबद्धता लिएको छ । प्रोग्रेसिभ फाईन्सको लगभग १ लाख भन्दा बढि ग्राहक रहेका छन् र देशभरि १५ भन्दा बढि शाखाहरु रहेका छन् । एस्.बी. सोलुसन्स्ले डिजिहब सँगको सहकार्यमा बैंक तथा बित्तिय संस्थाहरुमा कर्जा पक्रियालाई अटोमेसन तथा डिजिटाइजेसन गर्न क्रेडिट- एक्स नामक सफ्टवेयर जडान तथा इम्पिलीमेन्टेसन गर्दै आईरहेको छ । साथै, पेमेन्ट अटोमेसन, एपीआई सर्भिसेस अटोमेसन तथा डिजिटाइजेसनको कामहरु पनि गर्दै आइरहेको छ ।