दोलखाको सहकारीबाट ३२ लाख चोरी, स्थानीय बासिन्दाले गरे उजुरी

दोलखा । दोलखाका सहकारीमा लापरबाही बढ्दा नागरिकले बचत गरेको रकम जोखिममा परेको छ । केही दिनअघि दोलखाको मेलुङ गाउँपालिका-१ पवटीमा एक सहकारी चोरी भएको भन्दै स्थानीय बासिन्दाले स्थानीय प्रशासनसमक्ष उजुरी गरेका छन् । चोरी भएको भनिएको हाम्रो सूर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट ३२ लाख ८७ हजार दुई सय ७६ रुपैयाँ हराएको सहकारी सञ्चालकले प्रहरीलाई जानकारी गराएका छन् । प्रहरीले सोही सहकारीको बचत सहायक पदमा कार्यरत अहेन्द्र भुजेललाई र घरबेटीलाई पक्राउ गरी सोधपुछपछि छाडेको छ । दोलखाकै मेलुुङ गाउँपालिका-६ मा रहेको ‘गाउँघर साना किसान कृषि सहकारी संस्था लिमिटेड’मा पनि व्यवस्थापकले एक करोड ५३ लाख रुपैयाँ हिनामिना गरेको भन्दै बचतकर्ता आक्रोशित छन् । उक्त सहकारीले त्यसको छानबिन गरिरहेको बताएको छ । हाल गाउँघर साना किसान कृषि सहकारी संस्था लिमिटेडमा रकम हिनामिना गर्ने व्यवस्थापक भूप चापागाईंलाई सञ्चालक समितिले निलम्बन गरी छानबिन गरिरहेको बताएको छ । सहकारीका अध्यक्ष श्रीराज पोखरेलले उनले हिनामिना गरेको रकम असुलउपरका लागि प्रक्रिया प्रारम्भ गरिएको बताए । दोलखाकै कालिञ्चोक गाउँपालिका-६ मा रहेको जनचाहना बचत तथा ऋण सहकारी संस्थामा पनि  रकम हिनामिना भएको बताउँदै स्थानीयवासीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुर गरेपछि आयोगले पालिकालाई छानबिन गर्न पत्र लेखेको छ । स्थानीय बचतकर्ताका अनुसार त्यहाँ पनि २० लाख रुपैयाँभन्दा बढी रकम सञ्चालकले हिनामिना गरेको आरोप छ । सहकारीमा भएको चोरी र रकम हिनामिनाबारे जिल्ला प्रहरी कार्यालयले सूक्ष्म ढङ्गले अध्ययन थालेको दोलखाका प्रहरी प्रमुख दीपक खड्काले बताए । रासस

गुडविल फाइनान्सको अध्यक्षमा दिलीप मुनकर्मी, सञ्चालकमा तीन जना निर्वाचित

काठमाडौं । गुडविल फाइनान्स लिमिटेडको अध्यक्षमा दिलीप कुमार मुनकर्मी निर्वाचित भएका छन् । सोमबार सम्पन्न कम्पनीको २९औं वार्षिक साधारण सभाबाट नवनियुक्त सञ्चालकसहित बसेको पहिलो बैठकले उनलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । नवनियुक्त अध्यक्ष मुनाकर्मी सेयर बजारका विश्लेषक समेत हुन् । उक्त सभाले संस्थापक समुहबाट प्रतिनिधित्व गर्ने २ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालक चयन गरेको छ । जसमा संस्थापक समुहबाट दिलीप कुमार मुनकर्मी र जेनी कोशी तथा सर्वसाधारण समुहबाट पशुपति भक्त श्रेष्ठ र उदयश्वर श्रेष्ठ सञ्चालकमा चयन भएका हुन् ।

काठमाडौंको बालाजु पार्कमा जडान ग्राउण्डवाटर रिचार्ज प्रणाली हस्तान्तरण

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं १६ बालाजु पार्कमा जडान गरिएको ग्राउण्डवाटर रिचार्ज प्रणाली काठमाडौं महानगरपालिकाकी उपमेयर सुश्री सुनिता डंगोललाई हस्तान्तरण गरिएको छ । उक्त हस्तान्तरण कार्य कोका-कोला बेभरेज नेपाल, सेन्टर फर इन्टिग्रेटेड अरबन डेभलपमेन्ट (सिआइयुडी) र वाटरएड नेपालले संयुक्त रुपमा गरेको हो । सन् २०२३ को अक्टोबरमा औपचारिक रूपमा सुरु भएको उक्त परियोजना माघ ५ गते सम्पन्न भएको हो । यस रिचार्ज प्रणालीमा २१ वटा फिल्टर चेम्बर, २१ वटा रिचार्ज इनार, दुई डिस्टिलिङ चेम्बर, ७५ फिटको रिचार्ज ट्रेन्च र सात बाँसको चेक ड्यामहरू रहेका छन् । उक्त परियोजना सिआइयुडीको प्राविधिक सहयोग र बोटलर्स नेपाल तराई लिमिटेडको आर्थिक सहयोगमा सम्पन्न भएको हो । यस प्रणालीले वार्षिक ३० हजार किलो लिटर पानी रिचार्ज गरी यस क्षेत्रको जमिनमुनिको पानी (ग्राउण्ड वाटर) को मात्रा बढाउन मद्दत गर्ने अनुमान गरिएको छ भने यी रिचार्ज संरचनाहरू ‘ग्राउन्डवाटर रिचार्ज इन बालाजु पार्क एरिया इन द काठमाडौँ मेट्रोपोलिटान सिटीः एड्रेसिङ इन्क्रिज्ड अर्बन वाटर डिमाण्ड’ नामक परियोजनाका मुख्य आउटपुटहरु हुन् । यस परियोजनाको मुख्य उद्देश्य बालाजु पार्क क्षेत्रको पानीको मात्रालाई कायम राख्दै त्यहाँका ढुङ्गेधारा, प्रसिद्ध बाईस धारा र सामुदायिक इनारको स्रोतलाई पुनर्जीवित गर्नु मात्र नभई पानीको चरम अभाव सामना गर्न आवश्यक पर्ने यस्ता पहलका लागि अन्य समुदाय र स्थानीय निकायलाई जिम्मेवार बनाउने समेत अपेक्षा गरिएको छ । कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले आफ्नो धारणा व्यक्त गर्दै भन्नु भयो, ‘काठमाडौँ जस्ता सहरका लागि कृत्रिम ग्राउण्डवाटर रिचार्ज अत्यावश्यक भएकाले आगामी दिनमा पनि यस्तै किसिमका रचनात्मक रिचार्ज पहलहरु कायम राख्ने प्रतिबद्धता व्यक्त गरिन् । काठमाडौं जस्तो सहरमा ग्राउण्डवाटर रिचार्ज अत्यावश्यक भएको तर भवन र सडक निर्माणका कारण प्राकृतिक रिचार्ज जोनहरूमा पनि अहिले पानीको मात्रा घट्दै गएको उनले बताइन् । काठमाडौं उपत्यकाका बासिन्दाका लागि पहिले देखि नै खानेपानीको प्रमुख स्रोत भनेको ग्राउण्डवाटर हो । ढुङ्गेधारा, इनार र कुवाहरू मुख्य पानीका श्रोतहरू हुन्, जुन उपत्यकामा जताततै देख्न सकिन्छ । तर पछिल्लो दुई दशकदेखि चलेको ग्राउण्डवाटरको अत्यधिक उत्खनन, अव्यवस्थित भवन र सडक निर्माणले उपत्यकाको ग्राउण्डवाटरको मुहानलाई प्रभावित गरेको छ । वर्षाको प्याटर्नमा भएको परिवर्तन तथा छोटो अवधिमा नै हुने व्यापक वर्षाले ग्राउण्डवाटर रिचार्ज हुने प्राकृतिक प्रक्रियामा पनि केही प्रभाव पारेको छ ।