‘सेयर ब्रोकरको जम्मा भएको ३५ करोड रुपैयाँ कस्को हो ? पहिचान खुलेन’

काठमाडौं । सेयर ब्रोकरहरुले आफ्नो खातामा आएको करिब ३५ करोड रुपैयाँ कस्को हो भन्ने पहिचान नखुलेको बताएका छन् । विभिन्न लगानीकर्ताले ब्रोकरको खातामा हालेको सो बराबरको रकमको पहिचान खुल्न नसकेको हो । लगानीकर्ताले विभिन्न माध्यमबाट आफूहरुको बैंक खातामा पठाएको करिब ३५ करोड रुपैयाँ कसले पठाएको हो भन्ने खुल्न कठिनाई भएको ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीले जानकारी दिए । ‘लगानीकर्ताहरुले सेयर किन्नुहुन्छ, सेयर किनेपछि हाम्रो खातामा रकम पठाउनु पर्छ तर, यसरी हाम्रो खातामा आएको सबै रकमको पहिचान नखुल्दा कसले पठाएको हो भन्ने यकिन गर्न गाह्रो भइरहेको छ, यस्तो रकम सबै ब्रोकरहरुकोमा गरी करिब ३५ करोड रुपैयाँ जति भएको अनुमान छ,’ अध्यक्ष मैनालीले विकासन्युजसँग भने । किन खुलेन पहिचान ? ब्रोकरको बैंक खातामा सेयर खरिद गरेका लगानीकर्ता नै पठाएका हुन्छन् । सेयर किन्ने व्यक्तिले सो सेयर खरिदको रकम ब्रोकरलाई दिएको अवस्थामा कसले पठाएको हो भनेर पहिचान नखुल्ने अवस्था नआउनु पर्ने हो । तर, सेयर खरिद गर्ने लगानीकर्ताले विभिन्न माध्यमबाट रकम भुक्तानी गर्न पाउने व्यवस्था छ । यसरी रकम दिएकोमध्ये भुक्तानी सेवा प्रदायक र वालेटहरुबाट आएको रकमको स्पष्ट पहिचान नखुल्ने ब्रोकरहरुले बताएका छन् । ‘सेयर खरिद गरेपछि मैले यो माध्यमबाट यति रकम पठाएको छु, यसको प्रमाण यस्तो छ भनेर लगानीकर्ताले हामीलाई जानकारी दिनुभयो भने पहिचान खुल्छ र हामीले सेयर विक्री गर्ने व्यक्तिको खातामा रकम पठाइदिन सक्छौं तर, कतिपय लगानीकर्ता विभिन्न भुक्तानी सेवा प्रदायक वा वालेटहरुबाट रकम पठाइदिनुहुन्छ, हामीलाई थप खबर गर्नुहुन्न, यसरी आएको रकमको पहिचान खुल्ने केही विवरण हुँदैन, त्यस्तो रकम नै पहिचान खुल्न नसकेको रकमको रुपमा रहेको हो,’ अध्यक्ष मैनालीले भने । अहिले सेयर खरिदको भुक्तानी गर्दा टीएमएस (ट्रेड म्यानेजमेन्ट सिस्टम) मा कनेक्ट आईपीएसबाट गर्ने भुक्तानी र अन्तरबैंक कारोबारबाट गर्ने भुक्तानी मात्रै आवद्ध छ । सोही कारण कनेक्ट आईपीएस र अन्तर बैंक भुक्तानीबाट आएको रकमको पहिचान सहजै खुल्छ तर, भुक्तानी सेवा प्रदायक र वालेटहरुबाट आएको रकमको सम्वन्धमा भने समस्या भइरहेको ब्रोकरले बताएका छन् । के गर्ने पहिचान खुलाउन ? ब्रोकर एसोसिएनका अध्यक्ष मैनालीले कनेक्ट आईपीएस र अन्तर बैंक भुक्तानीबाट आएको रकमको हकमा भने कुनै समस्या नभएको बताए । तर, भुक्तानी सेवा प्रदायक र वालेटहरुबाट आएको रकमको हकमा भने पैसा पठाउने व्यक्तिले आफ्नो ब्रोकरसँग समन्वय गरेर आफूले रकम पठाएको प्रमाणसहित जानकारी गराउनु उचित हुने उनले बताए । ‘अहिले अधिकांश ब्रोकरले लगानीकर्तालाई भाइबर तथा ह्वाट्सएप नम्बर उपलब्ध गराएका छन्, सेयर खरिद गर्ने व्यक्तिहरुले ब्रोकरको खातामा पैसा पठाइसकेपछि त्यस्ता नम्बरहरुबाट स्क्रीनसट सहित जानकारी गराउनु भयो भने सहज हुन्छ, ब्रोकर कार्यालयमा फोन गरेर मैले यो प्रयोजनको यति रकम यो माध्यमबाट यतिखेर पठाएको थिएँ भनेर जानकारी गराउनु भयो भने पनि सजिलो हुन्छ,’ अध्यक्ष मैनालीले भने । पहिचान नखुलेको रकम स्रोत नखुलेको रकम हो ? होइन । कसले किन पठाएको हो भन्ने पहिचान मात्रै नखुलेको हो । भुक्तानी सेवा प्रदायक वा वालेटहरुबाट रकम पठाउनु भनेको पनि बैंक वित्तीय संस्थामा रहेको रकम पठाउनु नै हो । बैंक वित्तीय संस्थामा स्रोत नखुलेको रकम राख्न नसकिने भएको कारण यस्तो रकम स्रोत नखुलेको वा सम्पत्ती शुद्धीकरण भएको अर्थमा बुझ्न भने हुँदैन ।

नेप्सेमा साढे १५ अर्बको कारोबार, ९ कम्पनीको मूल्य सर्किट लेबलमा बढ्यो

काठमाडौं । आज पुँजी बजारमा ९ कम्पनीको मुल्य सर्किट लेबलमा बढेको छ । आइसीएफसी फाइनान्स, रिडी हाइड्रोपावर, रुरु जलविद्युत, जीवन विकास लघुवित्त र युिनयन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार एनआरएन इन्फ्रास्टक्चर, अरुण काबेली पावर, नेपाल हाइड्रो डेभलपर्स र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य पनि ९ प्रतिशतभन्दा बढीले बढेको छ । आज २३० कम्पनीका २ करोड ७२ लाख ९८ हजार ६२४ कित्ता सेयर १५ अर्ब ४५ करोड ५९ लाख ४१ हजार ७५४ रुपैयाँमा खरिद विक्री भए । सबैभन्दा बढी रकम बराबरको कारोबार हुने ५ कम्पनीमा अपर तामाकोशी, अरुणभ्याली, अरुण काबेली, अपि र आइसीएफसी फाइनान्स कम्पनी रहे । अपर तामाकोशीको ६८ करोड ३० लाख, अरुणभ्यालीको ५७ करोड ३७ लाख, अरुण काबेलीको ५६ करोड १२ लाख,अपिको ५३ करोड १७ लाख र आईसीएफसी फाइनान्स कम्पनीको ५१ करोड ५१ लाख रुपैयाँ बराबरका सेयर खरिद विक्री भएको नेप्सेले जानकारी दिएको छ । आज नेप्से ०.९४ अंकले बढेर ३१६२.४१ विन्दुमा पुगेको छ । आजको बजारमा पनि जलविद्युत समुहमा उछाल आएको छ भने होटल तथा टुरिजम समुहमा पनि राम्रै उत्साह देखिएको छ । नेप्सेका अनुसार होटल तथा टुरिजम १०२.९१, जलविद्युत १४४.७९ र निर्जीवन बीमा समुह ४३.८ ले बढे । यस्तै, माइक्रोफाइनान्स समुहको उपसुचक ७.९९ अंकले र जीवन बीमा समुहको उपसुचक १०.०५ अंकले बढेका छन् । अरु समुहका उपसुचक भने घटेका छन् । नेप्सेका अनुसार बैंकिङ समुह १४.१७, ट्रेडिङ समुह ४९.६५, विकास बैंक ४१.१२, फाइनान्स कम्पनी समुहको उपसुचक १९.६६ अंकले घटे । म्यानुफ्याक्चरिङ प्रोडक्सन समुह ३.८४, अन्य समुह १२.४३, म्युचुअल फण्ड ०.११ र इन्भेष्टमेन्ट समुहको उपसुचक १.०३ अंकले घटेका छन् । आजको बजारमा जेविल्स फाइनान्सका लगानीकर्ताले ४.१७ प्रतिशत, एचआईडीसीएलका लगानीकर्ताले ३.३९ प्रतिशत, गोर्खाज फाइनान्स र बेष्ट फाइनान्सका लगानीकर्ताले ३.१६ प्रतिशत तथा एक्सल डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३.१३ प्रतिशतले गुमाए । आजको कारोबार समयभित्र ७४ कम्पनीको सेयरमूल्य बढ्यो भने १०५ कम्पनीको सेयर मूल्य घट्यो । यस्तै, ७ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन नभएको नेप्सेले जानकारी दिएको छ ।

जीवन विकास लघुवित्तको सेयर मूल्य ११९ प्रतिशतले बढ्यो, प्रतिकित्ता कति पुग्यो ?

काठमाडौं । जीवन विकास लघुवित्तको सेयर मूल्यमा निरन्तर सर्किट लागेको छ । दोश्रो बजारमा कारोबार शुरु भएदेखि निरन्तर सर्किट लागेको कम्पनीको सेयरमा आज पनि बजार खुलेको केही समयमै सर्किट लागिसकेको छ । यससँगै आज मंगलबारको बजारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता २ हजार रुपैयाँ माथि पुगेको छ । सो दिन कम्पनीको सेयर कारोबार प्रतिकित्ता १८५८ रुपैयाँदेखि कारोबार शुरु भएको थियो । यससँगै नियमित बजार खुलेको केही समयमै कम्पनीको सेयर मूल्य बढेर प्रतिकित्ता २००४ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १० प्रतिशत अर्थात १८२.२० रुपैयाँ बढी हो । त्यस्तै, उक्त रकम कम्पनीको पहिलो कारोबारको तुलनामा ११९.३२ प्रतिशतले बढी हो । दोश्रो बजारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ९१४ रुपैयाँमा भएको थियो । कम्पनीले गत साउन १४ गतेदेखि दोश्रो बजारमा कारोबारमा शुरु गरेको हो । कारोबार शुरु गरेको दुई साता नबित्दै संस्थाको सेयरको भाउ दुई हजार माथि पुगिसकेको छ । सोमबारसम्मको संस्थाको चार्ट यो समाचार तयार पार्दासम्म कम्पनीको सेयर किन्नेको उच्च चाप देखिएको छ भने बेच्ने कोही पनि देखिएका छैनन् । दिउँसो साढे १२ बजेसम्मको अवधिमा कम्पनीको ४ लाख १३ हजार ३९२ कित्ता सेयर किन्न लगानीकर्ता इच्छुक रहेको देखिन्छ । तर, बिक्रीकर्ता कोही पनि छैनन् । सोमबारको कम्पनीको बजार पुँजीकरण ११ अर्ब ८ करोड रुपैयाँ पुगेको थियो । जुन मंगलबारको बजारमा बढेर १२ अर्ब १९ करोड रुपैयाँ नाघ्ने छ । हाल संस्थाको चुक्ता पुँजी ६० करोड ८४ लाख रुपैयाँ रहेको छ । नेप्सेमा संस्थाको ६० लाख ८४ हजार कित्ता सेयर सूचीकृत भएको छ । जसमध्ये ६७.५० प्रतिशत अर्थात ४१ लाख ६ हजार ७०० कित्ता सेयर संस्थापकको स्वामित्व हो भने बाँकी ३२.५० प्रतिशत अर्थात १९ लाख ७७ हजार ३०० कित्ता सेयर सर्वसाधारणको रहेको छ ।