संचयकर्तालाई १७४ करोड र लगानीकर्तालाई ९८ करोड दिने नागरिक लगानी कोषको निर्णय
काठमाडौं । नागरिक लगानी कोषले लगानीकर्तालाई लाभांश र संचयकर्तालाई थप प्रतिफलको घोषणा गरेको छ । कोषले संचयकर्तालाई एक अर्ब ७४ करोड रुपैयाँ अतिरिक्त प्रतिफल दिने भएको छ भने सेयर लगानीकर्तालाई ९० करोड १० रुपैयाँ बराबरको बोनस सेयर दिने भएको छ । शनिबार बसेको कोष सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको कोषका सूचना अधिकृत उद्धव सिलवालले जानकारी दिए । आर्थिक बर्ष २०७७/७८ सम्मको नाफाबाट उक्त लाभांश दिन लागिएको हो । नागरिक लगानी कोषका कर्मचारी बचत बृद्धि स्वीकृत अवकास कोषमा सहभागीहरुलाई १ दशमलव ५ प्रतिशत थप प्रतिफल दिने निर्णय भएको हो । कोषले सञ्चालन गरेको कर्मचारी वचत बृद्धि स्वीकृत अवकाश कोष कार्यक्रमका करिव २ लाख ९८ हजार सहभागी छन् । २०७८ असार मसान्तसम्मको बचत रकममा संचित मुनाफाबाट एक दशमलव ५ प्रतिशतका दरले थप प्रतिफल दिँदा सहभागीहरुको खातामा कुल रकम १ अर्ब ७४ करोड रुपैँया जम्मा हुनेछ । प्रतिफलबाट प्राप्त रकम कोषमा रहेको सहभागीहरुको खातामा जम्मा गर्ने व्यवस्था कोषले गरेको जानकारी दिएको छ । गत आर्थिक वर्षको नाफाबाट कोषले सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । उक्त बोनस स्वरुप कोषमा ९८ करोड १० लाख रुपैयाँ बराबरको चुक्ता पुँजी वृद्धि हुनेछ । कोषले बोनस सेयरमा लाग्ने कर स्वरुप सरकारलाई ५ करोड १६ लाख रुपैयाँ पनि तिरिदिने भएको छ । काेषकाे लाभांश घाेषणा सार्वजनिक भएकै दिन सेयर मूल्य प्रतिकित्ता साढे दुइ सय रूपैयाँले बढेकाे छ । काेषकाे सेयर मूल्य प्रतिकित्ता २४०० भन्दा बढीमा काराेबार भैरहेकाे छ ।
संरक्षित पूँजी फिर्ता कोषबाट १७ करोड ७१ लाख बाँडफाँड, एउटै सहकारीले पायो ५७ लाखसम्म
ललितपुर । राष्ट्रिय सहकारी बैंकका एउटै सदस्यले करिब ५७ लाख रुपैयाँसम्म संरक्षित पुँजी फिर्ता कोष बापतको रकम प्राप्त गरेका छन् । बुधबार बैंकले संरक्षित पुँजी फिर्ता कोषबाट सदस्यहरुले पाउने रकमको बाँडफाँड कार्य गरेसंगै एउटै सदस्यले करिब ५७ लाख रकम प्राप्त गरेको हो । सहकारी ऐन, २०७४ तथा नियमावली २०७५ को प्रावधान अनुरूप बैंकले सदस्य संघ÷संस्थाले जम्मा गरेको बचत रकमको लागि ४० प्रतिशत र कर्जामा तिरेको ब्याजका लागि ६० प्रतिशत भारको आधारमा कुल १७ करोड ७१ लाख ७४ हजार २ सय १९ रुपैयाँ ५७ पैसा संरक्षित पूँजी फिर्ता कोषको रकम बाँडफाँड गरेको छ । संरक्षित पूँजी फिर्ता कोषबाट प्राप्त हुने रकम सम्बन्धित सदस्य सहकारी संघ÷संस्थाको खातामा जम्मा गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले बताए । उनका अनुसार बचत र कर्जा कारोबार गर्ने १३,७१२ सहकारी संघ/संस्थाहरु को संरक्षित पूँजी फिर्ता कोषबाट लाभान्वित भएका छन् । बचत र कर्जामा उच्च कारोबार गरी योगदान गरेबापत सबैभन्दा बढी रकम फिर्ता पाउने सदस्यले बचत तर्फ ५६ लाख ५२ हजार तथा कर्जा तर्फ १३ लाख ७८ हजार सम्म प्राप्त गर्न सफल भएको प्रमुख कार्यकारी अधिकृत गुरागाईले बताए । “उत्कृष्ट वित्तीय सेवा सहितको सहकारी बैंक” भन्ने परिकल्पनाका साथ अघि बढेको बैंकले संरक्षित पूँजी फिर्ता कोषबाट ५० हजार भन्दा बढी रकम प्राप्त गर्ने सहकारी संघ/संस्थाहरु ६९९ रहेका छन् । हाल बैंकमा करिब १५ हजार भन्दा बढी सदस्य सहकारी संघ संस्थाहरु रहेका छन् ।
‘नागरिकलाई मालिक बनाउने सहकारीमा कर बढाउनु हुन्न, पुनरावलोकन हुन्छ’
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले बजेटमार्फत् सहकारीमा बढाइएको कर पुनरावलोकन हुने बताएका छन् । आइतबार बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्सकुन) ले आयोजना गरेको चौथो साकोस शिखर सम्मेलनमा बोल्दै उनले सहकारी अर्थतन्त्रको महत्त्वपूर्ण क्षेत्र भएकोले यो क्षेत्रमा कर बढाउन नहुने बताएका हुन् । ‘सहकारीले नागरिकलाई मालिक बनाएको छ, सर्बसाधरणको क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेलेको ,नागरिकको जीवनमा परिवर्तनको लागि महत्त्वपूर्ण योगदान सहकारीको छ, यो क्षेत्रलाई सरकारको सधैं साथ रहन्छ,’ उनले भने । उनले सहकारीलाई सरकारले अधिकतम् सुविधा दिएको, सहकारीलाई राष्ट्रिय उत्पादनसँग जोड्ने प्रयास गरको बताउँदै सरकारल बजेटमार्फत् सहकारीमाथिको कर पुनरावलोकन हुनु पर्ने बताए उनले सम्बन्धित मन्त्रीसँग समन्वय गरेर कर घटाउने विषयमा आफुले भूमिका खल्ने बताए । ‘सहकारले सम्पतिमाथिको पहुँच बढाएको छ, घर र समाज सुधार्ने र देश बनाउने अभियानमा सहकारीले महत्त्वपूर्ण भूमिका खलेको छ,’ उनले भने । यस्ते उनले सहकारीको मोडालिटी परिवर्तन गर्नु पर्ने बेलन आएको बताए । उनले अब बचतसँगै खर्चमा पनि ध्यान दिनु पर्ने धारणा राखे । उनले बचतलाई उत्पादनमा कसरी प्रोत्साहन र पुँजी गतिशीलतामा कसरी काम गर्न सकिन्छ त्यसतर्फ ध्यान दिनु पर्ने बताए । स्थिरिकरण कोष सहकारीको लागि कोषेढुङ्गा बन्ने उनले बताए । उनले सरकार सहकारीप्रति सकारात्मक छ रहेको बताउँदै सहकारी अभियानमा सरकार साथमा रहेको धारणा राखे ।