अपि पावरले अपार्टमेन्ट पनि बनाउने, सभाले अनुमोदन गर्यो ४ कम्पनीमा लगानी गर्ने प्रस्ताव
काठमाडौं । अपि पावर कम्पनीको साधारण सभा आइतबार कार्तिक ११ गते सम्पन्न भएको छ । गौशालाको होटल क्रिष्टल पशुपतिमा आइतबार बसेको साधारणसभाले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन प्रस्तुत छलफल गर्दै पारित गरेको छ । वार्षिक प्रतिवेदनको छलफल गर्दा अपि पावर कम्पनीको संस्थापक अध्यक्ष देखि अहिलेका प्राविधिक विश्लेषण हेर्दै लगानी गरिरहेका सेयरधनीले भाग लिएका थिए । सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८०/०८१ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तिय विवरणहरुलाई सेयरधनीहरु सामु छलफल गर्दै पारित गरेको हो । सभाले विशेष प्रस्तावको रुपमा कम्पनीको आर्थिक वर्ष २०८०/०८१ सम्मको जगेडा कोष तथा सेयर प्रिमियमबाट प्राप्त मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको ०.२६३२ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै यस अगाडी घोषणा भएको ९.५१३५ प्रतिशत बाट बाँकी रहेको ४.२५०३ प्रतिशतले हुने रकम कम्पनीको जगेडा कोष कायम रहने पनि कम्पनीका अध्यक्ष सिर्जना खड्काले सभालाई जानकारी गराएकी थिइन् । यस बाहेक सभाले लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण पनि गरेको छ । सभामा अपि पावरले सहायक कम्पनी अपि इन्फ्रा लिमिटेड कम्पनीमा १०० प्रतिशत सेयर स्वामित्व रहने गरी लगानी गर्ने प्रस्ताव अगाडी सारेका थिए । उक्त कम्पनीले ललितपुरको झम्सिखेलमा अवस्थित ४३ इकाई सहितको ९ तल्ले आवासीय भवन बनाउन कार्य अगाडी बढाइसकेको छ । यस बाहेक अपि पावरको बहुमत सेयर स्वामित्व रहने गरी लटिनाथ पावर कम्पनी लिमिटेड कम्पनीमा लगानी गर्ने न्वागाड साना जलविद्युत आयोजना ९९.७ मेवा निर्माण गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ । तेस्तै ,अपि पावर कम्पनी लिमिटेडले सुदुर पश्चिम प्रदेशमा रहेको दार्चुला पावर कम्पनी लिमिटेड कम्पनीमा लगानी गरी मध्य चमेलिया जलविद्युत आयोजना ९२८.३ मेवा निर्माण गर्ने प्रस्ताव पनि सभाबाट अनुमोदन गराएको छ । यस बाहेक अपिको बहुमत लगानी रहेको सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड कम्पनीमा लगानी गरि माथिल्लो तादी खोला जलविद्युत आयोजना ९११ मेवा को निर्माण अन्तिम चरणमा रहेको र उक्त लगानी अनुमोदन गर्ने प्रस्ताव सभाले अनुमोदन गरिसकेको छ । सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिसकेको छ । तेस्तै,कम्पनीले सर्वसाधारण सेयरधनीबाट ३ जना संचालकमा मधुसुदन कोइराला, संजिव न्यौपाने र दुवारिका न्यौपाने नियुक्त भएका छन् भने महिला संचालकमा सिर्जना खड्का नियुक्त भएकी छिन् ।
यस्तो छ सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैँया २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैँया ८४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैँया ९१ पैसा र बिक्रीदर एक सय ४५ रुपैँया ५६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपैँया १० र बिक्रीदर एक सय ७४ रुपैँया ७८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५४ रुपैँया ८६ पैसा र बिक्रीदर एक सय ५५ रुपैँया ५५ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैँया ६५ पैसा र बिक्रीदर ८९ रुपैँया ५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैँया ६३ पैसा र बिक्रीदर ९७ रुपैँया ६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैँया ५९ पैसा र बिक्रीदर एक सय २ रुपैँया ४ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर आठ रुपैँया ८१ पैसा र बिक्रीदर आठ रुपैँया ८५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैँया ८५ पैसा र बिक्रीदर १८ रुपैँया ९४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैँया ७४ पैसा र बिक्रीदर ३५ रुपैँया ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैँया ८२ पैसा र बिक्रीदर ३६ रुपैँया ९८ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर तीन रुपैँया ९९ पैसा र बिक्रीदर चार रुपैँया, युएई दिराम एकको खरिददर ३६ रुपैँया ५५ पैसा र बिक्रीदर ३६ रुपैँया ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैँया ९३ पैसा र बिक्रीदर ३१ रुपैँया ७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर ९ रुपैँया ६७ पैसा र बिक्रीदर ९ रुपैँया ७१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैँया ६४ पैसा र बिक्रीदर १२ रुपैँया ६९ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैँया ४२ पैसा र बिक्रीदर १९ रुपैँया ५१ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैँया २८ पैसा र बिक्रीदर १७ रुपैँया ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैँया १२ पैसा र बिक्रीदर चार सय ४० रुपैँया ८ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपैँया ५ पैसा र बिक्रीदर तीन सय ५७ रुपैँया ६४ पैसा तथा भारतीय रुपैँया एक सयको खरिददर एक सय ६० रुपैँया र बिक्रीदर एक सय ६० रुपैँया १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
एनवाईईएफ स्टार्टअप अवार्ड्स ४. ० को आवेदन खुला, ४ लाख जित्ने मौका
काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरले चौथो संस्करण एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.० आयाेजनाको शुभारम्भ गरेकाे छ । यो प्रतियोगिता नेपालको नवप्रवर्तनशील उद्यमीहरूलाई चिनाउने र सशक्त पार्ने उद्देश्यले आयोजना गरिएको हो । स्टार्टअप अवार्ड्स ४.० उद्यमीहरूलाई आफ्नो व्यावसायिक विचारहरू प्रस्तुत गर्न, उद्योगका नेताहरूसँग नेटवर्क बनाउन र आफ्नो व्यवसायलाई नयाँ उचाइमा पुर्याउन मार्गदर्शन प्रदान गर्ने एक अद्वितीय प्लेटफर्म हो । विगतका संस्करणहरूमा विजेता बनेका डाक्टर्स अन कल, करोबार एप, गली म्याप्स, पेट मामा, र डेलिश डेरी जस्ता स्टार्टअपहरूले उल्लेखनीय सफलताहरू हासिल गरेका छन् । प्रतियोगिता एक संरचित छनोट प्रक्रियामा आधारित हुनेछ, जसमा प्रारम्भिक चरणमा २० आशाजनक स्टार्टअपहरूको छनोट गरिने आयाेजकले जनाएकाे छ । यी स्टार्टअपहरूले सघन मार्गदर्शन, विज्ञहरूको सत्र, र व्यवसाय विकासको सहयोग प्राप्त गर्नेछन् । प्रतियोगिताको अन्त्यमा डेमो डे हुनेछ, जहाँ सात जना फाइनलिस्टहरूले प्रतिष्ठित निर्णायकहरूको सामु आफ्नो व्यवसायिक विचारहरू प्रस्तुत गर्नेछन् । आवेदनहरू अहिले खुला रहेकाे र २०२४ नोभेम्बर १५ मा बन्द हुने जनाइएकाे छ । अवार्डमा सहभागी हुन चाहने स्टार्टअप कम्पनी नेपाल सरकारले तोकेको कार्यालयमा दर्ता भएको हुनुपर्नेछ । त्यस्तै, स्टार्टअप स्थापना भएर ५ वर्ष नकटेको हुनु पर्नेछ । अर्थात १ सेप्टेम्बर २०१८ भन्दापछि दर्ता भएका स्टार्टअप कम्पनीहरू मात्र अवार्डका लागि योग्य हुनेछन् । यति मात्र नभएर स्टार्टअपले प्रदान गरेको अथवा गर्न चाहेको वस्तु उत्पादन अथवा सेवा तयारी अवस्थामा हुनु पर्नेछ । आवेदन फारम भर्दा सहभागीले अङ्ग्रेजी अक्षरमा मात्र विवरण उल्लेख गर्नुपर्नेछ । यदि कुनै गलत सूचना राखेको पाइएमा तत्कालै आवेदन रद्द हुने एनवाईईएफले उल्लेख गरेको छ । यसबाहेक सहभागीले भनेको समयमा भनेको स्थानमा उपस्थित हुने प्रतिबद्धता समेत जनाउनु पर्नेछ । सहभागी स्टार्टअपहरूले केके लाभ पाउँछन् ? मार्गदर्शन: अनुभवी उद्यमी र उद्योगका विज्ञहरूको सघन मार्गदर्शन नेटवर्किङ: नेपालभरिका अन्य उद्यमीहरू, लगानीकर्ता र विशेषज्ञहरूसँग नेटवर्क बनाउने मौका व्यावसायिक विकास सहयोग: स्टार्टअपलाई सशक्त र व्यावसायिक उचाइमा पुर्याउन आवश्यक सहयोग नगद पुरस्कार: उत्कृष्ट प्रदर्शन गर्ने स्टार्टअपहरूले क्रमशः रु। ४,००,०००, २,००,०००, १,००,००० नगद पुरस्कार जित्ने अवसर पिचिङ अवसर: राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका निर्णायकहरूको सामु व्यवसायिक विचार प्रस्तुत गर्ने मौका यो अवार्डले उद्यमशीलतालाई प्रोत्साहन गर्दै नेपालमा नयाँ स्टार्टअपहरूको विकास र वृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । नेपाली युवा उद्यमी मञ्चले नेपाल उद्योग वाणिज्य महासङ्घबाट सन् २००३ मा आधिकारिक मान्यता पाएको थियो । मञ्चले नेपाली युवाहरूमा उद्यमशीलता विकास गर्न टक शो, मेन्टरशिप, मास्टर क्लासलगायतका कार्य गर्दै आएको छ । सन् २०१६ मा मञ्चको काठमाडौं च्याप्टर स्थापना भएको थियो ।