ग्लोबल आइएमई बैंकका ग्राहक दराजबाट १ रुपैयाँमा सामसुङ मोबाइल जित्न सक्ने

काठमाडाैं । ग्लोबल आइएमई बैंकले दराजबाट १ रुपैयाँमा सामसुङ ग्यालेक्सी एम ४ मोबाइल फोन जित्ने योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत बैंकका ग्राहकहरुले भिजा डेबिट/क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइन भुक्तानी गरी मात्र १ रुपैँया खर्च गरेर सामसुङ ग्यालेक्सी एम ४ मोबाइल फोन जित्न सक्नेछन् । बैंकले दराज नेपालसँग सहकार्य गरी सार्वजनिक गरेको यो योजना चैत्र ५ देखि ११ गते  सम्म ७ दिनका लागि मान्य रहने जनाएकाे छ । यस योजनाको अन्त्यमा, बैंकको डेबिट/क्रेडिट कार्डद्वारा दराजमा अनलाइनमार्फत १ रुपैयाँ भुक्तानी गर्ने र मोबाइल फोन खरिद गर्न चाहने कुल सहभागीहरूमध्ये १ जना भाग्यशाली विजेता छनोट गरिनेछ । छनोट भएका एक भाग्यशाली विजेताले १ रुपैयाँमै सामसुङ ग्यालेक्सी एम ४ मोबाइल फोन पाउनेछन् ।

ब्रोकरले शाखा विस्तार गर्दा प्रतिशाखा डेढ करोड दरले चुक्ता पुँजी कायम गर्नुपर्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्नेसम्बन्धी निर्देशिका, २०७९’ जारी गरेको छ । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कम्पनीको शाखा खोल्ने प्रक्रियालाई छिटो, छरितो र सहज बनाउन निर्देशिका जारी गरेको बोर्डले जनाएको छ । बिहीबारदेखि कार्यान्वयनमा आएको उक्त निर्देशिकाले ब्रोकर व्यवसायमा हुने वित्तीय जोखिमको न्यूनीकरण गर्ने बोर्डले अपेक्षा गरेको छ । अब ब्रोकर कम्पनीले शाखा विस्तार गर्दा प्रतिशाखा एक करोड ५० लाखका दरले चुक्ता पुँजी कायम गर्नुपर्ने छ भने मुख्य कार्यालय रहेको जिल्लामा शाखा कार्यालय खोल्ने स्वीकृती नदिने निर्देशिकामा उल्लेख छ । त्यस्तै, काठमाडौँ उपत्यका बाहिर कम्तीमा तीन शाखा खोलेपछि मात्र उपत्यकामा खोल्न पाइने व्यवस्था गरिएको छ । ब्रोकर कम्पनीले एक पटकमा एउटा मात्र शाखा खोल्नका लागि बोर्डमा निवेदन दिनुपर्नेछ । शाखा कार्यालय खोल्न अनुमति पाएको तीन महिनाभित्र कार्यालय सञ्चालनमा ल्याइसक्नुपर्नेछ । सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रचलित कानुनबमोजिम सजाय पाएका ब्रोकर कम्पनीले भने त्यस्तो सजाय पाएको एक वर्षसम्म शाखा बिस्तार गर्न पाउने छैनन । त्यस्तै, शाखा खोल्न स्वीकृति पाए पनि कार्यालय नखोली स्वीकृति रद्द भएमा रद्द भएको मितिले एक वर्षसम्म अर्को शाखा खोल्न नपाउने व्यवस्था गरिएको छ । धितोपत्रको प्राथमिक बजार देशका सबै जिल्लामा पुगिसकेकाले दोस्रो बजारको पहुँचलाई विस्तार गर्न आवश्यक देखिएकाले उक्त निर्देशिका लागू गरिएको बोर्डले जनाएको छ । हाल धितोपत्र बोर्डबाट ५० कम्पनीले ब्रोकरका रुपमा लाइसेन्स लिएका छन् । रासस ।

‘सहकारीमा टाठाबाठाले मात्रै लाभांश पाए, राजनितिज्ञले संस्था चलाउँदा समस्या आयो’

काठमाडौं । सहकारी विभागमा उपरजिष्ट्रार टोलराज उपाध्यायले सहकारीमा टाठाबाठाले मात्रै लाभांश पाउने अभ्यास रहेको बताएका छन् । सहकारी विभाग र नेपाल सहकारी पत्रकार समाजको संयुक्त आयोजनामा सञ्चालित कार्यक्रममा आफ्नो प्रस्तुती राख्दै उनले सहकारी संस्थाहरुले वितरण गर्ने लाभांश टाठाबाठाले मात्रै पाउने बताएका हुन् । उनले सेयर सदस्य भएपनि पहुँच नभएकाहरुले भने नपाउने धारणा राखे । शनिबार सहकारीको सुशासन, नियमन र प्रवर्द्धनको विषयमा पस्तुति राख्दै उनले राजनीतिक मान्छेले नै सहकारी संस्था चलाउँदा समस्या आएको बताए । उनका अनुसार सहकारीमा स्वनियमनको विषय ल्याउँदा पनि नै समस्या आएको हो । यस्तै, उपरजिष्ट्रार उपाध्यायले संविधानमा उल्लेख सहकारीका विषयलाई जानकारी गराउँदै अब विभाग सधैंभरी बतासे तथ्यांक लिएर अगाडि नबढ्ने बताए । ‘अहिले सहकारीको संख्या र संस्थाको हरेक सूचकको विषयमा यकिन तथ्यांक कसैलाई थाहा छैन, अब हामी तथ्यांक बनाउँछौं, त्यसमा लागि स्थानीय तहहरुसँग समन्वय गर्छौं’ उनले भने । २०७५ मा संघीय सरकारले तयार पारेको सुचना प्रणाली (कोपोमिस)मा संघ संस्था आवद्ध हुनु पर्ने अनिवार्य गरेको गरेको बताउँदै उनले कोपोमिसमा आवद्ध हुन २९ हजारले पासवर्ड लिएको र १७ हजार संस्थाले एक पटक लगइन गरेको जानकारी गराए । यस्तै, उनले स्थानीय अर्थतन्त्रमा रहेको योगदान र यो क्षेत्रको गुणस्तरको विषयमा पनि समीक्षा गर्नु पर्ने, तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको र सबैको बुझाइमा एकरुपता ल्याउनु पर्ने धारणा राखे । शुक्रबारदेखि सुरु भएको सहकारी पत्रकारिता तालिम शनिबार सकिएको छ । तालिममा पाँच जना प्रशिक्षकले प्रशिक्षण दिएका थिए।