आइएमईको ‘७ मा ७’ अफर, बैशाखभर लागू हुने

काठमाडौं । आइएमईले नयाँ वर्ष २०८० को अवसरमा ‘७ मा ७ तपाईंको मेहनतमा हाम्रो साथ’ भन्ने मूल नाराको साथ नयाँ योजना सार्वजनिक गरेको छ । विदेशबाट नेपाल पैसा पठाउँदा प्रत्येक हप्ता, प्रत्येक प्रदेशबाट १ जनाका दरले सात प्रदेशका ७ जना गरि ४ हप्ताका कुल २८ भाग्यशाली विजेताहरुलाई उपहार स्वरुप जनही नगद ७ हजार रुपैयाँ प्रदान गरिने छ । उक्त योजना २०८० बैशाख १ गते देखि ३१ गतेसम्मका लागि सञ्चालन हुनेछ । विदेशमा रहेका नेपालीले आइएमई वा आइएमईका साझेदारहरु मार्फत पठाएको रकम आइएमई पे, बैंक डिपोजिट तथा आइएमई एजेन्टहरूबाट प्राप्त गरि यस योजनामा सहभागी हुन सक्नेछन् । योजना अवधिभर ७ प्रदेशबाट २८ जना भाग्यशाली विजेताहरूको घोषणा सिस्टममा आधारित लक्की ड्र मार्फत गरिनेछ ।

मर्ज हुँदै आशा र राष्ट्र उत्थान लघुवित्त, गरे प्रारम्भिक सम्झौता

काठमाडौं । आशा लघुवित्त र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज हुने भएका छन् । जसको लागि उनीहरुले चैत २९ गते साझ प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । यससँगै दुई कम्पनीले मर्जर प्रकृया अघि बढाएका छन् । हाल आशा लघुवित्तको ३८ करोड १६ लाख रुपैयाँ र राष्ट्र उत्थानको २६ करोड रुपैयाँ चुक्ता पुँजी छ । यदि दुई संस्था एक बराबर एकको अनुपातमा मर्ज भएमा चुक्ता पुँजी ६४ करोड १६ लाख रुपैयाँ नाघ्ने छ । आशा लघुवित्तको केन्द्रिय कार्यालय नुवाकोटको मदानपुरमा रहेको छ भने राष्ट्र उत्थानको केन्द्रिय कार्यालय कार्भेपलाञ्चोकको बनेपामा रहेको छ ।

कमोडिटी मार्केट सञ्चालनको लागि बोर्डले पुनः माग्यो आवेदन, १० दिनभित्र दिइसक्नु पर्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले वस्तु विनिमय बजार (कमोडिटी मार्केट) सञ्चालनको लागि पुनः आवेदन मागेको छ । यसअघि खुलाएको आवेदनमा सर्वोच्च अदालतमा रिट परेको र उक्त रिट खारेजी भएसँगै बोर्डले इच्छुक संस्थासमक्ष पुनः आवेदन माग गरेको हो । बोर्डले २०७९ चैत ३० गते एक सूचना जारी गर्दै आगामी १० दिनभित्र निवेदन पेश गर्न आग्रह गरेको छ । साविकको सूचना बमोजिम तोकिएको म्यादमध्ये बाँकी रहेको म्याद अनुसार उक्त १० दिनको मिति तोकिएको बोर्डले जानकारी गराएको छ । यदि निवेदन दिने अन्तिम दिन सार्वजनिक बिदा परेमा इच्छुकले सोको लगत्तै कार्यालय खुलेको दिन कार्यालय समय भित्र निवेदन बुझाउन सक्नेछन् । बोर्डले २०७९ असोज २ गते एक सूचना जारी गर्दै धितोपत्र बजार सञ्चालनका लागि संगठित संस्था स्थापना गर्ने सिफारिसका लागि एवं कमोडिटी मार्केट सञ्चालन गर्न इच्छुक संस्थालाई निवेदन माग गरेको थियो । जसको समयावधि ४५ दिन तोकिएको थियो । तर सर्वोच्च अदालतबाट २०७९ कार्त्तिक ४ गते जारी भएको अल्पकालिन अन्तरिम आदेश अनुरुप बोर्डबाट अर्को निर्णय नहुँदासम्मका लागि उक्त निवेदन प्रकृया स्थागित भएको थियो । यससँगै अदालतले गत चैत २६ गते रिट खारेजी भएको फैसला गरेसँगै बोर्डले उक्त प्रकृयालाई पुनः अघि बढाउने निर्णय गरेको हो । जसअनुसार नै १० दिनको म्याद तोकिएको सूचनामा उल्लेख छ । ।