सिभिल लघुवित्तले हिमालयन लघुवित्तको नामबाट कारोबार गर्ने
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको नाम परिवर्तन भएको छ । लघुवित्तको नाम परिवर्तन भएर हिमालयन लघुवित्त वित्तीय संस्थाको नाम राखिएको हो । यससँगै अब लघुवित्त संस्थाले हिमालयन लघुवित्तको नामबाट आफ्नो कारोबार सञ्चालन गर्नेछ । सिभिल लघुवित्तको माउ संस्था साविक सिभिल बैंक हिमालयन बैंकमा गाभिएपछि लघुवित्तको नाम परिवर्तन गरी हिमालयन लघुवित्त राखिएको लघुवित्तले जनाएको छ । लघुवित्तको १२ वार्षिकोत्सवको अवसर पारेर बिहीबार असार २१ गते नाम परिर्वतन गरिएको लघुवित्तले जनाएको छ । लघुवित्त असार २१ गतदेखि ११ औं वर्ष पुरा गरी १२ औं वर्षमा प्रवेश गरेको हो । वार्षिकोत्सव अवसरमा लघुवित्तले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्थानमा विविध कार्यक्रमहरु सञ्चालन गरेको जनाएको छ ।
कामना सेवा विकास बैंकले विद्यालयलाई दियाे डस्टबिन
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले विद्यालयलाई डस्टबिन हस्तान्तरण गरेको छ । बैंकले संस्थागत उत्तरदायित्व अन्तर्गत विद्यालयलाई डस्टविन उपलब्ध गराएको बताएको छ । बैंकले आफ्नो शाखा कार्यालय पद्सरिमार्फत रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ मा रहेको बृहस्पति माध्यामिक विद्यालयलाई डस्टबिन दिएको हो । बैंकका शाखा प्रमुख रोश्नी घिमिरेले विद्यालयका प्रधानाध्यापक युवराज उपाध्यायलाई डस्टबिन हस्तान्तरण गरेका थिए । कार्यक्रममा विद्यालयकातर्फबाट विद्यार्थी तथा शिक्षकहरु र बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
सुनचाँदी कारोबार सम्बन्धी निर्देशिका परिमार्जन गर्न सरकार तयार
काठमाडौं । सरकारले सुनचाँदी कारोबार सम्बन्धी निर्देशिका परिमार्जन गर्ने प्रतिवद्धता जनाएको छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले निर्देशिका परिमार्जन गर्ने बताएका हुन् । समितिको बैठक मंगलबार सिंहदरबारमा बसेको थियो । सुनचाँदी कारोबार सम्बन्धी निर्देशिकालाई समयसापेक्ष र ब्यवहारिक बनाउन त्यसलाई परिमार्जन गर्ने कार्य सुरू भैसकेको मरासिनीले बताए । अञ्चल संरचनामा रहेको निर्देशिकालाई प्रदेश संरचनामा लैजाँदै अन्य आवश्यक ब्यवस्थाहरुमा समेत परिमार्जन गर्न लागिएको मरासिनीले समितिको बैठकमा बताएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले आगामी आर्थिक बर्षको बजेटले सुनचाँदी ब्यवसायमा पारेको प्रभावका बारेमा समितिलाई जानकारी गराएका थिए । सुनको आयातमा लाग्ने भन्सारमा एकै पटक ५० प्रतिशत वृद्धि गरिएको, सुनको आयातलाई बर्षौं देखि कोटा प्रणालीमा सीमित गरी प्रतिष्पर्धी बजारलाई खुम्च्याइएको, सुनचाँदीलाई विलासिताको वस्तुको सूचिमा राखेर २ प्रतिशत विलासिता कर लाग्ने ब्यवस्था गरिएको जस्ता समस्या सुनाएका थिए । सरकाले आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट वक्तव्यमार्फत सुनचाँदीको क्षेत्रमा लाग्दै आएको करमा ५० प्रतिशत वृद्धि गरेको थियो । महासंघ अध्यक्ष शाक्यले बजेटले सुनचाँदी सम्बन्धी गरेको नयाँ व्यवस्थाप्रति असन्तुष्टी जनाउँदै बजेट नियन्त्रणमुखी र विभेदकारी भएको टिप्पणी गरेका थिए । नेपालमा भन्दा अन्य देशमा सुन प्रतितोला१५ हजार भन्दा कम मूल्यमा पाइने अवस्था भएको उनले बताए । १५ प्रतिशतको भन्सार दर घटाएर १२ देखि १३ प्रतिशतसम्ममा ल्याउनुपर्ने र तयारी गहनाहरु विदेशबाट ल्याउन पाउने व्यवस्थाले नेपालका २५ हजारभन्दा बढी व्यवसायीहरुको व्यवसायमा कच्चा पदार्थको कमी हुने शाक्यको भनाई थियो । बैठकमा सचिव मरासिनीले सुन, चाँदी विलाशिताको बस्तु भएकाले सरकारले कर बढाएको प्रस्टोक्ति व्यवसायीहरुलाई दिएका थिए ।