मातृभूमि लघुवित्तको छैठौं वार्षिक साधारण सभा सम्पन्न, नयाँ सञ्चालक समिति चयन

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले छैठौं वार्षिक साधारण सभा वैशाख २ गते सम्पन्न गरेको छ । सभाले संस्थापक र सर्वसाधारण समूहतर्फका नयाँ सञ्चालकहरू निर्वाचित गरेको छ । नेपाल राष्ट्र बैंकबाट 'घ' वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय कार्यक्षेत्र भएको यस लघुवित्त संस्थाको सञ्चालक समितिमा संस्थापक समूहबाट शम्भु प्रसाद घिमिरे, बिमला योगी, इन्द्र कुमार शाह र खडानन्द सापकोटा निर्वाचित भएका छन् । त्यस्तै, सर्वसाधारण समूहतर्फबाट भरत बहादुर हमाल र विनोद आचार्य सञ्चालकमा निर्वाचित भएका छन् । लघुवित्तले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा पठाएको सूचना अनुसार नवनिर्वाचित सञ्चालकहरूको नाम र ठेगाना सार्वजनिक गर्दै निर्वाचन प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको जनाएको छ । यससँगै नयाँ सञ्चालक समितिले मातृभूमि लघुवित्तको भावी रणनीति र संस्थागत सुदृढीकरणमा योगदान पुर्‍याउने विश्वास गरिएको छ।

गोरखा गार्डन होटलमा प्रभु बैंकका ग्राहकलाई १५ प्रतिशत छुट

पोखरा । प्रभु बैंक लिमिटेड र गोरखा गार्डन होटलबीच छुटसम्बन्धी साझेदारी सम्झौता भएको छ । गोरखा नगरपालिका–६, अर्घलेस्थित गोरखा गार्डन होटलमा प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले १५ प्रतिशत छुट पाउने भएका छन् । मंगलबार भएको कार्यक्रममा प्रभु बैंकका गण्डकी प्रदेश प्रमुख राजु राना र गोरखा गार्डन होटलका अध्यक्ष सुरेन्द्र कुँवरले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार बैंकका ग्राहकहरूले डेबिट र क्रेडिट कार्ड वा अन्य विद्युतीय माध्यमबाट भुक्तानी गर्दा गोरखा गार्डन होटलमा उपलब्ध आवास, खाना तथा मनोरञ्जन सेवामा छुट प्राप्त गर्नेछन् । आरामदायी बसाइ, पारिवारिक वातावरण र उत्कृष्ट आतिथ्य सेवाका लागि परिचित गोरखा गार्डन होटलसँगको यो सहकार्यले गोरखाको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने र बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

सगरमाथा आरोहणअघि पर्वतारोही शेर्पालाई लुम्बिनी विकास बैंकद्वारा ब्यानर हस्तान्तरण

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले किर्तिमानी पर्वतारोही कामी रिता शेर्पालाई सफल सगरमाथा आरोहणको शुभकामना दिँदै बैंकको लोगो अंकित ब्यानर हस्तान्तरण गरेको छ। सगरमाथाको ३१औं सफल आरोहणको तयारीमा रहेका शेर्पालाई बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले विशेष कार्यक्रमका बीच ब्यानर हस्तान्तरण गरेका हुन् । कामी रिता शेर्पाले यसअघि २ पटक सगरमाथाको चुचुरोमा लुम्बिनी विकास बैंकको लोगो अंकित ब्यानर पुर्‍याइसकेका छन् । शेर्पा बैंकसँग दुई दशकभन्दा लामो समयदेखि 'निरन्तर सहयात्रा' गर्दै आएका ग्राहक हुन् । उनले यो किर्तिमानी आरोहण आफ्नो मात्र नभई सम्पूर्ण शेर्पा समाज र नेपालको गौरवको रूपमा रहेको बताए । बैंकले कामी रिता शेर्पाको साहसिक कार्यले संस्था मात्र होइन, देशको प्रतिष्ठा समेत उच्च बनाउने विश्वास व्यक्त गरेको छ ।