सालपा विकास बैंक र एससीटीबीच युपीआइ कार्ड जारी गर्न सम्झौता

काठमाडौं । स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) र सालपा विकास बैंक लिमिटेडबीच एससीटी युपीआइ कार्ड जारी गर्न सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार अब सालपा विकास बैंकका ग्राहकहरूले एससीटी युपीआइ कार्ड सजिलै पाउने छन् । जसले डिजिटल भुक्तानी प्रणालीलाई थप सहज र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। स्मार्ट च्वाईस टेक्नोलोजिजको कार्यालयमा आयोजित एक कार्यक्रममार्फत एससीटीका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र सालपा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत योगेन्द्र पुनले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात बैंकले ग्राहकका लागि कार्ड वितरण प्रक्रिया सुरु गरिसकेको छ । यसले ग्रामीणदेखि शहरी क्षेत्रसम्म डिजिटल भुक्तानी पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

१० मेगावाट सौर्य परियोजना : सूचीकरण प्रक्रिया अघि बढाउँदै अर्गा भगवती

काठमाडौं । अर्गा भगवती भेन्चर्स र कुमारी क्यापिटल लिमिटेडबीच एक महत्वपूर्ण सहकार्य सम्झौता सम्पन्न भएको छ । जसअन्तर्गत अर्गा भगवतीको १० मेगावाटको नविकरणीय सौर्य ऊर्जा परियोजनालाई पूँजी बजारमा सूचीकरण गर्न आवश्यक सम्पूर्ण प्रक्रियाको परामर्श तथा व्यवस्थापन कुमारी क्यापिटलले वे टु लिस्टिङ कार्यक्रम अन्तर्गत प्रदान गर्नेछ । उक्त सम्झौता अनुसार कम्पनी कनभर्जनदेखि लिएर सार्वजनिक निष्कासन, नियामक निकायहरूसँगको समन्वय लगायतका सम्पूर्ण कार्यहरू कुमारी क्यापिटलले जिम्मा लिनेछ । अर्गा भगवतीले अर्घाखाँची जिल्लामा निर्माणाधीन १० मेगावाटको सौर्य परियोजना छोटो समयमा सम्पन्न गरी उत्पादनलाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने लक्ष्य लिएको जनाएको छ । कम्पनीले वातावरणीय शुद्धता र ऊर्जा आत्मनिर्भरता सँगसँगै आर्थिक समृद्धिमा योगदान पुर्‍याउने दाबी गरेको छ । यसअघि कम्पनीले प्राइम कमर्सियल बैंक लिमिटेडमार्फत वित्तीय व्यवस्थापन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । सहकार्य सम्झौतामा अर्गा भगवती भेन्चर्सका अध्यक्ष कुशल थापा र कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्मा बीच हस्ताक्षर भएको हो ।