सिटिजन्स बैंकका ग्राहकलाई डाएमण्ड हिल रिर्सोटमा १५ प्रतिशत छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काभ्रेको पनौतीस्थित डाएमण्ड हिल रिर्सोटबीच विशेष छुटसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । यस समझदारीपछि बैंकका कार्डबाहक, प्रिभिलेज कार्डबाहक तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले रिर्सोट सेवामा १५ प्रतिशत छुट प्राप्त गर्नेछन् । यस सहकार्यमार्फत नगद कारोबारको सट्टा डिजिटल भुक्तानी प्रणालीको प्रयोग बढाउने र ग्राहकलाई डिजिटल सेवा प्रयोग गर्न थप प्रोत्साहन दिने लक्ष्य लिइएको बैंकले जनाएको छ । सिटिजन्स बैंकले समय–समयमा यस्ता ग्राहकहित केन्द्रित सुविधाहरू ल्याउँदै डिजिटल बैंकिङ प्रवर्द्धन गरिरहेको छ । छुट सम्बन्धी विस्तृत जानकारी बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध छ ।

सहकारी अपचलनसँग सम्बन्धित चलचित्र ‘महाभोज’ प्रदर्शन हुँदै

काठमाडौं । सहकारी अपचलनसम्बन्धी कथामा आधारित चलचित्र ‘महाभोज’ यही जेठ ३० गतेदेखि देशभर प्रदर्शन हुनेभएको छ । निर्देशक दिनेस राउतका अनुसार यसअघि यही जेठ १५ गते प्रदर्शन गर्ने निर्णयसहित प्रचारप्रसार भए पनि सहकारीसम्बद्ध सङ्घ/संस्था र पीडितको नाममा सहर कन्द्रित विरोध कार्यक्रम हुन थालेपछि रोकिएको सो चलचित्र जेठ ३० गते प्रदर्शन हुने भएको हो । सहकारी पीडितको आन्दोलनका कारण मुलुकमा असहज परिस्थिति सिर्जना भइरहेको अवस्थामा सोही विषयमा निर्माण गरिएको चलचित्र प्रदर्शन गर्दा थप समस्या आउन सक्ने विश्लेषणसहित निर्माण समूह, वितरक र प्रदर्शकसँगको छलफलपछि नयाँ मिति तय गरिएको चलचित्रका निर्देशक राउतले स्पष्ट गरे ।     'देशको बदलिदो अवस्थाका कारण केही दिनलाई प्रदर्शन रोक्दै नयाँ मिति घोषणा गरेका हौँ । चलचित्र हेर्न आउने दर्शकको सुरक्षालाई ख्याल गरी उक्त कदम उठाउन बाध्य भएका थियौँ । यद्यपि पछिल्लो केही दिनको अवस्था हेरेपछि हामी चलचित्र प्रदर्शन गर्न सक्ने अवस्थामा छौँ, महाभोज चलचित्र यही जेठ ३० गतेदेखि प्रदर्शन हन्छ', उनले भने ।    सो चलचित्रमा अभिनेता दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल, मोहन निरौलालगायतका कलाकारले अभिनय गरेका छन् । सहकारीको नाममा ठगिएका सर्वसाधारणको पीडा, राजनीतिक पहुँचको आडमा गरिएको दुरुपयोग र सामाजिक असमानताका विषयवस्तुलाई सशक्त रूपमा उठाइएको चलचित्रको कथा विकास सुवेदीले लेखेका हुन् । उक्त चलचित्रलाई ‘क्लकवर्क क्रियसन’ र ‘पिक्चर फ्रेम’ ले संयुक्त रूपमा निर्माण गरेको हो । रासस