आइएमई लिमिटेडको २५औँ वार्षिक साधारण सभा सम्पन्न, वार्षिक प्रतिवेदन पारित
काठमाडौं । आइएमई लिमिटेडले मंगलबार काठमाडौंमा २५औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीका संस्थापक तथा अध्यक्ष हेमराज ढकालको अध्यक्षतामा सम्पन्न सभाले अध्यक्ष ढकालद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ । सभामा अध्यक्ष ढकालले रेमिट्यान्स सेवा क्षेत्रमा अग्रणी कम्पनीको रूपमा आइएमई लिमिटेड सर्वाधिक लोकप्रिय ब्रान्डका रूपमा स्थापित भएकोमा सम्बद्ध सबैमा धन्यवाद व्यक्त गरे । उनले कम्पनीले २५ वर्षको यात्रामा व्यावसायिक दायरा विस्तार गर्दै नयाँ प्रविधि र रणनीतिका साथ आगामी दिनमा अझ प्रभावकारी रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । ढकालका अनुसार आइएमईले प्रविधिको अधिकतम उपयोग गर्दै रेमिट्यान्स सेवाको विस्तार र विविधीकरणमार्फत कम्पनीलाई ‘पूर्ण वित्तीय समाधान प्रदायक संस्था’को रूपमा विकास गर्ने नीति लिएको छ । त्यस्तै, आइएमईका संस्थापक अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले आइएमई लिमिटेडले २५ वर्षमा परिपक्वता हासिल गर्दै नागरिकको जीवनस्तर सुधार र उद्यमशीलता विकासमा उल्लेखनीय योगदान दिएको बताए । उनले आइएमई आज देशकै सर्वाधिक विश्वसनीय ब्रान्डका रूपमा स्थापित हुनु गौरवको विषय भएको टिप्पणी गरे । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले वित्तीय प्रविधिको अधिकतम उपयोग गर्दै रेमिट्यान्स सेवा अझ सरल, सहज र सुरक्षित बनाउने योजना रहेको जानकारी दिए । साथै, उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा आइएमईको पहिचानलाई अझ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे ।
सिटिजन्स बैंक र एकता बुक्सबीच सहकार्य, ग्राहकलाई १५ प्रतिशतसम्म छुट
काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एकता बुक्सबीच बैंकका ग्राहकलाई छुट प्रदान गर्ने समझदारी भएको छ । बैंक र काठमाडौंको थापाथलीस्थित एकता बुक्सबीच सो समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारी अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले एकता बुक्सका थापाथली, मानभवन, पोखरा र इटहरीस्थित आउटलेटहरूमा १५ प्रतिशतसम्म छुट पाउनेछन् । बैंकले यस किसिमको सहकार्यबाट ग्राहकहरू लाभान्वित हुने र नगद कारोबारबाट डिजिटल कारोबारतर्फ प्रोत्साहित हुने विश्वास व्यक्त गरेको छ । सिटिजन्स बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोग बढाउन र ग्राहकलाई डिजिटल भुक्तानी गर्न उत्प्रेरित गर्न समय–समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालन गर्दै आएको जनाएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरण सिटिजन्स बैंकको वेबसाइटमा उपलब्ध हुने बैंकले जनाएको छ ।
गुराँस लघुवित्तको अध्यक्षमा उदयनारायण बराल नियुक्त
काठमाडौं । गराँस लघुवित्त वित्तिय संस्थाको अध्यक्षमा उदयनारायण बराल नियुक्त भएका छन् । संस्थाको कात्तिक २३ गते बसेको बैठकले सञ्चालक समितिको अध्यक्षमा बराललाई नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनी सचिव भेष बहादुर बस्नेतका अनुसार रिक्त रहेको सञ्चालक समितिको अध्यक्ष पदमा बराललाई सर्वसम्मतीले छनोट गरिएको छ । विराटनगर निवासी उदयनारायण बरालले स्नातकोत्तर (एमए) तहसम्म अध्ययन गरेका छन् । उनीसँग सहकारी क्षेत्रको व्यवस्थापन तथा नेतृत्वमा करीब २७ वर्षको अनुभव रहेको छ । बराल यसअघि त्रिशक्ति सप्लायर्सका प्रोप्राइटर, गुराँस हर्बास्यूटिकल्सका अध्यक्ष तथा लायन्स क्लब अफ विराटनगरका अध्यक्षका रूपमा समेत काम गरिसकेका छन् ।