कामना सेवा विकासले दृष्टीविहीनलाई प्रदान गर्‍यो वित्तीय साक्षरता

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले सर्वोदय परियोजना, समावेशी अक्षर र अनुसन्धानसँगको सहकार्यमा दृष्टिविहीन व्यक्तिहरूलाई लक्षित गर्दै विशेष वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । शनिबार काठमाडौंका विभिन्न स्थानमा रहेका ४० जना भन्दा बढी दृष्टिविहीन सहभागी रहेको कार्यक्रममा बचतको महत्व, बजेट निर्माण, आर्थिक अनुशासन, डिजिटल कारोबार तथा साइबर सुरक्षा जस्ता विषयमा जानकारी दिइएको थियो । कार्यक्रमको नेतृत्व बैंकका ब्राण्डिङ तथा सीएसआर विभाग प्रमुख सुशिल पौडेलले गरेका थिए । कार्यक्रममा सहभागी दृष्टिविहीन कृष्ण खत्री अविरलले वित्तीय जानकारीको अभावमा विगतमा बैंकिङ सेवाबाट वञ्चित हुनुपरेको अनुभव सुनाउँदै अब भने आफैँ बैंकिङ सेवा प्रयोग गर्ने आत्मविश्वास जागेको बताए। अर्का सहभागी बिक्रम पथरियाले सानो बचतले ठूलो सम्भावना बोकेको अनुभूति भएको बताए । सर्वोदय परियोजनाका सौगात वाग्ले, जो स्वयं दृष्टिविहीन छन्,ले मोबाइल बैंकिङ, एटीएम कार्ड लगायतका सेवाहरू दृष्टिविहीनहरूले पनि समान रूपले उपयोग गर्न पाएकोमा कामना सेवा विकास बैंकलाई धन्यवाद दिएका थिए । कामना सेवा विकास बैंकले दृष्टिविहीन व्यक्तिहरूलाई लक्षित गर्दै ‘स्वाभिमान बचत खाता’ सञ्चालनमा ल्याएको छ । यो खातामार्फत दृष्टिविहीन ग्राहकले अतिरिक्त कागजात वा साक्षीको आवश्यकता बिना नै खाता खोल्न सक्ने छन् । साथै, खातासम्बन्धी जानकारी ब्रेल लिपीमा उपलब्ध गराउने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स २४ औं वर्षमा प्रवेश, रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेड २३ वर्ष पूरा गरी २४ औं वर्षमा प्रवेश गरेको छ। संस्थाले आफ्नो २३ औं वार्षिकोत्सवका अवसरमा श्री अपाङ्ग सेवा संघ, बुंगमतीलाई खाद्यान्न सहयोग निरन्तरता दिने गरी सम्झौता नवीकरण गरेको छ। यस संस्थालाई सात वर्षदेखि वार्षिक रूपमा खाद्यान्न सामग्री प्रदान गर्दै आएको गुहेश्वरी फाइनान्सले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ । त्यसैगरी, नेपाल रेडक्रस सोसाइटी ललितपुर रक्त सञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा एकदिने रक्तदान कार्यक्रम पनि सम्पन्न गरिएको छ । संस्थाले विगत वर्षदेखि वित्तीय साक्षरताको प्रवर्द्धन तथा सामाजिक उत्तरदायित्वका गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएको छ र आगामी दिनहरूमा पनि यस्ता कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ । हाल गुहेश्वरी फाइनान्सले मुलुकभर २३ वटा शाखा कार्यालय र ४ वटा विस्तारित काउन्टरहरूमार्फत सेवा दिँदै आएको छ । साथै, सेवा, मोबाइल बैंकिङ, डिम्याट खाता, कस्टोडियन तथा लकर सेवा लगायतका आधुनिक बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ । वार्षिकोत्सवको अवसरमा संस्थाले ग्राहक, सेयरधनी, शुभचिन्तक तथा नेपाल राष्ट्र बैंकलगायत सम्बन्धित नियमनकारी निकायहरूप्रति हार्दिक आभार प्रकट गर्दै आगामी दिनमा अझ सुदृढ, सरल, विश्वसनीय र गुणस्तरीय सेवा प्रदान गर्ने दृढता व्यक्त गरेको छ ।