नेपाल एसबिआई बैंकका अध्यक्ष वेंकट वंसीधर कुंचाले लिए शपथ
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा वेंकट वंसीधर कुंचा चयन भएका छन् । बैंक सञ्चालक समितिको कात्तिक १४ गते बसेको बैठकले स्टेट बैंक अफ इण्डियाको तर्फबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक वेंकट वंसीधर कुंचालाई सर्वसम्मतिले बैंकको नयाँ सञ्चालक समिति अध्यक्ष चयन गरेको हो । नवनियुक्त अध्यक्ष वेंकट वंसीधर कुंचालाई नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलले आइतबार केन्द्रीय कार्यालय, बालुवाटारमा आयोजित समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गराए । अध्यक्ष कुंचा हाल भारतको मुम्बईस्थित स्टेट बैंक अफ इण्डिया (एसबीआई) को प्रधान कार्यालयअन्तर्गत अन्तर्राष्ट्रिय बैंकिङ समूहमा मुख्य महाप्रबन्धकको जिम्मेवारी सम्हालिरहेका छन् । उनले एसबीआईको २९ देशमा फैलिएको अन्तर्राष्ट्रिय व्यवसाय तथा कूटनीतिक वित्तीय सम्बन्धहरू सम्हाल्ने महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर डा. नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्र, कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, कार्यवाहक कार्यकारी निर्देशक राजन विक्रम थापा, निर्देशकहरू राजेन्द्र भट्टराई, ईश्वरी प्रसाद भट्टराई तथा शरणकुमार अधिकारी उपस्थित थिए । त्यसैगरी, नेपाल एसबिआई बैंकतर्फबाट सञ्चालक रितेश सिन्हा, भरतराज वस्ती, अप्सरा उप्रेती, डा. गोपाल प्रसाद भट्ट, प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेशकुमार पण्डा र कम्पनी सचिव खगेश्वर भट्टलगायतको उपस्थिति रहेको थियो ।
सेयर बजारमा ९ अर्बको कारोबार, ६ कम्पनीको मूल्यमा सकारात्मक सर्किट
काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३० अंकले बढेर २६३१ बिन्दुमा पुगेको छ । नेप्सेका अनुसार २०५ कम्पनीको सेयर मूल्य बढ्दा ४२ कम्पनीको मूल्य घटेको छ । ३ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आइतबार ३१९ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा ९ अर्ब २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन बैंकको भएको छ । हिमालयन बैंकको १ अर्ब ६६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, युनियन हाइड्रोपावरको ३४ करोड, बुटवल पावर कम्पनीको २५ करोड, राधी विद्युत कम्पनीको २४ करोड र एनआरएन इन्फ्राइस्ट्रक्चरको २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज ६ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सामुदायिक लघुवित्त, गुराँस फाइनान्स, पञ्चकन्या माइ हाइड्रो, पिपुल्स पावर, तेरथुम पावर कम्पनी र गुहेश्वरी मर्चेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ । खानीखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य सबैभन्दा बढी ४.७६ प्रतिशतले घटेको छ । आइतबार व्यापार उपसमूह बाहेक अरु सबै उपसमूहका सूचक बढेका छन् । बैंकिङ ०.२९, डेभलपमेन्ट बैंक ०.९०, फाइनान्स ५.१७, होटल तथा पर्यटन १.२०, हाइड्रोपावर १.१८, लगानी ०.८०, लाइफ इन्स्योरेन्स ४.३५, प्रशोधन तथा उत्पादन ०.९६, माइक्रोफाइनान्स १.३८, म्युचल फण्ड ०.१०, नन लाइफ इन्स्योरेन्स १.३३ र अन्यको १.२३ प्रतिशतले बढेका छन् । व्यापर समूह भने १.१० प्रतिशतले घटेको छ ।
नेशनल लाइफले गण्डकी प्रदेशका २२० अभिकर्तालाई गर्यो सम्मान
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पोखरास्थित होटल वाटरफ्रन्टमा सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश प्रसाद खत्रीको सभापतित्वमा आयोजना गरिएको थियो । आर्थिक वर्ष २०८१/८२ मा गण्डकी प्रदेशबाट बीमाशुल्क संकलन गरी योग्य ठहरिएका २२० जना अभिकर्ता, विभागीय प्रमुख, प्रदेश प्रमुख तथा शाखा प्रमुखहरूलाई सम्मान गरिएको कम्पनीले जनाएको छ । सीईओ खत्रीले पानसमा दीप प्रज्वलन गर्दै कार्यक्रम उद्घाटन गरेका थिए । कार्यक्रममा गण्डकी प्रदेशबाट सीईओ क्लब सदस्यमा चयन भएका अभिकर्तालाई सदस्यता प्रमाणपत्र वितरण तथा विशेष सम्मान गरिएको थियो । साथै, आफ्नै कोड र संजालमा क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने अभिकर्ताहरूलाई पुरस्कार प्रदान गरियो । सो अवसरमा गण्डकी प्रदेशबाट ‘नेशनल रत्न’ तथा ‘नेशनल स्टार’ उपाधि प्राप्त अभिकर्ताहरूलाई नेशनल लाइफ लोगो अंकित चाँदीको मेडल, प्रमाणपत्र र खादासहित सम्मान गरिएको थियो । प्रमुख कार्यकारी अधिकृत खत्रीले भने, 'सीईओ क्लब र नेशनल अवार्ड योजना अन्तर्गत प्रदेश-प्रदेशमा सम्मान कार्यक्रम गर्दै जाने कम्पनीको योजना हो । गण्डकी प्रदेशबाट शुरुवात गरिएको यो कार्यक्रम अब अन्य प्रदेशहरूमा निरन्तर सञ्चालन गरिनेछ ।' उनले थपे, 'कम्पनीले अभिकर्तामैत्री योजना ल्याउने क्रममा ‘सीईओ क्लब सदस्यता योजना’ सुरु गरिएको हो र यसमा हालसम्म १६०० भन्दा बढी अभिकर्ता चयन हुनु योजना सफलताको सूचक हो ।' कार्यक्रममा सहभागी अभिकर्ताहरूलाई अन्तर्राष्ट्रिय प्रशिक्षक काजिम रजाले तालिम प्रदान गरेका थिए । बीमा क्षेत्रमा सफल हुनका लागि धेरै व्यक्तिसँग सम्पर्क विस्तार गरी बीमा पोलिसी प्रस्ताव गर्न सक्ने ज्ञान र आत्मविश्वास आवश्यक हुने उनको भनाइ थियो । सम्मान कार्यक्रमपछि अभिकर्ताहरूले यो प्रशिक्षणले आफूहरूमा व्यवसायिक ऊर्जा र प्रेरणा थपेको प्रतिक्रिया दिएका छन् । सम्मान प्राप्त अभिकर्ताहरूले भने, 'हाम्रो मेहनतको कदर गरिएको महसुस भयो, यसले अझ राम्रो काम गर्ने उत्साह जगाएको छ ।'