भियतनामका व्यवसायीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह
काठमाडौं । नेपाल र भियतनामबीच दौत्य सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको अवसरमा नेपाल र भियतनामका व्यवसायीबीच आर्थिक सन्बन्ध बिस्तार गर्ने विषयमा छलफल भएको छ । बिहीबार भियतनामको राजधानी हनोइमा भियतनामी चेम्बर अफ कमर्श इन्डष्ट्रीसँगको छलफलमा नेपाली व्यवसायीहरूले नेपालमा पर्यटन, जलविद्युत्, कृषिलगायतका क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको उल्लेख गर्दै नेपालमा लगानीका लागि आग्रह गरेका छन् । सो अवसरमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले भियतनामका लगानीकर्तासमक्ष नेपाल र भियतनामबीच थप आर्थिक सहकार्यलाई अगाडि बढाउनका लागि आग्रह गरे । नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध ५० वर्ष पुगेको उल्लेख गर्दै उनले अब दुई देशबीच आर्थिक सहकार्यलाई अगाडि बढाउनुपर्नेमा जोड दिए । ‘दुई देशबीच आर्थिक सहकार्यको क्षेत्रमा ठूलो सम्भावना छ, म भियतनामका लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गर्दै नेपालबाट निर्यातको ठूलो सम्भावना रहेको जानकारी गराउन चाहन्छु,’ उनले भने, ‘नेपालमा हस्तकला, चिया, कफी, जडीबुटी जस्ता उत्पादनको भियतनाममा राम्रो बजार सम्भावना भएकाले त्यसतर्फ पनि लगानी बढाउन म आग्रह गर्दछु ।’ उनले दुई देशका अर्थतन्त्र एकआपसमा पूरक बन्न सक्ने पनि बताए । भियतनाममा कृषि उत्पादन, सी फूड, इलेक्ट्रोनिक्सलगायतका उत्पादनको नेपाली बजारमा सम्भावना रहेको पनि उनको भनाइ थियो । नेपालमा पर्यटन क्षेत्रमा विशेष गरी होटल, रिर्सोट, केबलकार, साहसिक पर्यटन, वेलनेस सेन्टरहरूमा क्षेत्रीय लगानी बढिरहेको उल्लेख गर्दै अध्यक्ष ढकालले भियतनामी लगानीकर्तालाई आफूहरू स्वागत गर्न चाहेको बताए। उनले भियतनामी टोलीलाई महासंघको आगामी वार्षिक साधारणसभामा सहभागी हुन र नेपालको व्यवसायिक वातावरण प्रत्यक्ष अवलोकन गर्नका लागि पनि निमन्त्रणा दिए। भियतनामी चेम्बर अफ कमर्श इन्डष्ट्रीका उपकार्यकारी अध्यक्ष न्गुयेन क्याङ भिनले आफूहरु पनि नेपालसँग थप आर्थिक साझेदारीका लागि इच्छुक रहेको बताए । नेपाल उद्योग वाणिज्य महासंघलाई भियतनाममा स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै उनले दुई देशबीच लगानी र व्यापारका क्षेत्रमा ठूलो सम्भावना रहेको उल्लेख गर्दै आर्थिक साझेदारीलाई थप मजबुद बनाउनुपर्नेमा जोड दिए । त्यस अवसरमा थाइल्याण्ड तथा भियतनामका लागि नेपाली राजदूत धनबहादुर ओलीले नेपालमा विभिन्न क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको उल्लेख गर्दै नेपालमा लगानी बढाउनका लागि आग्रह गरे । त्यस अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो ।
बैंकबाट साढे १६ करोड रुपैयाँ ऋण, १:५ अनुपातमा हकप्रद सेयर
काठमाडौं । फुल्योर हिमालयनले बैंकबाट लिएको साढे १६ करोड रुपैयाँ ऋण अनुमोदन गर्ने भएको छ । संचालक समितिको निर्णय अनुसार कम्पनीले लक्ष्मी सनराइज बैंकबाट १३ करोड रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकबाट ३ करोड ५२ लाख रुपैयाँ ऋण नवीकरण गर्ने भएको हो । बैंकबाट लिएको उक्त ऋण कम्पनीको ३०औं वार्षिक साधारण सभाबाट पारित गर्ने गरी सञ्चालक समितिले प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितिको मंसिर २२ गते बसेको बैठकले पुस १८ गते पूलचोक ललितपुरमा साढे २ बजे साधारण सभा डाकेको छ । अघिल्लो साधारण सभाबाट पारित १:५ दरको हकप्रद सेयर निष्कासनको निर्णय पुन पारित गर्नेछ । साथै हकप्रद सेयर नबिकेको खण्डमा बिक्री गर्न संचालक समितिलाई पूर्ण अख्तियारी ३०औँ सभाले दिनेछ । यस्तै, संचालक समितिको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन र संचालक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन, चालु आव २०८२/८३ को लागि लेखापरिक्षक नियुक्त तथा पारिश्रमिक निर्धारण गर्नेछ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले आजसम्म रिलायन्स स्पिनिङ्ग मिल्समा लगानी गर्न सक्ने
काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओमा आवेदन दिने आज मंसिर २५ गते अन्तिम दिन रहेको छ । मंसिर २२ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आजसम्म आवेदन दिन सक्नेछन् । सर्वसाधारण लगानीकर्ताहरुलाई छुट्याएको ११ लाख ५५ हजार ९६० कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख १५ हजार ५९६ कित्ता सेयर वैदेशिक रोजगारमा रहेका नेपालीलाई बिक्रीमा राखेको हो । बुक बिल्डिङ्ग निर्देशिका, २०७७ को दफा (१३) को उपदफा (१) बमोजिम बोलकबोल प्रणाली मार्फत आवेदन दिने योग्य संस्थागत लगानीकर्ताहरुलाई ७ लाख ७० हजार ६४० कित्ता सेयर बाँडफाँट गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो । सोही निर्देशिकाको दफा (१४) मा भएको व्यवस्था बमोजिम कट अफ मूल्यमा १० प्रतिशत छुट दिँदा हुन आउने प्रतिकित्ता ८२०.८० रुपैयाँ सेयर मूल्य सर्वसाधारण लगानीकर्ताहरुका लागि तोकिएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम् ५० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताहरुले बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङले सञ्चालन गरिरहेको मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।