कोरला नाकाले गण्डकी प्रदेशको समृद्धिमा सहयोग पुग्छ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले गण्डकी प्रदेशको उत्तरी सीमाना मुस्ताङबाट सञ्चालनमा आएको कोरला नाकाले गण्डकी प्रदेशको आर्थिक समृद्धिमा ठूलो सहयोग पुग्ने बताएका छन् । पोखरा उद्योग वाणिज्य सङ्घले १७ देखि २१ मङ्सिरसम्म पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा सञ्चालनमा ल्याएको नेपाल मणिपाल अस्पताल ३४औँ राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३औँ क्यान इन्फोटेक २०८२ को पोखरामा उद्घाटन गर्दै उनले स्थानीय उत्पादनलाई प्रोत्साहनसँगै प्रवर्द्धन गर्नसके अर्थतन्त्र बलियो हुने विश्वास व्यक्त गरे । नाका खुलेसँगै यहाँको उत्पादित वस्तु चीनको तिब्बतमा लगेर बिक्री गर्न सकिने भनाइ उनको छ । अध्यक्ष ढकालले नेपालमा केही हुँदैन भन्ने भाष्य चिर्न जरुरी रहेको बताउँदै नेपालकै पुँजीले पनि धेरै ठूला आयोजना सञ्चालन गर्न सकिने उल्लेख गरे । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले सरकारले देशमा लगानीमैत्री वातावरण सृजना गर्न सकेमात्र यहाँ उद्योग व्यवसाय फस्टाउन सक्ने बताए । आयोजक सङ्घका अध्यक्ष गोकर्ण कार्कीले अर्थतन्त्रको कुनै एउटा क्षेत्रलाई असर पर्दा त्यसको असर समग्र अर्थतन्त्रलाई नै पर्ने बताए । आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्दै दिगो विकासका लागि नीतिगत तथा कानुनी सुधार गर्नुपर्नेमा उनको जोड छ । अध्यक्ष कार्कीले जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रमाथि भएको आक्रमणपछि खल्बलिएको व्यावसायिक वातावरण पुनः पुरानै अवस्थामा फर्काउन, उद्योगीरव्यवसायीको मनोबल बढाउन तथा लगानीका नयाँ सम्भावनाको खोजी गर्नु मेलाको उद्देश्य रहेको बताए ।
सौरभ ग्रुपको सर्वोत्तम स्टील्सले एक वर्षमै गर्यो पौने ९ अर्ब आम्दानी
काठमाडौं । सौरभ ग्रुपको सर्वोत्तम स्टील्सले एक वर्षमा पौने ९ अर्ब रुपैयाँ बराबर आम्दानी गरेको छ । कम्पनीले सन् २०२५ मा ८ अर्ब ७२ करोड ६० लाख रुपैयाँ (अपरिष्कृत) बराबरको कुल सञ्चालन आम्दानी गरेको हो । जुन अघिल्लो वर्ष सन् २०२४ को तुलनामा २७.२३ प्रतिशत अर्थात् १ अर्ब ८६ करोड ८० लाख रुपैयाँ बढी हो । कम्पनीले सन् २०२४ मा ६ अर्ब ८५ करोड ८० लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको थियो । यस्तै, कम्पनीले सन् २०२३ मा ७ अर्ब ७५ करोड ३० लाख रुपैयाँ, सन् २०२२ मा ८ अर्ब ९३ करोड ४० लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । सौरभ ग्रुपका अध्यक्ष विष्णुप्रसाद न्यौपाने हुन् । न्यौपानेले मार्च २०१७ मा सर्वोत्तम स्टील्स प्रालि स्थापना गरेका हुन् । पछि जुलाई २०२१ मा कम्पनीलाई पब्लिक लिमिटेडमा रुपान्तरण गरेका थिए । पर्साको वीरगञ्जमा प्लान्ट रहेको कम्पनीले टीएमटी स्टील बार, बिलेट र तारहरू उत्पादन गर्दै आएको छ । कम्पनीको उक्त प्लान्टको उत्पादन क्षमता कुल ७ लाख ६४ हजार १६० मेट्रिक टन रहेको जनाएको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ६ अर्ब ४४ करोड ४० लाख रुपैयाँ ऋण लिएको छ । जसमा दीर्घकालीन ऋण १ अर्ब ३ करोड ४६ लाख रुपैयाँ र ५ अर्ब ४१ करोड रुपैयाँ अल्पकालीन ऋण लिएको छ । इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले अल्पकालीन ऋणका लागि एफोर प्लस र दीर्घकालिन ऋणका लागि डबल बी प्लस रेटिङ प्रदान गरेको छ । सौरभ ग्रुपको उदय म्यानमारबाट भएको हो । सन् १९६० सम्म विष्णुप्रसाद न्यौपानेका बुबा लीलाराम न्यौपानेले म्यानमारमा रिटेल व्यापार गर्थे । त्यसबाहेक म्यानमार कै शानस्थित लासियो सहरमा उनले बटर बनाउने उद्योग पनि चलाउँथे । सन् १९६० मा राज्यले बाैद्ध धर्म अपनाउने आदेश दिएपछि नेपाली र भारतीय नागरिकहरू म्यानमारबाट निकालिए । त्यसैबेला लीलाराम न्यौपानेले म्यानमार छाडेर नेपालमै व्यापार गरेर स्थापित हुने सोच लिए । व्यापारिक एजेन्सी र बस व्यवसायको थालनी गरेर उनले व्यापार थाले । यस्तै भैरहवामा टेक्सटाइलको होलसेल स्टोर सुरु गरे । त्यो बेला काठमाडौंबाट टेक्सटाइल मगाएर भैरहवामा वितरण गरिन्थ्यो । पछि न्यौपानेले नेसनल ट्रेडिङ र साल्ट ट्रेडिङ लिमिटेडको नेतृत्व पनि लिए । सन् १९६४ मा न्यौपानेको व्यापारले ठूलो रुप लिदै गयो । सन् १९८६ मा जगदम्बा सिमेन्ट उद्योग स्थापना गरे । सन् १९९० को सुरुवातीमा म्यानुफ्याक्चर भेन्चर सुरु गरे । सौरभ फोटो इन्टरनेसनलले कोन्का प्रोडक्ट्सको आधिकारिक डिस्ट्रिब्युटरको काम गर्थ्यो । सन् १९९० मा नेपाली बजारमा उनको बलियो उपस्थीति भयो । आयात निर्यात व्यापारबाट औद्योगिक क्षेत्रमा प्रवेश गरेका थिए । अहिले सौरभ ग्रुप सिमेन्ट, स्टील, चिया, धागो, पीपी वुभन फ्याब्रिक, क्याल्सियम कार्वोनेट आदि सामग्रीहरूको उत्पादनमा केन्द्रित छ । यस ग्रुपले कोन्का प्रोडक्टहरू, सिटिजन घडीका पार्टपूजाहरू र अरू चाइनिज सामानहरूको आयात गरेर व्यापारिक क्रियाकलापहरुलाई निरन्तरता दिएको छ । लीलारामको निधनपछि उनका छोरा विष्णुप्रसाद न्यौपानेले सन् १९८८ देखि ग्रुपको नेतृत्व गर्दै आएका छन् ।
५० अर्बको परियोजना अघि बढाउने काम थालिएको छ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा केही हुँदैन भन्ने भाष्य सिर्जना गर्न खोजिएको बताउँदै त्यसलाई चिर्न जरुरी रहेको बताएका छन् । सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २९औँ वार्षिक साधारण सभामा अध्यक्ष ढकालले यस्तो बताएका हुन् । अध्यक्ष ढकालका अनुसार नेपालकै पुँजीबाटै धेरै ठूला आयोजना निर्माण गर्न सकिने सम्भावना छ । ठूला पूर्वाधार निर्माणका लागि नेपाल डेभलपमेन्ट पब्लिक (एनडीपी) स्थापनाको उद्देश्य पनि यही रहेको उनले बताए । उनका अनुसार व्यवसायीलाई समेटेर नेपालकै पुँजी परिचालन गरी ४०–५० अर्ब रुपैयाँका परियोजना अघि बढाउने काम थालिएको छ । नेपालमै लगानीको सकारात्मक वातावरण रहेको सन्देश दिनका लागि पनि एनडीपीको योजनालाई अघि बढाइएको उनले स्पष्ट पारे । ढकालले आम व्यवसायीसँगै नागरिकको मनोबल उकास्ने गरी अब सरकारले काम गर्न जरुरी रहेको पनि बताए । महासंघ अध्यक्ष ढकालले भने– ‘वास्तवमा सुरक्षाको कुरा अत्यन्तै महत्वपूर्ण छ । आउने दिनमा कुनै एउटै व्यवसायी वा व्यक्तिभन्दा पनि आम नागरिकलाई आत्मविश्वास दिलाउने खालको सुरक्षा व्यवस्था मिलाइनुपर्छ ।’ सोही कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष वीरन्द्रबहादुर पाण्डेले मुलुकमा चुनावपछि निजी क्षेत्रले लगानी वातावरणमा सुधार हुने अपेक्षा राखेको बताए । निर्वाचनअघि बनेको यो सरकारले नीतिगत विषयहरूलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा उनले जोड दिए । अध्यक्ष पाण्डेले भने– ‘अर्थतन्त्रको कुनै एउटै क्षेत्रमा समस्या आउँदा त्यसको असर समग्र अर्थतन्त्रमा पर्छ । आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्दै दीगो विकासका लागि नीतिगत तथा कानुनी सुधार अनिवार्य छ ।’ उनका अनुसार जेनजी आन्दोलनपछिको सिथिलतालाई सबैले मिलेर सामना गर्दै सबल अर्थतन्त्रका लागि अघि बढ्नुपर्ने आवश्यकता रहेको छ ।