सौर्य ऊर्जाबाट सञ्चालन हुने नेपालकै पहिलो नुडल्स उद्योग बन्यो 'करेन्ट नुडल्स’
काठमाडौं । करेन्ट नुडल्स उत्पादन गर्ने यशोदा फुड्सले कपिलवस्तुको चन्द्रौटामा ८६५ केडब्ल्यूपी क्षमताको छानामाथिको सौर्य ऊर्जा प्रणाली सफलतापूर्वक जडान गरेको छ । कम्पनीले २३ नोभेम्बर देखि यस सौर्य ऊर्जाबाटै उद्योग सञ्चालन गर्न थालेको जनाएको छ । यससँगै यशोदा फुड्स नेपालमै पहिलो पटक सौर्य ऊर्जामा आधारित नुडल्स उत्पादन गर्ने उद्योग बनेको छ । कम्पनीले आफूलाई 'नेपालकै पहिलो ग्रीन नुडल्स उत्पादन केन्द्र' का रूपमा स्थापित गरेको घोषणा गरेको छ । कपिलवस्तु औद्योगिक करिडोरमा पनि छानामाथि सौर्य ऊर्जा जडान गर्ने पहिलो उद्योग यही हो । कम्पनीका अनुसार यस प्रणालीले उद्योगको करिब ८० प्रतिशत विद्युत आवश्यकताहरू पूरा गर्नेछ । साथै ६५ प्रतिशत विद्युत खर्च घट्ने, प्रयोगविहीन छानाको सदुपयोग हुने र कार्बन उत्सर्जनमा ठूलो मात्रामा कमी आउने अपेक्षा गरिएको छ । यो परियोजना प्राइम रिन्यूएवल्स प्रालिले निर्माण गरेको हो । परियोजनाका लागि एनएमबी बैंक लिमिटेडले वित्तीय सुविधा प्रदान गरेको थियो । साथै, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एईपीसी) ले जर्मन अनुदान डीकेटीआई कार्यक्रम अन्तर्गत व्याज अनुदानसहित अतिरिक्त आर्थिक सहयोग गरेको थियो । उद्घाटन कार्यक्रममा बोल्दै यशोदा फुड्सका ग्लोबल कार्यकारी निर्देशक जीपी साहले भने, 'हामी नेपालकै पहिलो सौर्य प्रणालीयुक्त नुडल्स प्लान्ट सञ्चालन गर्न पाएकोमा निकै गर्वित छौँ । ८५६ केडब्ल्यू क्षमताको यो प्रणालीबाट हरेक वर्ष १० लाख युनिटभन्दा बढी विद्युत उत्पादन हुनेछ र करिब २ हजार टन कार्बन–डाइ–अक्साइड उत्सर्जन बचत हुनेछ । यसले उत्पादन लागत घटाउँछ र हामीलाई बजारमा अझ प्रतिस्पर्धी बनाउँछ ।' त्यसबेला एईपीसीका कार्यक्रम प्रमुख सन्तोष राईले यस्ता परियोजनाहरूले नेपाली उद्योगलाई डिकार्बोनाइजेशन (कार्बन घटाउने) दिशामा अघि बढाउन सहयोग गर्ने बताए । प्राइम रिन्यूएवल्सका अध्यक्ष आशिष गर्गका अनुसार परियोजना तीन महिनाभित्रै सम्पन्न गरिएको हो । यो प्रणालीमा उच्च कार्यक्षमताका दुइतर्फी (बाइफेसियल) सौर्य प्यानल, नवीन सौर्य पीभी प्रविधि र कृत्रिम बुद्धिमत्तायुक्त (एआई–सक्षम) स्मार्ट इनभर्टर प्रयोग भएको उनको भनाइ छ । विश्वभर सौर्य ऊर्जा वातावरणमैत्री र कम खर्चिलो ऊर्जा विकल्पका रूपमा तीव्र गतिमा विस्तार भइरहेको छ । नेपालका उद्योगहरूले पनि छानामाथिको सौर्य ऊर्जा प्रणालीलाई सस्तो विद्युत स्रोत र कार्बन उत्सर्जन घटाउने उपायका रूपमा तीव्र गतिमा अपनाइरहेका छन् । एईपीसीका अनुसार हालसम्म २५ मेगावाट संयुक्त क्षमताका ५० भन्दा बढी उद्योगले यस्तो प्रणाली जडान गरिसकेका छन् । यो संख्या दैनिक बढ्दै छ । नेपाल जलविद्युतमा धनी भए पनि सौर्य ऊर्जा सुख्खा मौसममा नदीको पानी घट्दा अत्यन्त उपयोगी वैकल्पिक स्रोत बनेको छ । त्यसैगरी, नेपाल विद्युत प्राधिकरणले नेट–मिटरिङ सुविधा उपलब्ध गराएको हुँदा उद्योगहरूलाई अतिरिक्त उत्पादन राष्ट्रिय प्रसारण लाइनमा पठाउने अवसर पनि मिल्दछ । यसले प्रसारण तथा वितरण प्रणालीमा पर्ने भार घटाउँछ र पूर्वाधार खर्च पनि कम हुन्छ ।
बुटवलमा १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि प्रविधि तथा पर्यटन महोत्सव हुने
काठमाडौं । रुपन्देहीको बुटबलमा १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि प्रविधि तथा पर्यटन महोत्सव हुने भएको छ । रुपन्देही उद्योग संघको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसंघको संरक्षकत्वमा आगामी पौष ३ गतेदेखि १७ गतेसम्म राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको हो । ‘समृद्ध नेपान निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको महोत्सवमा आधुनिक स्तरका स्टलहरु राख्न लागिएको रुपन्देही उद्योग संघका अध्यक्ष तथा मेला मूल समिति संयोजक कृष्णप्रसाद पराजुलीले जानकारी दिए । अध्यक्ष पराजुलीले भने– ‘उद्योग संघले २०४५ सालमा नेपालमै पहिलो पटक र २०५३ सालदेखि निरन्तर औद्योगिक प्रदर्शनी आयोजना गर्दै आइरहेका जानकारी गराउन चाहन्छु । बुटवलस्थित अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने औद्योगिक प्रदर्शनीमा स्वदेशी उत्पादन, नयाँ प्रविधि पर्यटन तथा कृषि उत्पादनसँग सम्बन्धित वस्तुहरुका लागि छुट्टाई १० वटा ‘पेभिलियन’ हुनेछन् । भर्खर निर्माण सम्पन्न भएको आधुनिक अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आधुनिक स्तरकै स्टल हुनेछन । पसलको सजावटदेखि व्यवस्थापन तथा हालसम्म आयोजना भएका प्रदर्शनी भन्दा धेरै भिन्न हुनेछन् ।’ मेलाबारे जानकारी दिन आयोजित कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले यस्ता प्रर्दशनीले अर्थतन्त्र चलायमान बनाउन र माग बढाउन सघाउ पुग्ने बताए । उनकाअनुसार स्वेदशी उत्पादनहरुको प्रदर्शन र बजारीकरण, प्राविधिक र व्यवसायिक अनुभवको आदनप्रदान, नेपाली उद्योगको लागि अवसरको खोजी, उत्पादन उपभोक्ता विज्ञहरु र सरकारी निकायबीच अन्तरसंवाद, आन्तरिक तथा वाह्य ओद्योगिक बातावरणको जानकारी दिने उद्देश्यले गर्न लगिएको मेलाले अर्थतन्त्र चलायमान बनाउन सघाउ पुग्नेछ । परिसंघ अध्यक्ष पाण्डेले भने–‘अर्थतन्त्र चलायमान बनाउनुपर्नेछ । माग बढाउनुपर्ने पनि छ । यो किसिमको प्रदर्शनीले त्यसमा महत्वपूर्ण भुमिका खेल्नेछ । रुपन्देही उद्योग संघको अगुवाईमा निरन्तर प्रदर्शनि भइरहेको कार्यक्रम हो । यसले छुट्टै किसिमको माहोल बनाउनेछ । डिमाण्डलाई हामीले कसरी हुन्छ बढाउनुपर्छ । यही शिलशिलामा पुषको ३ देखि १७ गतेसम्म बुटवलमा मेला हुन लागेको छ ।’ प्रदर्शनीमा स्वदेशी उत्पादनको प्रदर्शनीसँगै नयाँ प्रविधिको खोजी, कृषिको व्यवसायीकरण, पर्यटन प्रवद्र्धन, युवा उद्यमीलाई प्रोत्साहन, स्वरोजगार श्रृजना, कला र संस्कृतिको जगेर्ना, गोष्ठी तथा अन्तक्र्रिया गरिनेछन् । प्रदर्शनीमा औद्योगिक प्रविधि, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छाला जुत्ता, खाद्यान्न, सूचना प्रविधिलगायतका करिव ५ सय स्टलहरु रहनेछन् । प्रदर्शनीको करिव ८ लाख दर्शकले अवलोकन गर्ने र ३० करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान आयोजक संस्थाले गरेको छ ।
‘विराट ट्रेड एक्स्पो २०२५’ पुस ९ देखि सुरु हुने, आर्थिक पुनरुत्थानमा केन्द्रित
काठमाडौं । मोरङ उद्योग व्यापार संघले ‘विराट ट्रेड एक्स्पो २०२५’ आयोजना गर्ने भएको छ । आगामी पुस ९ गतेदेखि १९ गतेसम्म विराटनगरमा सञ्चालन हुने यो एक्स्पोले आर्थिक शिथिलतालाई चिर्दै बजार चलायमान बनाउने उद्देश्य राखेको छ । विराटनगर–२, शान्ति चोकस्थित जिल्ला प्रहरी कार्यालयको छेउमा अन्तर्राष्ट्रिय स्तरको कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी सञ्चालन गरिनेछ । संघका अध्यक्ष अनुपम राठी र संयोजक अमितकुमार शारदाद्वारा जारी विज्ञप्तिमा जेन्जी आन्दोलनपछि उत्पन्न आर्थिक अनिश्चिततालाई तोड्ने यो मेलाले ठूलो भूमिका खेल्ने दाबी गरिएको छ । मेलाले मोरङ–सुनसरी औद्योगिक करिडोरको प्रवर्द्धन र अर्थतन्त्रको पुनरुत्थानलाई मुख्य लक्ष्य बनाएको छ । कोशी प्रदेशका स्वदेशी उत्पादन, कृषि, पर्यटन र ऊर्जा क्षेत्रको प्रवर्द्धनमा एक्स्पोले जोड दिनेछ । साथै नेपाल व्यापार रणनीति अन्तर्गत पहिचान गरिएका वस्तुहरूको बजार विस्तार गर्ने उद्देश्य पनि रहेको छ । मेलालाई अन्तर्राष्ट्रिय स्तरको बनाउने तयारीअनुसार जर्मन प्रविधिको ‘ह्याङ्गर’ र अक्टानम सिस्टमसहित करिब २३० स्टल राखिनेछन् । प्रदर्शनीमा नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगका उत्पादनका साथै भारत, बंगलादेश र पाकिस्तानका उत्पादन पनि समावेश हुनेछन् । एक्स्पोले ज्ञान, प्रविधि र उद्यमशीलतालाई प्राथमिकतामा राख्दै स्टार्टअप, सूचना प्रविधि, कर–लेखा र महिला उद्यमशीलता प्रवर्द्धन सम्बन्धि विशेष स्टल राख्नेछ । नयाँ उद्यमीलाई स्टार्टअप सञ्चालन, व्यवसाय विस्तार र डिजिटल ज्ञानबारे जानकारी दिने विभिन्न गोष्ठी र अन्तरक्रिया कार्यक्रम पनि सञ्चालन गरिनेछ । दर्शकको मनोरञ्जनका लागि हरेक साँझ राष्ट्रिय ख्यातिप्राप्त ब्यान्ड तथा कलाकारहरूको प्रस्तुति हुने छ। मेलामा सेल्फी जोन, किड्स जोन, फिस तथा जलपरी टनेल र नेपाली कला–संस्कृति झल्काउने आकर्षक प्रवेशद्वार निर्माण गरिनेछ । मेलाको मुख्य प्रायोजक ‘रमपम तयारी चाउचाउ’ र ‘मारुती सिमेन्ट’ रहेका छन् । नेपाल तथा भारतका सीमावर्ती क्षेत्रबाट करिब २ लाख दर्शकले एक्स्पो अवलोकन गर्ने आयोजकले अनुमान गरेको छ । मोरङ उद्योग व्यापार संघ विगतमा पनि कोशी महोत्सव, पूर्वाञ्चल औद्योगिक व्यापार मेला र विराट महोत्सव जस्ता कार्यक्रम गर्दै आएको छ ।