रिलायन्स स्पिनिङ्गले पुस ७ गतेदेखि आईपीओ बिक्री गर्ने, न्यूनतम् ५० कित्ता आवेदन

काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्सले पुस ७ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरेर बाँडफाँडपश्चात् अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री खुला गर्ने भएको हो ।  कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुलाई ११ लाख ५५ हजार ९६० कित्ता सेयर बिक्री गर्ने भएको हो । जसमध्ये ५ प्रतिशत अर्थात् ५७ हजार ७५८ कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड भईसकेको, १० प्रतिशत अर्थात् १ लाख १५ हजार ५५६ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेर प्रीअलटमेन्ट भइसकेको, ५ प्रतिशत अर्थात् ५७ हजार ७८८ कित्ता कर्मचारीहरूलाई सुरक्षित राखि बाँकी ९ लाख २४ हजार ७६८ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरिनेछ । अंकित मूल्य १ सय रुपैयाँ नै कायम रहेपनि बुक बिल्डिङ्ग विधिबाट योग्य संस्थागत लगानीकर्तालाई सेयर जारी गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो । सर्वसाधारण लगानीकर्ताहरुका लागि कट अफ मूल्यमा १० प्रतिशत छुट दिँदा हुन आउने प्रतिकित्ता ८२०.८० रुपैयाँ सेयर मूल्य तोकिएको छ ।  कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम् ५० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरसम्म आवेदन दिन सक्नेछन् । यदि लगानीकर्ताले न्यूनतम् सेयरका लागि आवेदन दिने हो भने कम्तीमा ४१ हजार ४० रुपैयाँ जोहो गर्नुपर्नेछ । यदि अधिकतम सेयरका लागि आवेदन दिने हो भने १ करोड ६४ लाख १४ हजार रुपैयाँ जोहो गर्नुपर्ने देखिन्छ ।  कम्पनीको आईपीओमा लगानीकर्ताहरुले पुस ११ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि सो अवधिमा पूर्ण बिक्री नभएमा पुस २१ गतेसम्म आवेदन दिने समय लम्बिनेछ ।   कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताहरुले बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङले सञ्चालन गरिरहेको मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।

नेपाल र भियतनामबीच लगानी र व्यापार सहकार्यबारे छलफल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र भियतनामको अर्थतन्त्र मन्त्रालयअन्तर्गतको लगानी प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय सहकार्य विभागबीच द्विपक्षीय लगानी र व्यापारका विषयमा छलफल भएको छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको टोलीले लगानी प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय सहकार्य विभागका प्रमुख होआङ थान्ह तामसँग भियतनामको हनोईमा शुक्रबार भेटवार्ता गरेको हो । भेटवार्तामा महासंघले नेपालमा लगानीमैत्री वातावरण रहेको र लगानीका सम्भाव्य क्षेत्रमा भियतनामी लगानीकर्ताका लागि सहजीकरण गरिदिन आग्रह गरेको हो । सो अवसरमा अध्यक्ष ढकालले आफूहरू भियतनामी लगानीकर्तालाई लगानीका लागि नीतिगत सहजीकरण गर्न तयार रहेको बताए । 'नेपालमा लगानीका कैयौँ क्षेत्र छन्, ती क्षेत्रमा ठूलो सम्भावना पनि छ । म भियतनामी लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गर्दछु । यसका लागि महासंघले सरकारसँगको समन्वय तथा सहकार्यका लागि आवश्यक सहजीकरण गर्नेछ,' अध्यक्ष ढकालले भने । उनले नेपालमा विशेष गरी पर्यटनअन्तर्गत होटल, रिसोर्ट, केबलकार, आरोग्य (वेलनेस) पर्यटन, जलविद्युत्, सूचना प्रविधि तथा चिया, कफी र हस्तकलाको व्यापारमा ठूलो सम्भावना रहेको उल्लेख गरे । नेपालले हाल भियतनामबाट धेरै आयात गर्ने र कम निर्यात गरिरहेको उल्लेख गर्दै अध्यक्ष ढकालले दुई देशबीचको व्यापार तथा औद्योगिक सहकार्यलाई अझ बलियो बनाउन दुवै पक्षको गहिरो चासो रहेको पनि बताए । भियतनामको लगानी प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय सहकार्य विभागका प्रमुख होआङ थान्ह तामले भियतनामको आर्थिक अवस्था, प्रत्यक्ष वैदेशिक लगानी तथा लगानीका सम्भाव्य क्षेत्रबारे जानकारी दिँदै आफूहरू नेपालसँग आर्थिक कूटनीतिमार्फत सम्बन्ध विस्तार गर्न इच्छुक रहेको बताए । 'नेपालले विभिन्न क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउनका लागि गरिरहेको प्रयास सराहनीय छ । हामीले निर्यातजन्य उद्योग, पर्यटन र जलविद्युत् क्षेत्रमा काम गर्न सक्छौँ,' उनले भने, 'यसका लागि नेपालमा लगानी गर्न चाहने भियतनामी लगानीकर्ताको सहजीकरणका लागि हामी तयार छौँ ।' साथै, उनले सन् २०२५ को अगस्टमा भियतनामका उपराष्ट्रपतिको नेपाल भ्रमण भएको तथा चीनमा भियतनामका राष्ट्रपति र नेपालका प्रधानमन्त्रीबीच भेट भएको उल्लेख गर्दै आगामी दिनमा सम्बन्ध अझ बलियो बनाउनुपर्नेमा जोड दिए । सोही अवसरमा अध्यक्ष ढकालले महासंघको आगामी चैतमा हुने अधिवेशनमा सहभागिताका लागि विभागका प्रतिनिधि तथा भियतनामी लगानीकर्तालाई निम्तो पनि दिएका थिए । भेटवार्ताका क्रममा महासंघका उपाध्यक्ष हेमराज ढकालले निर्यातजन्य उद्योगमा लगानीका लागि नेपाल उपयुक्त गन्तव्य रहेको जानकारी गराउँदै लगानी र व्यापारका क्षेत्रमा रहेको ठूलो सम्भावनाको उपयोग गर्न सके दुवै देशले लाभ लिन सक्ने बताए । महासंघकी अर्की उपाध्यक्ष ज्योत्सना श्रेष्ठले नेपाल र भियतनामले अटोमोबाइल तथा पर्यटन क्षेत्रमा सहकार्य गरी लाभ लिन सक्ने बताइन् । पछिल्लो समय नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गएको उल्लेख गर्दै उनले भियतनामी लगानीकर्तालाई नेपालमा विद्युतीय सवारीसाधनको एसेम्बली उद्योगमा लगानीको सम्भावना रहेको बताउँदै त्यसतर्फ ध्यान दिन आग्रह गरिन् । महासंघका कोषाध्यक्ष भरतराज आचार्यले दुई देशबीच लगानी, व्यापार तथा आर्थिक गतिविधि विस्तारका लागि कनेक्टिभिटी महत्वपूर्ण रहेको उल्लेख गरे । उनले नेपालमा ऊर्जा क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेकाले सो क्षेत्रमा लगानी बढाएर भियतनामी लगानीकर्ताले लाभ लिन सक्ने बताए । महासंघअन्तर्गतको स्टार्टअप एण्ड इनोभेसन फोरमकी सभापति जुना माथेमाले नवप्रवर्तनको क्षेत्रमा सीप, पुँजी र प्रविधिमा दुई देशबीच सहकार्य गर्न सकिने धारणा राखिन् । यसअघि महासंघको टोलीले बिहीबार भियतनाम चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजका उपकार्यकारी अध्यक्ष न्युगेन क्याङ भिनसँग भेट गरी नेपाल र भियतनामबीच लगानीका सम्भावना तथा अवसरबारे छलफल गरेको थियो ।

जुम्लामा ४ हजारभन्दा बढी साना तथा घरेलु उद्योग

जुम्ला । जुम्लामा ४ हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता भएका छन् ।  उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका अनुसार गत आर्थिक वर्षदेखि हालसम्म विभिन्न प्रकृतिका ५ हजार २८६ उद्योग दर्ता भएका छन् । तीमध्ये ८२५ उद्योग खारेज भएका छन् । कार्यालय प्रमुख मन्दिरनाथ योगीले दर्ता खारेज भएका उद्योगबाहेक हालसम्म यहाँ चार हजार ४६१ उद्योग रहेका बताए  ।  उनका अनुसार वाणिज्यतर्फ १० लाखभन्दा माथिका तीन हजार उद्योग उपभोक्ता हित संरक्षण कार्यालय र तीन लाखमुनिका दुई सय चार नयाँ साना उद्योग स्थानीय तहमा दर्ता भएका छन् ।    दर्ता भएका उद्योगमध्ये उत्पादनमूलक, कृषि तथा वनजन्य, सेवामूलक, पर्यटन, निर्माण र सूचना सञ्चार प्रविधितर्फ उद्योग दर्ता हुने गरेको कार्यालय प्रमुख योगीले बताए । यी उद्योगबाट गत आवमा ५२ लाख राजस्व सङ्कलन भएको उनले जानकारी दिए । उक्त कार्यालयले गत आवमा यहाँका आठवटै स्थानीय तहका २०४ जनालाई विभिन्न सीपमूलक तालिम प्रदान गरेको जनाएको छ । जिल्लामा दर्ता भएका अधिकांश उद्योग कागजमै सीमित छन् ।