बुटवलका व्यवसायी कृष्ण पौडेलले २ अर्ब लगानीमा खोले ‘फ्रेन्च फ्राई उद्योग’, वार्षिक २ हजार टन उत्पादन

काठमाडौं । रुपन्देहीमा २ अर्ब रुपैयाँको लगानीमा फ्रेन्च फ्राई उद्योग फर्स्ट च्वाइस फुड सञ्चालनमा आएको छ।   गुल्मीको मदाने गाउँपालिका वडानम्बर ६ घर भई बुटवल बस्दै आएका व्यवसायी कृष्णप्रसाद पौडेलले रुपन्देहीको शुद्धोदन गाउँपालिकामा उद्योग सञ्चालनमा ल्याएका हुन् ।  काठमाडौंमा बिहीबार एक कार्यक्रमका बीच उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले फर्स्ट च्वाइस फुडको उत्पादन सार्वजनिक गरे ।  आयात कम गर्ने र किसानलाई आत्मनिर्भर बनाएर अघि बढ्ने योजनाका साथ उद्योग सञ्चालनमा ल्याएको व्यवसायी पौडेलले बताए । अहिले वर्षको २ हजार टन उत्पादन गर्नेगरी उत्पादन भइरहेको र हरेक वर्ष बढाउँदै जाने लक्ष्य रहेको उनले जानकारी दिए । ५ विघा क्षेत्रफलमा फैलिएको यो उद्योगले आलुका परिकारमात्रै उत्पादन गर्नेछ ।  १० हजार किसान उद्योगसँग जोडिएको र उनीहरुको उत्पादन आफ्नो उद्योगले किनिरहेको पौडेलले जानकारी दिए । उनका अनुसार अहिले उद्योगले १९ जिल्लाका किसानसँग जोडिएर काम गरिरहेको छ ।  प्रत्यक्ष र अप्रत्यक्ष गरी २ सय जतिले उद्योगमा काम गरिरहेका छन् । अमेरिका, दुबई, साउदी अरब लगायतका तेस्रो मुलुकमा निर्यात गर्ने तयारीमा रहेको पौडेलले बताए । अहिले उद्योगले भारतमा निर्यात गरिरहेको र मलेसिया, युएई र साउदी अरेबियामा निर्यात गर्ने तयारीमा रहेको पनि पौडेलले जानकारी दिए ।  उद्योगका अहिले काठमाडौं, धरान, काठमाडौं, नेपालगञ्ज र दाङ गरी ५ ठाउँमा डिलर छन् भने देशभर ४ सय वटा रेष्टुरेण्ट पनि छन् । कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निष्ठा र मेहनतका साथ काम गरेको खण्डमा जो कोहीले पनि चमत्कार गर्नसक्ने जिकिर गरे ।  पौडेलले पाँच बिघा जग्गा खरिद गरेर उद्योग सञ्चालन गरेको जानकारी दिएका छन् । उनका अनुसार उद्योग सञ्चालनका लागि मेसिनमा मात्र ४४ करोड रूपैयाँ लगानी भएको छ ।  पौडेल २०५८ सालदेखि बुटवलमा क्वालिटी मिट प्रोसेसिङ इन्डस्ट्रिजमार्फत मासुको तयारी परिकार उत्पादन गरी निर्यात गर्ने व्यवयास सञ्चालन गर्दै आएका छन् । 

मोरङमा ‘स्वास्थ्य जीवनशैली रूपान्तरण’ कार्यक्रम सम्पन्न

विराटनगर । महिला उद्यम समिति, मोरङ उद्योग व्यापार संघको आयोजनामा ‘स्वास्थ्य जीवनशैली रुपान्तरण’ विषयक जानकारीमूलक कार्यक्रम आइतबार सम्पन्न भएको छ । समितिकी संयोजक श्रुति शर्माको अध्यक्षता तथा मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार साहको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्वास्थ्य र पोषण सम्बन्धी विविध पक्षमा छलफल गरिएको थियो । सिनियर हेल्थ कोच अमोल चारडेले दैनिक जीवनशैलीमा हुने अस्वस्थ खानपानका कारण देखिने समस्या र तिनको समाधानका उपायहरूबारे विस्तृत रूपमा जानकारी दिएका थिए ।  उनले स्वास्थ्यकर खानाको छनोट र त्यसको नियमित अभ्यासबारे समेत सहभागीहरूलाई जानकारी दिए । कार्यक्रममा मोरङ उद्योग व्यापार संघका अध्यक्षसहित पदाधिकारी, कार्यसमिति सदस्य, युवा उद्यम समिति संयोजक, महिला उद्यम समितिका सदस्यहरू, विभिन्न संघ-संस्थाका प्रतिनिधि, राजनीतिज्ञ तथा क्याम्पसका विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

गभनर्र पौडेल र उद्योगीबीच अर्थतन्त्रका विषयमा छलफल, आर्थिक गतिविधि बढ्ने नीति ल्याउन सुझाव

काठमाडौं । गभनर्र प्रा.डा. विश्वनाथ पौडेल र उद्योगीबीच अर्थतन्त्रका विषयमा छलफल भएको छ । आइतबार नेपाल उद्योग परिसंघ र नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर पौडेलबीच अर्थतन्त्रका विषयमा छलफल भएको हो ।  परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले नवनियुक्त गभर्नर पौडेललाई बधाईसहित मुलुकको अर्थतन्त्रका नीतिगत विषयमा छलफल गरेको हो ।  सो अवसरमा अध्यक्ष अग्रवालले विगत तीन वर्षदेखि अर्थतन्त्रले भोग्दै आएको समस्या समाधानमा राष्ट्र बैंकले महत्वपूर्ण नीतिगत व्यवस्था गर्ने विश्वास व्यक्त गरे । उनले समग्र मागमा आएको संकुचनका कारण अर्थतन्त्रमा समस्या देखिएको भन्दै कसरी अर्थतन्त्रलाई चलायमान बनाउने, बैंकका रहेको लगानी योग्य रकमको परिचालन कसरी बढाउन सकिन्छ लगायतका विषयमा सुझाव दिए । सो अवसरमा नवनियुक्त गभर्नर पौडेलले परिसंघका नीतिगत सुझावहरुको सरहाना गर्दै बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेश गर्न कार्यदल गठन गरेको बताए । बधाई तथा छलफलमा परिसंघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, उपाध्यक्षहरु हेम राज ढकाल, अमित मोर, महानिर्देशक डा. घनश्याम ओझालगायत सहभागी थिए ।