१० करोड लागतमा उद्योग सञ्चालन, ५ सय टन किबी खपत क्षमता
काठमाडौं । गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि धनकुटाको महालक्ष्मी नगरपालिका-२ किबी किसानलाई राहत पुगेको छ । स्थानीय दुर्गामणि पौडेलले काठमाडौंबाट फर्किएर वडाको घुमाउनेस्थित तोरीबारीमा १० करोड लागत रुपैयाँमा ५ सय टन किबी खपत गर्ने क्षमताको उद्योग सञ्चालनमा ल्याएपछि किसानहरू लाभान्वित भएका हुन् । ठूलो किबी बजारमा सहजै बिक्री भए पनि मझौला तथा साना किबी नबिक्ने समस्या छ । तर, अहिले वाइन बनाउन उद्योगले ती सबै किबी खरिद गर्न थालेपछि गाउँका ५० परिवारलाई राहत भएको माझखर्कका किसान टीकाराम गुरुङले जानकारी दिए । ७ वर्ष अघिबाट १० रोपनीमा किबी खेती गर्दै आएका गुरुङले उद्योग स्थापनापछि धाएर बजारसम्म लैजानुपर्ने र बजार खोज्नुपर्ने समस्याबाट राहत मिलेको जानकारी दिए । हाल प्रतिकिलो ५० रुपैयाँदेखि ८० रुपैयाँसम्ममा उद्योगलाई किबी बेच्दै आएका गुरुङले किबीको मूल्य प्रतिकिलो १ सय रुपैयाँभन्दा बढी नभएसम्म किसान मर्कामा परिरहेको हुँदा प्रत्यक्ष अनुदान दिएर किसानलाई राहत दिनुपर्ने माग गरे । त्यसैगरी, विगत १५ वर्षअघि तोरीबारी गाउँमा ३० रोपनीमा किबी खेती गर्दै आएका तिलबहादुर पौडेलले उद्योग स्थापनाले बजारको समस्या समाधान भएको बताए । ‘भाउ तलमाथि त्यस्तै हो तर उद्योग सञ्चालनमा आएपछि ठूलो राहत भएको छ,’ उनले भने । उद्योग स्थापनाले सो गाउँका ७० भन्दा बढी किसान लाभान्वित भएको उनको दाबी छ । वार्षिक १५ लाख रुपैयाँसम्मको किबी बेच्दै आएका पौडेलले उद्योग बनेपछि काठमाडौं, विराटनगर, झापालगायत स्थानमा किबी बेच्नुपर्ने बाध्यता अन्त्य भएको बताए । नगरको यस वडालाई छ वर्षअघि किबी पकेट क्षेत्र घोषणा गरेपछि वडाका तोरीबारी, घुमाउने, माझखर्क, खाप्राङ गाउँका किसान व्यावसायिक किबीखेतीतर्फ आकर्षित भएका थिए । किबीको बढ्दो उत्पादनसँगै बजारको समस्या भइरहेका बेला उद्योग स्थापनापछि गाउँका करिब एक सय किबी किसानलाई राहत मिलेको वडाध्यक्ष पदम रखाल मगरले बताए । विसं २०७४ देखि एक सय रोपनीमा किबी खेतीसहित वसन्तपुर तीनजुरे बेभ्रेज प्रालिमार्फत आउने माघबाट ‘तीनजुरे बगान’ नामक किबी वाइन ल्याउने तयारी पूरा भएको उद्योग सञ्चालक दुर्गामणि पौडेलले बताए । यो वर्ष आठदेखि १० टन किबी खपत सुरु गरेको उद्योगले आगामी दिनमा कोशी प्रदेशभरिका ५० टन किबी खपत गर्ने उनको भनाइ छ ।
निजी क्षेत्रको मनोबल नउठेसम्म अर्थतन्त्र चलायमान हुँदैन : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक पुनरुत्थानका लागि निजी क्षेत्रको मनोबल माथि उठाउँदै विश्वास पुनःस्थापना गर्नु आजको मुख्य आवश्यकता भएको बताएका छन् । नवलपुर उद्योग वाणिज्य संघको ११औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष ढकालले राजनीतिक अस्थिरता, असुरक्षा र अन्योलका कारण आर्थिक गतिविधि चलायमान हुन नसकेको उल्लेख गरे । उनले निजी क्षेत्रको मनोबल नउठेसम्म आर्थिक गतिविधि चलायमान हुन कठिन हुने धारणा राखे । हरेक आन्दोलनका क्रममा निजी क्षेत्रका उद्योग–व्यवसायमा प्रहार हुने गरेकोप्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष ढकालले यस्तो अवस्थाले लगानी वातावरण थप कमजोर बनाउने बताए । नेपालमा व्यवसायीले गरेको योगदानभन्दा नकारात्मक प्रचार बढी हुने गरेको उल्लेख गर्दै यस प्रकारको धारणा परिवर्तन आवश्यक भएको उनको भनाइ थियो । 'देशमा सबैभन्दा बढी रोजगारी सिर्जना गर्ने निजी क्षेत्र हो, राजस्वमा योगदान गर्ने पनि निजी क्षेत्र नै हो । तर हरेक आन्दोलनमा निजी क्षेत्र नै तारो बन्ने गरेको छ । अब जुनसुकै प्रदर्शन वा आन्दोलनमा निजी क्षेत्रमा आगजनी र तोडफोड गर्नु हुँदैन भन्ने सन्देश आमरूपमा प्रवाह गर्नुपर्छ,' अध्यक्ष ढकालले भने । भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको गलत घुसपैठबाट उद्योग–व्यवसायदेखि उद्यमी–व्यवसायीका शयनकक्षसम्म आगलागी, लुटपाट र अर्बौँ रुपैयाँको क्षति भएको उल्लेख गर्दै अध्यक्ष ढकालले यस्ता घटनामा दण्डहीनताले प्रश्रय पाउन नहुनेमा जोड दिए । नेपाल उद्योग वाणिज्य महासंघको पहलमा धेरै नीतिगत सुधार भएका छन् भन्दै उनले नेपालमा अथाह सम्भावना रहेको र ती सम्भावनाबाट नेपालमै अवसर सिर्जना गर्नुपर्ने बताए । ठूला पूर्वाधार परियोजनाका लागि प्रत्यक्ष वैदेशिक लगानीको मात्र मुख ताकेर नहुने उल्लेख गर्दै देशमै छरिएर रहेको पूँजी एकत्रित गरी पूर्वाधार तथा उद्यमशीलताको विकास गर्नुपर्ने धारणा राखे । त्यसैका लागि महासंघको पहलमा १० अर्ब रुपैयाँ पूँजीको ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड’ स्थापना गरी काम सुरु गरिएको जानकारी दिँदै अध्यक्ष ढकालले यसबाट ठूला पूर्वाधार विकास तथा अन्य उद्यमका लागि पूँजीको अभाव नहुने बताए । उनले नवलपरासीको धौवादी फलाम खानी सञ्चालनका लागि पनि सहकार्य गर्न सकिने धारणा व्यक्त गरे । महासंघको आग्रहमा सरकारले जिल्ला सुरक्षा समितिमा महासंघका प्रतिनिधि सहभागी गराएको जानकारी दिँदै अध्यक्ष ढकालले यसलाई प्रभावकारी बनाउन जिल्ला नेतृत्वलाई आग्रह गरे । नवलपुर जिल्लामा कृषि, पर्यटन, ऊर्जा तथा साना तथा मझौला उद्योगमा ठूलो सम्भावना रहेको उल्लेख गर्दै उनले स्थानीय तह, प्रदेश र संघीय सरकारबीच समन्वय बढाएर ती सम्भावनालाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए ।
औद्योगिक क्षेत्र निर्माण तथा संचालन गर्न सीएनआई र निफ्राबीच समझदारी
काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) बीच औद्योगिक क्षेत्र निर्माण एवं संचालन गर्न समझदारी भएको छ । नेपाल सरकारले घोषणा गरेको औद्योगिक क्षेत्र सार्वजनिक–निजी साझेदारी अवधारणमा निर्माण तथा संचालन गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको हो । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक ई. पदम ओलीको उपस्थितिमा सीएनआईकोतर्फबाट महानिर्देशक डा. घनश्याम ओझा र निफ्राकोतर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सूर्यबहादुर तामाङले हस्ताक्षर गरे । दुई संस्थाबीच भएको समझदारी अनुसार नेपाल सरकारले घोषणा गरेको चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक–निजी साझेदारी अवधारणमा निर्माण तथा संचालनलाई प्राथमिकतामा राखिएको छ । यसैगरी हेटौडाको मयूरधाप र रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र निर्माण तथा संचालनका लागि सहकार्य गर्ने समझदारी सीएनआई र निफ्राबीच भएको छ । सरकारले सार्वजनिक–निजी साझेदारी अवधारणमा औद्योगिक क्षेत्र निर्माण तथा संचालन गर्न दिने घोषणा गरेअनुसार सीएनआईले औद्योगिक क्षेत्र निर्माणका लागि निफ्रासँग समझदारी गरेको हो । यो समझदारीसँगै सार्वजनिक–निजी साझेदारी अवधारणमा निजी क्षेत्रलाई औद्योगिक क्षेत्र निर्माण तथा संचालन गर्न दिन नेपाल सरकारलाई संयुक्त रूपमा प्रस्तावसँगै आग्रह गरिनेछ । सो अवसरमा सीएनआईका अध्यक्ष वीरेन्द्रराज पाण्डेले औद्योगिक क्षेत्र निर्माण एवं संचालनका लागि निफ्रासँग समझदारी गरी सुरुवातीको काम गर्न लागिएको बताए । सीएनआई र निफ्राबीच भएको यो समझदारी निकै महत्वपूर्ण रहेको उनले बताए । निफ्राका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले औद्योगिक क्षेत्र निर्माण सम्बन्धमा सीएनआईसँग भएको यो समझदारीलाई निफ्राले प्रस्थानविन्दुको रूपमा लिएको बताए । उनले परिसंघसँगको सहकार्यमा सार्वजनिक–निजी साझेदारी अवधारणमा अगाडि लैजान सकिने बताए । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक ई. पदम ओलीले सरकारले पीपीपी मोडलमा निजी क्षेत्रलाई पनि औद्योगिक क्षेत्र निर्माण तथा संचालन दिने भनेकाले यो समझदारीले राम्रो सन्देश दिएको बताए । सो अवसरमा सीएनआईका पूर्व अध्यक्ष विष्णुकुमार अग्रवाल, उपाध्यक्ष गोकुल भण्डारी, चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरे, वागमती उद्योग परिसंघ एवं चितवन उद्योग संघका पूर्व अध्यक्ष भेषराज दुवाडी, सीएनआई उद्योग समिति सभापति राहुल अग्रवाल, उपसभापति गुरु अधिकारी, सीएनआई पूर्वाधार समिति सभापति रामकृष्ण खतिवडा, निफ्राका उपप्रमुख लगानी अधिकृत रबिन श्रेष्ठलगायत सहभागी थिए ।