मूल्य नपाएपछि ह्याचरी उद्योगले कुखुराको चल्ला उत्पादन एक साता बन्द गर्ने

चितवन । नेपाल ह्याचरी उद्योग सङ्घले आजदेखि यही असार २९ गतेसम्म कुखुराको चल्ला उत्पादन तथा बिक्रीवितरण बन्द गरेको छ । सङ्घमा आवद्ध उद्योगीलाई ब्रोइलर र कलर ब्रोइलर (कोइलर) कुखुराको चल्ला उत्पादन तथा बिक्री गर्न पूर्णरूपमा रोक लगाएको हो । चल्ला उत्पादक किसानले लागत अनुसार मूल्य नपाएपछि सङ्घले एक साता उत्पादन तथा बिक्रीवितरण बन्द गरेको जनाएको छ । सङ्घका वरिष्ठ उपाध्यक्ष राजेन्द्र लामिछानेका अनुसार उत्पादित चल्ला र मासुले मूल्य नपाएपछि एक साताका लागि उत्पादन बन्द गरिएको हो । उनले भने, 'व्यवायीले चल्लाको उत्पादन मूल्य भन्दा कममा बेच्नुपर्ने र बिक्रीनै नहुने अवस्थामा पुगेपछि अहिलेको अवस्था आएपछि हामीले चल्ला उत्पादन बन्द गरेका हौँ ।' अहिले नेपालमा ५३ ह्याचरी उद्योग सञ्चालनमा रहेका छन् । कोभिड अघिसम्म तीन सय ७० को हाराहारीमा उद्योग सञ्चालनमा रहेका थिए । नेपालमा अहिलेको बजार खपत सातामा २० लाखदेखि २२ लाख मात्रै रहेको भए पनि उत्पादन भने सातामा ३० देखि ३५ लाख हुने गरेको छ । माग भन्दा उत्पादन बढी भएपछि समस्या आएको हो । चल्ला बिक्री नहुँदा सञ्चालनमा रहेका ह्याचरी उद्योगसमेत धारासाही भएका छन् । उत्पादित चल्ला रु १० देखि १५ मा बेच्नुपर्ने भएपछि उद्योग बन्द गरिएको हो । ब्रोइलर चल्लाको लागत मूल्य ६० रूपैयाँ पर्न आउँछ । हरेक आइतबार र बुधबार ब्रोइलर र कोइलरका चल्ला उत्पादन गरिँदै आएको छ । रासस

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, सुगरका बिरामीले समेत खान मिल्ने

काठमाडौं । हाईलाइफले नयाँ उत्पादनको रूपमा चामल व्यवसायमा प्रवेश गरेको छ । हाईलाइफले एक्स्ट्रा लङ्ग ग्रेन बासमती चामल, पुलाउ बासमती चामल र ‘जजआई राइस’ बजारमा ल्याएको छ । नेपाली उपभोक्ताको स्वाद, पोषण र विश्वासलाई मध्यनजर गर्दै हाईलाइफ फूड्सले नयाँ प्रोडक्टका रूपमा प्रिमियम बासमती चामल बजारमा ल्याएको हो । ‘जजआई राइस’ डायबेटिक बिरामीका लागि उपयुक्त हुने कम्पनीको भनाइ छ । लामो दाना, उत्कृष्ट स्वाद र प्राकृतिक सुगन्धले भरिएको यो चामल घरायसी भान्सादेखि रेस्टुरेन्टसम्मका लागि उपयुक्त र गुणस्तरीय विकल्पका रूपमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । अन्य बासमती चामलहरूको तुलनामा हाईलाइफ फूड्सको यो बासमती चामल शुद्ध, सफा र पौष्टिक तत्वले पूर्ण रहेको कम्पनीको भनाइ छ । हाईलाइफ फूड्सका प्रबन्ध निर्देशक पंकज ज्ञवालीले भने, 'प्रत्येक नेपाली परिवारलाई गुणस्तरीय, पौष्टिक र सुलभ खाद्यान्न उपलब्ध गराई स्वस्थ जीवनशैलीलाई प्रवर्द्धन गर्ने उद्देश्यमा कम्पनी प्रतिबद्ध छ ।' उनका अनुसार हाईलाइफ प्रिमियम बासमती चामल स्वादिलो हुनुका साथै स्वास्थ्यवर्धक समेत छ । पछिल्लो समय हाईलाइफ फूड्सले विभिन्न उत्पादनमा जोड दिंदै आएको र व्यावसायिक दायरा विस्तार गरिरहेको छ । कम्पनीले किसान, उपभोक्ता र समुदायलाई लक्षित गर्दै रोजगारी सृजना र उत्पादन क्षमतामा वृद्धिबाट मुलुकको आर्थिक विकासमा योगदान दिंदै आएको छ । अत्याधुनिक प्रविधि, अनुसन्धान तथा डिजिटल युगअनुकूल सेवा प्रणालीमार्फत उद्योगमा अग्रणी भूमिका खेल्ने हाईलाइफ फूड्सको लक्ष्य छ । गुणस्तरलाई पहिलो प्राथमिकतामा राख्दै कम्पनीले प्रत्येक उत्पादनमा उच्चतम मापदण्डको पालना गर्ने जनाएको छ । उपभोक्ताको आवश्यकता र जीवनशैली अनुसार नवीन उत्पादन विकास, गुणस्तरमा सम्झौता नगरी सबैका लागि सुलभ उत्पादन उपलब्ध गराउने, सरोकारवालासँग पारस्परिक सम्मान र सहयोग, इमानदारी तथा पारदर्शिता कम्पनीका मूल सिद्धान्त हुन् । दीर्घकालीन विश्वास र सुदृढ व्यवस्थापन क्षमतामा केन्द्रित रही कम्पनी अघि बढिरहेको छ । हाल हाईलाइफ प्रिमियम बासमती चामल देशभरका खुद्रा विक्रेता, सुपरमार्केट तथा अनलाइन प्लेटफर्महरूमा विभिन्न तौल र आकर्षक प्याकेजिङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यसले गुणस्तर र मूल्यबीचको सन्तुलन कायम राख्ने कम्पनीको दाबी छ । हाईलाइफको चामल १ किलो, ५ किलो र २० किलोमा बजारमा उपलब्ध हुनेछ ।