४ दशक पुरानो अशोक स्टीलको आम्दानी २१ प्रतिशत बढ्यो, बैंक ऋण साढे ३ अर्ब रुपैयाँ
काठमाडौं । अशोक स्टील इन्डस्ट्रिज प्रालिको यस वर्ष आम्दानी बढाएको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष अशोक स्टील इन्डस्ट्रिजको आम्दानी २१.२२ प्रतिशत अर्थात् ७६ करोड १० लाख रुपैयाँ बढेको हो । कम्पनीले सन् २०२४ मा ३ अर्ब ५८ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको थियो । सन् २०२५ मा उक्त आम्दानी बढेर ४ अर्ब ३४ करोड ७० लाख रुपैयाँ गरेको हो । सन् २०२३ को तुलनामा भने आम्दानी कम हो । सन् २०२३ मा कम्पनीले ६ अर्ब ६६ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो । सन् २०२३ को तुलनामा यस वर्ष कम्पनीको आम्दानी ३४.७२ प्रतिशत कम हो । यसैगरी, कम्पनीले सन् २०२१ मा ४ अर्ब ५२ करोड २० लाख रुपैयाँ र सन् २०२२ मा ६ अर्ब ८८ करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यस्तै, कम्पनीले सन् २०२० मा २ अर्ब २६ करोड १० लाख रुपैयाँ, सन् २०१९ मा ३ अर्ब ३५ करोड ४० लाख रुपैयाँ, सन् २०१८ मा ३ अर्ब ५९ करोड ४० लाख रुपैयाँ, सन् २०१७ मा १ अर्ब ३५ करोड ८० लाख रुपैयाँ र सन् २०१६ मा ९३ करोड ४० लाख रुपैयाँको स्टीलको व्यापार गरेको थियो । सन् १९८४ मा स्थापित अशोक स्टीलले स्पञ्ज आइरन, पिग आइरन र स्क्राइब कच्चा पदार्थ प्रयोग गरी एमएस ब्लेड उत्पादन गरिरहेको छ । गढीमाई बारामा उद्योग रहेको यस कम्पनीले वार्षिक १ लाख मेट्रिक टन टीएमटी उत्पादन गर्दै आएको छ । चार दशकदेखि नेपाली बजारमा रहेको अशोक स्टीलको अध्यक्ष तथा प्रबन्ध निर्देशक पूनमचन्द अग्रवाल हुन् । उनीसँग स्टील उत्पादन उद्योगमा ३० वर्षभन्दा बढीको अनुभव छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) अभिषेक तुलसियान हुन् । कम्पनीको देशभर २५० बढी डिलर र ५ सय बढी खुद्रा बिक्रेता छन् । कम्पनीले बैंकको ऋण बढाएको छ । सन् २०२५ मा कम्पनीले ३ अर्ब ४३ करोड रुपैयाँ ऋण लिएको छ । जबकि सन् २०२४ कम्पनीले ३ अर्ब ३ करोड रुपैयाँ मात्रै ऋण लिएको थियो । कुल ऋणमा १ अर्ब ७९ करोड २३ लाख रुपैयाँ दीर्घकालीन र १ अर्ब ६३ करोड ७७ लाख रुपैयाँ अल्पकालीन ऋण लिएको कम्पनीले जनाएको छ ।
अर्थतन्त्र उकास्न आज सर्वपक्षीय राष्ट्रिय संवाद हुँदै
काठमाडौं । देशको अर्थतन्त्र उकास्ने उद्देश्यले आज यहाँ शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य शीर्षकमा सर्व पक्षीय राष्ट्रिय संवाद आयोजना हुँदैछ छ । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) को आयोजनामा हुने संवादमा प्रधानमन्त्री सुशीला कार्की प्रमुख अतिथि रहने एफएनसीसीआईले जनाएको छ । संवादमा प्रमुख राजनीतिक दल, निजी क्षेत्र, युवा पुस्ता (जेनजी), नागरिक समाज तथा सञ्चार क्षेत्रका प्रतिनिधि सहभागी हुनेछन् । संवादमार्फत राजनीतिक स्थायित्व, आर्थिक सुधार, लगानी अभिवृद्धि र युवाको भूमिकाबारे साझा धारणा निर्माण गर्ने लक्ष्य रहेको महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । अर्थतन्त्रका चुनौती समाधानका निम्ति संवाद र सहकार्यको वातावरण बनाउन कार्यक्रम आयोजना गरिएको एफएनसीसीआईले जनाएको छ ।
आईपीओको अनुमति पाएपछि पाल्पा सिमेण्टको साधारण सभा स्थगित
काठमाडौं । पाल्पा सिमेण्ट इण्डष्ट्रिज लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ । पुस १४ गते बेलाएको साधारण सभा स्थगित भएको कम्पनीले जानकारी दिएको छ । पाल्पा सिमेण्टको आर्थिक वर्ष २०८१/८२ को वार्षिक साधारण सभा गर्न पुस १४ गते सोमबार बोलाइएको थियो । कम्पनीले आईपीओ निष्काशन गर्न पुस ९ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएपछि साधारण सभा स्थगित गरिएको जनाएको छ । बोर्डले पाल्पा सिमेण्ट इन्डष्ट्रिजलाई ७५ करोड रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरमा ७५ लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुलाई बिक्री गर्न अनुमति दिएको हो । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ को दफा ४९ मा सार्वजनिक निष्काशनका लागि अनुमति प्राप्त गरिसकेको संगठित संस्थाले नयाँ सेयरधनीहरु समेत समावेश नभई साधारणसभा गर्नु नहुने भन्ने कानूनी व्यवस्था बमोजिम अर्को सूचना जारी नगरेसम्म सभा स्थगित गरिएको हो । कम्पनीको आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।