काठमाडौं र ललितपुरमा निरन्तर बजार अनुमगन
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं र ललितपुरका विभिन्न १७ वटा फर्ममा अनुमगन तथा निरीक्षण गरेको छ । विभागले काठमाडौंको गैरीगाँउस्थित युवराज ट्रेड एण्ड सप्लायर्सलाई रु १० हजार जरिवाना गरेको छ । विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५, दफा ३८ ‘घ’ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ ‘क’ बमोजिम कारबाही गरिएको विभागले जनाएको छ । विभागले अन्य १६ वटा फर्मलाई भने निर्देशनात्मक कारबाही गरेको छ । विभागले स्थानीय प्रशासन, जनप्रतिनिधिसहितको सहभागितामा बजारमा स्वच्छता कायम गर्न निरन्तर अनुगमन तथा निरीक्षण गर्दै आएको छ ।
तरलता पर्याप्त भए पनि निजी क्षेत्रको मनोबल कमजोर छ: अन्जन श्रेष्ठ
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजी पर्याप्त भए पनि निजी क्षेत्रको मनोबल खस्किँदा लगानीको वातावरण अघि बढ्न नसकेको बताएका छन् । विकास मिडियाले आयोजना गरेको विकास वहस तथा विकास नायक अवार्ड वितरण कार्यक्रममा बोल्दै उनले पछिल्लो समय लगानीको धारणा र व्यवहारमा परिवर्तन आएको उल्लेख गरे । ‘पहिले निजी क्षेत्रलाई घाँटी हेरेर हाड निल्नुपर्छ भनिन्थ्यो, तर अहिले समय फेरिएको छ । अब हाड हेरेर घाँटी बनाउनुपर्ने अवस्था आएको छ,’ उनले भने । श्रेष्ठका अनुसार कोरोना महामारी, युवा पलायन, विभिन्न किसिमका आन्दोलन र अस्थिरताका कारण समग्र अर्थतन्त्र सुस्त भएको छ । यसले निजी क्षेत्रको लगानी क्षमतामा प्रत्यक्ष असर पारेको उनले बताए । उनले समयमै निर्वाचन सम्पन्न भई राजनीतिक स्थिरता कायम होस् भन्ने निजी क्षेत्रको अपेक्षा रहेको उल्लेख गरे । साथै, निजी क्षेत्रप्रति हेर्ने दृष्टिकोणमा अपेक्षित सुधार हुन नसकेकोप्रति उनले असन्तोष व्यक्त गरे । ‘निजी क्षेत्र देश विकासका लागि काम गर्ने पक्ष हो, तर बारम्बार आरोप-प्रत्यारोप लाग्ने गरेको छ,’ उनले भने । उनका अनुसार पहुँचभन्दा परिश्रमका आधारमा अगाडि बढेका धेरै उद्योगी-व्यवसायी देशमै रहेका छन् । श्रेष्ठले पछिल्ला राजनीतिक घटनाक्रमका क्रममा निजी क्षेत्रलाई गलत रूपमा परिभाषित गर्ने प्रवृत्ति देखिएको भन्दै त्यसमा सुधार आवश्यक रहेको धारणा राखे ।
देउराली जनता फर्मास्युटिकल्सको आम्दानी साढे २ अर्ब, बैंकको ऋण घटाउँदै
काठमाडौं । साढे तीन दशकदेखि सञ्चालनमा रहेको देउराली जनता फर्मास्युटिकल्सले साढे २ अर्ब रुपैयाँ आम्दानी गरेको छ । देउराली जनताले सन् २०२५ मा २ अर्ब ३५ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको जनाएको छ । यो आम्दानी गत वर्षको तुलनामा १६.१६ प्रतिशत अर्थात् ३२ करोड ७० लाख रुपैयाँ बढी हो । सन् २०२४ मा कम्पनीले २ अर्ब २ करोड ३० लाख रुपैयाँ बढी आम्दानी गरेको थियो । नेपाली औषधि उद्योगको अग्रणी कम्पनीको रुपमा चिनिएको देउराली जनता सन् १९९१ मा स्थापना भएको हो । देउराली जनता फार्मास्युटिकल्सले मुटु रोग, मधुमेह, स्त्रीरोग तथा बाल स्वास्थ्य, ग्यास्ट्रोलोजी र हेपाटोलोजी, छाला रोगलगायतका क्षेत्रमा प्रयोग हुने सामान्य तथा विशेष खालका औषधिहरू उत्पादन गर्दै आएको छ । हाल कम्पनीले विभिन्न वर्गमा २५० भन्दा बढी प्रकारका औषधी उत्पादन बजारमा उपलब्ध गराइरहेको छ । कम्पनीले सन् २०१८ मा १ अर्ब ४० करोड ५९ लाख रुपैयाँ, सन् २०१९ मा १ अर्ब ५३ करोड ४५ लाख रुपैयाँ, सन् २०२० मा १ अर्ब १९ करोड ६४ लाख रुपैयाँ, सन् २०२१ मा १ अर्ब ४६ करोड ९० लाख रुपैयाँ,सन् २०२२ मा १ अर्ब ७० करोड ५० लाख रुपैयाँ, सन् २०२३ मा १ अर्ब ८६ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । सन् २०२५ को जुलाईको मध्यसम्मको तथ्याङ्क अनुसार देउराली जनता फर्मास्युटिकल्सको करिब ७१ प्रतिशत इक्विटी सेयर कम्पनीका कार्यकारी निर्देशक तथा अध्यक्ष हरिभक्त शर्माको स्वामित्वमा रहेको छ । बाँकी सेयर उनको परिवारका सदस्य तथा अन्य व्यक्तिको नाममा रहेको छ । दीर्घ अनुभव, फराकिलो उत्पादन दायरा र स्थिर स्वामित्व संरचनाका कारण देउराली जनता फर्मास्युटिकल्स नेपाली औषधि बजारमा विश्वासिलो ब्रान्डको रूपमा स्थापित हुँदै आएको छ । कम्पनीले देशभर २०० भन्दा बढी वितरकहरूसँग समन्वय गरेर व्यापार विस्तार गर्दै आएको छ । ‘मानव जीवनका लागि स्वास्थ्यभन्दा बहुमूल्य अरू केही छैन’ भन्ने मूल दृष्टिकोणका साथ देउराली-जन्ता फर्मास्युटिकल्सको स्थापना गरिएको हो । दीर्घकालीन रूपमा नेपाललाई स्वास्थ्य क्षेत्रमा आत्मनिर्भर बनाउने दृष्टिकोणसहित कम्पनीले मानव जीवनजस्तो संवेदनशील र अमूल्य सम्पत्तिको संरक्षण तथा सम्वर्द्धनलाई आफ्नो प्रमुख मिसन बनाएको कार्यकारी सञ्चालक हरिभक्त शर्माले बताए । गुणस्तरीय औषधि उत्पादनप्रतिको गहिरो प्रतिबद्धता कम्पनीको डीएनएमै रहेको र घरेलु तथा क्षेत्रीय औषधि उद्योगको अग्रपङ्क्तिमा पुर्याएको उनको भनाइ छ । सन् १९९१ मा ज्वरो घटाउने औषधि एन्टिबायोटिक्स र भिटामिनजस्ता उत्पादनबाट यात्रा सुरु गरेको देउराली जनताले समयक्रमसँगै आफ्नो उत्पादन दायरा निरन्तर विस्तार गर्दै आएको शर्माले बताए । हाल कम्पनीले ट्याब्लेट, क्याप्सुल, मलहम, ड्राइ पाउडर तथा तरल डोज फर्मसहितका औषधि उत्पादन गरिरहेको उनले जनाए । नेपालमा औषधि कम्पनीहरूको संख्या बढेसँगै प्रतिस्पर्धा पनि वृद्धि भएपनि रणनीतिक सुधार, अत्याधुनिक उत्पादन प्रविधिको प्रयोग र गुणस्तरीय मानव संसाधन विकासमार्फत कम्पनीले आफ्नो अग्रणी स्थान जोगाउँदै आएको उनको भनाइ छ । उद्योगले बैंकको ऋण पनि घटाउँदै लगेको देखिन्छ । हाल उद्योगले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ६ करोड १० लाख रुपैयाँ लिएको छ । जबकि सन् २०२४ मा १ अर्ब ११ करोड ६० लाख रुपैयाँ ऋण थियो । त्यसअघि सन् २०२३ मा उद्योगले १ अर्ब १७ करोड ५६ लाख रुपैयाँ ऋण लिएको थियो ।