वैदेशिक रोजगारीमा रहेका नेपालीले आजसम्म पाल्पा सिमेन्टको आईपीओमा आवेदन दिन सक्ने

काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रिजको आईपीओमा आवेदन दिने आज पुस ३० गते अन्तिम दिन रहेको छ । पुस २५ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी १ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत अर्थात् ७५ करोड रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरमा ७५ लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुलाई बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । सर्वसाधारण लगानीकर्तालाई छुट्याएको १५ प्रतिशत अर्थात् ५६ लाख २५ हजार कित्ता सेयरको १० प्रतिशत अर्थात् ५ लाख ६२ हजार ५ सय कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीलाई बिक्री गरिएको कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।  वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

व्यवसाय र उद्योगको रोग निको बनाउन उद्यम क्लिनिक

काठमाडौं । उद्यमका क्षेत्रमा देखिएका समस्या समाधान गर्ने उद्देश्यका साथ पोखरामा मंगलबारदेखि उद्यम क्लिनिक सुरु गरिएको छ । पोखरा महानगरपालिका अन्तर्गतको व्यवसाय प्रवर्द्धन केन्द्रले पोखरा उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा क्लिनिक सुरु गरिएको औपचारिक घोषणा गरेको हो । व्यवसायमा आउने समस्याको समाधानका लागि क्लिनिक सञ्चालन गरिने व्यवसाय प्रवर्द्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले जानकारी दिए । ‘मानिसलाई रोग लागे उपचारको लागि अस्पताल लगिन्छ । व्यवसाय र उद्योगलाई रोग लागे के गर्ने भन्ने सन्दर्भमा उद्यम क्लिनिक स्थापना गरिएको हो । यसले उद्यमका क्षेत्रमा देखिएका अवरोध वा रोग हटाई त्यसलाई स्वस्थ बनाउने काम गर्दछ,’ उनले भने ।  अधिकारीका अनुसार उद्यममा देखिएका समस्याको सङ्कलन पोखरा उद्योग वाणिज्य सङ्घ र लेखनाथ उद्योग वाणिज्य सङ्घमार्फत गरिन्छ भने त्यसको पहिचान र निराकरण विज्ञ समूहमार्फत गरिने छ । विज्ञ समूह ल्याउनका लागि पोखरा रिसर्च सेन्टरसँग सम्झौता गरिएको बताउँदै उद्यमका जुन विषयमा समस्या आएको छ त्यससँग सम्बन्धित विज्ञ सेन्टरले ल्याउने उनले जानकारी दिए ।  पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले उद्यम क्लिनिकले निजी क्षेत्रका समस्या समाधान र व्यावसायिक वातावरणमा सघाउने विश्वास व्यक्त गरे । कार्यक्रममा पोखरा रिसर्च सेन्टरका सुजन रेग्मी, पोखरा उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, महासचिव शोभा गौतम लगायतले उद्यम क्षेत्रका समस्याको समाधानका लागि क्लिनिक महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे । 

सुनचाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा, सुन प्रतितोला २ लाख ७४ हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँ तोकिएको छ । यो मूल्य आइतबारको तुलनामा ४ हजार १ सय रुपैयाँले वृद्धि भएको हो । आइतबार सुन प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदी प्रतितोला ५ हजार १९५ रुपैयाँ पुगेको छ, जुन आइतबारको तुलनामा २०५ रुपैयाँ बढी हो । आइतबार चाँदी प्रतितोला ४ हजार ९९० रुपैयाँमा कारोबार भएको थियो ।