निजी क्षेत्र कुनै व्यक्तिको होइन, अर्थतन्त्रकै इन्जिन हो भनेर बुझाउनु जरुरी छ: अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा विगतदेखि गत भदौको जेनजी आन्दोलनमा समेत पहिलो तारो निजी क्षेत्र नै बनेको बताएका छन् । कोहलपुरमा आयोजित महोत्सवको उद्घाटन गर्दै अध्यक्ष ढकालले भने, ‘चाहे त्यो २०६२/६३ को जनआन्दोलन होस् या गत चैतको, अथवा गत भदौको जेनजी आन्दोलन, सधैँ निजी क्षेत्र नै आक्रमणको तारो बनेको छ । यसबाट निजी क्षेत्र र समग्र अर्थतन्त्रमा नराम्रो असर परेको छ।’ अध्यक्ष ढकालले निजी क्षेत्र कुनै व्यक्ति या कम्पनी विशेषको नभएर मुलुकको अर्थतन्त्रकै इन्जिन तथा नेपालको समृद्धिको आधार हो भन्ने तथ्य अब राज्यले नै सबैलाई बुझाउनु जरुरी रहेको र त्यसो भयो भनेमात्र आगामी दिनमा निजी क्षेत्रले यस्तो अवस्था भोग्नु नपर्ने स्पष्ट गरे ।  कहिले भूकम्प, कहिले कोभिड महामारी तथा कहिले अन्य कारणले संकटमा परिरहेको मुलुकको अर्थतन्त्र र समग्र निजी क्षेत्र नै अहिले आगजनीबाट ध्वस्त हुन पुगेको उनले बताए । तर, खरानीबाट उठ्नुपर्ने बाहेकको अर्को विकल्प नरहेकोले अब सबैले मनोबल उकासेर अघि बढ्नुपर्ने उनको भनाइ छ । मुलुकको समग्र निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले निजी क्षेत्रको मनोबल उकास्न सरकारसँग संवाद गर्दै आएको र निजी क्षेत्रको संरक्षणका लागि सरकार समक्ष प्रस्तुत गरेको ‘प्राइभेट सेक्टर प्रोटेक्सन प्लान’ लाई मन्त्रिपरिषद बाटै पास गर्ने आश्वासन दिएको पनि सुनाए ।  मुलुकको अर्थतन्त्रमा कम्तीमा ८१ प्रतिशत योगदान गरेको निजी क्षेत्र यतिखेर मनोबल खस्किएर निराश अवस्थामा रहेको चर्चा गर्दै अध्यक्ष ढकालले स्थानीय स्तरमा आयोजना हुने यस्ता मेला महोत्सवबाट पनि आर्थिक गतिविधिहरू चलायमान बनाउन सहयोग पुग्ने धारणा राखे । अध्यक्ष ढकालले यस प्रकारका मेला महोत्सवहरुमा स्थानीय उत्पादनलाई प्रश्रय दिन र मौलिक उपज, संस्कृति र परम्पराको जगेर्ना गरी स्थानीय प्रतिभाहरूलाई प्रेरणा प्रदान गर्ने काम गर्न आयोजकहरूलाई आग्रह पनि गरे । 

हुलाकले किन राख्यो १० रुपैयाँको टिकटमा स्व. ओमप्रकाश गोयलको फोटो ? यस्तो छ कारण

काठमाडौं । सेवा नै परम धर्म हो भन्ने जीवन–दर्शनलाई आत्मसात गर्दै आफ्नो सम्पूर्ण जीवन उद्योग–व्यापार र समाजसेवामा समर्पित गरेका व्यक्ति हुन्– स्वर्गीय ओमप्रकाश गोयल । उनी एक सफल उद्यमी मात्र नभई एक कर्मठ समाजसेवी पनि हुन् ।  स्वर्गीय फूलचन्द गोयल र माता स्वर्गीय सरस्वती देवी गोयलका पुत्रका रूपमा विसं २०२१ सालमा भारतको हरियाणामा जन्मिएका थिए ।  हरियाणाबाटै म्याट्रिक उत्तीर्ण गरी विसं २०१८ सालमा नेपाल आएका उनले झापाको भद्रपुरलाई आफ्नो कर्मयात्राको प्रारम्भिक थलो बनाए । सगरमाथा राइस मिलमा एक कर्मचारीको रूपमा आफ्नो यात्रा सुरु गरेका उनले छोटो समयमै आफ्नो लगनशीलताले २०२० सालमा भद्रपुर बजारबाटै आफ्नै व्यवसायको जग हालेका थिए। करिब ११ वर्ष किराना पसल सफलतापूर्वक सञ्चालन गरेपछि २०३१ सालमा गोयलले झापाको हडिया बुधबारेलाई आफ्नो स्थायी कर्मथलो बनाए । त्यहाँ उनले स्थापना गरेका ‘गोयल राइस मिल’ आज ५० वर्षपछि पनि निरन्तर सञ्चालनमा छ । व्यापारमा आफूलाई स्थापित गराएपछि उनले आफ्नो आम्दानीको ठूलो हिस्सा समाजसेवामा समर्पित गर्न थालेका थिए ।  बुधबारे बजारमा उनले गरेका सामाजिक कार्यहरू आज पनि स्मरणीय छन् । जसमा उनले आफ्नै खर्चमा हनुमान मन्दिर निर्माण गरे । साथै उनले दुईवटा एम्बुलेन्स खरिद गरे । यो एम्बुलेन्स सेवा निजी क्षेत्रबाट सञ्चालित नेपालकै पहिलो थियो, जुन स्वास्थ्य सेवामा एउटा नयाँ अध्याय थियो ।  बुधबारेको पुरानो राम जानकी मन्दिर निर्माणदेखि विभिन्न विद्यालय, बाल विकास केन्द्र, नेत्रज्योति संघ र गौशाला निर्माण तथा व्यवस्थापनमा उनको योगदान छ ।  नेपानीजस्ता आधारभूत क्षेत्रमा उनले गरेको पहलकदमीले बुधबारे क्षेत्रको मुहार फेर्न भूमिका खेल्यो ।  गोयल ग्रुपको स्थापना आफ्नो व्यावसायिक दायरालाई फराकिलो बनाउँदै गोयलले विसं २०४७ सालमा काठमाडौंमा गणपति धुलन उद्योग स्थापना गरे । त्यसपछि गोयल ग्रुपको स्थापना गरी आफ्नो व्यवसायलाई संस्थागत रूप दिए । उनले काठमाडौंको शंखमूलस्थित शन्तु परमेश्वर धाम भवन निर्माण, चन्द्रगिरीस्थित वेद विद्याश्रम स्थापनाका लागि भूमिदान तथा पशुपति गौशालामा धर्मशाला निर्माण जस्ता काममा समेत सहयोग गरे ।  उनले उनी धागो, पशुदाना, ह्यान्डिक्राफ्ट, घिउ–तेल, र केमिकल लगायतका अनेकौं उद्योगहरू स्थापना गरी स्थानीय उत्पादनलाई बजारीकरण गर्दै घरेलु उद्योगको विकासमा योगदान पुर्‍‍याए ।  गोयलको विसं २०६४ साल चैत्र १४ गते हृदयघातका कारण निधन भयो । उनको सम्झनामा स्थापित ‘गोयल फाउन्डेसन’ले महाभूकम्प, बाढीपहिरो जस्ता राष्ट्रिय विपत्तिहरूमा पीडितहरूको उद्धार, राहत र पुनः स्थापनामा सक्रिय भूमिका खेल्दै आएको छ । फाउन्डेसनमार्फत सञ्चालित बैंक, बीमा, हाउजिङ, जलविद्युत लगायतकामा हजारौंले रोजगारी पाएका छन् । नेपालको सामाजिक, आर्थिक, शैक्षिक, स्वास्थ्य र धार्मिक क्षेत्रमा उनले पुर्याएको योगदानको कदर गर्दै नेपाल सरकारले २०७८ सालमा उनलाई मरणोपरान्त ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ बाट विभूषित गर्यो‍ ।  मंगलबार (हिजो) सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले २०८१ चैत्र १७ गतेको निर्णयअनुसार गोयलको तस्बिर अंकित १० रुपैयाँ दरको हुलाक टिकट प्रकाशनमा ल्याएको छ ।

पर्यटनले रोजगारी र स्थानीय अर्थतन्त्र चलायमान बनाइरहेको छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको पर्यटन क्षेत्रको विकासका लागि लैङ्गिक संवेदनशील, दिगो र लचिलो पर्यटन उद्यम प्रवर्द्धन आवश्यक भएको बताएका छन् । काठमाडौंमा आयोजित 'लैङ्गिक उत्तरदायी, दिगो तथा उत्थानशील पर्यटन उद्यम प्रवर्द्धन' विषयक उच्चस्तरीय नीतिगत संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले सो धारणा राखेका हुन् । उनले नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्र रोजगारी सिर्जना, वैदेशिक मुद्रा आर्जन तथा स्थानीय जीविकोपार्जनमा महत्वपूर्ण आधार रहँदै आएको बताए । साथै, उनले होमस्टे तथा समुदायमा आधारित पर्यटनका माध्यमबाट महिला उद्यमशीलता प्रवर्द्धन भइरहेको बताए । 'पर्यटन नेपालको अर्थतन्त्रको प्रमुख आधार हो । देशको आर्थिक विकासमा आन्तरिक तथा बाह्य दुवै पर्यटनको उत्तिकै योगदान रहेको छ । यद्यपि, पछिल्लो समय आन्तरिक पर्यटन फस्टाउँदै गएको छ । यसले रोजगारी सिर्जना तथा स्थानीय अर्थतन्त्र चलायमान बनाउन ठूलो सहयोग गरेको छ,' उनले भने । पर्यटन क्षेत्रमा महिलाहरूको सहभागिता बढ्दै गएको र यसले महिलाहरूलाई आत्मनिर्भर बन्न सघाएको चर्चा गर्दै अध्यक्ष ढकालले उद्योग वाणिज्य महासंघले महिलाहरूको उद्यमशीलता विकास तथा नेतृत्व विकासमा थुप्रै नीतिगत सुधार गरेको जानकारी दिए । महासंघको नेतृत्वमा महिला सहभागिता अभिवृद्धि गर्न विधान संशोधन गरी महिला सहभागिता अभिवृद्धिका लागि पहल गरिएको समेत उनले जानकारी दिए । अध्यक्ष ढकालले नेपालमा थुप्रै सम्भावनाहरू रहेको उल्लेख गर्दै नेपालमा केही भएको छैन भन्ने भाष्य परिवर्तन गर्नुपर्ने बताए । साथै, उनले नेपालमै आन्तरिक पुँजी परिचालन गरेर पनि पूर्वाधार निर्माण तथा अन्य उद्यमशील कार्य गर्न सकिन्छ भन्ने सोचका साथ महासंघको पहलमा १० अर्ब रुपैयाँको नेपाल डेभलपमेन्ट कम्पनी लिमिटेड स्थापना गरी काम भइरहेको जानकारी दिए । उनले आन्तरिक बचतलाई एकीकृत गर्न तथा उद्यमशीलताका लागि आवश्यक पुँजी व्यवस्थापन दुवैका लागि कम्पनीले सहयोग गर्ने बताए । नेपालमा लैङ्गिक उत्तरदायी र दिगो पर्यटन प्रवर्द्धनका लागि एकेडेमी अफ इनोभेसन फर इकोनोमिक डेभलपमेन्ट नेपालको आयोजनामा तथा नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र विकास कार्यक्रमको संयुक्त पहलअन्तर्गत सञ्चालित दिगो पर्यटन परियोजनाको सहकार्यमा कार्यक्रम आयोजना गरिएको थियो ।