राजनीतिक दल खोल्ने प्रतिस्पर्धा जस्तै कम्पनी खोल्ने लहर चलाउनुपर्छ : हेमराज ढकाल

काठमाडौं । नेपाल उद्योग परिसंघका उपाध्यक्ष हेमराज ढकालले देशमा उद्योग र कम्पनी सञ्चालनका लागि सहजरूपमा वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।  राष्ट्रिय युवा परिषदद्वारा बुधबार आयोजित कार्यक्रममा बोल्दै उनले हाल देशमा राजनीतिक दल खोल्ने जति सहज वातावरण उद्योग,व्यवसाय स्थापना र विस्तारमा नहुँदा समग्र आर्थिक वृद्धि अवरुद्ध भइरहेको बताए ।  ढकालका अनुसार जेनजी आन्दोलनपछि नेपालमा नयाँ राजनीतिक दल खोल्ने प्रतिस्पर्धा नै चलेको देखिन्छ । तर त्यही जोशजाँगर उद्योग र उद्यमशीलता विकासतर्फ छैन ।  उनले भने, ‘दिनदिनै नयाँ दल खुलिरहेका छन् । यदि कम्पनी र उद्योग पनि त्यत्तिकै गतिमा खुल्न थाले देश समृद्धि तिर उड्न थाल्थ्यो । केवल नयाँ राजनीतिक दलहरूको बाढी आएर देश समृद्ध हुँदैन । त्यसका लागि उद्यमशीलता, उद्योग विस्तार र आर्थिक सुधारलाई राजनीतिक एजेन्डाको पहिलो प्राथमिकता बनाउनैपर्छ ।’ आगामी निर्वाचनका घोषणापत्रमा कम्पनी दर्ता, उद्यम सञ्चालन र उद्योग विस्तार सहज बनाउने स्पष्ट तथा कार्यान्वयनयोग्य नीति अनिवार्य रूपमा समावेश गर्न ढकालले राजनीतिक दलहरूलाई आग्रहसमेत गरे ।  

गैरकानुनी हड्ताल बन्द गरी काममा फर्कन त्रिवेणी स्पिनिङ मिल्सको श्रमिकलाई आह्वान

काठमाडौं । त्रिवेणी स्पिनिङ मिल्सले श्रमिकहरूलाई काममा फर्कन आह्वान गरेको छ । गैरकानुनी हड्ताल बन्द गरी तत्काल काममा फर्कन सम्पूर्ण श्रमिकहरूलाई मिल्सले आह्वान गरेको हो । औद्योगिक शान्ति खलबल्याउने ज्यान मार्ने उद्योगजस्ता गम्भीर फौजदारी कसुर गर्ने केही व्यक्तिहरूको स्वार्थको कारणले गैरकानुनी रूपमा उद्योग सञ्चालन नहुँदा नोक्सान अझ बढेको कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ । साथै, त्यसको असर कम्पनीलाई मात्र नपरी श्रमिकहरूलाई पनि पर्ने र कम्पनीलाई रोजगारी कटौती गर्नुपर्ने बाध्यता हुने भएकाले त्यस्तो परिणाम आउन नदिन गैरकानुनी हड्ताल बन्द गरी तत्काल काममा फर्कन कम्पनीले अनुरोध गरेको छ । मुनाफा आर्जन गरेको बेलामा श्रमिकहरूलाई श्रम ऐनअनुसार दिनुपर्ने मात्र नभई ऐनले परिकल्पना नै नगरेका विभिन्न सुविधाहरू समेत दिएको कम्पनीले दाबी गरेको छ । निर्यात मूलक उद्योग भएकोले कोभिड-१९ को असर, विभिन्न समयका गैरकानुनी हड्तालको कारणले उत्पादन र आपूर्तिमा अनिश्चितता भएकोले कम्पनीका उत्पादनले बजार गुमाउनु आदि कारणले नोक्सानीमा रहेको कम्पनीले जनाएको छ ।  यस्तो परिस्थितिमा पनि श्रमिकहरूको हितलाई केन्द्रमा राखेर घाटा सहेर नै भए पनि श्रमिक कटौती नगरी रोजगारीलाई निरन्तरता दिई कानूनअनुसार पारिश्रमिक तथा सबै सुविधाहरू दिइरहेको कम्पनीको दाबी छ । कम्पनी नोक्सानीमा रहेको बेलामा ट्रेड युनियनले पूरा गर्न नसकिने मागहरू राखी उत्पन्न विवाद मध्यस्थ समक्ष विचाराधीन रहेको छ ।  विवाद मध्यस्थ समक्ष रहेको समयमा गत असोज २३ गतेदेखि अचानक गरेको हड्ताललाई श्रम विभागले गैरकानुनी गरिसकेको कम्पनीले जनाएको छ । साथै, गैरकानुनी रूपमा बन्द गरिएको उद्योग सञ्चालन गर्न कम्पनीमा क्रियाशील रहेका श्रमिकहरूका ३ वटा संगठनहरुले श्रम कार्यालयमा उद्योग सञ्चालन गरि पाऊँ भनी दिएको निवेदन कम्पनीमा प्राप्त भएको र कम्पनीले कानुनसम्मत रूपमा उद्योग सञ्चालन गर्न तयार रहेको जनाएको छ । 

औद्योगिक विकासका लागि एकद्वार प्रणाली आवश्यक छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले औद्योगिक विकासका एकद्वार प्रणाली आवश्यक भएको बताएका छन् । ‍‘औद्योगिक वातावरण सुधारः दिगो अर्थतन्त्रको आधार’ भन्ने नारासहित ११औं राष्ट्रिय उद्योग दिवसका अवसरमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलवार विभागमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले एकै प्रकारको कामका लागि पनि धेरै प्रकारका सरकारी संरचनाहरूले गर्दा उद्योगी व्यवसायीले झन्झट बेहोर्नु परेको बताए । ‘हामी कहाँ एकै प्रकारका काम गर्ने सरकारी संस्थाहरू धेरै भए । व्यवसायिक वातावरण सहज र सरल गर्नुपर्नेमा झटिलता र झन्झ ट थपिँदै गएको छ । यो अवस्थामा एकद्वार प्रणालीलाई प्रभावकारी बनाउँदै अनावश्यक संस्थाहरु कम गर्दै जानुपर्दछ,’ उनले भने ।   अध्यक्ष ढकालले भदौ २३–२४ को आन्दोलनपछि देशको आर्थिक अवस्था झनै जटिल बन्दै गएको चर्चा गर्दै व्यक्तिगत र लगानीको सुरक्षालाई प्राथमिकता दिनु पर्ने बताए । पछिल्लो समय नेपाल उद्योग वाणिज्य महासंघको पहलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको नीतिगत सुधारहरू सकारात्मक भएको उल्लेख गर्दै अध्यक्ष ढकालले भएका नीतिहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिए । यस्तै, अध्यक्ष ढकालले नेपालको निर्यात व्यापारको अवस्था सन्तोषजनक नरहेको अवस्थामा निर्यातमा दिइने नगद अनुदानलाई निरन्तरता दिनु पर्ने बताए । ‘नगद अनुदान स्थगनको निर्णयले लगानी, निर्यात र रोजगारीमा गम्भीर असर पर्दछ । अहिले आर्थिक चाप छ भने यसको हिसाब राखौं र पछि भुक्तानी गर्ने व्यवस्था मिलाऔं । तर यसको निरन्तरता आवश्यक छ,’ उनले भने ।  उद्योग विभागले गत अजोज महिनामा एक सूचना जारी गर्दै चालु आर्थिक वर्ष २०८२/८३ मा थप दायित्व सिर्जना हुने गरी निवेदन नलिने जानकारी गराएको थियो ।  अध्यक्ष ढकालले देश विकासको लागि बाह्य लगानीसँगै आन्तरिक पूँजीलाई एकत्रित पूर्वाधार विकास तथा उद्यमशीलताको विकास गर्नु पर्ने बताए ।  ‘सरकारले वैकल्पिक विकास वित्त कोषको कुरा गर्नु अघि नै सरकारलाई नै सहयोग पुगोस् भनेर महासंघको पहलमा १० अर्ब रुपैंया पूँजीको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड स्थापना गरि काम शुरु गरेका छौं । यसबाट ठूला पूर्वाधार विकास तथा अन्य उद्यमका लागि आवश्यक पुँजीको व्यवस्थापन गर्न सकिने छ,’ उनले भने ।  अध्यक्ष ढकालले स्टार्टअप र नवप्रवर्तनलाई प्रोत्साहन गर्न सरकारले कोष स्थापना गरेको कदम सकारात्मक भएको बताउँदै उद्यमशीलताको विकास रोजगारी सिर्जनाको क्षेत्रमा महासंघ सधैं सहकार्यको लागि तयार रहेको पनि बताए ।