क्याटल र फोटोन मोटरबीच सम्झौता, विद्युतीय व्यावसायिक सवारी विकासमा सँगै अघि बढ्ने

काठमाडौं । क्याटल र फोटोन मोटरले व्यावसायिक सवारी साधनलाई विद्युतीकरण गर्न दीर्घकालीन सहकार्य गर्ने भएका छन् । यसै सन्दर्भमा दुवै कम्पनीबीच चालु वर्षको फेब्रुअरी ८ मा चीनको फुजियान प्रान्तको निङ्दे सहरमा आयोजित समारोहमा १० वर्षे रणनीतिक साझेदारी सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौता अनुसार दुवै कम्पनीले प्रविधि विकास, अन्तर्राष्ट्रिय बजार विस्तार, ब्याट्री सेवा तथा सवारीसाधन विद्युतीकरणको सम्पूर्ण प्रणालीमा सहकार्य गर्नेछन् । यसले ८८हरित ऊर्जा (ग्रीन इनर्जी)८८मा आधारित भविष्य निर्माणमा उल्लेखनीय योगदान गर्ने अपेक्षा गरिएको छ । फोटोन मोटर, सन् १९९६ मा स्थापना भएको र चीनको सबैभन्दा ठूलो व्यावसायिक सवारी निर्माता हो । सन् २०२१ सम्ममा कम्पनीले एक करोडभन्दा बढी गाडी बिक्री गरिसकेको छ । लगातार २० वर्षसम्म चीनमा सबैभन्दा धेरै व्यावसायिक सवारी बिक्री गर्ने र १५ वर्षदेखि सबैभन्दा बढी निर्यात गर्ने कम्पनीको रूपमा फोटोन चिनिएको छ । अर्कोतर्फ, क्याटल विश्वमै अग्रणी ब्याट्री प्रविधि कम्पनी हो, जसले न्यू इनर्जी सोलुसनका क्षेत्रमा प्रभुत्व जमाएको छ । यसको टेकट्रान्स ब्रान्डमार्फत क्याटलले बस, ट्रक, लजिस्टिक्स र निर्माण उपकरणहरूका लागि लामो दूरी, द्रुत चार्जिङ र दीर्घायु ब्याट्री सेवा प्रदान गरिरहेको छ । दुवै कम्पनीको यो सहकार्य चीनको नवप्रवर्तनशील औद्योगिक सोच र अन्तर्राष्ट्रिय बजार रणनीतिको उदाहरण हो । साथै, भविष्यमा क्याटलले अन्य उद्योगहरूमा पनि प्रविधि साझेदारीको विस्तार गर्ने योजना बनाएको जनाएको छ ।

तिरुपती उड प्यानल इन्डष्ट्रीमा आगलागी

काठमाडौं । सुनसरी–मोरङ औद्योगिक करिडोरस्थित तिरुपती उड प्यानल इन्डष्ट्रीमा आगलागी भएको छ । आज बिहान २ः३० बजेदेखि लागेको आगो निभाउने प्रयास जारी छ ।  इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार विद्युत् सर्ट भएर आगो सल्किएको अनुमान छ । आगो निभाउन धरान, विराटनगर, इटहरी, दमक, पथरी, दुहबी, इनरुवालगायत स्थानका १६ वटा दमकल प्रयोग गरिएको छ । 

ट्रेड टावरको आईपीओ आजदेखि बिक्री खुला, कति कित्ता आवेदन दिने ?

काठमाडौं । ट्रेड टावरले आज जेठ १४ गतेदेखि सर्वसाधारण लगानीकर्ताहरूलाई आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर बिक्री गरि बाँडफाँट पश्चात् सर्वसाधारणलाई बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी ८१ करोड ५६ लाख ९ हजार रुपैयाँको ४८.६९६ प्रतिशतका दरले ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ बिक्री गरेको हो । जसमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ३ लाख ९७ हजार १६९ कित्ता, सामूहिक लगानी कोषलाई १ लाख ९८ हजार ५८४ कित्ता र कम्पनीका कर्मचारीलाई ७९ हजार ४३३ कित्ता सेयर बिक्री गरि बाँडफाँट गरिसकेको छ । अब बाँकी रहेको ३२ लाख ९६ हजार ५०५ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री गरिएको कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा जेठ १९ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि सो अवधिमा पूर्ण बिक्री नभए जेठ २८ गतेसम्म आवेदन दिने समय लम्बिनेछ ।  कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । लगानीकर्ताहरूले सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गको मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् ।  इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।