अनुमति लिएर सञ्चालनमा आएनन् ५ उद्योग, भाडा तिर्न प्राधिकरणको ताकेता
काठमाडौं । विशेष आर्थिक क्षेत्र प्राधिकरणले बक्यौता रकम चुक्ता गर्न विभिन्न ५ कम्पनीलाई निर्देशन दिएको छ । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको प्राधिकरणले सिमरा विशेष आर्थिक क्षेत्रमा उद्याेग सञ्चालनका लागि अनुमति लिएका ५ कम्पनीलाई बक्यौता तिर्न ताकेता गरेको हो । प्राधिकरण अन्तर्गत सिमरा विशेष आर्थिक क्षेत्रमा सेन्सी प्रालि, हिभेर्टज नेपाल, नर्थवेष्ट इण्डष्ट्रिज, आरएस इण्डष्ट्रिज, आरएस बायोटेक्नोलोजी र मा तारा एक्पोर्ट इम्पोर्टलाई उद्योग स्थापना तथा सञ्चालनार्थ अनुमतिपत्र प्रदान गरेको थियो । विशेष आर्थिक क्षेत्र ऐन, २०७३ को दफा ११ बमोजिम तथा विशेष आर्थिक क्षेत्र नियमावली २०७४ को नियम ३२ अनुसार उद्योग स्थापना तथा सञ्चालनार्थ प्राधिकरणसँग सम्झौता गरी कानूनी व्यवस्था बमोजिम उद्योगी तथा लगानी कर्ताहरुले अनुमतिपत्र लिएको प्राधिकरणले जनाएको छ । तर, उद्योग सञ्चालनको कार्य अगाडि नबढाएको तथा भू-बहालको बक्यौता रकम चुक्ता गर्न पटक-पटक ताकेता गर्दा पनि सम्पर्कमा नआएको प्राधिकरणले जनाएको छ । अबको १५ दिनभित्र हालसम्म तिर्नुपर्ने भू-बहाल रकम तिरी उद्योग सञ्चालन गर्न आवश्यक कार्य अगाडि बढाउन प्राधिकरणले ताकेता गरेको छ ।
फोहोरबाट ५० लाखसम्म कमाइ, 'पहिले कवाडी भनेर गिज्याए, अहिले खोज्दै आउँछन्'
काठमाडौं । हाम्रै भान्सा, घर, अफिस, स्कुल, कलकारखानाबाट दिनहुँ फोहर निस्कन्छ । यसलाई कहाँ र कसरी व्यवस्थापन गर्ने भन्ने धेरैलाई चिन्ता छ । कसैलाई यो चिन्ताको विषय बनिरहँदा कोही फोहोरमै भविष्य देख्नेहरू पनि छन् । यहाँको तानसेन नगरपालिका-६ पदमेटारीका तीन दाजुभाइले विगत पाँच वर्ष यता फोहोरमा मोहर खोज्दै छन् । यहाँका सुशील, उमेश र टार्जन भण्डारीले तानसेन-७ लामिडाँडामा नेप्लिज वेस्ट बैंक नै सञ्चालन गरी फोहोरबाट मोहर खोज्दै आएका हुन् । पाल्पाको तानसेन बजारबाट दैनिक निस्कने फोहोरले बजार प्रदूषित भइरहेका बेला बजारलाई स्वच्छ र सफा राख्ने हेतुले तीन दाजुभाइ मिलेर कवाडी सङ्कलन र प्रशोधित गरी आम्दानी लिइरहेका छन् । उनीहरुले उद्योग दर्ता गरी केही युवाहरूलाई रोजगारीसमेत प्रदान गरेका छन् । उनीहरुले कागज, कार्टुन, किताब, कापी, फलामका टुक्रा, सिसा, बोतल जस्ता प्रयोग विहीन वस्तुहरू सङ्कलन गरी प्रशोधन गरेर आम्दानी गरिरहेका छन् । तीनै दाजुभाइले स्नातक सम्मको अध्ययन गरेका छन् । सुशील जसले मेकानिक्स डिप्लोमा सकेर हाल स्नातक गर्दै छन्, उमेशले बीएस्सी सकेर हाल एमए इकोनोमिक्स अध्ययनरत छन् र टार्जनले विविए पूरा गरिसकेका छन् । तर, उनीहरूमा न विदेश जाने सोच छ नत सरकारी जागिर नै । तीन दाजुभाइको एउटै सोच छ तानसेनलाई फोहोरमुक्त सहर बनाउने । सङ्कलित कवाडी वस्तुहरूको वर्गीकरण गरी उनीहरुले भैरहवा, काठमाडौं, वीरगन्जलगायत ठूला शहरका रिसाइकल कम्पनीमा पठाउने गरेको सञ्चालक उमेश भण्डारीले बताए । केही वस्तुहरू भने आफैँ रिसाइकल गर्ने गरेको उनको भनाइ छ । उनीहरुले कवाडी सङ्कलनबाट वार्षिक ३० देखि ५० लाख रुपैयाँसम्म कमाइ गर्दै आएका छन् । कवाडी सङ्कलनका लागि उनीहरुले ६ जनालाई रोजगारी दिएका छन् । यहाँ तीन जना नेपाली र तीन जना भारतीय नागरिकले रोजगार पाएका छन् । सुरुमा पढेका युवाहरूले फोहर सङ्कलन गर्ने काम गर्छन् भन्दा धेरैले गिज्याएका थिए, तर अहिले उनीहरुको काम देखेपछि धेरैले प्रशंसा गर्न थालेका छन् । उमेश सुरुका दिन संझदै भन्छन्, ‘सुरुवातमा हामीलाई यो काम गर्न त्यति सहज थिएन, कसैले सोचेका थिएनन्, पढेका युवाले कवाडी सङ्कलन गरेर खालान भनेर, त्यति बेला नत स्थानीय सरकारले सहयोग गर्यो न त समाजमा कसैले साथ दिए । परिवारलाई बुझाउन गाह्रो भो, बरु हामीले फोहर सङ्कलन गरेको देखेर समाजका केही व्यक्तिहरूले त फलाम, प्लास्टिक, बोतल टिप्ने कवाडी भनेर गिज्याए ।’ पहिले-पहिले फोहाेर सङ्कलनका लागि उनीहरू ग्राहक खोज्दै हिँड्थे । तर, अहिले ग्राहक ‘रिसाइकलर्स’ खोज्दै उनीहरूसम्म आइपुग्छन् । प्रत्येक दिन दुई टनभन्दा बढी कवाडी सङ्कलन हुन्छ । सङ्कलन भएका फोहोरलाई त्यसको प्रकारका आधारमा छुट्याएर पुनः प्रशोधनका लागि सम्बन्धित कम्पनीसँग समन्वय गर्छन् । कवाडीबाट प्राप्त आम्दानीबाट उनीहरुले तानसेन नगरपालिकालाई कर बुझाउँदै आएका छन् ।
परिमार्जन भएका कानूनहरू कार्यान्वयनमा ढिला नगरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो समय परिमार्जन भएका कानूनहरू सही रुपमा कार्यान्वयनमा जान जरुरी रहेको बताएका छन् । नेपाल जग्गा तथा आवाश विकास संघको राजधानीमा भएको कार्यक्रममा अध्यक्ष ढकालले निजी क्षेत्रमैत्री पछिल्लो समय धेरै कानूनहरू सरकारले ल्याएकाले त्यसको सही रुपमा कार्यान्वयन हुनुपर्ने बताएका हुन् । उनकाअनुसार निजी क्षेत्रले पटकपटक भनेपछि सरकारले निजी क्षेत्रमैत्री कानूनहरू ल्याएको छ, अब कानूनहरुको सही कार्यान्वयन गरेर मुलुकलाई अघि बढाउनुपर्छ । अध्यक्ष ढकालले भने–‘अहिले हाम्रा जुन कानूनहरु परिवर्तन भएका छन । वास्तवमा त्यो निजी क्षेत्रकै सुझावका आधारमा भएको हो । निजी क्षेत्रले पटकपटक कुरा गर्दा बल्ल सरकारले सम्बोधन गरेको छ । धेरै कुराहरु परिर्वतन भएका छन् । यो हुन सक्यो भने धेरै छिटो समयमा कामको परिणाम राम्रो आउनेछ ।’ अध्यक्ष ढकालले हदबन्दी, वर्गीकरण सम्बन्धि व्यवस्थाहरु साँधुरो भएका कारण समस्या निम्ताएको बताए । उहाँकाअनुसार उच्चस्तरीय आर्थिक सुधार आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सरकारले अक्षरशः पालना गर्नुपर्छ । निजी क्षेत्रले राजस्वदेखि रोजगारीसम्म बढाउन सक्ने भएकाले यो क्षेत्रको विकासका लागि सरकार उदार हुनुपर्नेमा उनले जोड दिए । विगतमा निजी क्षेत्रले दिएका सुझावहरु कार्यान्वयन नगरिएकै कारण मुुलुकले आर्थिक मन्दीसम्मको सामना गर्नुपरेको अध्यक्ष ढकालले जानकारी दिए । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष दीपकुमार मल्होत्राले घरजग्गा व्यवसाय नफस्टाएको कारणले अरु धेरै क्षेत्रमा समस्या आएको बताएका छन् । अध्यक्ष मल्होत्राले सबैभन्दा पहिला घरजग्गा, रियल स्टेट क्षेत्रको समस्यालाई समाधान गर्नुपर्नेमा जोड दिए । उनले भने– ‘घरजग्गा व्यवसाय नफस्टाएको कारणले अरु धेरै क्षेत्रमा समस्या आएको छ । सबैभन्दा पहिला घरजग्गा, रियल स्टेट क्षेत्रको समस्यालाई समाधान गर्नुपर्छ । यसबारेमा हामीले सबैभन्दा बढि महत्व दिनुपर्छ । जबसम्म यो क्षेत्र फस्टाउँदैन अन्य उद्योग फस्टाउँदैन । घरजग्गा क्षेत्रलाई अघि बढाइनेछ ।’ अध्यक्ष मल्होत्राले देशभर जाने र घरजग्गासम्बन्धि कारोबार गर्ने सबैलाई त्यस कम्पनीको सदस्य बनाउने बताए । उनकाअनुसार पहिलेपहिले बैंकमा गएर खराब ऋणीको सम्पती लिन होड चल्ने गरेकोमा अहिले बैंकले नै त्यस्ता सम्पत्ति लिन उद्योगी व्यापारीलाई भनिरहेका छन । बजारमा डिमाण्ड कम भएका कारणले त्यस्तो प्रवृत्ति बढेको उनले जानकारी दिए । कार्यक्रममा नेपाल जग्गा तथा आवास विकास संघका नवनिवार्चित अध्यक्ष दीपक कुँवरले घरजग्गा व्यवसायलाई उद्योगका रुपमा विकास गर्न जरुरी रहेको बताए । अध्यक्ष कुँवरले घरजग्गा व्यवसायलाई लगाइएको अंकुशका कारणले सिमेन्ट, रड उद्योगसम्म अप्ठ्यारो स्थीतिमा पुगेको छ । अध्यक्ष कुँवरले भने– ‘अहिलेसम्म घरजग्गा व्यवसायलाई उद्योगका रुपमा विकास गर्न सकिएको छैन । घरजग्गा व्यवसायलाई लगाइएको अंकुशका कारणले सिमेन्ट, रड, रंग उद्योगसम्म अप्ठ्यारो स्थीतिमा पुगेको छ । आज व्यवसाय चलायमान नहुँदा मजदूरदेखि इन्जिनियरसम्म निराश बन्नुपरेको छ ।’ कार्यक्रममा नेपाल जग्गा तथा आवास विकास संघका निर्वतमान अध्यक्ष विष्णुप्रसाद घिमिरेले देशको प्रधानमन्त्री, अर्थमन्त्रीले समेत चासो देखाउँदा पनि घरजग्गा क्षेत्रमा परेको समस्या हट्न नसकेको बताए । उनका अनुसार स्थानीय तहलाई जग्गा वर्गीकरणको जिम्मा दिदाँ उनीहरुले काम गर्न सकेनन्, जसकारण घरजग्गा क्षेत्र तहसनहस भइरहेको छ । यसमा राज्यको ध्यान जान जरुरी रहेको निवर्तमान अध्यक्ष घिमिरेले जानकारी दिए ।